ललितपुर र मुस्ताङमा व्यवसाय गर्दा सबैभन्दा धेरै नाफा
कुन जिल्लामा रहेका व्यवसायले सबैभन्दा धेरै नाफा कमाउलान् ? केन्द्रीय तथ्यांक विभागले गएको साता सार्वजनिक गरेको आर्थिक गणनाले ललितपुर र मुस्ताङमा सञ्चालनमा रहेका व्यवसायले सबैभन्दा धेरै नाफा कमाएको देखाएको छ।
आर्थिक गणनाका अनुसार, ललितपुरमा सञ्चालनमा रहेका एउटा व्यवसायले औसतमा वार्षिक २६ लाख ९९ हजार नाफा कमाउने देखिएको छ । त्यस्तै, हिमाली जिल्ला मुस्ताङमा सञ्चालनमा रहेको एउटा व्यवसायले औसतमा वर्षेनी रु. २० लाख ४७ हजार नाफा कमाउँछन् ।
तर, यो सामान्य चिया पसलदेखि ठूला उद्योगसम्मको नाफालाई जोडेर औसत निकालिएको रकम भएकाले हरेक व्यवसायले यति नै नाफा कमाउँछन् भन्ने होइन । धेरै नाफा गर्ने र थोरै कमाउने व्यवसायहरुको औसत प्रति व्यवसायको वार्षिक नाफा रकम हो।
आर्थिक गणनाले नेपालमा सञ्चालनमा रहेका ९ लाख ९ हजार व्यवसायको वार्षिक प्रति व्यवसाय औसत नाफा रु. ९ लाख ४७ हजार देखाएको छ।
आर्थिक गणनाका अनुसार, देशको राजधानी काठमाडौंमा सञ्चालनमा रहेको एउटा व्यवसायले औसतमा वार्षिक रु. १८ लाख २० हजार कमाउँछन् । प्रति व्यवसाय औसत वार्षिक रु. १० लाखभन्दा धेरै नाफा गर्ने जिल्लामा ललितपुर, मुस्ताङ, काठमाडौं, भक्तपुर, धादिङ, कास्की, रुपन्देही र बाँके मात्रै छन् । प्रति व्यवसाय वार्षिक औसत नाफा सबैभन्दा कम गर्ने जिल्ला भोजपुर देखिएको छ । भोजपुरका एउटा व्यवसायले वार्षिक औसत रु. १ लाख ८२ हजार मात्र नाफा कमाउँछन्।
सबैभन्दा धेरै बागमती प्रदेशमा सञ्चालनमा रहेका व्यवसायले प्रति व्यवसाय औसतमा वार्षिक रु. १४ लाख ९२ हजार नाफा गर्ने गणनाले देखाएको छ । सबैभन्दा थोरै कर्णाली प्रदेशमा रहेका व्यवसायले प्रतिव्यवसाय वार्षिक औसत रु. ४ लाख ९५ हजार नाफा कमाउँछन्।
आर्थिक गणनाले देशका कुल व्यवसायमध्ये १८.५४ प्रतिशत काठमाडौं उपत्यकामा रहेको देखाएको छ । सबैभन्दा धेरै काठमाडौं जिल्लामा १ लाख २२ हजार व्यवसाय सञ्चालनमा छन् भने सबैभन्दा थोरै मनाङमा ४५४ वटा मात्रै व्यवसाय सञ्चालनमा रहेको देखिएको छ।
आर्थिक गणनाले देशको कुल व्यावसायिक कारोबारको आधाभन्दा बढी बागमती प्रदेशमा हुने देखाएको छ । देशमा सञ्चालनमा रहेका व्यवसायहरुले वार्षिक रु. २९ खर्ब १५ अर्बको कारोबार गर्नेमा ५१.६ प्रतिशत बागमती प्रदेशमा हुन्छ।
सबैभन्दा धेरै काठमाडौंमा रहेका व्यवसायहरुले वार्षिक कुल रु. २ खर्ब २२ अर्ब नाफा कमाउँछन् भने सबैभन्दा थोरै मनाङमा सञ्चालित व्यवसायले वार्षिक कुल रु. १२ करोड २० लाख नाफा गर्छन्।
केन्द्रीय तथ्यांक विभागले देशका उद्योग व्यवसायहरुबारे पहिलो पटक आर्थिक गणना गरेर प्रतिवेदन प्रकाशित गरेको हो।