सडक दुर्घटनामा हरेक दिन औसत सात नेपालीले ज्यान गुमाइरहेका छन्, यसको प्रमुख कारण हो- तीव्र गति।
पोखराको लेकसाइडबाट शहीदचोकतिर आइरहेको मोटरसाइकल एकाएक सडकछेउको सोलारको पोलमा ठोक्कियो। गत माघ २६ को मध्यराति भएको दुर्घटनामा चालक र पछाडि सवार यात्रुको मृत्यु भयो। २० र २१ वर्षका युवकको ज्यान गएको दुर्घटनाको कारण थियो, मोटरसाइकलको तीव्र गति।
गत पुसको पहिलो साता कास्कीको तालचोकबाट विजयपुरतर्फ आउँदै गरेको टिपर बिग्रिएपछि सडकछेउमै रोकिएको थियो। साँझ पौने ८ बजेतिर तालचोकबाटै आउँदै गरेको मोटरसाइकल एक्कासि टिपरको पछाडिको भागमा ठोक्कियो। मोटरसाइकल चालकको घटनास्थलमै ज्यान गयो। ट्राफिक प्रहरीको अनुसन्धानमा दुर्घटनाको कारण देखियो, तीव्र गति।
त्यस्तै, गत चैतको अन्तिम साता पोखराको चिप्लेढुंगाबाट सभागृह चोकतर्फ आउँदै गरेको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दियो। मोटरसाइकलको ठक्करबाट ७६ वर्षीया वृद्धा गम्भीर घाइते भइन्। यस दुर्घटनाको पनि कारण थियो, तीव्र गति।
यी घटना कास्की जिल्लाका भए पनि देशभरकै अवस्थालाई दर्शाउँछन्। अझ दुईपांग्रे सवारीसाधन मोटरसाइकलको दुर्घटना अन्य सवारीसाधनको तुलनामा अत्यधिक छ। पछिल्ला २२ महीनामा भएका दुर्घटनामध्ये ७९ प्रतिशत मोटरसाइकल सम्बन्धी छन्। नेपालभर २०८० असारदेखि २०८२ वैशाखसम्म भएका ६९ हजार ७६२ सवारी दुर्घटनामध्ये ५५ हजार ५८७ मोटरसाइकलसँग सम्बन्धित छन्। अधिकांश दुर्घटनाको कारण तीव्र गतिसँग जोडिने ट्राफिक प्रहरीको भनाइ छ।
विश्व स्वास्थ्य संगठनको सन् २०२३ को प्रतिवेदन ले पनि विश्वभर मोटरसाइकल लगायत दुई र तीनपांग्रे सवारीसाधनसँग जोडिएका दुर्घटना धेरै रहेको देखाएको छ। संसारभर सडक दुर्घटनामा हुने मृत्युमध्ये ३० प्रतिशत हिस्सा मोटरसाइकल लगायत दुई र तीनपांग्रे सवारीसाधनले ओगट्छन्। दुर्घटनामा मृत्यु हुनेमध्ये चारपांग्रे सवारीसाधनका यात्रु २५ प्रतिशत छन्।
गण्डकी प्रदेशमै पनि पछिल्ला सात वर्षमा तीन हजार ७१५ सवारी दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। जसमध्ये एक हजार ७२९ अर्थात् ४६.५ प्रतिशत दुर्घटना मोटरसाइकलका कारण भएका छन्।
नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापा सडकमा मोटरसाइकल, साइकल र यात्रु सबैभन्दा बढी जोखिममा हुने गरेको बताउँछन्। चालकको लापरवाही, हेलचेक्र्याइँ र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको एसपी थापाको भनाइ छ। यससँगै मादकपदार्थ सेवन (मापसे), हेलमेट नलगाउनु, फोनको प्रयोग गर्नु, सवारी नियमको उल्लंघन गर्नु, सडकको अवस्था जीर्ण हुनु लगायत विविध कारणले पनि सवारी दुर्घटनाको संख्या बढेको उनी सुनाउँछन्।
