हिमालखबर.कम BETA  

 

 

 

आवरण
'परिवर्तन नेताका लागि मात्रै भयो'

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

राजेन्द्र ढकाल विपिन
हिजोआज राजनीतिमा पूरै निष्त्रि्कय हुनुहुन्छ नि!

१० वर्षको सशस्त्र क्रान्तिमा नेपाल आमाका हजारौं छोराछोरीले ज्यान गुमाए, जनताकै त्याग र बलिदानले गणतन्त्र आयो, तर यो परिवर्तन पार्टी नेतृत्वका लागि मात्रै भयो; उत्पीडनमा परेका जनताले त्यसको अनुभूति गर्न पाएनन्। योभन्दा बरु स्वतन्त्र व्यवसाय गरिखानु ठीक ठानेर राजनीति छाडिदिएँ।

व्यवसायमा कसरी लाग्नुभयो?
२०६५ माघमा व्यवसाय शुरु गर्नुअघि पूर्णकालीन कार्यकर्ता थिएँ। त्यहीबेला आमा बिरामी पर्नुभयो, उपचार गर्दा रु.३ लाख जति ऋण लाग्यो। त्यो ऋण तिर्ने कुनै उपाय नभएपछि राजनीति छाड्ने निधो गरेर रु.३ लाख थप ऋण लिई पसल शुरु गरेँ।

राजनीतिकर्मी व्यवसायी बन्दा कस्तो लाग्दो रहेछ?
क्रान्तिमा हिँड्दा अनेकन् कष्टसँगै ठूल्ठूला मानसिक तनाव झ्ेल्नुपर्थ्यो। व्यवसाय गरेर बस्दा सामान्य व्यावहारिक र पारिवारिक झ्मेलाबाहेक खासै तनाब नहुनेरहेछ।

मावादीमा कसरी आकर्षित हुनुभएको थियो?
त्यसबेला उसले उठाएको उत्पीडित, दलित र पिछडिएकाको मुक्तिको मुद्दा राम्रो लागेर। तर अहिले ऊ हिजोका मूल मुद्दा छाडेर नारामा मात्र सीमित छ।

युद्धमा हिंडेर गल्ती भएछ, समय र सपना खेर गएछन्, हैन?
समय खेर गयो गएन भनेर पछाडि फर्किनुभन्दा व्यवहार धेरै बिग्रियो। जुन लक्ष्यका लागि युद्ध भएको थियो त्यो पूरा भएन। अब फेरि जनताका छोराछोरीलाई युद्धमा फर्काउने चेष्टा नहोस्।।

त्यति धेरै मान्छे मरे, पछुतो लाग्दैन?
पछुतो गरेर मरेकाहरू जीवित हुन सक्दैनन्, अब भने त्यस्तो स्थिति नहोस्।

अहिले मावादीले लिएको बाटो कस्तो लाग्छ?
नेताहरूले सही बाटो लिएको भए किन यस्तो हालत हुन्थ्यो र? अहिले मुलुकको राजनीति जसरी अगाडि बढेको छ त्यो हेर्दा सबै नेता ढँटुवार हुन् भन्न मन लाग्छ।

युद्धमा लाग्नुको साटो त्यसबेलै व्यवसाय थालेको भए ...
सम्भवतः युद्धको अनुभव कम र व्यावसायिक अनुभव धेरै हुन्थ्यो। ऋण खोजेरै व्यवसाय थाल्नु पर्दैनथ्यो होला।

अमरपुर-८, पाँचथर, हालः फिदिम
मावादीमा प्रवेशः २०५४
२०५८ फागुन-२०५९ चैतः धनकुटा, तेह्रथुम र धनकुटा संयुक्त जिल्ला कमिटी सदस्य।
२०५९ चैत-२०६० असारः ताप्लेजुङ, इलाम र पाँचथर संयुक्त जिल्ला कमिटी सदस्य।
२०६२ माघ-२०६३ जेठः जनमुक्ति सेनाको पहिलो डिभिजनमा ए, बी र सी कम्पनी कमिसार, पाँचथर जिल्ला कमिटी सदस्य।
हालः व्यवसायी, पाँचथर फर्टिलाइजर एण्ड ट्रेडिङ कम्पनी।


अब फर्केर जान्नँ

डिल्ली लिङ्देन सनिप
शिविरबाट किन र कहिले फर्कनुभयो?

