सेलपे र भाटभटेनी मनी ट्रान्सफर बीच सहकार्य
नेपाल राष्ट्र ब्यांकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा.लि.को सेलपे सेवाले भाटभटेनी मनी ट्रान्सफर कम्पनीसँग नेपालमा डिजिटल भुक्तानी सेवाहरु प्रवर्द्धन गर्नका लागि सहकार्य गरेको छ ।
नेपालभरिका आफ्ना प्रयोगकर्ताहरूलाई आन्तरिक रेमिटेन्स सेवा प्रदान गर्न सहकार्य सम्झौतामा भाटभटेनी मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजन कुमार अमात्य र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।
भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) नेपालको सबैभन्दा ठूलो र बहुप्रतिष्ठित सुपरमार्केट चेन भाटभटेनी सुपरस्टोर ग्रुप द्वारा प्रवर्धित रेमिटेन्स कम्पनी हो । यस सहकार्य अन्तर्गत, ग्राहकवर्गले सेलपे मोबाइल वा वेब एप्लिकेशनबाट सजिलै (बीएमटी) का आन्तरिक रेमिटेन्स सेवाहरु प्रयोग गर्न सक्नेछन् ।
जसका लागि सेलपे एपमा रेमिटेन्स बटनमा थिची आफूलाई चाहिएको भाटभटेनी मनी ट्रान्सफर (बीएमटी) रेमिटेन्स सेवा चयन गरी आवश्यक विवरणहरू भरे पश्चात, ग्राहकले सजिलैसँग नेपालका विभिन्न भागहरूमा पैसा पठाउन सक्नेछन् ।
यसरी पैसा पठाइसकेपछि प्रेषकले आफ्नो सेलपे एपमा एउटा युनिक आईडी प्राप्त गर्नेछन् र त्यस युनिक आईडी प्रेषकले प्रापकलाई दिनु पर्नेछ । प्रापकले देशैभरि रहेका विभिन्न भाटभटेनी मनी ट्रान्सफरका रेमिटेन्स एजेन्टमध्ये तोकिएको एजेन्टको कार्यालयमा गई उक्त युनिक आईडी र सरकारी आधिकारिक परिचयपत्र देखाएर सरल रुपमा पैसा प्राप्त सक्नेछन् ।
सेलपेद्वारा विभिन्न दूरसंचार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, बीमा रकम भुक्तानी, ईएमआई भुक्तानी विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, एक ब्यांक खाताबाट अन्य ब्यांक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर आदि सेवा प्राप्त गर्न सकिने जनाइएकाे छ।
यस सेवा मार्फत हुने सम्पूर्ण कारोबार ब्यांकिङ प्रणाली मार्फत हुने र सेलपे सेवासँग आबद्ध भएका ब्यांकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्ने जनाइएको छ।