मनोचिकित्सकहरूका अनुसार परामर्शका लागि आउनेमध्ये सामाजिक सञ्जालमा भएका घटनाका कारणले एन्जाइटीमा परेका किशोरकिशोरीको संख्या उल्लेख्य छ।
काठमाडौंकी १७ वर्षीया एक किशोरी सधैं मास्क र कालो चश्मा लगाउँथिन्। एकाएक उनी घर बाहिर निस्कन हच्कन थालिन्। कलेज समेत नियमित जान छाडिन्। छोरीमा आएको यस्तो बदलावले चिन्तित परिवारले उनलाई मनोचिकित्सककहाँ पुर्यायो।
मनोपरामर्शका क्रममा उनी एक्लै घरभित्र बसिरहनुको कारण खुल्यो। “उनलाई आफू सुन्दर नरहेको र त्यही कारणले अरूले जिस्क्याउलान् भन्ने लागेको रहेछ,” मनोचिकित्सक प्रदीप पाण्डे भन्छन्, “त्यसैले बाहिर निस्कन डराएकी रहिछन्।”
पाण्डेका अनुसार उनलाई ‘सोसल एन्जाइटी डिसअर्डर’ भएको थियो जसमा मान्छे समाजसँग डराउँछ। समस्या पहिचान भएपछि उनलाई १० पटकभन्दा बढी ‘काउन्सिलिङ’ मा राखियो। तब उनको डर हरायो, आत्मविश्वास बढ्यो। मास्क र चश्मा खोलेर निर्धक्क हिंड्न थालिन्। “मास्क खोल्दा उनी साँच्चै सुन्दर थिइन्, पटक पटकका परामर्शपछि मात्र उनले त्यसलाई स्वीकार गर्न सकिन्,” पाण्डे भन्छन्, “अहिले नियमित कलेज जान थालेकी छन्।”
ललितपुरकी एक किशोरीका बुबाआमाबीच सधैंजसो झगडा परिरहन्थ्यो। यही कुराले उनीभित्र असुरक्षा भावना र डर बढाउँदै थियो। यस्तैमा तीन वर्षअघि पेट दुख्ने समस्या देखियो। मिर्गौलाको रोग लागेको र अब आफू नबाँच्ने भन्दै मनमा कुरा खेलाउन थालिन्। पाटन अस्पतालमा जाँच गराउँदा मिर्गाैलामा कुनै समस्या देखिएन। चिकित्सकले खानपान नमिलेर पेट दुखेको भन्दै औषधि लेखेर पठाइदिए। तर पेट दुखाइ कम भएन। यसबीच उनीभित्रको डर झन् बढ्दै थियो। अभिभावकको सम्बन्ध टुटेर आफू एक्लिनुपर्ला भनी आत्तिएकी उनी प्रेमीले फोन नउठाउँदा पनि छाडेर हिंडिहाल्यो कि भनेर डराउँथिन्। “कहाँ जाऊँ, के गरूँ हुन्थ्यो,” उनी सुनाउँछिन्, “आफ्नो कोही छैन, जिन्दगी नै बर्बाद भयो भन्ने लाग्थ्यो।”

डर बढ्दै गएपछि उनी फेरि अस्पताल गइन्। निकै सोधपुछपछि चिकित्सक उनलाई ‘एन्जाइटी’ भएको निष्कर्षमा पुगे। उनले तत्काल औषधि खाइहाल्न नपर्ने, बरु आफ्ना कुरा मन मिल्ने मान्छेलाई सुनाउने, परिवारका सदस्यसँग समय बिताउने, किताब पढ्ने, सकारात्मक ऊर्जा दिने कुराहरू सुन्ने, खानपानमा ध्यान दिने, योगध्यान गर्ने आदि परामर्श दिए।
किशोरी अब मलेशियामा रहेका दाजुसँग फोनमा कुरा गर्न थालिन्। उनले आफूलाई पनि एन्जाइटी रहेको र औषधि खाइरहेको सुनाए। दाजुबाट सान्त्वना पाएपछि ती किशोरीको डर बिस्तारै हराउँदै गयो।
पछिल्लो समय किशोरकिशोरीमा एन्जाइटी बढ्दो दरमा रहेको मनोपरामर्शदाता तथा मनोचिकित्सकहरूको भनाइ छ। यही कुरा केही वर्षयताका अध्ययनले पनि देखाउँछन्।
