६३५ मेगावाटको दूधकोशी आयाेजनाका लागि लगानी खोज्दै सरकार
सरकारले ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना बनाउन आवश्यक लगानी जुटाउन विकास साझेदासँग छलफल शुरु गरेको छ ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा र नेपाल विद्युत् प्राधिकरणले यो आयोजनामा लगानीका लागि इच्छुक एसियाली विकास ब्यांक (एडीबी), यूरोपेली लगानी ब्यांक (ईआईबी), एसियाली पूर्वाधार लगानी ब्यांक (एआईआईबी) र कोरियाली एक्जिम ब्यांकका प्रतिनिधिसँग प्रारम्भिक छलफल शुरु गरेको हो ।
छलफलमा महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपालले जलाशययुक्त आयोजनाको निर्माण सरकारको प्राथमिकतामा रहेको र दूधकोशी तुलनात्मक रुपमा सस्तो एवं आकर्षक रहेकाले आयोजनामा लगानी गर्न ब्यांकहरुलाई आग्रह गरेका हुन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको हालसम्मको अवस्था, लागत, लगानी ढाँचा, जलाशययुक्त आयोजनाको महत्वलगायतका विषयमा जानकारी गराए ।
ब्यांकहरुले लगानीका लागि प्रारम्भिक सहमति जनाउँदै लगानी ढाँचाको ठोस प्रस्ताव अर्थ मन्त्रालय मार्फत पेश गर्न आग्रह गरेको घिसिङको भनाइ छ । ‘‘एडीबीले ५५ करोड अमेरिकी डलरसम्म, ईआईबीले ५० करोड डलरसम्म, एआईआईबीले ३० करोड डलरसम्म र एडीबीको निजी क्षेत्रमा लगानी गर्ने संयन्त्र मार्फत २० देखि ३० करोड डलरसम्म लगानी गर्न सकिने जानकारी गराएका छन्,’’ घिसिङले भने । उनी भन्छन्, ‘‘कोरियन एक्जिम ब्यांकले पनि हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइनमध्ये कुनै एकमा सम्पूर्ण लगानी गर्न सकिने बताएको छ ।’’
सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८को नीति तथा कार्यक्रम मार्फत दूधकोशीलाई प्राथमिकतामा राख्दै निर्माण थाल्ने घोषणा गरेको छ । गत पुसमा आयोजनास्थलको निरीक्षणमा गएका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले दूधकोशीलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताएका थिए ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पहिचान गरेका १० उत्कृष्ट जलाशययुक्त जलविद्युत् आयोजनामध्ये दूधकोशीलाई पहिलो प्राथमिकतामा राखेको छ ।
आयोजनाको अनुमानित आधार लागत १ अर्ब ५३ करोड डलर (करीब रु.१ खर्ब ६० अर्ब) र निर्माण अवधिको ब्याज, करसहित सम्पूर्ण लागत करीब २ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । सहवित्तीयकरण मार्फत लगानी गर्ने ब्यांकको नेतृत्व एडीबीले गर्ने छ । एडीबीकै अनुदानमा आयोजनाको विस्तृत डिजाइन अन्तिम चरणमा पुगेको छ ।
आयोजनाबाट वार्षिक रुपमा ३ अर्ब ४४ करोड ३० लाख युनिट ऊर्जा उत्पादन हुने छ । यसमध्ये हिउँदमा १ अर्ब ३५ करोड ८० लाख र बर्खामा २ अर्ब ८ करोड ४० लाख युनिट ऊर्जा उत्पादन हुने छ । उत्पादित बिजुली प्रस्तावित सुनकोशी–ढल्केबर ४ सय केभी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
आयोजनाबाट खोटाङ, ओखलढुंगा र सोलुखुम्बुको ३ हजार ८ सय ७६ हेक्टर जमिन प्रभावित हुनेछ । जलाशययुक्त आयोजना भएता पनि विस्थापित हुने घरधुरी तुलनात्मक रुपमा कम रहेको छ ।
१ सय ६२ घरपरिवार मात्र पूर्ण रुपमा विस्थापित हुने र ९ सय ८८ परिवार आंशिक प्रभावित हुनेछन् । यस्तै एक हजार ५० घर परिवारको खेतीयोग्य जमिन डुबानमा पर्ने छ । आयोजनाका लागि २ सय २० मिटर अग्लो बाँध निर्माण गरी दूधकोशी नदीमा १७ मिलोमिटर, रावा खोलामा ८ किलोमिटर र ठोट्ने खोलामा ५.५ किलोमिटर लामो जलाशय बनाइने छ ।
आयोजनामा पुग्न १३.३० किलोमिटर लामो सुरुङ हुनेछ । आयोजनास्थलसम्म पुग्ने पहँुच सडक लगभग तयारी अवस्थामा रहेको पनि विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।