'कोभिड १९' बारे स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन अब सांकेतिक भाषामा पनि
स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी पत्रकार सम्मेलन बिहीबारदेखि सांकेतिक भाषामा पनि गर्न थालेको छ ।
मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जानकारी हरेक दिन ४:१५ बजे जानकारी दिने पत्रकार सम्मेलन सांकेतिक भाषामा पनि गर्न लागेकाे हो ।
यसअघि मन्त्रालयकाे पत्रकार सम्मेलन नेपाल टेलिभिजन, रेडियो नेपाल र मन्त्रालयको फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण हुने गरेको थियो ।
तर सुन्न नसक्ने नागरिकको सुचना पाउने अधिकार सुनिश्चित गर्न मन्त्रालयले निर्णय गरेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालका प्रेस संयोजक माधव तिवारीले बताए । उनले भने “धेरैतिरबाट सांकेतिक भाषामा पनि जानकारी दिन सुझाव आएको थियो र आजैदेखि शुरु गरेका हौं ।”
अब नियमित रुपमा दोभाषे सागर सुवेदीले सांकेतिक भाषामा जानकारी दिनेछन् । यसअघि राष्ट्रिय बहिरा महासंघ तथा बहिरा व्यक्तिहरुको क्षेत्रमा काम गर्दै आएका संघसंस्थाहरुले सांकेतिक भाषा नहुँदा सरकारको सूचनाबाट वन्चित भएको बताउँदै आएका थिए ।
महासंघले यसअघि सरकारी सुचनाहरु पुनः छायांकन गरेर आफ्नो फेसबुक पेजमा राख्दै आएको थियो ।