हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
पुस्तक
खुर्पाको बिँड र यौटा ठट्टा

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

खुर्पाको बिँड (राणाकालः झल्याकझुलुक)
लेखकः कमल दीक्षित
प्रकाशकः जगदम्बा प्रकाशन पृष्ठः ११८,
मूल्यः रु.२००

गएको भदौमा कमलमणि दीक्षितका दुईवटा पुस्तक विमोचन भए। एकै व्यक्तिका दुई कृति नितान्त फरक रुप, रङ र विधाका छन्। खुर्पाको बिँड लाई सबटाइटलमा राणाकाल झ्ल्याकझ्ुलुक भनेर प्रस्ट्याइएको छ। निश्चय नै यस कृतिका ती २० निबन्धहरूले १९७० सालयताको करिब ४० वर्षका राणा इतिवृत्त कोर्न मद्दत गर्दछन्। १९७४ सालको सिंहदरबारका चोटाकोठाको हुलिया खोलिएको छ कुनै निबन्धमा भने, कुनैमा भरत शमशेर राणाले आफ्नो बीएको परीक्षाको उत्तर पुस्तिकामा भगवान कृष्णलाई जथवा तथवा लेखेको कुरा छ। राणा जर्नेलका घर दरबारमा के कस्ता भाँडावर्तन हुन्थे भन्नेदेखि एक जना महारानीले कोटिहोम गराउँदा कति खर्च गरिन् भन्नेसम्मका विविध विषयको चर्चा पुस्तकमा छन्। यो इतिहासको पुस्तक नभए पनि इतिहासका लागि सामग्री स्रोत हो भन्नुपर्छ। पुस्तकको भूमिकामा प्रा.डा. त्रिरत्न मानन्धरले पनि “राणाकालीन नेपालको इतिहास, संस्कृति वा अन्य पक्षबारे यी दस्तावेजहरू अमूल्य सामग्रीका रूपमा रहनेछन्” भनेर त्यतातिर इङ्गित गर्नुभएको छ। पुस्तकका रोचकता १४ वर्षे कमल दीक्षितले २००० सालमा राखेको डायरी र खर्च कापीको चर्चाले पनि थपेको छ भन्नु अत्युक्ति नहोला। राणाकालीन दस्तावेजहरूका केही पृष्ठका फोटोकपी पनि दिइएकाले किताबको आधिकारिकता बढेको अनुभव हुन्छ। तर त्यसको फोटोकपी एक ठाउँमा गलत परेको देख्दा भने खट्किन्छ। त्यस्तै खट्किन्छ पुस्तकको कभरमा दिइएको खुर्पाको नमिलेको फोटो हेर्दा पनि। तर समग्रमा पुस्तक सङ्ग्रहणीय नै छ।

यौटा ठट्टा
लेखकः कमलमणि दीक्षित
प्रकाशकः पाटन रोटरी क्लब
पृष्ठः २०१,
मूल्यः रु.१५०

दीक्षितजीको दोस्रो पुस्तक भने अर्कै दिशामा बगेको छ। ठट्टा, मजाक या चुट्किलातिर। यो दीक्षितको ठट्टाहरूको तेस्रो पुस्तक रहेछ। पाटन रोटरी क्लबको साप्ताहिक बुलेटिन ललितधारा का सम्पादक समेत रहेका दीक्षितले त्यस बुलेटिनमा हप्तौंसम्म एउटा जोक या ठट्टा दिनुपर्ने रहेछ। यसरी वर्षका पचास टाका हिसाबले चार वर्षमा हुने २०० वटा जति जम्मा पार्दै एउटा ठट्टाको पुस्तक प्रकाशित गर्‍यो पाटन रोटरी क्लबले। साधारणतः हेर्दा शोधकर्ता दीक्षितले यसरी ठट्टा लेखेकोमा पत्यार लाग्दैन। तर पाटन रोटरी क्लबका प्रेसिडेन्ट केदारभक्त श्रेष्ठले आफ्नो प्रकाशकीयमा लेखेका छन्, “ठट्टाहरूको तारिफ गर्दा दीक्षितजी भन्नुहुन्छ, यी ठट्टाहरू मैले लेखेको, मैले उब्जाएको होइन, यताउताबाट बटुलबाटुल, चोरचार गरेर ल्याएका हुन् तर ती ठट्टाहरूमा जुन नेपालीपन र स्थानीय परिवेश भरिएका हुन्छन् त्यो देख्दा ती कतैबाट आयात गरिएका कुरा हुन् जस्तो लाग्दैन।” नभन्दै यस पुस्तकका २०१ वटा ठट्टाहरू पढ्दा त्यस्तै लाग्छ। एकदम स्थानीय लाग्छन् ती ठट्टाहरू, नितान्त मौलिक। यस पुस्तकको मूल्य सबै रोटरी क्लबको कल्याणकारी कार्यमा लाग्ने प्रतिबद्धता व्यक्त गरिएकाले रु.१५० बेसी लाग्दैन।

