स्पेनमा बन्दाबन्दी खुलाउन माग गर्दै कार चढेर प्रदर्शन, वामपन्थी प्रधानमन्त्रीको राजीनामा माग
कोरोनाभाइरस संक्रमणविरुद्ध लडिरहेको स्पेनको वामपन्थी सरकारको विरोधमा त्यहाँको दक्षिणपन्थी दल भोक्स पाटीले शनिबार देशभर प्रदर्शन गरेको छ । उनीहरुले बन्दाबन्दी खुलाउनुपर्ने भन्दै प्रधानमन्त्रीको राजीनामा समेत माग गरे ।
प्रतिपक्षी दलका कार्यकर्ताले व्यक्तिगत दूरी काम गर्न कारबाट नउत्री नै स्पेनिश झन्डा फहराउँदै प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले वामपन्थी दल पोडमोज पार्टीका नेता तथा प्रधानमन्त्री पेड्रो सान्चेजले कुशल व्यवस्थापन गर्न नसक्दा संक्रमण बढेको आरोप लगाउँदै राजीनामा मागे ।
त्यहाँको सरकारले १४ मार्चदेखि लगाएको बन्दाबन्दी युरोपकै सबैभन्दा कडा मानिएको छ । तर, यही हप्ताबाट राजधानी मड्रिड र बार्सिलोनाबाहेक अन्य भागमा बन्दाबन्दी केही खुकुलो पारिएको छ । अहिले त्यहाँ दैनिक संक्रमण दरमा कमी आएको छ ।
देश बन्दाबन्दीमा जाँदा दुई महीना होटल, बार, रेष्टुरेन्ट, समुन्द्र किनारा लगायत स्थान बन्द छन् । तर, दक्षिणपन्थी दलका समर्थक प्रदर्शनकारीले अर्थव्यवस्था र रोजगारी ध्वस्त भएको भन्दै बन्दाबन्दी हटाउन माग गरेको बीबीसीले उल्लेख गरेको छ ।
स्पेनमा बन्दाबन्दी यता करीब १० लाखले रोजगारी गुमाएका छन् । यो वर्ष १२ प्रतिशतसम्म स्पेनको अर्थतन्त्र संकुचन हुने भविष्यवाणी गरिएको छ । दक्षिणपन्थी भोक्स पार्टीले यसको जिम्मेवार प्रधानमन्त्री सान्चेज र उपप्रधानमन्त्री पाब्लो एलग्स्लेसिअज भएको आरोप लगाएका छन् ।
राजधानी मेड्रिड, प्रान्तीय राजधानीहरु बार्सिलोना, सेभिल्ला लगायत शहरमा प्रदर्शन भएको थियो । मेड्रिडको प्रदर्शनलाई भोक्स पार्टीका नेता सान्टियागो एबास्कलले बसको खुला बनाइएको छतबाट सम्बोधन गरेका थिए । उनको भाषण स्थानीय रेडियोहरुले प्रत्यक्ष प्रसारण गरेका थिए ।
उक्त प्रदर्शनलगत्तै प्रधानमन्त्री सान्चेजले बन्दाबन्दी खुकुलो बनाउने दुई वटा महत्वपूर्ण घोषणा गरे । स्पेनले जुनाईबाट अन्तराष्ट्रिय पर्यटकका लागि सीमा खोल्नेछ । त्यस्तै ८ जुनबाट ला लिगाका खेल पुनः सुरु हुनेछन् ।