'महिलामैत्री' राहत प्याकेजमा अण्डा र स्यानिटरी प्याड पनि
कैलालीमा एक गैरसरकारी संस्थाले स्थानीय सरकारलाई प्रदान गरेको राहत सामग्रीमा स्यानिटरी प्याड पनि राखेको छ ।
दलित महिला अधिकारका क्षेत्रमा काम गर्दै आएको दलित महिला अधिकार मञ्चले बुधबार कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिकाका विपन्न महिला, सुत्केरी तथा गर्भवतीका लागि पौष्टिक तत्वसहितको खाद्यान्न प्याकेजमा महिनावारी हुँदा आवश्यक पर्ने प्याडसमेत राखेको हो ।
मञ्चकी अध्यक्ष सावित्रा घिमिरेले खाद्यान्न सामग्री त सबैले दिन्छन् तर महिनावारी हुने महिलाका लागि अत्यावश्यक भए पनि यसतर्फ कसैको ध्यान नजाने गरेकाले आफूहरुले भने स्यानिटरी प्याड राहत प्याकेजमा राखिएको बताइन् । उनले भनिन्, “महिनावारी हुनेहरुका लागि खाद्यान्नभन्दा पनि यो प्याड चाहिन्छ, एकदिन नखाइ बस्न सकिएला तर प्याड नभई नहुने भएकाले खाद्यान्नसँगै यस प्रकारको सामग्री जनप्रतिनिधिलाई उपलब्ध गरायौं ।”
संस्थाले चामल, तेल, अण्डा, स्यानिटरी प्याड र साबुन दिएको हो । अन्य स्थानीय तहमा स्यानिटरी प्याड मात्रै प्रदान गर्ने योजना रहेकाे घिमिरेले बताइन् ।
यसले राहत प्याकेजलाई महिलामैत्री बनाउन स्थानीय सरकारमा सिस्टम बस्ने विश्वास पनि उनले व्यक्त गरिन् ।
उन्नती चौधरी/कैलाली