गजेन्द्रनाथ रेग्मी


छापामारको अधुरो युद्ध

जल्लादको मन (उपन्यास) लेखकः कृष्ण अविरल प्रकाशकः दूबो प्रकाशन
पृष्ठः २२१,
मूल्यः रु.१९५
त्रिभुवन विश्वविद्यालयको शैक्षिक प्रणालीप्रति असन्तुष्ट भएर शिक्षा सङ्कायमा आगो लगाउने मध्यपश्चिमका एक युवक अन्ततः सर्वहारा राज्य स्थापना गर्न मावादी जनयुद्धमा होमिएर सफाया लिडर बन्न पुग्छन्। तर विस्तृत शान्तिसम्झ्ौतापछि सरकारमा पुगेका मावादी मन्त्रीका व्यवहारले उनमा असन्तुष्टि एवं छट्पटी हुन थाल्छ। लेखक कृष्ण अविरलले उपन्यास जल्लादको मन मा मावादी छापामारमा व्याप्त यस अन्तरविरोधलाई शब्दमा उनेका छन्।

किताबमा सङ्कटकालमा राजमार्ग जाँच हुँदा यात्रुले भोग्नु परेको सास्ती, मावादी भनेर निमुखामाथि भएको सैनिक यातनासँगै सर्वसाधारणलाई परस्त्रीसँग यौनसम्बन्ध राखेको आरोपमा जनकारबाही गर्ने मावादी कमाण्डरहरू स्वयंको स्त्री-मोह लाई उदाङ्गो पारिएको छ। विवाहजस्तो व्यक्तिगत मामलामा समेत पार्टीले बेहुली छानिदिने अस्वाभाविक घटनाको वर्णन पनि छ। जातीय, क्षेत्रीय मुद्दा भनेका देश, काल, परिस्थितिअनुसार राज्यसत्तालाई कमजोर पार्न पार्टीले अख्तियार गरेको तात्कालिक नीति होभन्ने केन्द्रीयस्तरका एक नेताको मुखबाट मावादीको भनाइ र गराइबीचको भिन्नतालाई दर्शाउन खोजिएको छ। शान्तिसम्झ्ौतापछि अस्थायी शिविरमा बस्दै आएका पुस्तकका मुख्यपात्र अर्जुन अर्थात् आक्रोश कुनै बेला कोठामा सँगै बस्दा मावादीको विरोध गर्ने सन्तोषलाई कमरेड सङ्गम को रूपमा आफूसँगै पाउँछन्।

सर्वहाराको पार्टीमा देखिएका यस्तै विकृति, विलासिता र भेदभावबाट कमरेड आक्रोश विक्षिप्त जस्तै हुन पुग्छन्। परिवर्तनका लागि काम गर्नै सकिन्नथ्यो र खाली सत्ताको मोहमा फँस्नु नै थियो भने जनतालाई किन झ्ुक्याउनु भन्ने प्रश्न आफैंप्रति तेर्स्याउँदै उनी छापामार बन्नुअघि त्रिविमा आगो लगाउन प्रयोग गरिएको लाइटरको पुनः प्रयोग गर्न पुग्छन्। यसले उनीभित्र युद्ध अझ्ै अधुरो रहेको सङ्केत गर्दछ। मावादी जनयुद्ध मा प्रत्यक्ष संलग्नहरूसँगको कुराकानीपछि तयार गरिएकोले पुस्तक यथार्थपरक लाग्छ।

सुरेशराज न्यौपाने


जातीय छुवाछूतको चित्रण

सान्नानी (उपन्यास)
लेखकः किरण रिमाल
प्रकाशकः कृष्ण न्यौपाने/दीपक कोइराला पृष्ठः १८३,
मूल्यः रु.१५०
स्नातक अध्ययनरत किरण रिमालको नेपाली समाज र त्यसको वरिपरि घुमेको उपन्यास सान्नानी पढेपछि उनी यो विधाका नवप्रवेशी हुन् भनेर पत्याउन हम्मे पर्छ।

किताबमा एउटी दलित किशोरी सान्नानीको उपल्लो जात का कान्छासँगको प्रेम रुढिवादी समाजका कारण असफल हुँदा आइलागेका घटनाक्रमको सजीव चित्रण छ। ठूलो जातका युवकसँग प्रेम गर्ने अपराध गरेकीले एक नपुंसक युवकसँग विवाह गर्न बाध्य सान्नानीलाई त्यसपछि बहुपति प्रथा भएको हिमाली परिवारमा पुर्‍याइन्छ। गर्भवती अवस्थामा त्यहाँ टिक्न नसकेर विरक्तिँदै हिँडेकी ऊ बडो कष्टले छोरो जन्माउँछे। आफू र नाबालक छोराको पेट पाल्ने उपाय नभएपछि यौन व्यवसायमा लागेर धेरै पैसा कमाउँछे। शहरमा घर किन्छे। त्यसैबीच संयोगले आफ्नै पर्खाइमा बसेको पहिलेको प्रेमी कान्छासँग भेट हुन्छ र दुवै हिमाली क्षेत्रमा स्वास्थ्य केन्द्र एवं पुस्तकालय खोलेर समाजसेवामा लाग्छन्। त्यही क्रममा थलिएर सान्नानी सधैंका लागि बिदा हुन्छे, पछि डाक्टर बनेर आएको छोराले उनको सपना पूरा गर्छ।

सदियौंदेखि दह्रो जरा गाडेर बसेको जातीय छुवाछूतलाई विषयवस्तु बनाएर रिमालको नेपाली समाजको यथार्थ तस्बिर प्रस्तुत गर्ने प्रयास सान्नानी मा सफल देखिन्छ।

रामेश्वर


अनुभूतिको सँगालो

रापती किनारको रात
लेखकः हेमराज पाण्डे अभागी
प्रकाशकः कुसुम/इन्दु पाण्डे पृष्ठः ११८,
मूल्यः रु.२५०
हेमराज पाण्डेको रापती किनारको रात यात्रा र जीवनका केही घटनाबारे आफ्नो अनुभूतिसहित रोचक ढङ्गमा लेखिएको संस्मरण हो। १४ वटा सामग्री समेटिएका कृतिमा धेरैजसो गोरखापत्र, मधुपर्क, गरिमा आदि पत्रपत्रिकामा प्रकाशित भइसकेका रचनाहरू छन्।

पूर्वमा दार्जीलिङदेखि पश्चिममा रापती नदी तटसम्मको विभिन्न समयमा गरिएको यात्राको विवरणले पाठकलाई त्यहीं पुगेको अनुभूति गराउँछन्। इलामको पशुपतिनगर हँुदै माइक्रोबस चढेर दार्जीलिङ पुग्दा त्यहाँको पहाडी सौन्दर्यसँगै लेखकलाई उकालो चढेको रेलले निकै मोहित गरेको बुझन सकिन्छ। चौरस्ताको चहलपहल, भानुभक्तको सालिक र नेपालीभाषीको बाहुल्यले त्यहाँ उनलाई स्वदेशकै झ्ल्को दिन्छ।

२३ वर्ष पहिले रापती नदी तर्दाको कठिनाई र नदी किनारमा रात बिताएको प्रसङ्गलाई उनले रोचक शैलीमा उतारेका छन्। रापती किनारमा ठाउँ-ठाउँमा भेटिएका भट्टी, बिक्रीका लागि झ्ुण्ड्याइएका मादल, स्वादिला माछा र पेय आदिसहित त्यस भेगको जीवनशैलीको रोचक चित्रण छ त्यसमा। कति ठाउँमा मावादी द्वन्द्वबाट प्राप्त पीडाका प्रसङ्गहरू पनि छन्। कतिपय ठाउँको ऐतिहासिक पक्षको जानकारी पनि छ। शरीर थकाइले चूर हुँदा पनि मनले डाँडाकाँडा, नदीनाला र वनस्पति हेरेर सुखद् अनुभूति गरेका धेरै प्रसङ्ग छन् किताबमा।

रामजी दाहाल

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क