दुई वर्षजति भयो। त्यहाँ पूरै फौजी जीवन हुन्थ्यो। घरव्यवहारलाई पनि समय दिन भ्याइँदैनथ्यो। यहाँ त सबैतिर घुलमिल हुन पाइने भयो। एकचोटि आइसकेपछि फर्केर जान मनै लागेन। शिविरबाहिर नै जिन्दगी छ जस्तो लाग्छ।

फर्केर जानुहुन्न?
शिविरमा त अहिले पनि आइज भन्छन्। एउटा भाइ पनि उतै छ। तर म चाहिँ जान्नँ।

शिविर नछोडेको भए योग्य ठहरिनुहुन्थ्यो होला?
थाहा छैन, मेरो भाइ पनि योग्यता नपुगेर फिर्ता आउँदैछ भन्ने सुनेको छु।

अहिले के गर्दै हुनुहुन्छ?
आफ्नै दिदीको सेकुवा कर्नरमा कालिगड (कुक)को काम गर्दैछु।

भविष्यमा के गर्ने विचार छ?
सीटीईभीटीबाट तालिम लिँदैछु। तालिम सकिएपछि एउटा होटल खोल्ने र त्यही व्यवसायमा जम्ने योजना बनाएको छु।

मावादीमा लागेर ठीक/गल्ती के गर्‍या जस्तो लाग्छ त?
भोलि नेपाली सेनामा समायोजन गरिन्छ भनिएकाले गाउँघरका सबै साथीभाइसँगै लागियो। अब ठीक/गल्ती के गरियो त्यो त भन्न सक्दिनँ, तर समय चाहिँ धेरै बर्बाद भयो।

युद्धको सट्टा व्यवसाय थालेको भए?
सायद स्थापित व्यवसायी भइन्थ्यो होला। अब दुई-चार वर्षपछि स्थापित भइन्छ भन्ने विश्वास छ।

मावादी नेताहरूका अहिलेका भनाइ कस्ता लाग्छन्?
नेताहरू दूरदर्शी रहेनछन्। यस्तै हुन्थ्यो भने युद्ध किन गरिराखेको?

आफूजस्तै युवाहरूलाई केही भन्नु छ?
हिजो क्रान्तिमा लाग्ने पनि धेरै युवा बेरोजगार छन्। तर मेहनत गर्न सके रोजगारीका लागि अरूको मुख ताक्नु पर्दैन, आफैं रोजगारीका बाटाहरू खोल्न सकिन्छ।

एकतिन-५, पाँचथर, हालः फिदिम
जिम्मेवारीः २०५८-६३ः जनमुक्ति सेनाकोे सदस्यदेखि सहायक कमाण्डर
हालः कालिगड, याङदेम्वा सेकुवा कर्नर, फिदिम बजार

लक्ष्मी गौतम, पाँचथर


मावादी छाडेर मानवधर्ममा

६ वर्षभन्दा लामो समय मावादी छापामार भएर थुप्रै हिंसात्मक घटनामा सहभागी भएका धनगढी-६, जालीका चुलीराम चौधरी पुण्य कमाउन मानवधर्ममा लागेका छन्। मावादीमा रहँदा उनी गतिलै लडाकूमा गनिन्थे, पश्चिममा भएका थुपै्र भिडन्तमा सक्रिय रूपले सहभागी भए र कारबाहीका दौरान उनले धेरै मानिसको ज्यान पनि लिए।

सहपाठीहरूका अनुसार, पछिल्लो समय उनी जीवनमा धेरै हत्या-हिंसा गरियो भनेर पश्चात्ताप गर्दैछन्। यही सोचाइले मनभित्र जरा गाडेपछि विरक्तिएर उनी पार्टीबाट त अलग्गिए नै, देशमै बस्न सकेनन्। केही समय मुम्बई गएका उनी अहिले भारतको हरिद्वार पुगेका छन्। उनको परिवारका एक सदस्य भन्छन्, “ऊ अहिले पूरै भगत (साधु) बनिसकेको छ, सायद अब फर्केर पनि आउँछ कि आउँदैन?”