जर्नल अफ नेपाल पेडियाट्रिक सोसाइटीमा सन् २०२२ मा प्रकाशित, काठमाडौंका विभिन्न उच्चमाविमा अध्ययनरत ४८२ किशोरकिशोरीमा गरिएको सर्वेक्षणमा आधारित आलेख अनुसार ३८.६ प्रतिशतमा न्यूनतम, २४.७ प्रतिशतमा सामान्य, २५.१ मा मध्यम, ११.६ प्रतिशतमा गम्भीर एन्जाइटी पाइएको छ।
त्यस्तै जर्नल अफ चितवन मेडिकल कलेजमा रहेको सन् २०२१ मा भरतपुर महानगरपालिकाका कक्षा ११ र १२ का ३८८ किशोरकिशोरीमा गरिएको सर्वेक्षणमा आधारित आलेखमा ३०.७ प्रतिशतमा एन्जाइटी पाइएको उल्लेख छ। तिनमा १९.९ प्रतिशतलाई हल्का, ७.६ प्रतिशतलाई मध्यम र ३.२ प्रतिशतलाई गम्भीर प्रकृतिको एन्जाइटी थियो।
वान हेल्थ जर्नल अफ नेपालमा सन् २०२३ मा प्रकाशित, बुटवल उपमहानगरपालिकाका १० देखि १९ वर्ष उमेर समूहका ३९० किशोरकिशोरीमा गरिएको अध्ययन अनुसार ४९.७ प्रतिशतलाई एन्जाइटी थियो। यसअघि जर्नल अफ इन्स्टिच्यूट अफ मेडिसिन इन नेपालमा सन् २०१८ मा प्रकाशित, काठमाडौंका ६ वटा सार्वजनिक विद्यालयका १४ देखि १९ वर्ष उमेर समूहका ४११ किशोरकिशोरीमा गरिएको सर्वेक्षणले ५६.९ प्रतिशतमा एन्जाइटी देखाएको थियो।
विश्वभरि नै किशोरकिशोरीमा एन्जाइटी बढ्दो रहेको विश्व स्वास्थ्य संगठनले औंल्याएको छ। संगठनका अनुसार विश्वव्यापी रूपमा १० देखि १९ वर्ष उमेर समूहका प्रत्येक सातमा एक जनाले मानसिक समस्या भोगिरहेका छन्। किशोरावस्थामा शारीरिक, मानसिक र भावनात्मक रूपमा विभिन्न परिवर्तन हुने भएकाले मानसिक स्वास्थ्य संवेदनशील बन्न सक्ने पनि संगठनले जनाएको छ।
सामाजिक सञ्जालको भूमिका
केही समयअघि करीब १४ वर्षका किशोरलाई परिवारले मनोपरामर्शदाता गंगा पाठककहाँ पुर्याए। ती किशोर अचानक विद्यालय जान छाडेका थिए, पढाइमा ध्यान थिएन। टोलाएर बस्थे। कारण पहिल्याउँदै जाँदा पाठकले किशोरको मोबाइल जाँच गरिन्। त्यहाँ देखिएको एउटा तस्वीरले उनलाई झसंग बनायो जसमा एक किशोरीले आफ्नो गोप्य अंग ‘ब्लेड’ ले काटेको देखिन्थ्यो।
किशोरले पाठकलाई बताए अनुसार त्यो तस्वीर उनलाई मिल्ने केटीसाथीले पठाएकी थिइन्। ती केटीले प्रेमीले आफूलाई छाडेर आफ्नै अर्की साथीसँग सम्बन्ध बढाएको भन्दै ती किशोरसँग पीडा पोख्ने गरेकी रहिछन्। त्यही क्रममा सामाजिक सञ्जाल मार्फत त्यस्तो तस्वीर पठाइछन्। तब किशोरले ती केटीको पूर्व प्रेमीसँग झगडा पनि गरेका रहेछन्। यिनै कारणले उनी मानसिक विचलनमा परेछन्। “परिवारलाई यो कुरा थाहै रहेनछ,” पाठक भन्छिन्, “उनलाई फकाएर ती तस्वीर मैले सबै प्लेटफर्मबाट डिलिट गरिदिएँ।”
