|
|
||||||||
|
स्थलगत
बिजुलीले गर्यो कायापलट
एउटा जलविद्युत् आयोजनाले डेढ दशकअघिसम्म गरिबी, अशिक्षा र दर्ुगम अवस्थामा रहेका दोलखा-रामेछापका एक दर्जन गाविसको कायापलट गरेको छ । डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट
डम्बरकृष्ण श्रेष्ठ
कुनै विकट ठाउँमा आएको विकास आयोजनाले कस्तो प्रभाव पार्छ भन्ने कुरा खिम्ती-१ जलविद्युत् आयोजनाले दोलखा र रामेछापका केही गाउँमा ल्याएको परिवर्तनले देखाउँछ । २०५० सालअघिसम्म एउटा सुनसान गाउँ देखिने खिम्ती आयोजनास्थल किर्ने अहिले सिंचाई, विद्युत् र सडकसँगै टेलिफोन, टेलिभिजन, इन्टरनेट, विद्यालय, स्वास्थ्य केन्द्र र खानेपानीसहितको सुविधासम्पन्न बजार बनेको छ । आसपासका एक दर्जन गाउँमा पनि यस्तै परिवर्तन आएको छ । दोलखा, शहरे गाविसका पर्ूव अध्यक्ष नारायणध्वज खड्का खिम्ती आयोजनाले यो ठाउँको कायापलट गरेको बताउँछन् । आयोजना निर्माण हुँदैदेखि गाउँका ६ हजार मानिसले मासिक रु.६ हजारदेखि ३० हजारको रोजगारी पाएका र खरका छाना भएका घरमा टायल, जस्तापाता देखिन थालेका थिए । लामोसाँघु-जिरी राजमार्गको नयाँपुलबाट खिम्तीसम्म २२ किलोमिटरको सडक जोडियो । खड्का भन्छन्, "बाटो र बिजुलीसँग त संसारै आयो । आम्दानी, शिक्षा र चेतना बढ्दै गयो ।"
२०५७ सालदेखि ६० मेगावाट विद्युत् उत्पादन शुरु गरेको खिम्ती आयोजनाले राष्ट्रिय प्रसारणमा योगदान गरेको त छँदैछ, स्थानीय उपभोगका लागि गाउँमा अलग्गै विद्युत् उत्पादन समेत गरिदिएको छ । झाक्रे ग्रामीण विद्युतीकरण तथा विकास योजनाअर्न्तर्गत निर्मित झाक्रे लघु जलविद्युत् योजना स्थानीय बासिन्दालाई हस्तान्तरण गर्ने अन्तिम तयारी भइरहेको खिम्ती जलविद्युत् आयोजनाको सञ्चालक हिमाल पावर लिमिटेडका साइट म्यानेजर्रर् इश्वरमान देशार बताउँछन् । झाक्रेको विद्युत्ले आयोजना क्षेत्र वरपरका गाविसका सबै वडालाई नपुगेकोले खिम्ती छिमेक विकास आयोजनाअर्न्तर्गत थप ४०० किलोवाट क्षमताको हलुवाखोला लघु जलविद्युत् योजना निर्माण शुरु गरिएको छ । हलुवाखोलाको विद्युत् वितरणका लागि सडक निर्माण, तार र खम्बा जडान गर्ने काम भइरहेको छ । २०६७ सालभित्र पूरा हुने यस योजनाबाट उत्पादित विद्युत् ३७५० घरधुरीले उपयोग गर्नेछन् । र्सार्वजनिक-निजी साझेदारीको अवधारणा अनुसार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम -युएनडीपी) र नेपाल सरकारसँगको सहकार्यमा सञ्चालित खिम्ती छिमेक विकास आयोजना सामाजिक पर्ूवाधार र लघुउद्यम विकाससँगै खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थालाई सुदृढ गर्ने काम गरिरहेको आयोजनाका टीम लिडर रुपनारायण यादव बताउँछन् । झाक्रे र हलुवाखोला दुवै योजनाको विद्युत् व्यवस्थापन गर्न उपभोक्ताबाटै स्थापित यो सहकारी संस्थाले झाक्रे खोलाको विद्युत् महसुलबाट मासिक रु.४ लाख ५० हजार सङ्कलन गरिरहेको र करिब रु.१ करोड ५० लाखको पूँजी बनाइसकेको छ । यो रकमबाट सहकारीले विद्युत्गृह र लाइन मर्मतसम्भार तथा विस्तारका साथै माथिल्लो तामाकोशी आयोजनामा रु.५० लाखको शेयर लगानी गर्ने तयारी गरिरहेको सहकारीका अध्यक्ष नारायणध्वज खड्का बताउँछन् ।
दोलखाको च्यामा, हावा, ठूलोपातल, शहरे र जिरी, सिउरिनी तथा रामेछापको नमाडी, रसनालु, फर्पु, गेलु, बैताली, खिम्ती र फुलासीमा खिम्ती छिमेक विकास आयोजनाअर्न्तर्गत पाँच विद्यालय भवन, पाँच साना सिंचाई योजना, ११ खानेपानी योजना र एकहजारभन्दा बढी शौचालय निर्माण भएका छन् । खिम्तीले छिमेक विकास आयोजना शुरु गर्नुअघि पनि यस क्षेत्रका ११ विद्यालयलाई भौतिक संरचना निर्माणमा सहयोग गर्नुका साथै शिक्षक, शैक्षिक सामग्री र आर्थिक सहायता उपलब्ध गराएको थियो ।
आयोजनाका मजदुर र कर्मचारीका छोरा-छोरी पढाउन खोलिएको खिम्ती प्रोजेक्ट स्कूल अहिले जिल्लाकै नमुना विद्यालय बनेको छ । यसपालिको एसएलसीमा दोलखामा पहिलो र दोस्रो स्थान हासिल गर्ने किरण घिमिरे -८८.६३ प्रतिशत) र राजन अधिकारी -८७.७५ प्रतिशत) यसै विद्यालयका उत्पादन हुन् । प्रधानाध्यापक बालकृष्ण शर्मा विद्यालयमा हाल अध्ययनरत् ४७८ विद्यार्थीमध्ये २५ प्रतिशत मात्रै आयोजनाका कर्मचारीका छोराछोरी र अरू सबै स्थानीय बालबालिका भएको बताउँछन् । विद्यालय सञ्चालनमा खिम्ती आयोजनाले मात्रै वाषिर्क रु.४० लाख खर्च गर्दै आएको साइट म्यानेजर देशार बताउँछन् । आयोजना हातामा सञ्चालित स्वास्थ्य केन्द्रले टाढा-टाढाका बासिन्दालाई सेवा पुर्याएको छ । २० साउनमा छोरीलाई जँचाउन आठ घण्टा हिँडेर ध्याङ-४, सुकाथोकरबाट आएका गङ्गाबहादुर थापाले भने, "हामी जस्ता गरिबका लागि यो स्वास्थ्य केन्द्र उपहार नै भएको छ । स्वास्थ्य जाँचमा र औषधिको लागि रु.२५ मात्रै खर्च भयो । चरिकोट जानुपरेको भए एक हजारले पुग्दैनथ्यो ।" ठूला शल्यक्रिया बाहेक सबै उपचार हुने केन्द्रमा दैनिक ५०-६० जनाको स्वास्थ्य परीक्षण गर्ने गरेको र आफूकहाँ उपचार नहुने बिरामीलाई अन्यत्र लैजान एम्बुलेन्स सेवा उपलब्ध गराएको स्टाफ नर्स सविता गुरुङले बताइन् । आयोजनाले खिम्तीबेसीको सिंचाईको मुहान फर्पु फेदी, शहरे र च्यामामा स-साना कुलो निर्माणसँगै शहरे-१, गोगनटारमा दर्ुइ किलोमिटर टाढाको हलुवाखोलाबाट पाइप बिछ्याएर पानी ल्याई ५०० रोपनी जग्गामा सिंचाई पुर्याएको छ । गोगनटारका केशवबहादुर केसीले भने, "पहिले मकै र कोदो मात्र हुने जग्गामा धान फल्न थालेको छ भने पाँच मुरी धान फल्ने खेतमा १५ मुरी पुगेको छ ।" गाउँकै नवराज न्यौपाने भने खिम्ती आयोजनाकै कारण गोगनटारमा पानी अपुग भएकोले हलुवाखोलाबाट ल्याएर क्षतिपर्ूर्ति गरिएको बताउँछन् । खिम्ती आयोजनाले गाउँमा बिजुली, सडक ल्याएपनि माछा मारेर जीविका चलाउने करिब ५० परिवारको रोजगारी खोसेको न्यौपाने बताउँछन् । उनले भने, "आयोजनाबाट धेरै फाइदा भए पनि रोजीरोटी नै खोसिएका परिवारका लागि समस्या थपिएको छ ।" आयोजनाका फिस बायोलोजिष्ट राकेशकुमार यादव भने माछाको सङ्ख्या घट्नुमा आयोजनाले पारेको प्रभावभन्दा बढी विषादि प्रयोग गरेर मार्ने चलनलाई जिम्मेवार ठहर्याउँछन् । के हो खिम्ती-१
खिम्ती सम्झौतामा आयोजनाबाट उत्पादित विद्युत् २० वर्षा लागि नेपाल सरकारले खरिद गर्ने र त्यसपछि हिमाल पावरले ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गर्ने प्रावधानहरू छन् । तर, खिम्तीको विद्युत् अमेरिकी डलरको मूल्यमा खरिद गर्नुपर्ने हुनाले अहिले प्राधिकरणले महँगो दरमा किनेर नोक्सानी व्यहोरिरहेको छ । प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |