हिमालखबर.कम BETA  

 

 

 

ऋतुविचार
कामरेड नेपालको डायरी
ऋतुराज

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

बिलाश राई
कामरेड ज्योति वसुको निधनमा कामरेड नेपालले शोक व्यक्त गर्दै एउटा दैनिक अखबारमा लेख निकाले। तर वास्तवमा उनले हतारमा टिपाएको लेख थियो त्यो। आफ्नै हातले लेखेको होइन। उनको मनको असली भावना पनि त्यहाँ परेको थिएन। उनी त दिल खोलेर गहकिलो र विश्लेषणात्मक लेख लेख्न चाहन्थे। तर प्रधानमन्त्री भइखाएकाले कतिपय कुरा राजनीतिक हिसाबले लेख्न ठीक नहुने, कतिपय कुरा कूटनीतिक हिसाबले उचित नहुने। उनले आफ्ना कुरा टिपाएर छपाए पनि उनलाई त्यसमा साह्रै चित्त बुझ्ेको थिएन।

त्यसैले त्यस राति कामरेड नेपालले निजी डायरी खोले, जसमा उनले लेख्न नभ्याएको निकै भएको थियो। यसै पनि दिनहुँ डायरी लेख्ने उनको स्वभाव छैन। तर भावप्रवण अवस्थामा भने उनी लेख्ने गर्छन्। त्यस्ता अवसर उनको जीवनमा बेला-बेला आएको छ। जस्तो प्रधानमन्त्री हुने भनेर लवेदा-सुरुवाल तयार पारिसक्दा पनि त्यो पद हातबाट उम्केका बखत। गएको निर्वाचनमा दुई-दुई ठाउँबाट हारेको बखत। त्यस्तो बेला भक्कानिएर उनी आफ्ना सारा भावना डायरीमा पोख्ने गर्छन्। त्यस रात उनी त्यस्तै भावप्रवणताले तप्रोत भएका थिए। किनभने कामरेड ज्योति वसुको निधन भएको थियो, जसलाई सबैले कम्युनिस्टहरूको ज्योति भनेर गुणगान गरिरहेका थिए। ज्योति वसुको मृत्युको शोकमा कामरेड नेपालले पनि कामरेड वसुलाई महान् कम्युनिस्ट भनेर प्रशंसा गरेका थिए। त्यो त उनले दुनियाँको खपतका लागि भनेका थिए। तर उनलाई खुलेर भन्नु थियो त्यसैले उनले डायरीको सहारा लिनु परेको थियो। उनले कलम समाते र शीर्षक लेखे कामरेड ज्योति वसु र म। वास्तवमा उनी पहिले शीर्षक दिएर लेख पछि लेख्ने मध्येका हुन्। शीर्षकले नै उनको विचार तरङ्गलाई डोर्‍याउँथ्यो। जस्तो मार्क्सवाद र नेपाल। त्यसो भएपछि उनलाई लेख्न सजिलो हुन्थ्यो।

उनले लेखेः
“कामरेड ज्योति वसु निःसन्देह महान् कम्युनिस्ट थिए। उनलाई मैले एकदुई पटक भेटेको थिएँ। भेटबाट म साह्रै प्रभावित भएको थिएँ। यद्यपि नभेटिकन पनि उनीबाट म पहिल्यैदेखि प्रभावित थिएँ। उनी साँच्चिकै ठूला मानिस थिए। सबैले महान् मानेका छन् उनलाई। मलाई पनि उनी महान् नै लाग्छ। तर सोचेर ल्याउँदा म आफंैलाई पनि कामरेड ज्योति वसुभन्दा कम महान् लाग्दैन। (ज्ञातव्य छ उनको नाममा पत्रिकामा छापिएको लेखमा स्वर्गीय वसुलाई उहाँ भनिएको थियो, डायरीमा भने उनी।)

उनी त उसैबेला अमेरिका गई डाक्टरी पढेर आउने धनाढ्य बाबुका छोरा थिए। ब्यारिष्टर पढ्न लण्डन गए। उतैबाट कम्युनिस्ट बनेर भारत फर्के, फर्कनेबित्तिकै नेता भए। ठूला बाबुका ठूला छोरा थिए। म त सामान्य परिवारमा जन्मेर, गाउँ-देहातमा पढेर अनि अनेक सङ्घर्ष गरेर बल्ल नेता भएको। मेरा लागि कताको सेन्ट जेभियर स्कूल, कताको प्रेसिडेन्सी कलेज, कताको क्याम्ब्रिज!

