सिग्नेचर को बोतलमा ठर्रा खाने गाउँले मामालाई भाञ्जीको पीर छ। शहरिया प्रहरी एसएसपीलाई छोरीको पीर छ। एउटा लफङ्गालाई छोरीको जिम्मा लगाएर बाबु प्रहरी ढुक्क हुन्छ, मामाकी भाञ्जीलाई चाहिँ आर्मीको मेजरले उडाउँछ। पुलिसकी छोरीको आफ्नै जासूसी गरिरहेको लफङ्गासँग प्रेम भइदिन्छ। उता, भाञ्जीको मेजर कङ्गोमा बेपत्ता भएपछि सासू निस्किन्छे शूर्पणखा र भाञ्जी बन्छे- भूत।
कुरा हो यो वर्ष सबैभन्दा बढी हल्ला गरिएका दुई नेपाली फिल्म सानो संसार र म तिमी विना मरिहाल्छु को। राजधानीका दुई फिल्म हल गोपीकृष्ण र गुणले आफूले निर्माण गरेका फिल्म क्रमशः पर्खी बसेँ र किस्मत दुई सय दिन चलाइरहँदा राजधानीकै अर्को हल जय नेपालको सानो संसार भने कुमारीमा समेत डुबानमा परेको छ। उता, सदाबहार हिरो र सफलतम निर्माता मानिएका भुवन केसी फिल्म हलभन्दा म तिमी विना मरिहाल्छुको समीक्षा छाप्ने पत्रिकाको कार्यालय खोज्नमा बढी व्यस्त छन्।
कथाकार नारायण ढकालको एउटा कथा छ- जननी जन्मभूमिश्छ! भुवन केसीको म तिमी विना मरिहाल्छु हेर्दा ढकालको कथाको याद आउँछ। राष्ट्र, सेना, राजनीति, समाज र विद्रोहको अर्थसँग कुनै लेनादेना नभएको ढकालको पात्रजस्तै मेजर भुवन पनि राष्ट्रका नाममा शिर कटाउन सदा तत्पर छन्। नेपाली सेनाको विषय छोइएको भएपनि यसमा सैन्य मनोविज्ञानको व्याख्या वा सेनाको राजनीतिक, सामाजिक सम्बन्ध तथा युद्धको संवेदना केही पनि देखिँदैन। बरु, फिल्ममा यस्तो उल्लु मेजर छ, जो अपाङ्ग छोरालाई कुर्सीमुनि बम राखेरै ठीक बनाउन तम्सिन्छ। अझै यसमाथि हिरोइनको जँड्याहा मामा र हिरोकी शूर्पणखालाई माथ दिने सौतेनी आमा! म तिमी विना मरिहाल्छु मा निर्देशक दयाराम दाहालले अहिलेसम्म प्रयोग गरेका सबै सूत्र र मसला एकमुष्ट खन्याएका छन्, जसलाई झेल्न दर्शकमा अतिरिक्त ताकत चाहिन्छ।
कागवेनीका भूषण दाहालपछि सानो संसार का आलोक नेम्वाङको कामले म्युजिक भिडियो र फिल्म फरक विधा हुन् भन्ने स्पष्ट देखाएको छ। अत्यन्तै कमजोर पटकथामा उनिएको सानो संसार हेर्दा लाग्छ, यसमा कुनै निर्देशक छैन। केटाकेटीले लुकाछिपी खेलेजस्तो कथालाई क्यामेराले किन फलो गरेको हो, पत्तो हुँदैन। उता, म तिमीविना मरिहाल्छु को दुःख भने अर्कै छ। यसमा निर्देशक यति धेरै देखिन्छ कि बाँकी केही देखिँदैन। शिवाय पुरानो निर्देशकका थोत्रा सूत्र र सुगन्ध खुइलिएका मसला! पटकथालाई डम्पिङसाइट बनाउने महान् लेखक अपरिचित नभई दुई फरक समयका सफल पट-कथाकारहरू ब्रजेश खनाल र विकास आचार्य हुन्।
यी दुई फिल्मका विशेषता फरक छन्। एउटामा निर्देशकदेखि कलाकारसम्म सबै स्थापित छन् भने अर्कोमा सबै नयाँ। र, दुवै फिल्म हेरिसकेपछि लाग्छ, समस्या न पुरानो हुनुमा छ, न नयाँ हुनुमा। समस्या छ त फिल्मकारको कला चेतनामा, समाज बुझ्ाइमा र कल्पनाशीलतामा।
देशको राजनीति फिल्म उद्योगको टाउको माथिबाटै ठूलो छलाङ लगाएर नयाँ युगमा पुगिसकेको छ। तर, हाम्रो फिल्म भने विस्तारै उकालोमा गियर खुस्किएको गाडीजस्तो अनुभूति हुन्छ। निर्देशकहरू समाजबाट भागिरहेका छन्। कतै छद्म लष्ट एञ्जल को कृत्रिम संवेदनामा दर्शक भुलाउने कोशिश भइरहेको छ त कतै बन्दूकको नालमा राष्ट्रियता देखाउन खोजिएको छ।
सानो संसार डिजिटल प्रविधिमा खिचिएको र म तिमीविना मरिहाल्छु ले डल्बी डिजिटल साउण्ड भएको निकै प्रचार गरे। तर, गतिलो विषय र शिल्प विनाको प्रविधि खुर्पाको बिँड बन्न जान्छ। दुवै फिल्मका कलाकारको अभिनय हेर्दा लाग्छ, एक-दुई बाहेक अरू कलाकारका आँखाभरि स्टार को रङ्गीन सपना त छ तर अभिनयको तिर्खा भने छैन।।
कलाकार भनेको त्यो प्राणी हो जसले मानवीय सम्बन्ध र संवेदनालाई बुझदैन मात्रै, त्यसको पुनर्व्याख्या गर्ने सामर्थ्य पनि राख्दछ। समग्रमा निकै हल्ला गरिएका सानो संसार र म तिमीविना मरिहाल्छु ले न त दर्शकलाई नयाँ संसारमा लैजान्छन् न आफ्नै दुनियाँको पुनर्व्याख्या पेश गर्छन्। सानो संसार ले नयाँ संसारमा छिर्ने कोशिससम्म गरेको भएपनि म तिमीविना मरिहाल्छुले यति पनि गर्दैन।
यज्ञश