मुख्यमन्त्री सहित १६४ को स्वाब संकलन
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्य सहित मातहतका कर्मचारी गरी १६४ जनाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको छ ।
प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिएको हो ।
बैठक अगामी ११ जेठमा आह्वान गरिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए ।
प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उनले बताए । उनले भने, “स्वाब सङ्कलन गरिएका सबैको पीसीआर विधिबाट कोरोना परीक्षण गरिने छ ।”
प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धा्रित मितिमा बैठक शुरु हुने जानकारी दिए ।
बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यमात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै उनले सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताए ।