अन्तर्वार्ता/विचार शनिबार, चैत २२, २०७६

आखिर इम्युनिटी हो के ?

हिमालखबर

आखिर इम्युनिटी हो के ?

इम्युनिटी शब्द ल्याटिन भाषाको इम्युनिस वा इम्यनिताज बाट आएको हो । ल्याटिनमा ‘इम्युनिस वा इम्यनिताज’को अर्थ अरुको दासता वा प्रभावबाट स्वतन्त्रता प्राप्त गरेको स्थिति वा आफूलाई स्वतन्त्र गराउने क्रिया हुन्छ ।

 

डा. रामदेव पण्डित

अहिले दुनियाभरिका जनस्वास्थकर्मीहरुको मुखमै झुन्डिएको शब्द हो– इम्युनिटी । आखिर इम्युनिटी के हो त ? विभिन्न औपचारिक तथा अनौपचारिक स्रोतहरुबाट आएका विषयगत वा आंशिक दृष्टिकोणहरुमार्फत इम्युनिटीबारे आम नेपालीजन पनि आफ्नो बुझाई फराकिलो बनाउन प्रयासरत देखिन्छन् । इम्युनिटीबारे स्पष्ट एवं सार्वभौम बुझाई अहिलेको आवश्यकता हो ।

आधुनिक र आयुर्वेद चिकित्सा विज्ञानमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) प्रतिको चिन्तनमा भिन्नता छ । आधुनिक चिकित्सा विज्ञानको प्राथमिक उद्देश्यनै इम्युनिटी वृद्धिका लागि रोग उत्पादक तत्व (कारण) लाई मार्नु वा हटाउन खोज्नु हुन्छ । यता आयुर्वेदका अनुसार भने समष्टिगत रुपमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धिमा जोड दिइन्छ ।

सामान्य भाषा इम्युनिटी भनेको आफूलाई रोग लाग्नबाट जोगाउन शरीरमा निहित एक विशेष प्रकारको क्षमता वा शक्ति हो । साथै शरीरमा लागि सकेको रोग विरुद्ध लडने शक्ति पनि इम्युनिटी नै हो । इम्युनिटी बढ्नु वा बढाउनुको अर्थ रोग लाग्ने कारणलाई रोक्नु वा छेक्नु हो ।

आयुर्वेद शास्त्रहरुमा इम्युनिटीलाई व्याधिक्षमत्व, बल वा ओज भनिएको छ । इम्युनिटीकै पर्यायवाचीका रुपमा आयुर्वेदमा अन्य शब्दहरु सर्वधातु सार, स्थिरता, सार, प्रसाद, जीवशोणितुम, श्लेषम, दिप्ती, कान्ति, प्राण आदि पनि प्रयोग गरिएका छन् ।

व्यक्तिपिच्छे इम्युनिटी फरक फरक हुन्छ । भन्नुको अर्थ यदि दुई जना व्यक्तिलाई एउटा रोगाणु (रोग लगाउने तत्व) को सम्पर्कमा ल्याइयो भने एउटामा रोग लाग्ने र अर्कोमा नलाग्ने हुनसक्छ । त्यस्तै हरेक लिङ्ग, उमेर, जात, धर्म, एवं प्रजाति अनुसार पनि फरक फरक रोग र इम्युनिटी रहेको हुन्छ । भौगोलिक हिसाबले पनि मानिसहरुमा इम्युनिटी फरक देखिएको छ ।

‘इम्युनिटी’ आधुनिक चिकित्सा एवं जीव विज्ञानको एक महत्वपूर्ण विषय हो । यसलाई अध्ययन गर्ने चिकित्सा एवं जीव विज्ञानको हाँगालाई इम्युनोलोजी भनिन्छ । सन् १७९६ मा विफर रोग (स्मल पक्स डिजिज) लगाउने ‘भ्यारीओला भाइरस’ विरुद्धमा भ्याक्सिन आविष्कार गर्ने बेलायती वैज्ञानिक इडवार्ड जेनरलाई इम्युनोलोजीका पिता मानिन्छ ।

डच वैज्ञानिक एन्टोनी भ्यान लियुवेनहुकले परिस्कृत स्तरको माइक्रोस्कोप बनाई पहिलो पटक सूक्ष्म जीव (प्रोटोजोवा, ब्याक्टेरिया आदि) लाई देख्न सम्भव बनाएका थिए । सन् १८६१ मा लुई पास्चरले जीवाणुलाई रोगहरुको कारण बताउँदै ‘जर्म थेयोरी अफ डिजिज’ आविष्कार गरे । त्यसपछि नयाँ नयाँ रोगको कारणको रुपमा नयाँ नयाँ जीवाणु आविष्कार हुँदै गए । सन् १८९२ मा मार्टिन्स विलियम बेजरिङ्कले भाइरस पत्तो लगाइसकेपछि इम्युनोलोजीको जग बन्दै गयो ।

भाइरस पत्ता लाग्नु अघि नै इम्युनिटी निमार्णका लागि खोपको विकास भएको थियो । कुनै बेला विफर रोगले लाखौं लाख मानिस मर्थे । उपचार केही थिएन । त्यसैबेला इडवार्ड जेनरले देखे कि गाईमा लाग्ने कम हानिकारक गाई विफर (काउ पक्स) ले मान्छेलाई यदाकदा मात्र संक्रमण गर्छ र संक्रमण गरे त्यसले मान्छेको शरीरमा स्मल पक्स विरुद्ध एन्टीबडी (रोग प्रतिरोधात्मक तत्व) बनाउँदो रहेछ ।

त्यसपछि त्यही काउ पक्सलाई जेनरले विफर विरुद्धको भ्याक्सिन (मान्छेमा स्मल पक्स विरुद्धको एन्टिबडी निकाल्ने एन्टिजेन) को रुपमा रुपान्तरण गरे । यो नै मानव समाजको लागि पहिलो भ्याक्सिन थियो । उक्त भ्याक्सिनले त्यसबेला विफरबाट लाखौं मान्छेलाई बचाउने इम्युनिटीका रुपमा काम ग¥यो ।

सुश्रुत संहिताको एउटा श्लोकमा ‘मानव शरीर दोष, धातु र मलले बनेको’ भनेर उल्लेख गरिएको छ । त्यसैगरी अर्को श्लोकमा स्वास्थ्यको परिभाषा गर्दै ‘मानव शरीरमा हुने धातु, अग्नि, एवं मल आदिको सन्तुलन र आत्मा एवं मनको प्रसन्नता नै स्वास्थ्य हो’ भनिएको छ ।

यसरी शरीरको स्वास्थ्यको कारक तत्वलाई सम अवस्थामा राख्नु र रोग लाग्ने विषम अवस्थामा जान नदिनु नै आयुर्वेदमा उल्लेख व्याधिक्षमत्व (इम्युनिटी) हो । शरीरको सप्तधातुको साररुप ओज हो । ओजको कार्यरुप बल हो । ओजले शरीरको अपक्षय, व्यपजनन तथा उपसर्गहरुबाट रक्षा गर्दछ । यसैलाई व्याधिक्षमत्व भनिन्छ । आयुर्वेदका अनुसार व्यधिक्षमत्व तीन प्रकारको मान्न सकिन्छ, सहज बल (जन्मजात प्राप्त बल), कालज बल (समय, ऋतु र उमेरको बल) र युक्तिकृत बल (आर्जित बल) ।

इम्युनोलोजिको भाषामा इम्युनिटी व्यवस्थापनका लागि मानव शरीरमा केही विशेष इम्युन कोषहरुको तैनाथीमा छुट्टै इम्युन सिस्टम नै हुन्छ । जसमार्फत शरीरले कुनै संक्रमण विशेष वा विषाणु विरुद्ध एन्टिबडी कोषहरु बनाएर वा सेतो रक्त कोषहरुलाई सक्रिय बनाएर लड्छ ।

त्रय–उपस्तम्भ आहार, निन्द्रा र ब्रह्मचर्यको पालनले व्याधिक्षमत्व बढ्छ । वय शक्ति, आहार शक्ति र व्यायाम शक्तिले पनि व्याधिक्षमत्व बढ्छ । पञ्चकर्म विधिबाट शरीरको शोधन गर्नु इम्युनिटी बढाउनु हो । शरीरमा पञ्चमहाभूतको सन्तुलन मिलाउनु ओज वृद्धि गर्नु हो । ओज एवं बलबर्धक औषध द्रव्य, रसायन द्रव्य, बाजीकरण द्रव्य, र आचार रसायन रसायनको प्रयोग गरी शरीरको धातुलाई समन गर्नु व्याधिक्षमत्व हो । रज र तम विकारबाट मनलाई सत्वमा स्थापित गर्नु व्याधिक्षमत्व हो ।

आधुनिक चिकित्सा विज्ञानको इम्युनोलोजिको भाषामा इम्युनिटीका लागि मानव शरीरमा छुट्टै एउटा इम्युन सिस्टम नै हुन्छ । जसमा शरीरको इम्युनिटी व्यवस्थापनका केही विशेष इम्युन कोषहरु तैनाथ भएका हुन्छन् । यसर्थ इम्युनिटी भनेको प्राणी भित्र हुने एक क्षमता हो । जसमा शरीर कुनै संक्रमण विशेष वा विषाणु विरुद्ध एन्टिबडी कोषहरु बनाएर वा सेतो रक्त कोषहरुलाई सक्रिय बनाएर लड्छ ।

आधुनिक चिकित्सा विज्ञान अनुसार इम्युनिटी दुई प्रकारको मानिएको छ । पहिलो जन्मजात (इनेट) इम्युनिटी अर्थात् व्यक्तिले जन्मजात पाएको समग्र आनुवंशिकले दिने क्षमता र अर्को आर्जित (एडप्टिभ) अर्थात् प्राकृतिक–सक्रिय तथा निस्क्रिय र कृत्रिम–सक्रिय तथा निस्क्रिय ।

प्राकृतिक रुपमा निस्क्रिय इम्युनिटी आमाबाट जन्मजातै प्राप्त हुन्छ भने सक्रिय इम्युनिटी प्रथम पटकको संक्रमणद्वारा बन्ने एन्टिबडीबाट प्राप्त हुन्छ । कृत्रिम रुपमा निस्क्रिय इम्युनिटी एउटा शरीरमा बनेको एन्टिबडी अर्को शरीरमा सारेर गरिन्छ भने सक्रिय इम्युनिटी रोग लगाउने जीवाणु जस्तै जीवाणु कम हानिकारक वा मारेर मानव शरीरमा भ्याक्सिन मार्फत प्रवेश गराइन्छ ।

यी दुवै खाले इम्युनिटीले शरीरको जलियांश (पानीयुक्त अंश) मा रहने जैविक तत्व
एन्टीबडी मेडियेटेड (प्रोटिन, पेप्टाइड, कम्पलिमेन्ट आदि) वा शरीरभित्र रहेको केही विशेष प्रकारको कोष–सेल मेडिएटेड इम्युनिटी (इम्युन सेल्स–टी सेल्स, बी सेल्स, आदि) लाई अस्त्रको रुपमा प्रयोग गरी शरीरको इम्युनिटी रक्षा गर्दछ । शरीरको रक्तसञ्चार प्रणालीमा भित्र र बाहिरबाट आउने विजातीय पदार्थको पहिचान गर्ने, जुध्ने र परास्त गर्न प्रयत्न गर्छ र परास्त गर्न नसक्दा शरीलाई त्यस विजातीय पदार्थप्रति सचेत तुल्याउँछ ।

अहिले नोबल कोरोना (कोभिड १९) मानव शरीर भित्र प्रवेश पाउँदा त्यसलाई शरीरको इम्युन सिस्टम वा भनौ इम्युन सेल्सहरुले विजातीय पदार्थको रुपमा पहिचान गरेको छ । शरीरमा प्रवेश गरेको यो नयाँ भाईरस विरुद्ध लड्ने तागत वा अस्त्र मानव शरीरसँग नभएकोले शरीरले त्यस विरुद्ध प्रतिक्रिया गर्दा निमोनिया लाग्ने, स्वास बढ्ने, ज्वरो आउने, खोकी लाग्ने जस्तो लक्षण देखा परेको छ ।

एकपटक कोभिड १९ लागेपछि त्यस विरुद्ध शरीरले एन्टीबडी बनाई हाल्छ । त्यही संक्रमण अर्को पटक फेरी हुँदा त्यसले शरीरमा रोग लगाउन सक्दैन । कोरोना लागेर निको भइसकेको व्यक्तिमा फेरी कोरोना लागे उसलाई केही खतरा हुँदैन किनभने पहिलो पटकको संक्रमणका बेला शरीरले कोभिड १९ विरुद्ध एन्टिबडी बनाइसकेको हुन्छ।

प्रकृतिमा भाइरस अदभूत जीव हो । सजीव शरीरमा सजिव जस्तो व्यवहार गर्ने निर्जीव शरीरमा निर्जीव वस्तुको रुपमा प्रस्तुत हुनु भाईरसको विशेषता हो । यही विशेषताकै कारण यसलार्ई ‘अब्लिगेटरी प्यारासाईट’ पनि भनिन्छ ।

हरेक नयाँ भाइरसको रोग लगाउने शैली फरक फरक हुन्छ । अतः एउटै भ्याक्सिन सबै भाइरसका लागि उपयोगी हुँदैन । जबकि एउटा समूहको ब्याक्टेरियाको रोग लगाउने शैली समान हुन्छ जसकारण एउटै एन्टिबायोटिकबाट धेरै ब्याक्टेरियालाई मार्न संभव हुन्छ ।

भ्याक्सिन (खोप) दिने प्रकृयालाई भ्याक्सिनेसन भनिन्छ । भ्याक्सिन त्यस्तो जैविक औषधि हो जसले रोग विशेष विरुद्ध सक्रिय आर्जित इम्युनिटी प्रदान गर्दछ । भ्याक्सिनको घटक् भनेको रोग लगाउने जीवाणु जस्तै जीवाणुहरु हुन्छन् । भ्याक्सिन भित्र जीवाणुहरुलाई कम हानिकारक बनाएर वा मारेर राखिएको हुन्छ ।

प्रतिकृया दिनुहोस