असार दोस्रो साता भारतमा महामारी उच्च तहमा !
कोभिड १९ महामारी रोकथामका लागि भारतले गएको २५ मार्च देखि देशव्यापी बन्दाबन्दी कायम गरेकाे छ । भारतमा महामारी रोकथाम गर्न चौथो पटक बन्दाबन्दीको अवधि थपिएको हाे।
विश्वव्यापी महामारीबाट बच्न अन्य मुलुकहरुमा जस्तै भारतले पनि बन्दाबन्दीलाई नै महत्व दिएको छ । शुक्रबार भारत सरकारले बन्दाबन्दी गरिएकै कारण संक्रमित र मृत्यु हुनेको संख्या नियन्त्रण गर्न सकिएको जनाएको छ।
सरकारी अनुमान अनुसार, बन्दाबन्दी नगरिएको भए भारतमा ५४ हजारको मृत्यु र २० लाख बढी संक्रमित हुनसक्थ्यो । तर, बन्दाबन्दी गरिएकैले संक्रमित र मृत्यु हुनेको संख्या रोकिएको दाबी गरिएको छ । भारतमा १८ देखि २९ लाख संक्रमित र ३७ देखि ७८ हजारको मृत्यु हुने अध्ययनले देखाएको जनाइएको छ।
तर, बन्दाबन्दीकै कारण महामारी रोकथाममा बल पुगेको निष्कर्ष भारतीय सरकारको छ । अहिले पनि भारतमा संक्रमित र मृत्यु हुनेको संख्या निकै धेरै छ।
सरकारी अनुसन्धानहरुले पनि आगामी असार दोस्रो साता महामारी उच्च तहमा पुग्नेछ । सरकारी भनाइ उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले लेखेका छन्, “कोभिड १९ महामारी आगामी २१ देखि २८ जूनसम्म महामारी उच्च तहमा पुग्नेछ ।”
शुक्रबार मात्रै भारतमा ६ हजार ५६८ संक्रमित भेटिएका थिए । एकै दिनमा संक्रमित भेटिएको यो अहिलेसम्मकै उच्च हो । भारतमा संक्रमित संख्या एक लाख २४ हजार ७९४ पुगेको छ ।