'निर्णय भएको भए मैले त जानकारी पाउँथे होला नि' –यातायात मन्त्री नेम्वाङ
बिहीबार साँझ एक्कासी सञ्चारमाध्यमहरुमा शुक्रबार र शनिबार काठमाडौंबाट बाहिर जिल्ला जान चाहनेले जान पाउने भन्ने समाचारहरु प्रकाशित भए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फेसबुक पेजमा त्यो सूचना राखियो । केहीबेर पछि सञ्चारमाध्यम र त्यो पेजमा पनि निर्णय फिर्ता भन्ने सार्वजनिक भयो । त्यसको केही बेरमै उपप्रधान एवं रक्षा मन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले पनि निर्णय नभएको भनेर प्रेस विज्ञप्ति निकाले । वास्तवमा यो के भएको हो ? भनेर लक्ष्मी बस्नेतले भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –
मान्छेहरू हिंड्दै राति-राति घर जान थाले भन्ने खबर सञ्चार माध्यममा आएपछि समिति संयोजक इश्वर पोखरेलसँग दिउँसो १/२ बजेतिर अनौपचारिक छलफल भएको हो ।
त्यसपछि त्यत्तिकै उठ्यौं, साँझ एक्कासी निर्णय भयो भनेर कसरी मिडियामा आयो । हामी अचम्मित छौं । यस्तो कुरा कि मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने हो कि कोरोना रोकथाम उच्चस्तरीय समितिले गर्नुपर्छ । तर, आज (बिहीबार) दुवै बैठक बसेकै छैन ।
मिडियामा निर्णय भनेर आएपछि आम नागरिकमा अलमल नहोस् भनेर समिति संयोजकज्यूले विज्ञप्ति निकाल्नु भएको हो । कतिपयले निर्णय फिर्ता भनेर लेखे । जबकी हुँदै नभएको निर्णय के फिर्ता लिनु ?
मिडियामा यस्तो हल्ला आइसकेपछि संयोजकज्यूसँग मेरो कुरा भइसक्यो । कसरी यस्तो हल्ला फैलियो भनेर उहाँ आफैं पनि अचम्मित हुनुभयो । हुन त म समितिमा छैन । तर हामी निरन्तर छलफलमै हुन्छौं ।
मानिसहरु सयौं किलोमिटर हिंडेर घर पुगेको भन्ने हामीले पनि सुनिरहेका छौं । तर हिड्नु पर्ने अवस्था आउन नदिन कुनै व्यवस्था गर्ने वा हिडिसकेकालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छुट्टै हो । तर, अहिले यातायात खुला गर्दा त झन् खतरा हुन्छ । बन्दाबन्दीको समय अब ३ बैशाखसम्म छ । त्यतिञ्जेल स्थिति कस्तो हुन्छ, हेर्छौं । त्यसपछि अरु केही निर्णय हुन्छ ।
अहिले लकडाउन भनेको लकडाउन नै हो । तपाईंको सञ्चारमाध्यमबाट भन्दिनुहोला कि बैठक नै बसेको छैन । यो गलत हो । सबै जना घरमै बसौं, सुरक्षित होऔं । सरकारको फेसबुक पेजमा राखेको विषयमा मलाई थाहा छैन, कसले राख्यो, कसले अपडेट ग-यो वा हटायो ? मैले हेरेको छैन र बुझेको छैन ।