आफैं पुनर्स्थापित

एकल
चितवनको पर्सा बजारभन्दा एक किलोमिटर तल पुरानो बजारको चोकबाट पूर्वतिर ग्राभेल सडकको छेउमा आँगनमा परालको टौवा भएको पक्की घर देखापर्छ। घरपछाडि राता कुखुराले टम्म दुई ठूला खोर देखिन्छन्। चुस्स दाह्री पालेका हँसिला युवक खोरबाट फुत्त निस्किएर सोध्छन्, “स्वागत छ, लौ आउनुस् बसौं।”

२० महिनाअघिसम्म उनलाई भेट्न शक्तिखोरस्थित मावादी लडाकूहरूको तेस्रो डिभिजनमा गएर कमरेड त्रिकालको नाम लिनुपर्थ्यो। डेढ वर्षदेखि नयाँ पेशा थालेका उनै ३१वर्षे त्रिकालको पुरेन्द्रप्रसाद डल्लाकोटीको पुरानो परिचय गाउँमा पुनर्स्थापित हुँदैछ।

किसानका छोरा भए पनि बन्दुक बोकेर युद्ध लडेपछि मात्र सबै जनताले पेटभरि खान पाउने शासन आउँछ भन्ने विश्वास गर्ने पुरेन्द्र विस्तृत शान्तिसम्झ्ौता हुनु दुई वर्षअघि मावादी लडाकूमा भर्ती भएका थिए। सेना र प्रहरीसँग विभिन्न भिडन्तमा लडेका उनी शान्तिसम्झ्ौतापछि अनमिनबाट योग्य लडाकू त ठहरिए तर काम केही नभएपछि उनलाई त्यो योग्यता निरर्थक झ्ैँ लाग्यो।

पुरेन्द्रले २०६४ असारमा बिहे गरे, बच्चा जन्मियो। अनि शिविरबाट बिदा मागेर निजी जीवनको योजना बनाउँदै कुखुरापालनतिर लागे। आम्दानी राम्रो हुँदै गयो। व्यवसाय विस्तार गर्न कृषि विकास ब्याङ्क पर्सा पुगे। उनको उद्यमशीलताप्रति विश्वस्त ब्याङ्कले मागेजति ऋण दियो। ब्याङ्कको ऋण बेलैमा तिरेर अझ्ै ठूलो व्यवसाय गर्ने उनको योजना छ।

लडाइँमा दायाँ हात भाँचिएका पुरेन्द्रलाई अनमिनले घाइते लडाकूमा दर्ता गरेको छ। उनी कहिलेकाहीँ शिविर जाने-आउने पनि गर्छन्। घाइते भएकाले सुरक्षा निकायमा समायोजन हुन नसक्ने हुँदा समाजमै पुनर्स्थापित हुन चाहेको उनी बताउँछन्। “सरकारले गर्नुपर्थ्यो तर म स्वयं पुनर्स्थापित भएको छु। केही राहत त पाइएला नि!” डल्लाकोटी आशावादी छन्।
पुरेन्द्रको हातमा स्टिल राखेर चलाउन मिल्ने बनाइएको छ। अहिलेसम्म काम गरेर खान सके पनि पछि त्यही हातको समस्या आउन सक्ने चिन्ता छ उनलाई।


धेरैको जिन्दगी बर्बाद भइरहेछ

कैलालीको दुर्गौली-४, धर्मापुरका बाँधुराम चौधरी र उनकी श्रीमती निर्मला ऐलानी जग्गामा बनाएको सानो घरमा चार वर्षको छोराका साथ बस्छन्। आर्थिक अभावसँग लडिरहेका उनीहरू चार वर्षअघिसम्म बन्दुक र बमको सहाराले आफू जस्तै गरिब जनताको मुक्तिको लागि दुश्मन विरुद्ध युद्धको मोर्चाको नेतृत्व गरिरहेका थिए। निर्मला भन्छिन्, “देश र जनताको मुक्ति हुन्छ भनेर लडियो, तर उपेक्षा र बेवास्तासँगै आफ्नो र परिवारको बिचल्ली पारियो।”

२२ चैत २०५७ मा भूमिगत भएर बन्दुक बोकेकी निर्मलालेे चार वर्ष जुम्लाको खलङ्गा, बैतडीको गोकुलेश्वर, कैलालीको लम्की, अछामको मङ्गलसेन, रोल्पाको गाम, रुकुमको खारा, अर्घाखाँची, लगायतका ठूल्ठूला भिडन्तमै बिताइन्। एकताको नामले पार्टीमा चिनिने निर्मलामा फौजीदेखि प्रशिक्षणसम्मको कौशल भएकाले उनी कम्पनी सहायक कमाण्डर भएर लडेकी र प्रशिक्षण विभागमा पनि उत्तिकै सक्रिय थिइन्। बन्दुक र बम बोकेर निर्मलाकै मोर्चामा थिए बाँधुराम पनि।

