समाचार बुधबार, चैत २६, २०७६

ब्याङ्कहरूको ब्याजदर वैशाखदेखि घट्ने, बचतको ब्याजदर कति ?

राजु बास्कोटा

ब्याङ्कहरूको ब्याजदर वैशाखदेखि घट्ने, बचतको ब्याजदर कति ?

२०७७ वैशाखदेखि वाणिज्य ब्याङ्कहरूले ब्याजदर घटाउने भएका छन्। कोरोना भाइरस (कोभिड–१९) को प्रभावका कारण ब्याजदरमा समायोजन गरेर ऋणीलाई राहत प्रदान गर्न सबै ब्याङ्कले ऋण र बचतको ब्याजदर घटाउने भएका हुन्।

ब्याङ्कहरूले आधार दरमा आएको परिवर्तन अनुसार ब्याजदर हरेक तीन महीनामा समायोजन गर्ने गरेका छन्। यही आधार दर अनुसार वैशाखबाट निक्षेपको ब्याजदर घट्नेछ। निक्षेपको ब्याजदर वैशाखबाटै र ऋणको भने जेठदेखि घट्ने भएको छ।

आधार दरमै प्रिमियम थपिएर ऋणीको ब्याजदरमा समायोजन हुने भएकाले ऋणीलाई राहत प्रदान गर्न त्रैमासिक रूपमा ब्याजदर समायोजन गर्ने प्रक्रिया अनुसार आउँदो साउनमा ब्याजदर घट्नुपर्ने थियो। तर, यस पटक भने जेठदेखि नै ऋणीको ब्याजदर घट्ने नेपाल ब्याङ्कर्स संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले जानकारी दिए।

सिटिजन्स ब्याङ्कका सीईओ गणेशराज पोखरेल अहिलेको असहज अवस्थालाई दृष्टिगत गरेर ब्याजदर घटाउनुपर्ने आवस्था आएको बताए। यसका लागि हाल मुलुकमा रहेका २७ वटै वाणिज्य ब्याङ्कले सूचना प्रकाशन गरेरै ब्याजदर घटाउने जानकारी दिइरहेका छन्। पोखरेलका अनुसार, वैशाखबाट सबै प्रकारको कर्जा र बचतमा नयाँ ब्याजदर लागू हुनेछन्।

मुद्दती बचतमा ८.२५ प्रतिशतसम्मको ब्याजदर दिइने भएको छ। यस्तो ब्याजदर हाल ९.५ प्रतिशत छ। यस्तै, ९.५ प्रतिशतको संस्थागत ब्याजदर पनि ७ प्रतिशतमा झारिने भएको छ। बचत खाताको ६.५ प्रतिशतको ब्याजदर ५.५ प्रतिशतसम्म हुने भएको छ।

बन्दाबन्दीमा मोबाइल ब्याङ्किङमा आकर्षण

सबै वाणिज्य ब्याङ्कहरूले बन्दाबन्दी (लकडाउन) मा पनि प्रभावकारी सेवा प्रवाह गरिरहेको बताएका छन्। ब्याङ्क तथा वित्तीय संस्थाले ग्राहकको सुविधालाई दृष्टिगत गरेर सबै प्रकारका ब्याङ्किङ सेवा दिइरहेका छन्।

सिटिजन्स ब्याङ्कका सीईओ पोखरेल बन्दाबन्दीको समयमा ग्राहकहरूलाई डिजिटल ब्याङ्किङ सेवातर्फ प्रोत्साहन गरिरहेको बताउँछन्। कार्यालयबाट सेवा दिनुपर्ने काम पनि भइरहेको उनको भनाइ छ। “सिटिजन्स ब्याङ्कका ९४ वटा शाखामध्ये ४१ शाखा खोलेर सेवा दिइरहेका छौं। दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म कार्यालय खोलेर सेवाग्राहीलाई पैसाको कारोबारमा समस्या हुँदैन भनेर आश्वास्त पारेका छौं”, उनी भन्छन्। दैनिक खुल्ने कार्यालयबारे ग्राहकलाई सामाजिक सञ्चाल, वेबसाइट तथा फोनबाटै पनि जानकारी दिइरहेको उनी बताउँछन्।

ब्याङ्किङ सेवा अत्यावश्यक भएकाले बन्दाबन्दीको समयमा ब्याङ्क तथा वित्तीय संस्थाहरूले एटीएममा पैसा राख्ने तथा नियमित सेवालाई सहजता प्रदान गर्ने प्रयास गरेका छन्।

कृषि विकास ब्याङ्कका सीईओ अनिल उपाध्याय सबै जिल्लामा ब्याङ्किङ सेवा दिइरहेको बताउँछन्। उनका अनुसार, ग्राहकको आवश्यकता अनुसार धेरै माग भएका जिल्लामा दुई वटा र कम भएकोमा एउटा शाखा खोलेर सेवा दिइएको छ। ब्याङ्कको देशैभरका २ सय ७६ शाखामध्ये दैनिक ८५ वटासम्म खोल्ने गरिएको उपाध्याय बताउँछन्। उनी भन्छन्, “अहिले खासगरी मोबाइल ब्याङ्किङलाई प्रवद्र्धन गरिरहेका छौं। शाखा खोलेरै रकम जम्मा गर्न र झिक्नेसहितको सुविधा पनि दिइएको छ ।’

बन्दाबन्दी शुरु भएयता कृषि विकास ब्याङ्कको जम्मा रु.१७ अर्बको कारोबार भएकोमा काठमाडौं उपत्यकामा मात्रै मोबाइल ब्याङ्किङबाट रु.५१ करोडको कारोबार भएको छ।

नेपाल राष्ट्र ब्याङ्कका प्रवक्ता गुणाकर भट्टले ब्याङ्क तथा वित्तीय संस्थालाई आलोपालो समय मिलाएर सेवा दिन भनिए अनुसार ग्राहकले सेवा पाइरहेको बताए। एटीएम सेवालाई सहज बनाउने र मोबाइल ब्याङ्किङलाई प्रवद्र्धन गरिएकोले पनि नगद कारोबारमा समस्या नभएको र गुनासो पनि नआएको भट्टले जानकारी दिए।

प्रतिकृया दिनुहोस