नौ पाकिस्तानीसहित रौतहटमा २५ सय बढी मानिस क्वारेन्टिनमा
रौतहटमा क्वारेन्टिनमा बस्नेको संख्या २५ सय बढी पुगेको छ ।
रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल इन्स्टिच्युट क्वारेन्टिनमा नौ जना पाकिस्तानी पनि रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
रौतहट जिल्लामा २६ वटा क्वारेन्टिन सञ्चालन गरिएको छ । भारतबाट आउनेको क्रम बढेसँगै स्थानीय तहले क्वारेन्टिनको संख्या पनि बढाएका हुन् ।
रौतहटको मौलापुर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा २८ जना छन् । यसैगरी गुजरामा ५६, चन्द्रपुरमा ७३, वृन्दावन र गढीमाईमा गरी १२५, माधव नारायणमा ४८, गौरमा १०४, राजदेवीमा ६२, परोहामा १५० जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै ईशनाथमा ७०० र राजपुरमा ६८१ जना क्वारेन्टिनमा रहेका छन् । यसैगरी देवाही गोनाहीमा २७१, बौधीमाईमा ५८, कटहरियामा १०२, फतुवा विजयपुरमा १० र गरुडामा ५३ जना क्वारेन्टिनमा रहेका छन् ।
जिल्लाका दुई गाउँपालिकामध्ये यमुनामाईमा ६४ तथा दुर्गा भगवतीमा ३३ जना क्वारेन्टिनमा रहेका छन् ।
सोमबार बिहानसम्म रौतहटका सबै क्वारेन्टिनमा २ हजार ६१८ जना पुगेका छन् । क्वारेन्टिनमा रहेकामध्ये नेपालकै विभिन्न जिल्लाबाट आएका ८४ जना र पाकिस्तानका ९ जना बाहेक सबै भारतबाटै आएका मानिसहरु रहेका छन् ।
क्वारेन्टिनमा बढ्दो चापलाई विचार गर्दै ५०० बेडको आइसोलेसन निर्माणको गृहकार्य भइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । जिल्लामा हाल ४० बेडको आइसोलेसन रहेको छ । आइसोलेसनमा एक महिलासहित १८ जना रहेका छन् ।
–सञ्जय मित्र, रौतहट