धेरैपल्ट मृत्युलाई सामुन्ने देखेकी निर्मला त्यसबाट जसोतसो फुत्किइरहिन्। कम्मरतर्फ सङ्केत गर्दै उनी भन्छिन्, “यहाँ लागेको निकालिए पनि बारुद बाँकी छ।” छर्रा लागेर मुखमा घाउ भएका बाँधुराम भन्छन्, “घाइते अवस्थामा उपचारका लागि पार्टीसँग आग्रह गर्दा कसैले सुन्दैनन्, त्यस्ता बिजोग भएका कति छन् कति।” तर उनीहरू आफू गोली खाए पनि घरमा परिवारसँग बस्न पाएकोमा खुसी छन्। उनीहरूको चिन्ता छ त आफू जस्ता अरू धेरैको, जो अझ्ै मावादी क्रान्तिको भ्रममा परेर जिन्दगी बर्बाद पारिरहेका छन्।

त्यो क्रान्ति को भ्रम बुझ्ेपछि ०६१ साल चैतमा भागेर भारत पसेको यो जोडीले सुरतमा एसएलआर बोकेका हातले धागो कात्ने काम गरे। केही वर्षको भारतीय कमाइपछि नेपाल फर्किएर घरजम गरेर बसेका चौधरी दम्पती भन्छन्, “आफ्नो जिन्दगी बर्बाद गरेर ऐसआराम गरेर बसेका नेतालाई थप धनी बनाउने काम गरेकोमा हामी ज्यादै पश्चाताप गर्छाैँ। जनमुक्तिका लागि भन्दै सीधासाधा जनतालाई हत्या गर्न लगाउने, अवसरवादीहरू पार्टीमा हावी भए अनि हाम्रो आँखामा ढाकिएको भ्रम हट्यो।”


सोचेभन्दा फरक रहेछ

शान्ति कँडेल, बिरबास, गुल्मी
अन्यायमा परेकालाई न्याय दिलाउँछन्, समान व्यवहार गर्छन्, गरिब र निमुखाहरूको मुक्तिका लागि सधैँ लागिरहन्छन्, स्कूल पढ्दा मावादीका बारेमा यस्तै सोच्थेँ। त्यही भएर आठ कक्षा पढ्दापढ्दै २०५५-०५६ सालतिर जनताको मुक्तिका लागि लड्ने कसम खाएर जनयुद्धमा लागेँ, शान्तिबाट कमरेड आशा भएँ।

त्यसबेला गुल्मीमा मावादी सङ्गठन विस्तारको काम मृत्युलाई हत्केलामा राखेर हिँड्नुसरह थियो, तर पनि मैले त्यही बाटो रोजेँ। छोरीले पढेर सरकारी जागिर खास् अनि कुलघरानामा साइनो जोड्न पाइयोस् भन्ने आमाबाबुको सपना थियो। तर, मैले त्योभन्दा पार्टी र देश ठूलो सोचेर उहाँहरूको सपना टुक्र्याइदिएँ।

पार्टीमा लागेदेखि नै प्रशासन र सुरक्षा निकायको तारो बनिसकेकी थिएँ। २०५७ सालमा गुल्मीको पुर्कोट दह चौकी आक्रमणमा संलग्न भएपछि मेरो व्यापक खोजी भयो। ठूलै खतरा महसुस गरेर पार्टीले अर्घाखाँची सरुवा गर्‍यो। नयाँ मोर्चाको जिम्मेवारीमा खटिएकै बेला सँगै काम गर्ने हरि भट्टराई (सरोज) सँग बिहे भयो। बिहेकै बेला हामी सेनाको घेराबन्दीमा परेर पनि उम्कन सफल भयौं। म सैनिक कारबाहीमा मारिएको भन्ने धेरै पटक समाचार आयो। तर, यति दुःख पाउनु लेखेको रहेछ, कहाँ सजिलै मरिन्थ्यो र?

बिहेलगत्तै गर्भवती भए पनि पक्राउ परिने खतराले आराम गर्न पाइनँ। सुत्केरी हुँदा श्रीमान्को घर ढाँडमैदानमा थिएँ, सुरक्षाकर्मीले थाहा पाएर गाउँ नै घेरा हालेछन्। सुत्केरी भएकै बेला भागेर १२ दिन डारमा लुकेँ।

२०६१ सालमा पार्टीले केरुङ्गा र बल्कोटतिरको जिम्मेवारी दिएको थियो। त्यहाँ एकाएक सुरक्षा घेराबन्दीमा परेपछि भाग्दा भीरबाट लडेर घाइते भएँ। पटकपटक यस्तै दुर्घटनामा परेकाले पूरै शरीर रोगको घर बनिसकेको थियो। २०६२-६३ को जनआन्दोलनको सफलतापछि पार्टीले उपचारका लागि मलाई भारतको पञ्जाब पठायो। फर्कनासाथ श्रीमान्सँग खटपट शुरु भयो। श्रीमान्ले भारतमा मनोमानीसँग बसेको आरोप लगाउँदै सम्बन्धविच्छेद मागेपछि उनीप्रति घृणा जागेर आयो। अर्की केटीसँग लसपस रहेछ, त्यसैले मलाई सँगै बस्न मन लागेन।

श्रीमान्ले दोस्रो बिहे गरेपछि कारबाहीको माग गर्दै उजुरी गर्दा पनि पार्टीले उनलाई केही गरेन। जिन्दगीको महत्वपूर्ण कालखण्ड पार्टीकै लागि खर्चिएँ, तर आज मलाई के मिल्यो? यही सोचेर २०६४ जेठमा श्रीमान् र पार्टी दुवैसँगको सम्बन्ध तोड्ने निधो गरेँ। त्यसपछि गाउँ फर्केर एसएलसी दिएँ। छोरालाई माइतीबाट ल्याएर जसोतसो गुजारा चलाउँदैछु।
मावादी हुनेखाने र स्वार्थीको मात्र पार्टी रहेछ। हिजो दुःखका बेला काम गर्नेका दिन गए। जे सम्झ्ेर जिन्दगी नै दाउमा राखेँ, मावादी आज त्यसैको ठीक उल्टो भयो।


आशा, निराशा बन्यो

आशा लोप्चन, चितवन
स्वास्थ्य परीक्षण रिपोर्ट र औषधि उपचारका बिलको मुठोसँगै आशा लोप्चन। (हे. आवरण तस्बिर पनि)

श्रीमान् बिहे गरेर विदेश गएपछि घरको सबै काम गर्दा पनि इर्ष्या र अपमानको सिकार हुन थालेँ। २०६१ सालको तिहारमा माइत गएका बेला सँगै पढेकी साथी नेत्रमायासँग भेट भयो। मावादी बनिसकेकी उसले महिनाको ३५०० रुपैयाँ तलब दिन्छन्, जाउँ्क भनी। पहिले मावादीमा लाग्ने काम राम्रो होइन भनेर अरूलाई सम्झ्ाउँथेँ, त्यतिबेला विरक्तिएको मनले त्यस्तो केही सोचेन र सजिलै स्वीकारेँ।

भाइटीकाको पर्सिपल्ट माइतबाट बिदा भएर साथीसँगै एउटा समूहमा चन्दा उठाउन हिँडेँ। शुरुमा मावादी लेखेको रसिद देख्दै डर लाग्थ्यो। साह्रै डर लागेमा खाएको २० मिनेटपछि ३६ घण्टालाई डर हराउने एउटा क्याप्सुल खान दिन्थे। अरूबेला सेना र प्रहरी देख्दा आत्तिने मन औषधि लागेपछि उत्तेजित हुन्थ्यो।