तीव्र गति, मापसे लगायत कारणले धेरैजसो मोटरसाइकल दुर्घटना भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीकी प्रमुख शोभा पाण्डेय बताउँछिन्। “सबैभन्दा बढी असुरक्षित नै मोटरसाइकल हुन्छ। अलिकति छोइयो भने पनि दुर्घटनाको जोखिम हुन्छ,” पाण्डेय भन्छिन्, “झन् तीव्र गति, मापसे, फोनमा बोल्ने गर्दा दुर्घटना बढेका छन्।”
सडक पूर्वाधार राम्रो नहुँदा र सवारीसाधनको अवस्था लगायत विविध कारणले दुर्घटना हुने गरेको भए पनि सवारी चालक नै बढी होशियार हुनुपर्नेमा उनी जोड दिन्छिन्। “मोटरसाइकल चलाउनु भनेको हतियार चलाउनु जस्तै हो। त्यो हतियारलाई आफूले नियन्त्रणमा राखेर चलाउनुपर्छ,” पाण्डेय भन्छिन्।
गण्डकी प्रदेशमा भएको सवारी दुर्घटनाको तथ्यांक केलाउँदा मुख्य १० वटा कारण देखिएका छन्। त्यसमा पनि सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको तथ्यांक छ। सडक दुर्घटनाका ५८ प्रतिशत घटना तीव्र गतिका कारणले हुने गरेको छ।
त्यसपछि सवारी चालक अनुमति प्राप्त नभएका, मापसे र ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना भएको देखिन्छ। त्यस्तै, ब्रेक नलागेर, ओभरटेक गर्दा, बाटो काट्दा, यान्त्रिक गडबडी, घुम्ती र यात्रु ओर्लिंदा दुर्घटना हुने गरेको पाइएको छ।
सडकमा दैनिक सातको मृत्यु!
नेपालमा पछिल्लो समय भएको सबैभन्दा ठूलो सवारी दुर्घटनामध्ये एक हो, सिमलताल दुर्घटना। गत असार २८ मा नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका-२९, सिमलतालमा लेदो सहित खसेको पहिरोले बगाउँदा दुई वटा बस त्रिशूली नदीमा खसेका थिए। काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको र वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-०६६ ख १५१६ नम्बरको बस यात्रु सहित त्रिशूलीमा खसेका थिए।
दुवै बसमा सवार ६५ जनामध्ये तीन जना पौडी खेलेर बाहिर निस्केका थिए भने ६२ जना हराएका थिए। दुर्घटनामा २२ जनाको शव भेटिएको थियो भने ४० यात्रु हराएका थिए।
त्यसको दुई महीनापछि भदौ ७ मा भारतीय यात्रु बोकेर पोखराबाट काठमाडौं जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको थियो। तनहुँको आँबुखैरेनीबाट मर्स्याङ्दीमा खस्दा २७ जनाको मृत्यु भएको थियो।
त्यसयता ठूला दुर्घटना नभए पनि दैनिकजसो आमनागरिकले ज्यान गुमाइरहेका छन्। नेपालको सडक दुर्घटनाको भयावह तथ्यांकले एकातिर दुर्घटनामा आफन्त गुमाएकाहरूलाई पर्ने सामाजिक, आर्थिक र मानसिक असर त छँदै छ, अर्कातिर राज्यलाई पर्ने क्षति पनि ठूलो छ। एक अध्ययनले निम्न र मध्यम आय भएका मुलुकमा सडक दुर्घटनाका कारण कुल गार्हस्थ्य उत्पादनको करीब पाँच प्रतिशतको क्षति बेहोर्नुपरिरहेको आकलन गरेको छ।
नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को वैशाखसम्म अर्थात् पछिल्ला ६ वर्षमा दुई लाख चार हजार ५९ दुर्घटना भएका छन्। जसमा १४ हजार २३५ जनाले ज्यान गुमाएका छन्। अर्थात् प्रत्येक दिन सवारी दुर्घटनामा औसत सात जनाको ज्यान जाने गरेको छ।
त्यस्तै, यस अवधिमा सवारी दुर्घटनाबाट मृत्यु, गम्भीर घाइते र सामान्य घाइते गरी प्रभावित हुनेको संख्या एक लाख ८५ हजार १९२ छ। जसमा गम्भीर घाइते ३५ हजार ६८९ छन् भने सामान्य घाइते एक लाख ३५ हजार १८२ छन्। प्रभावितमध्ये पुरुषको संख्या बढी छ। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्ला ६ वर्षमा सवारी दुर्घटनाबाट एक लाख २६ हजार ९४१ पुरुष प्रभावित छन् भने महिला ३९ हजार २६५ छन्।
सवारी दुर्घटनामा बालबालिका पनि प्रभावित बनेका छन्। यस अवधिमा ११ हजार ६९१ बालक र सात हजार २९५ बालिका प्रभावित भएको तथ्यांक छ।
संसारभर सडक दुर्घटनाबाट ज्यान गुमाउने र घाइते हुनेको संख्या बढेसँगै सन् २०१० मा संयुक्त राष्ट्रसंघको साधारणसभाले सन् २०११ देखि २०२० सम्मको अवधिलाई सडक सुरक्षा दशक घोषणा गरेको थियो। त्यसपछि फेरि सन् २०२१ देखि २०३० लाई सडक सुरक्षाको दोस्रो दशकका रूपमा घोषणा गरिएको छ। यसको मुख्य लक्ष्य सडक दुर्घटनाबाट हुने मृत्यु र घाइतेको संख्या ५० प्रतिशतभन्दा कम गर्नेछ।
सदस्य राष्ट्रका रूपमा नेपालले पनि यसलाई कार्यान्वयन गर्दै पहिलो पटक राष्ट्रिय सडक सुरक्षा कार्ययोजना (सन् २०१३ देखि २०२०) ल्याएको थियो। तर सडक सुरक्षाको अवस्था सुध्रिएन।
नेपाल जस्तै अन्य देशको पनि सडक सुरक्षाको अवस्थामा सुधार नभएपछि सन् २०२० मा स्वीडेनको राजधानी स्टकहोममा सडक सुरक्षा सम्बन्धी तेस्रो विश्व मन्त्रीस्तरीय सम्मेलन भयो। सम्मेलनले दोस्रो पटक सडक सुरक्षा कार्ययोजना (सन् २०२१ देखि २०३०) ल्याएको हो। जसमा नेपालले पनि सन् २०३० सम्म दिगो विकासको लक्ष्य सहित सडक दुर्घटनाबाट मृत्यु र घाइते हुनेको संख्या ५० प्रतिशतभन्दा कम र सन् २०५० सम्ममा शून्यमा झार्ने प्रतिबद्धता गरेको छ।
नेपालले सन् २०२१ देखि २०३० सम्मका लागि पुनः सडक सुरक्षा कार्ययोजना लागू गरेको छ। कार्ययोजनामा बहुपक्षीय यातायात र भूमि प्रयोग योजना, सुरक्षित सडकका पूर्वाधार, सुरक्षित सवारीसाधन, सुरक्षित सडक प्रयोगकर्ता र दुर्घटनापछिको व्यवस्थापन गरी पाँच विषयलाई दुर्घटना घटाउने आधारका रूपमा अगाडि सारिएको छ। राष्ट्रिय सडक सुरक्षा सम्बन्धित विषयमा राष्ट्रिय स्तरमा नेतृत्वदायी संस्थाका रूपमा राष्ट्रिय सडक सुरक्षा परिषद् समेत छ।
कसरी बनाउने सुरक्षित सडक?