उनी सम्भ्रान्त बङ्गाली समाजका भद्रलोक मध्येकै थिए। उनले के दुःख गरे जति मैले गरें। असली सर्वहारा त म हुँ। मैले ब्याङ्कको क्लर्क भएर कैयौं वर्ष कलम घसेको छु। बङ्गालीका हिसाबले मैले बाबु काम गरेको छु। वास्तवमा मलाई कसैले नामपछिल्तिर बाबु जोडेर माधवबाबु भन्यो कि मलाई मैले खाएको त्यही क्लर्कको जागिर याद आउँछ। तर अहिले म प्रधानमन्त्री भएँ। छलाङ भनेको यो पो हो त।

फेरि कामरेड वसुलाई सिगार तान्नुपर्ने अङ्ग्रेजहरूले जस्तो। अनि पाएमा एक-दुई पेग ह्विस्की पनि चढाउनुपर्ने साँझ्मा। त्यस्ता खालका कम्युनिस्ट थिए उनी। आफू त चुरोट, जाँडरक्सीबाट टाढा महात्मा गान्धी जस्तो। आत्ममूल्याङ्कन गर्दा यस मानेमा कामरेड वसुभन्दा सदाचारी पाउँछु म आफैंलाई।

मानिसहरू मलाई कम्युनिस्ट भएर प्रधानमन्त्री हुनलाई राजाकहाँ पनि बिन्तीपत्र हाल्यो भनेर मेरा कुरा काट्छन्। अरे उनको देशमा राजा भए ज्योति वसुले पनि हाल्थे बिन्तीपत्र। प्रधानमन्त्री हुन को चाहँदैन? त्यस्तो इच्छा नहुँदो हो त पार्टीले आफूलाई प्रधानमन्त्री हुनबाट रोक्दा कामरेड वसुले त्यसलाई ऐतिहासिक भूल भनेर तीतो पोख्थे?

मलाई नातागोता च्यापेर जागिर दियो भनी आरोप लगाउँछन्। भाइलाई हङकङ पठायो भनेर मलाई यो फत्तुर लागेको हो। मैले भाइलाई कहाँ पठाएको हुँ र? एक योग्य सरकारी कर्मचारी पो गएको हो। धुईंधुईं खोज्दा उही योग्य फेला पर्‍यो। फेरि उसलाई खटाई पठाउने परराष्ट्र मन्त्रालय हो, मैले होइन। आफ्नो परिवारलाई काखी च्यापेको दोष कामरेड वसुलाई मात्रै नलागेको हो र? छोरा चन्दनको व्यापार उनको आशीर्वाद नपाई के मौलाउँदो हो!

कामरेड वसुको मुख्यमन्त्रीत्वकालमा भ्रष्टाचार बढ्यो भनेर त्यसको विरोधस्वरुप मन्त्रिमण्डलमा भएका उनकै पार्टीका नेताहरूले राजिनामा दिएका थिए। कतिपय मामिलामा मेरा कुरा नसुनी बर्खिलाफ गरिहिँडे पनि त्यसरी राजिनामा त दिएका छैनन्। यस अर्थमा पनि कामरेड वसुको भन्दा मेरो रेकर्ड राम्रो छ।

उनी तेइस वर्षसम्म अविच्छिन्न रूपमा मुख्यमन्त्री जरुर भए। चुनाव जितेको जित्यै भए।

ठीक छ, त्यति लामो रेकर्ड बनाए। तर आखिर त थिए उनी एउटा भारतीय प्रान्त पश्चिम बङ्गालका मुख्यमन्त्री। प्रोटोकलका हिसाबले उनी र सिक्किमका पवनकुमार चाम्लिङमा खासै केही फरक छैन। म जति महिना प्रधानमन्त्री भए पनि एउटा सार्वभौम राष्ट्रको प्रधानमन्त्री हुँ। त्यो गौरव कता हो कता ठूलो हो। उनी दिल्लीलाई कलकत्ता बसी-बसी चलाउँथे रे, मलाई दिल्लीले चलाउँछ भन्छन् भन्नेहरूले। भन्नेको मुख कसले थुन्न सक्छ, भन्दै गरुन्। जे भए पनि प्रधानमन्त्रीका रूपमा मेरो नाम दर्ता भइहाल्यो क्यारे!

जहाँसम्म चुनाव जित्ने कुरा छ, प्रजातन्त्रमा चुनाव जित्नु राम्रो हो। तर चुनाव जित्नु नै सबथोक होइन। सरकार बनाउन सक्नुपर्छ, प्रधानमन्त्री हुन सक्नुपर्छ। कसैले मलाई हेरोस्। दुई-दुई ठाउँबाट चुनाव जितेको व्यक्तिबाट प्रधानमन्त्रीको पद खोसेर म दुई-दुई ठाउँबाट चुनाव हारेको व्यक्ति अहिले प्रधानमन्त्री छु। अब कसैले भनोस् कामरेड ज्योति वसु महान् कि म कामरेड नेपाल महान्?”

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।


 प्रतिलिपि अधिकार © 2009 HIMALMEDIA PRIVATE LIMITED सर्वाधिकार सुरक्षित    अभिलेखालय | ग्राहक बन्नुहोस् | विज्ञापनको लागि