आर्थिक संकटबाट जोगिन कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न विज्ञहरुको सुझाव
कोरोना संक्रमणका कारण पर्ने आर्थिक संकट सुधार्न कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गरेको भिडियो कन्फ्रेन्समा विज्ञहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न सुझाव दिएका हुन् ।
बरिष्ठ नेता पौडेलले योजना आयोगका पूर्व उपाध्यक्षहरु सहित विज्ञहरुसँग छलफल गरेका थिए । छलफलमा डा. गोविन्द पोखरेल, डा. स्वर्णिम वाग्ले, प्रा.डा. इन्जिनियर कमल रिजाल, डा.सुरज पोखरेल, डा. सिद्धिगणेश श्रेष्ठ, डा.माधवप्रसाद पौडेल, डा.प्रधुम्नराज पाण्डे, सहदेवप्रसाद हुमागाँई सहभागी थिए ।
छलफलमा विज्ञहरुले अर्थतन्त्र उकास्न कृषि उत्पादन, कृषि मजदुर, कृषि उपज र त्यसको ढुवानी लगायत विषयमा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् । विज्ञहरुले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्न भूमि ब्यांकको व्यवस्था, सहकारीको सक्रियतामा बृद्धि गर्नुपर्ने सुझाव दिएका छन् ।
योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई राहत दिन माग गरे । उनले कृषि क्षेत्रले दिनसक्ने उत्पादनका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने बताए ।