त्यस्तै, काठमाडौंकै एक स्कूलमा १० कक्षामा पढ्दै आएका एक किशोर साथीहरूसँग खासै खुल्दैनथे। कारण, उनी आफ्नो रूप राम्रो नरहेको हीनताबोध पाल्थे। सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्वीरमा ‘लाइक’ नआएपछि उनले यस्तो ठानेका रहेछन्। “विद्यालयमा सबै साथी राम्रा रहेको र तिनले आफूलाई हेरेर हाँस्छन् भन्ने सोच्दा रहेछन्,” पाठक सुनाउँछिन्, “हुँदाहुँदा मर्नेसम्मको सोच बनाएका रहेछन्।”
पछिल्लो समय आफूकहाँ परामर्शका लागि ल्याइने किशोरकिशोरीमध्ये सामाजिक सञ्जाल अत्यधिक प्रयोग गर्ने, डिजिटल माध्यमबाट हुने हिंसामा पर्ने, यौनजन्य तस्वीर र भिडिओले विचलित बनाएकाहरू निकै हुने गरेको पाठकको अनुभव छ। किशोरकिशोरीहरू सामाजिक सञ्जालबाट नजिकिने, यौनक्रियाकलाप गर्ने तर त्यसपछि सम्बन्ध छुट्ने हो कि भन्ने डरले पनि एन्जाइटीमा पर्ने गरेका छन्। विद्यालयमा साथीहरूबाट हुने खिसीटिउरी र अन्य हिंसाले एन्जाइटीमा पर्नेहरू पनि छन्।
पबमेड जर्नलमा सन् २०२४ मा प्रकाशित, काठमाडौंमा ९ र १० कक्षाका १४ देखि १७ वर्ष उमेर समूहका ४०१ जना किशोरकिशोरीमा सामाजिक सञ्जालको प्रयोग र सोही सम्बद्ध चिन्ताका विषयमा गरिएको सर्वेक्षणमा आधारित आलेख अनुसार ९३.३ प्रतिशतलाई ‘सोसल एन्जाइटी डिसअर्डर’ पाइएको थियो। तिनमा खासगरी आफ्नो सामाजिक सञ्जालको गोपनीयताको चिन्ता थियो। यद्यपि सहभागीमध्ये ३७.९ प्रतिशतले आफ्नो खाता अन्य व्यक्तिसँग साझा गरेको उल्लेख गरेका थिए। सर्वेक्षणले समग्र किशोरकिशोरीमध्ये गम्भीर प्रकृतिको एन्जाइटीको स्तर किशोरीहरूमा ३५.४ प्रतिशत बढी रहेको देखाएको छ। सहभागीमध्ये ४६.६ प्रतिशतले दैनिक चारदेखि आठ घण्टासम्म सञ्जालमा बिताउने गरेको उल्लेख गरेका छन्।

किशोरकिशोरीमा हुने एन्जाइटीको प्रमुख कारण सामाजिक सञ्जाल नै रहेको दाबी गर्न नसकिए पनि विश्वमै एन्जाइटीमा रहेका किशोरकिशोरीमध्ये ठूलो संख्याले सामाजिक सञ्जालमा पनि निकै समय बिताउने गरेको सर्वेक्षणहरूले देखाउँछन्। जस्तो- पबमेड जर्नलमा सन् २०२४ मा प्रकाशित लेख अनुसार इङ्ल्यान्डमा ८० वटा माध्यमिक विद्यालयका ११ देखि १८ वर्ष उमेर समूहका १६ हजार ६५५ विद्यार्थीमा गरिएको सर्वेक्षणमा ३२.६ प्रतिशत अर्थात् पाँच हजार ४२९ जनामा चिन्ता र डिप्रेशनको लक्षण देखिएको थियो। उक्त सर्वेक्षणमा सहभागीमध्ये ४०.४३ प्रतिशतले फेसबूक, इन्स्टाग्राम, टिकटक, ट्वीटर आदि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उल्लेख छ।
समस्या र उपचार
एन्जाइटीले मानिसमा कुनै कुराबारे लामो समयसम्म चिन्ता र त्रास बढाइदिन्छ। मनोविद्हरूका अनुसार एन्जाइटी विभिन्न प्रकारका हुन्छन्। आर्थिक समस्या, स्वास्थ्य, परिवार र भविष्यको विषयलाई लिएर हुने अत्यधिक चिन्ता ‘जनरलाइज्ड एन्जाइटी डिसअर्डर’ हो। एक्कासि डर लागेर छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, मुटुको धड्कन बढ्नु, अहिल्यै मरिहालिन्छ कि भन्ने लाग्नु ‘प्यानिक एन्जाइटी डिसअर्डर’ हो।
