एक हजारभन्दा बढीलाई रोजगारी दिने व्यवसाय ६४ वटा मात्रै
देशमा १ हजार भन्दा बढीलाई रोजगारी दिने व्यवसायको संख्या ६४ वटा मात्र छन् । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको आर्थिक गणनाको दोस्रो भाग अनुसार, ५०० भन्दा बढी र एक हजारभन्दा कमलाई रोजगारी दिने व्यवसाय १२६ वटा छन्।
देशमा नौ लाख नौ हजार वटा व्यवसाय छन् । तीमध्ये सबैभन्दा धेरै एक जनाले मत्र सञ्चालन गरेका छन् । त्यस्ता व्यवसायको संख्या ३४४ हजार छ । यो कुल व्यवसायको करिब ३७ प्रतिशत हो । दुई तिहाइभन्दा बढी व्यवसायमा एक वा दुई जना मात्र आवद्ध छन्।
पाँच सयदेखि एक हजार जनासम्मलाई रोजगारी दिने व्यवसायले सबैभन्दा धेरै नाफा कमाउने देखिएको छ । यस्ता व्यवसायले औसतमा प्रति व्यवसाय वार्षिक रु.५३ करोड नाफा गर्छन् । एक जनाले मात्रै चलाउने व्यवसायको औसत नाफा वार्षिक रु.१ लाख ६२ हजार छ।
नौ जनासम्मलाई रोजगारी दिने व्यवसायले वर्षेनी औसतमा रु.३ लाख ७५ हजार नाफा गर्छन्।
देशमा सञ्चालनमा रहेका व्यवसायहरुले वर्षेनी रु. २९ खर्ब १५ अर्बको कारोबार गर्ने र रु. ८ खर्ब ५३ अर्ब नाफा गर्ने गरेको अध्ययनले देखाएको छ।