टिप्पणी बुधबार, चैत २६, २०७६

अहो ! त्यो उत्साह, त्यो उमङ्ग !

हिमालखबर

अहो ! त्यो उत्साह, त्यो उमङ्ग !
२०४६ सालको जनआन्दोलनपछि अमेरिकाको कोलम्बिया युनिर्सिटीमा सर्वमान्य नेता गणेशमान सिंह । तस्वीरहरु सौजन्यः जनदीशचन्द्र पोखरेल

देशभित्र भएका कैयन् महत्वपूर्णका घटनाहरुका कारण कतिपयले २६ चैत बिर्सेका पनि हुनसक्छन् । तर, हाम्रो आज ल्याउने हिजोको त्यही दिन भन्नेमा कसैको दुइमत हुनसक्तैन ।

जगदीशचन्द्र पोखरेल

ठ्याक्कै ३० वर्ष अघि, २०४६ सालको चैत २६ गतेको त्यो उत्साह, त्यो उमङ्गको दिन याद आयो ।

त्योबेला म अमेरिकाको बोस्टनमा थिए, विद्यार्थी ।

भोलि राजा वीरेन्द्रको घोषणा हुँदैछ भनेर मलाई कनकमणि दीक्षितजीले राति नै जानकारी गराउनु भएको थियो । उहाँ त्योबेला सयुक्त राष्ट्रसंघको मुख्य कार्यलयमा ¥यापोर्टर हुनुहुन्थ्यो ।
इन्टरनेटको जमाना थिएन, फ्याक्स भर्खरै आएको थियो । मैले नेपालस्थित घरमा फोन गरेर राजाको घोषणा हुने समय बताए र रेडियोलाई फोनसँग जोडिदिन आग्रह गरे । र, त्यसलाई रेकर्ड गरे ।

राजाको त्यो घोषणा सुन्न नेपाली विद्यार्थी साथीहरु एमआईटीस्थित मेरो अपार्टमेण्टमा भेला भएका थिए । टेप सुनाइरहँदा साथीहरुको देखिएको उत्साह र उमङ्ग आज पनि मलाई बरोबर सम्झना आउँछ ।

त्यो आइतबारको दिन थियो अर्थात् अल्कोहल बिक्री नहुने ‘सुख्खा दिन’ । साथीहरु आफ्नो कोठामा रहेका सकिन सकिन लागेका बोतल बोकेरै मेरो अपार्टमेण्टमा हतार हतार आएका थिए । अभूतपूर्व जमघट थियो त्यो ।

त्यतिबेला बोस्टनमा रहेका धर्म आचार्य, डा.प्रतिभा पाण्डे, अम्बिका अधिकारी, रवीन्द्र भण्डारी लगायत सबै साथीहरु कुनै न कुनै रुपमा प्रजातन्त्रप्राप्तिको आन्दोलनमा सहभागी थिए । भारतले गरेको त्यतिबेलाको नाकाबन्दी, त्यसको विरोधमा नेपालको इतिहासमै पहिलो पटक न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ अगाडि प्रदर्शनमा सहभागी भएका हामीहरु राजाको निरंकुशताको विरोधमा बोस्टनबाट १० घण्टा ड्राइभमा वासिङटन डिसी पुगेका थियौं । र, ह्वाइट हाउस, क्यापिटल हिल, नेपाली राजदुतावास लगायतका स्थानहरुमा प्रदर्शन गरेका थियौं ।

त्यसैले पनि हामीलाई प्रजातन्त्र पुनःप्राप्तिको यो घोषणाले गौरवको अनुभूति गराइरहेको थियो । खानपिन गर्दै सबै साथीहरु खुलिरहेका थिए, चर्को चर्को स्वरमा आफ्ना अभिव्यक्ति राखिरहेका थिए । रात छिप्पिदो थियो तर छुट्टिन कसैलाई मन थिएन ।

यति बेला सम्झिल्याउँदा मलाई जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहजीले बाथरुमबाट टेलिफोनमा मलाई ‘यो अन्तिम लडाई हो’ भनेका कुरा पनि झल्झली भइरहेको छ ।

२०४६ सालको जनआन्दोलनको बेला अमेरिकाको वासिङ्गटन डिसीमा नेपाली समुदायले आन्दोलनको समर्थनमा गरेको प्रदर्शन । 


त्यसैगरी, अमेरिकाका ६ जना सिनेटर र कंग्रेसम्यानले समेत नेपालको प्रजातान्त्रिक आन्दोलनको समर्थनमा राजालाई सम्बोधन गर्दै लेखेको पत्र फ्याक्समार्फत हामीले व्यापक बनाएको घटना, न्युयोर्क टाइम्सका दक्षिणएशियाका संवाददाता सञ्जय हजारिकाको रिपोर्टिङ, रोयटर्सका संवाददाताका सहयोग, कंग्रेसम्यान जोसेेेेफ केनेडीको भेटमा ‘नेपालीहरुलाई राजनैतिक शरण चाहिन्छ ?’ भनेर सोधेको कुरा आज ताजा भएर आयो ।

शायद यी तीन दशकमा देशभित्र भएका कैयन् घटनाहरुका कारण हामीले २६ चैतको त्यो ऐतिहासिक दिनको महत्व बिर्सन गएका पनि हुनसक्छौं । त्यतिबेलाको जनआन्दोलनका नेतृत्वकर्ता प्रमुख नेताहरु आज हामीमाँझ पनि हुनुहुन्न । आन्दोलनमा हामीजस्तै सक्रिय युवा पनि अहिले ६० वर्ष पार गर्न लागिसके होलान्, उमेरले पनि स्मरण शक्ति कमजोर हुँदै जानु स्वभाविक हो ।

तर नेपालको लोकतान्त्रिक विकासमा २०४६ सालको परिवर्तनको महत्व हामीले कदापि भुल्नुहुन्न, याद गर्नैपर्ने हुन्छ ।

पुराना अल्बम पल्टाउँदै गर्दा गणेशमानजी आन्दोलनपछि न्यूयोर्कको कोलम्बिया युनिभिर्सिटी आएका बेला उहाँसँग खिचेको यो तस्बीर मसँग अझैं सुरक्षित रहेछ । हामी सबैले आफ्ना गर्विला यादहरुलाई युगौयुग जोगाइराख्नुपर्छ । भोलिका पुस्ताका लागि पनि, जसले आज पाएको स्वतन्त्रता ल्याउन अघिल्ला पुस्ताले गरेको बलिदान नर्बिसिउन् ।

 

प्रतिकृया दिनुहोस