महिना मर्दा पनि पैसा नपाएपछि तलबको लोभ हरायो। ३५०० त के ३५ रुपैयाँ पनि पाइनँ, बरु उनीहरूकै काम गर्न हिँड्दा खर्च भएको पाँच हजार समेत तिराए। माइत गएर आमाको दराजबाट चोरेर तिरिदिएँ। माइतमा बुबाले खोलिदिनुभएको एउटा सानो कस्मेटिक पसलबाट खासै कमाइ नभएपछि छाडेर भरतपुर क्यान्सर अस्पतालको क्वार्टरमा बसेर पढिरहेका दुई बहिनीलाई साँझ्बिहान खाना बनाएर परीक्षामा सघाउन गएँ।दिनभर काममा गएको भनेर मावादीले खटाएका ठाउँमा गएर चन्दा उठाइदिन्थेँ। बहिनीहरूले थाहा पाएछन्। सम्झ्ाए, रोइकराई गरेर परीक्षा नै बिग्रिने गरी बेखुसी भए। बहिनीहरूको नरमाइलो मेट्न घरै फर्किएँर दिउँसो-दिउँसो घरबाटै पनि चन्दा उठाउन हिँड्न छाडिनँ। म समेत पाँच जनाको समूहले चितवन र नवलपरासीका विभिन्न ठाउँबाट तीन महिनामा रु.७ लाख उठाएर पार्टीलाई बुझ्ाएको थियो। पार्टीको विश्वास जितेपछि मैले एक दर्जनसम्म जगेडा हतियार र रु.१० लाखसम्म नगद घरमा थन्क्याएको याद छ।

डर मेट्न मावादीले पटक पटक गरेर खुवाएको ११ चक्की उत्तेजक औषधिले टाउको दुख्ने, रिङ्गटा लाग्ने र बेहोस हुने लक्षण उत्पन्न गरायो। गाउँमा धेरैले चिनिसकेकाले घरमा ढुक्कसँग बस्न पनि डर भयो। २३ असार २०६२ मा जिल्ला प्रशासन कार्यालय चितवनमा आत्मसमर्पण गरी स्वतन्त्र जीवनको बाटो रोजेँ। तर, आत्मसमर्पणपछि परिवारमा झ्न् ठूलो सङ्घर्ष शुरु भयो। खप्नै नसक्ने गरी एकनासले टाउको दुख्न थाल्यो। उपचार पाउनुको सट्टा परिवारबाट बोक्सी विद्या सिकेर असफल भएकी आरोप सहनुपर्‍यो। पहिले बेलाबेलामा फोन गर्ने श्रीमान्ले पनि वास्ता गर्न छाड्नुभयो। साथीसङ्गी, छिमेकी र माइतबाट ऋण मागेर मानसिक रोगको उपचार गर्न थालेँ। धान्नै नसकेपछि मर्नुभन्दा बहुलाउनु निको ठानेर श्रीमान्लाई लामो चिठ्ठी लेखेँ। २०६४ माघमा श्रीमान् फर्किनुभयो। परिवारबाट अर्को बिहे गर्न दबाब आए पनि उहाँले मलाई त्याग्नुभएन, बरु छुट्टिएर एक वर्ष सँगै बसी साउदी अरब जानुभयो। त्यसैबेला मैले छोरो जन्माएँ।

बेलाबेलामा म बेहोस भइरहनु नौलो थिएन, तर छोरो पनि वर्षदिनको भएपछि एक दिन खेल्दाखेल्दै एक्कासि भुईंमा ढलेर बेहोस भयो। उसको जीउ अररो भएको देख्दा मैले पनि होस गुमाएछु। आमाछोरालाई नै अस्पताल पुर्‍याएर आईसीयूमा राखिएछ। तीन दिनपछि निको भई घर फर्कियौं। मावादीले खुवाएको औषधिको असर त्यो अबोध बालकले पनि भोग्नुपरेकाले म झ्न् बेचैन भएको छु। श्रीमान्ले साउदी अरबबाट पठाउने महिनाको रु.१० हजारले उपचार खर्च पुग्दैन। दुई हप्ताअघि मात्र चितवन मेडिकल कलेजमा जँचाउँदा, टाउकाको सिटी स्क्यान गराउँदा र औषधि किन्दा रु.१३ हजार खर्च भयो। घरमै सिलाई मेसिन राखेर सकेको दिन कपडा सिलाउने गरेकी छु,सानो कस्मेटिक पसल पनि छ। राम्रो चल्दा हुने महिनाको दुई हजार जतिको आम्दानी उपचारलाई थपथाप गर्दैमा ठिक्क हुन्छ। पोहोर माघयता मात्रै १ लाख ७० हजार रुपैयाँ खर्च भएको छ। मेरो, श्रीमान्को र तीन दाजुहरूको कमाइ यसैमा गइरहेको छ। कमाइ घट्दै गएकाले श्रीमान् पनि घर फर्कने तरखरमा हुनुहुन्छ। अब कसरी बाँच्ने हो थाहा छैन। श्रीमान्लाई भन्दा आत्तिनुहँुदैन, कुनैबेला हाम्रो पनि दिन फिर्ला नि भन्दै सम्झ्ाउनुहुन्छ। यस्तो बुझने श्रीमान् नपाएको भए म उहिल्यै मरिसक्थेँ होला।