सामाजिक रूपमा आफ्नो आलोचना र बेइज्जती होला भनेर डराउनु, मानिसहरूको बीचमा जान धक मान्नु ‘सोसल एन्जाइटी डिसअर्डर’ अन्तर्गत पर्छ। कुनै पनि वस्तु वा परिस्थितिले कायल हुनु, जस्तै पानी, उचाइसँग विना कारण डराउनु ‘स्पेसिफिक फोबिया’ हो। त्यस्तै आफन्त वा प्रिय मान्छेसँग टाढिनुपर्ने र केही गुमाउने कुराले डराउनु ‘सेपरेशन एन्जाइटी डिसअर्डर’ हो। घरमै बसिरहन खोज्नु, खुला ठाउँ वा भीडमा जान डराउनुलाई ‘एगोराफोबिया एन्जाइटी’ भनिन्छ।
एन्जाइटीमा जैविक, मनोवैज्ञानिक, सामाजिकसँगै वातावरणीय कारण पनि हुन सक्छन्। यसमा मस्तिष्कलाई चलाउने सेरोटोनिन, डोपामिन, नोरएड्रिनालिन जस्ता रसायन असन्तुलित भइदिन्छन्। किशोरावस्थामा हुने शारीरिक तथा मानसिक परिवर्तन, गर्भावस्था, महीनावारी चक्रमा गडबडी आदि कारणले पनि मानिस एन्जाइटीमा पर्न सक्छ। यस बाहेक हर्मोनको असन्तुलन, वंशानुगत कारण, बाल्यकालको दुर्व्यवहार, परिवारिक विग्रह, दुर्घटना आदिले पनि विचलनमा पुर्याउन सक्छन्।
पछिल्लो समय युवा पुस्तामा एन्जाइटी सामान्य जस्तै बनिसकेको ब्लिसफुल न्यूरोसाइकियाट्री सेन्टरका अध्यक्ष तथा मनोचिकित्सक प्रदीप पाण्डे बताउँछन्। “मकहाँ आउने बिरामीमध्ये ३० देखि ४० प्रतिशतमा एन्जाइटी देखिने गरेको छ,” उनी भन्छन्, “अहिले नेपालमा २० देखि २५ प्रतिशत व्यक्तिमा एन्जाइटी छ।”
एन्जाइटीमा परेकाहरूले आफूलाई के भएको हो भन्ने शुरूमा पहिचान गर्न सक्दैनन्। पेट, मांसपेशी दुख्ने, निद्रा नलाग्ने आदि समस्या लिएर अस्पताल गए पनि जाँचमा केही समस्या नदेखिएपछि धेरैतिर धाएर उनीहरू बल्ल मनोपरामर्शदाताकहाँ पुग्ने गर्छन्।
कति चाहिं पहिचान खुल्ला भनेर लाजले पनि चिकित्सककहाँ जान चाहिरहेका हुँदैनन्। आफूकहाँ कतिपय मान्छे पहिचान लुकाएर आउने गरेको मनोविद् पाठक बताउँछिन्। “कतिलाई चाहिं साथीभाइ र परिवारले ल्याएका हुन्छन्,” उनी भन्छिन्।
एन्जाइटीले दैनिक जीवनमा प्रतिकूल असर पारिरहने भएकाले यसलाई समयमै पहिचान गरेर जीवनशैली सुधार र मानसिक सन्तुलन कायम गर्नुपर्ने मनोविद् सन्ध्या ढुंगेल बताउँछिन्। एन्जाइटीका उपचारविधि दुई प्रकारका हुन्छन्- औषधि खाने र मनोपरामर्श। एन्जाइटीको प्रकार र बिरामीको व्यवहार हेरेर विभिन्न थेरापी गराइन्छ। “१२ प्रकारका थेरापी हुन्छन्, कुन किसिमको एन्जाइटी हो, त्यो हेरेर सिकाउँछौं,” ढुंगेल भन्छिन्, “व्यक्ति आफैंले पनि योग तथा शारीरिक व्यायाममा ध्यान दियो भने जीवनशैली सहज बन्छ।”
यी पनि पढ्नुहोस्