यातायात विज्ञ एवं सडक इन्जिनीयर आशिष गजुरेल सबैभन्दा ठूलो कमजोरी सडक पूर्वाधार नै रहेको बताउँछन्। सडक पूर्वाधारको अवस्था राम्रो हुने बित्तिकै सवारी दुर्घटनामा पनि कमी आउने गजुरेलको भनाइ छ। “सवारीसाधनको अवस्था र प्रयोगकर्ताको लापरवाहीले सवारी दुर्घटना निम्तिएको छ,” उनी भन्छन्, “हाम्रा राजमार्ग र बाटाहरूमा बच्चा खेलिरहेका हुन्छन्। यस्ता पूर्वाधार संरचनामा व्यापक सुधार गर्नुपर्नेछ।”
सडक सुरक्षित कसरी बनाउने भन्ने विषयमा यातायात विज्ञ गजुरेल स्वीडेनको उदाहरण दिन्छन्। स्वीडेनले सन् १९९७ मा ‘भिजन जिरो’ नाम दिएर सवारी दुर्घटनाको संख्यालाई घटाएर उदाहरण पेश गरेको छ। सवारी दुर्घटना घटाउन स्वीडेनले सडक र मानवलाई केन्द्रमा राखेर काम गरेको उनी सुनाउँछन्।
स्केच स्रोत : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय
त्यसपछि पर्याप्त ट्राफिक उपकरणको व्यवस्था गरेर सडकका योजना, ढाँचा र निर्माणमा जोड दिएको थियो। त्यस्तै, गति सीमिततादेखि अन्य नियमलाई कडाइका साथ कार्यान्वयन गर्दा अहिले सवारी दुर्घटनाको संख्या घटेकै कारणले विश्वभर स्वीडेनलाई उदाहरणका रूपमा लिइएको सडक इन्जिनीयर गजुरेल सुनाउँछन्।
त्यस्तै, सडकमा सवारीसाधन, यात्रु र पैदलयात्री हुन्छन्। यी सबैलाई हेर्ने जिम्मेवारी ट्राफिक प्रहरीको हुन्छ। तर नेपालमा ट्राफिक प्रहरीको संख्या अपुग रहेको विज्ञहरू बताउँछन्। नेपाल प्रहरीका अनुसार अहिले दुई हजार ६०० को हाराहारीमा ट्राफिक प्रहरी छन्।
सडक सुरक्षाका लागि उपकरणको प्रयोग एकदम महत्त्वपूर्ण हुन्छ। विज्ञहरू ट्राफिकको विकल्पका रूपमा उपकरणको प्रयोग हुनुपर्ने बताउँछन्। त्यस्तै, ट्राफिक व्यवस्थापनलाई डिजिटल बनाउनुपर्नेमा जोड दिन्छन्। ट्राफिक प्रहरी सडकमा नै खटिएर धूलो, धूवाँ खाँदै काम गर्नुपर्ने अवस्थाले पनि ट्राफिक व्यवस्थापनका लागि उपकरणको खाँचो देखिन्छ।
ट्राफिक प्रहरीको नेतृत्व गरिसकेका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) भीमप्रसाद ढकाल ट्राफिक प्रहरीप्रति परम्परागत बुझाइ रहिआएको बताउँदै नयाँ सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिन्छन्। सडकमा जसले जे गरे पनि हुने भन्ने प्रवृत्ति रहेकाले सवारी दुर्घटना हुने गरेको ढकालको भनाइ छ। “ट्राफिकका नियम हाम्रै लागि हो भन्ने सोचिएको छैन। हाम्रोमा कानून छ, तर कानूनको कडाइका साथ पालना हुन सकेको छैन, ट्राफिक प्रहरीको सिस्टम प्रविधिमैत्री बन्न सकेको छैन,” पूर्व एआईजी ढकाल भन्छन्।
सडक सुरक्षित बनाउन सबै लाग्नुपर्ने उनको भनाइ छ। सडकमा सेन्सर क्यामेरा, पर्याप्त ट्राफिक लाइट, सीसीटीभी क्यामेरा लगायत उपकरण राख्न सकेमा सडक सुरक्षाको अवस्था सुधारिने उनी बताउँछन्। ढकाल भन्छन्, “सडकलाई अब प्रविधिमैत्री बनाउनुपर्छ। यातायात व्यवसायी, सवारी चालक, यात्रु सबैले नयाँ परिवर्तनलाई स्विकार्नु पनि जरूरी छ।”