विवाहपछि नयाँ जीवन शुरु गर्दा मेरो सपना थियो― शान्त, सुखी र सम्पन्न परिवार। तर अब पुरानै स्वस्थ शरीर पाए हुन्थ्यो जस्तो लाग्छ। मावादीबाट पाएको चोट सधैँका लागि हराएर जास्, मलाई र काखको अबोध बच्चालाई सताउन फेरि कहिल्यै नआस्― मेरो चाहना त्यत्ति छ। जीवनमा अझ्ै कति दुःख पाइने हो थाहा छैन― नाम आशा, जीवन चाहिँ निराशा नहोस्!


गुमेका सपना बटुल्दै

सीता तामाङ, चितवन
२०५९ सालको अन्त्यतिर ६ कक्षा छिचोल्न नपाउँदै मावादीले आमाको काखबाट छिन्दा चितवनकी सीता तामाङ ११ वर्षकी थिइन्। त्यस दिन घरैपिच्छे एक जनालाई मावादीको कार्यक्रममा निम्ता थियो। अरू घरबाट ठूला मान्छे गए, सीताका बा-आमा बजार गएकाले उनैले जानुपर्‍यो। साँझ् घर फर्कन लाग्दा उनीहरूले सीतालाई बुर्जुवा शिक्षा काम लाग्दैन, राजनीतिक शिक्षा पढ्न हामीसँगै जाऊँ, यसैले भविष्य देखाउँछ भन्दै तान्न लागे। त्यसै दिनदेखि शुरु भयो उनको सपनाको संसारमाथि निर्मम प्रहार!

सात दिनसम्म कताकता डुलाएर चितवनको डिहीटारमा आफ्नै काकाको घर पुर्‍याए छन्। घरमा चिट्ठी पठाइन्― “ममीबुबा, म रहरले आएकी होइन। घर फर्किएर पढ्न चाहन्छु।” भोलिपल्ट बिहानै आइपुगेकी आमाले उम्काएर लगिन्। छुटेको पढाइ र टुटेका साथीहरूसँग गाँसिन पाउँदा कम्ती हर्ष लागेन। बेलुका स्कूलबाट फर्किएपछि थाहा भयो, मावादीहरू घरमै आएका रहेछन्। यसअघि भागेर गए जहाँसुकैबाट जसरी पनि ल्याउँछौँ, नमाने जहाँ भेट्यो त्यहीं मारिदिन्छौँ भन्ने धम्की दिएकाले घर बस्दा र बाटो हिँड्दा पनि डर लाग्न थाल्यो। स्कूल जान त छाडिनन्, तर डरले राम्ररी पढ्न नसकेर फेल भइन्।

१ असार २०६० मा दोस्रो युद्धविरामकालमा नारायणगढमा आयोजित सभामा स्कूलमा आएको उर्दी अनुसार स्वयंसेवक बनेर खटिएका सीता र उनका तीन साथीलाई मावादीले जबर्जस्ती धादिङतिर लगे। यसपटक उनी न आफन्तकहाँ पुगिन्, न त घरमा खबर पठाउनै पाइन्। त्यहाँ गाउँलेसँग खाना मागेर खान सिकाइयो। ६ महिनापछि तालिमका लागि चितवनमा घरै नजिकको कामीटारमा ल्याएको खबर पाएर बाबु लिन आए, तर मावादीले पठाएनन्। बन्दुक चलाउने, घसि्रने र अग्लो उचाइबाट हामफाल्ने कठोर तालिम दिइयो। ६ फिट माथिबाट हामफाल्दा दुवै घुँडा दोब्रिएर छातीमा बजि्रन पुगेपछि मुटु दुख्न शुरु भयो।

