आरडीटी रिपोर्टको आधारमा नगरपालिकाका नाकाहरु सिल
काठमाडौंको शङ्खरापुर नगरपालिकामा बिहीबार २९० जनामा गरिएको आरडीटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
आरडीटी रिपोर्टमा पोजिटिभ देखिए लगत्तै नगरपालिकाले सबै नाकाहरु सिल गरेको छ । वडानम्बर ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीय लगायत आरडीटी रिपोर्ट पोजिटिभ देखिएकाले नगर क्षेत्र सिल गर्न गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए ।
इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुष्मा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडीटी गरिएको थियो ।
आरडीटीमा पोजेटिभ देखिएकालाई नगरपालिका वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारेन्टिनमा राखिएको छ । पीसीआर परीक्षणको प्रतिवेदन नआएसम्मका लागि सबैलाई यहीँ राखिनेछ । क्वारेन्टिनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गर्नेछ ।