अधिकांश क्षेत्रमा वर्षाकाे संभावना
स्थानीय वायु र पश्चिमी वायुको प्रभावले अधिकांश स्थानमा बदलीसँगै वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मञ्जु बासीका अनुसार, बांग्लादेशको आसपासमा अवस्थित अम्पुन चक्रवात कमजोर भई न्यून चापीय प्रणालीका रुपमा रहेकाले देशभर बदलीसँगै क्षणिक वर्षाको सम्भावना छ । पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ ।
दिउँसो देशको पश्चिमी पहाडी भूभागलगायत मध्य तथा पूर्वी भूभागमा सामान्य बदली भई मध्य तथा पूर्वी भूभागका केही स्थान र पश्चिमी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको संभावना छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।
सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १३ दशमलव ५ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।