तालिमपछि फेरि धादिङ पुर्‍याएर सेक्सन भाइस कमाण्डर बनाए र युद्धमा हौस्याउन सेक्सन कमाण्डर बनाएर गोरखा लगे। युद्धमा आमनेसामने लड्नु नपरे पनि काँधमा बन्दुक, कम्मरमा बम र पिठ्युँमा बन्दोवस्तीका सामान बोकेर गाउँलेलाई मावादीको होलटाइमर बनाउँदै हिँड्नुपर्थ्यो। हतियारको भारी बोकेर दिनभर उकालो हिँड्दाहिँड्दै लड्ने र बेहोस हुने रोग निस्कियो। २०६३ जेठमा अन्तिम युद्धविराम भएपछि मावादीले उनलाई चितवनको होलिल्याण्ड स्कूलको क्याम्पमा राख्योर शान्तिसम्झ्ौतापछि शक्तिखोरको लडाकू शिविरमा।

यसबेलासम्म मुटु दुख्ने व्यथासँगै गलगाँड र आँखामा मासु पलाउने रोग थपिएको थियो। उपचारको लागि हारगुहार गर्दा पहिले कमाण्डरको उपचार गर्दा बिरामी सदस्यहरू भाग्न सक्ने बेफाइदा देखाइयो। तीन दिनको बिदा पाएर निस्किएपछि नजाने सुरले घरमै बसिरहिन् तर परिवार र छरछिमेकमा पनि उनीप्रतिको स्नेह फिका भइसकेको रहेछ। गाउँलेले बिग्रेर आएकी भनी कुरा काटे। दुःखमा हिँडेर तलब आउने बेला फर्केको भन्दै आफन्तहरू बेखुसी भए। आफ्नै बिरानो पाएपछि उनी शिविरमै फर्किइन्।

शिविरमा एक लडाकूसँग विवाह गर्नुपर्ने दबाब नमानेपछि बेसरी पिटाइ खानुपर्‍यो। जेसुकै होस् मरे पनि घरमै गएर मर्छु भन्दै एकजोर कपडा लिएर निस्किइन्। पढ्ने इच्छा थियो तर, आमाले पढाउन सक्दिनँ भनिन्। उता शिविरबाट दिनदिनै फोनमा धम्की आउँथ्यो, वास्ता नगरी बस्दा घरमै लिन आइपुगे। शिविरमा फर्काएपछि कारबाही गर्ने कुरा सुनाए। सही नसक्नु भएपछि दुई दिन बसेर फेरि घर फर्किइन्। शरीरको हालत जस्तोसुकै भए पनि उनी पढ्न चाहन्थिन्। अर्काको भाँडा माझ्ेर भए पनि पढ्ने अठोटका साथ नारायणगढ पुगिन्।

नारायणगढको दियालो परिवारले युनिसेफको सहयोगमा लडाकू जीवन त्यागेका उनी जस्तै बालबालिकाका लागि सञ्चालित समुदायमा आधारित पुनर्स्थापना कार्यक्रममा पढाइ वा सीपमूलक तालिममध्ये रोज्न लगाउँदा सीताले पढाइ रोजिन्। पढ्न थालेपछि पनि शिविरका लडाकूहरू उनको फोटो बोकेर खोज्दै गाउँसम्म आएकाले त्रास जीवितै छ। तर उनी अहिले आफूलाई एक्लो महसुस गर्दिनन्। दियालोले उनको पढ्ने खर्च र परिवारलाई रु.८००० बराबरका चार बङ्गुर उपलब्ध गराएको छ। आमाबाबुले बङ्गुर बेचेर दुई कट्ठा पाखोबारी किनेका छन्। घरमा रु.२१ हजार नगद छ, खोरभरि बङ्गुर छन्। आँखामा पलाएको मासु र गलगाँडको अप्रेशन भयो। मुटुको दुखाइ अलि कम भए पनि बाँचुञ्जेल दुःख दिइरहने चिन्ता छँदैछ।
तीन वर्ष मावादी लडाकू बनेर बिताएकी सीता अहिले गाउँको बाल क्लबकी अध्यक्ष छिन्। अहिले आठ कक्षामा पुगेकी उनी मेहनतले पढेर शिक्षक बन्न चाहन्छिन्। आफू जस्ता अबोध बालबालिकालाई बन्दुक भिराएर मावादीले के पायो उनी जान्दिनन्, तर उनले त्यसबाट सुनौलो बालापन र भविष्यका सुन्दर सपना गुमाएकी छन्।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।


 प्रतिलिपि अधिकार © 2009 HIMALMEDIA PRIVATE LIMITED सर्वाधिकार सुरक्षित    अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि