पश्चिम एशियामा चर्केको युद्धका कारण वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जान लागेका नेपाली युवा अलपत्र परेका छन्। पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेकाहरूको २ हजार भिसा रद्द हुने भएको छ।
२०८२ चैत १७ बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भरिभराउ थियो। आफ्नो मान्छेको विदाइमा रोइरहेका परिवारजन, विमान उड्ने पर्खाइमा बसेकाहरू, फोटो खिचाइरहेकाहरू, खादा र टिकासहितका लामबद्ध अनुहार। धेरैजसो जापान जान लागेका थिए, केही मलेसियाको विमान पर्खिरहेका थिए।
हुलको एक छेउमा बसेका थिए दुई पुरुष। जिम्मेवारीको भारीले गलाएजस्तो देखिने ती दुईका अनुहारमा निराशा र हातमा साउदीको हवाई टिकट थियो। यी थिए सिरहा, नवराजपुरका ३४ वर्षीय महादेव यादव र लहानका ३५ वर्षीय रोहित ठाकुर। छुट्टी लिएर घर आएका यी दुवै चैत १८ गते साउदी उड्नुपर्ने थियो। तर अघिल्लो दिनसम्म पनि उडानको कुनै टुंगो थिएन। दुवै जना साउदीमा ड्राइभरको काम गर्थे।
फागुन १६ गते संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि हमला सुरु गरेपछि इरानले पनि जवाफी आक्रमणस्वरूप इजरायलमाथि र खाडीका अमेरिकी सैन्य अखडा रहेका छिमेकी देशहरूमाथि गरेको छ। साथै, यस युद्धमा यमन र लेबनन पनि जोडिएका छन्। युद्धका कारण खाडीका १२ देशका उडान अनिश्चित भएकाले ती देशमा जान लागेका नेपालीहरू अलपत्र परेका छन्। विमान उड्ने–नउड्ने जानकारी लिन महादेव र रोहितले त्रिभुवन विमानस्थलमा घरबाटै फोन गरेका थिए। कैयौँ पटक फोन गर्दा पनि कुनै जवाफ नपाएपछि उनीहरू विमानस्थलमै आइपुगेका थिए। त्यहाँ पुगेर जानकारी माग्दा समेत ठोस उत्तर नपाएपछि ती अन्योलमा परिरहेको भेटिए।
दुई महिनाअघि रोहित र महादेवलाई कम्पनीले आते–जाते टिकटसहित घरबिदामा नेपाल पठाएको थियो। उनीहरूलाई समयमा उड्न नपाए टिकट रद्द हुने र रोजगारी गुम्ने चिन्ता बढी छ। “रोजगारी गयो भने श्रीमती र छोराछोरी कसरी पाल्नु?” पैसा तिरेर टिकट किन्न नसकिने बताउँदै यादव भन्छन्, “नेपालमा नोकरी छैन। जे सुकै होस्, विदेश जानैपर्छ।”
टिकट बोकेर विमानस्थलमा धाउने उनीहरू मात्र थिएनन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचना पाटीमा टाँसिएका पश्चिम एशिया युद्धका कारण उत्पन्न परिस्थितिसम्बन्धी विभिन्न एयरलाइन्सका सूचनाहरू।
सिरहा, लहान–१८ का ३० वर्षीय दिनेश सदाय पनि काठमाडौँमा भौतारिइरहेका छन्। उनी कतारमा निर्माणसम्बन्धी (स्काफोल्डर) काम गर्छन्। दुई वर्षपछि दुई महिनाको घरबिदामा फर्किएका थिए। बिदा सकेर यही चैत ३० गते कतार जानु पर्नेछ। इरान युद्धका कारण उडान अनिश्चित बनेपछि सदायले घरबाट विमानस्थलमा पटक–पटक फोन सम्पर्क गरे। सम्पर्क हुन नसकेपछि उनी काठमाडौँ आए। “फ्लाइट हुन्छ कि हुँदैन भन्ने थाहा छैन भन्छन्, अहिले चाहिँ बन्द छ अरे,” सदाय भन्छन्, “जसरी पनि जान पाए हुन्थ्यो।” उनलाई पनि नोकरी गुम्ने डर छ।
युद्ध सुरु भएको भोलिपल्टै अर्थात् फागुन १७ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णयअनुसार वैदेशिक रोजगार विभागले पश्चिम एशियाका देश साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायल लगायत १२ देशमा जान व्यक्तिगत श्रम, संस्थागत श्रम र पुनः श्रम स्वीकृति रोक्यो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार त्यसअघि दैनिक करिब २ हजार जनाभन्दा धेरैले संस्थागत, ११०० भन्दा धेरैले पुनः र ३५० जनाले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका थिए।
सरकारको यस्तो निर्णयका कारण भिसा आइसकेर रोजगारीका लागि जान तयार रहेका धेरै युवा रोकिएका छन्। वैदेशिक रोजगार व्यवसायी महासंघका अनुसार युद्धका कारणले श्रम स्वीकृति बन्द भएपछि करिब २ हजार भिसा रद्द हुने भएको छ। भिसा रद्द हुँदा श्रमिकको लगानी खेर जाने र कम्पनीले अरू नै कामदारलाई ल्याउने हुनाले रोजगारी गुम्ने अवस्था आएको महासंघका महासचिव महेशकुमार बस्नेतले बताए। महासचिव बस्नेत भन्छन्, “श्रमिकहरूमा नैराश्य र ठूलो आर्थिक नोक्सानी भएको छ।”
नेपाल सरकारले श्रम स्वीकृतिमा रोक लगाएपछि सम्बन्धित देशमा रहेका गैरआवासीय नेपाली संघ, दूतावासमार्फत श्रम स्वीकृति समाप्त भएर पुनः नवीकरण गर्न नपाएका श्रमिकले पुनः श्रम स्वीकृतिको माग गर्दै दबाब दिए। त्यसपछि श्रम तथा रोजगार मन्त्रालयले साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीमा पुनः श्रम स्वीकृति खुला गरिदियो। त्यसैबमोजिम चैत ३ गतेदेखि यी देशमा कार्यरत नेपाली श्रमिक र बिदामा नेपाल आई पुनः रोजगारीका लागि फर्किन चाहनेले श्रम स्वीकृति लिन पाए। इरान, इजरायल, बहराइन, कुवेत, इराक र लेबननका निम्ति भने श्रम स्वीकृति रोकिएको छ।
‘युद्ध भए पनि जाने’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी वसन्तबहादुर बोहरा पुनः श्रम स्वीकृति खुला गरेपछि संस्थागत श्रम स्वीकृति लिन नपाएकाहरूबाट गुनासो आइरहेको बताउँछन्। “पुनः श्रम स्वीकृति लिएर दोस्रो/तेस्रो पटक जाने मान्छे पनि युद्ध भएकै ठाउँमा जाने हो। हामी पहिलो पटक जाने पनि त्यहीँ नै हो– किन हामीलाई विभेद भन्ने कुरा आएका छन्,” सूचना अधिकारी बोहरा भन्छन्, “तथापि नयाँ व्यक्तिहरू जान, त्यहाँ सेटल हुन धेरै समय लाग्ने भएकाले रोकिएको हो।”
कैलालीको गौरीगंगा नगरपालिका–७ का २२ वर्षीय गणेश जोशी पहिलो पटक वैदेशिक रोजगारीका लागि यूएई जाने तयारीमा थिए। घरमा आमा–बुबा र एउटी दिदी छन्। आर्थिक अवस्था कमजोर भएका कारण बेलाबेला भारतमा काम गर्न जान्थे। तर दैनिक ज्यालादारीमा गरेको कमाइले खान–बस्न मात्रै पुग्थ्यो। जिम्मेवारीको बोझले थिचेपछि जोशी अब केही समय विदेशमा कमाएर आर्थिक स्तर उकास्ने सोचमा थिए।
म्यानपावर कम्पनीले प्रक्रिया सुरु भएको ४५ दिनभित्रै विदेश पठाउने भनेको थियो, जसका लागि यूएईस्थित ‘शपिङ मल’मा काम गर्ने भिसा दिएपछि उनले किनमेलसमेत गरिसकेका थिए। तर उनको पहिलो गाँसमै ढुंगा लाग्यो। इरान युद्धका कारण वैदेशिक रोजगार विभागले श्रम स्वीकृति नै रोकिदियो। त्यसपछि उनको विदेश जाने प्रक्रिया रोकिएको छ। अहिले घरमै रहेका उनी कहिले श्रम खुल्छ र परदेश उडौँ भनेर पर्खिरहेका छन्।
युद्ध नभएको भए जोशीजस्तै दाङ, तुलसीपुरका २७ वर्षीय वसन्तराज सुनार यतिबेला यूएई पुगेर काम गरिरहेका हुन्थे। तर एक महिनाअघि यूएईमा ‘सुपरमार्केट’का लागि भिसा आए पनि उनी उड्न पाएका छैनन्। यसअघि उनी साउदी गएका थिए। त्यहाँ गाडी धुने ठाउँमा ‘क्यासियर’को काम गर्थे। कम्पनी नराम्रो पर्यो, समयमा तलब पाएनन्, चित्तबुझ्दो काम नभएपछि चार महिनाअघि त्यहाँबाट फर्किएर उनी यूएई जान लागेका हुन्। तर यूएई जान युद्धले रोक्यो। श्रम स्वीकृति नपाएपछि उनी जान नपाएका हुन्। उनी भन्छन्, “युद्ध नै भए पनि खुल्नेबित्तिकै जाने हो।”
