भारतबाट एकै दिनमा एक हजार बढी कर्णालीबासी फर्किए
कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका–५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।
भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र उनीहरु आइपुगेका हुन् । प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालिकोटका ४४ नागरिक छन् ।
उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेको यस परिवेशमा प्रदेश सरकारले सबैको आरडीटी गर्ने यद्यपि स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरे ।
उनले भने, “यति मात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडीटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ ।”
प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए ।
“त्यहाँ पुगेका सबैको आरडीटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ । उनीहरुको पीसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ”, उनले भने ।