पश्चिम एशियामा विकसित युद्धस्थितिबारे जानकारी दिँदै तथा नेपाली श्रमिकलाई सतर्कता अपनाउन आग्रह गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति।
एक नेपालीको मृत्यु, २१ घाइते
फागुन १६ गते राति यूएईको अबुधाबीस्थित जायेद अन्तर्राष्ट्रिय विमानस्थलमा इरानले प्रहार गरेको ड्रोन मिसाइल आक्रमणमा परी एक जना नेपाली श्रमिकको ज्यान गयो। अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने गोरखाका २९ वर्षीय दिवस श्रेष्ठले ज्यान गुमाए। यस्तो आक्रमणमा परी पश्चिम एशियामा हालसम्म २१ जना नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। ती घाइतेहरू उपचारपछि डिस्चार्ज भइसकेका छन्।
परराष्ट्र मन्त्रालयको तथ्यांकअनुसार हाल पश्चिम एशियाका युद्धभूमिमा १७ लाख २९ हजारभन्दा बढी श्रमिकले काम गरिरहेका छन्। यस्तो अवस्थामा पनि विदेश उड्न चाहनेहरू काठमाडौँ धाइरहेका छन् भने कार्यक्षेत्रबाट फर्कन चाहनेहरू पनि छन्। त्यसरी फर्कन चाहनेहरूका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरी उद्धार कार्य थालिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आवश्यक जानकारी तथा सूचना दिने टोली राखिएको छ।
टोलीअन्तर्गतको हेल्पलाइनमा फागुन २२ गतेदेखि हालसम्म २१० पटक सम्पर्क गरिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले जानकारी दिए। उनका अनुसार सम्पर्क गर्नेहरूले आफू समस्यामा परेको, नेपाल फर्किन चाहेको र उडान समयबारे जानकारी चाहेका थिए। मन्त्रालयले युद्ध क्षेत्रमा रहेका नेपालीहरूलाई आफ्नो अवस्थाबारे जानकारी गराउन आह्वान गरेको थियो। पौडेलका अनुसार ८७ हजार १०० जनाले कन्सुलर सेवा विभागको सरकारी प्रणालीमा आफ्नो विवरण दर्ता गरेका छन्।
नियमित उडान रद्द भएका कारण अलपत्र बनेका नागरिकको उद्धारका लागि नेपाल एयरलाइन्सले विशेष उडान सेवा दिने भएको छ। चैत १७ गते परराष्ट्र मन्त्री शिशिर खनाल, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका वरिष्ठ प्रतिनिधिसहित बसेको बैठकले खाडी क्षेत्रमा रहेका नेपाली नागरिकको उद्धार र आवागमन सहज बनाउन विशेष उडान गर्ने निर्णय गरेको छ।
त्यसको भोलिपल्ट चैत १८ गते राति बुधबार २९१ जना र विभिन्न कारणले कुवेतमा मृत्यु भएकाका ९ जनाको शव कुवेत एयरवेजको चार्टर्ड उडानमार्फत नेपाल ल्याइयो।
परराष्ट्र मन्त्रालयका अनुसार विशेष उडानअन्तर्गत शुक्रबार राति काठमाडौँदेखि दुबई, शनिबार दुबईदेखि काठमाडौँ र शनिबार काठमाडौँदेखि दमाम तथा दमामदेखि काठमाडौँ उडान गरिएकोमा ४९८ जनालाई नेपाल फर्काइएको छ। साथै, ४ शव पनि ल्याइएको छ। विभिन्न देशमा युद्धका कारण रोकिएका ३८ शव पनि नेपाल ल्याउने पहल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेलले जानकारी दिए।
सम्बन्धित दूतावासहरू तथा अन्य सम्बन्धित निकायसँग छलफल गर्दा परिस्थिति हेरेर केही समय संस्थागत श्रम स्वीकृति स्थगन गर्न सुझाव आएको हुनाले केही समय पर्खिएको सम्बन्धित निकायको भनाइ छ। अवस्थामा सुधार आएपछि सम्बन्धित सबै निकायसँग छलफल–संवाद गरेर सुरक्षाको संवेदनशीलता हेरेर खोल्ने व्यवस्था गरिने बोहरा बताउँछन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता पौडेल पनि ती क्षेत्रका दूतावास, नियोगहरूसँगको सम्पर्क, समन्वय र जानकारीअनुसार परिस्थिति सामान्य हुँदै गइरहेको भए पनि ड्रोन, मिसाइल आक्रमण हुने अवस्था नरोकिएको बताउँछन्।