|
|
||||||||
|
रिपोर्ट
नेपालले नेतृत्व लिनुपर्छ
जलवायु परिवर्तनको जोखिममा रहेको नेपालसँग यस विषयमा अगुवाई गर्ने क्षमता पनि छ। त्यसैले नेपाल नेतृत्वको पङ्क्तिमा उभिनैपर्छ।
अनिल चित्रकार
पश्चिम नेपालमा गर्मी ठाउँका रोगहरूले मास्तिर उक्लिएर मानव क्षति पुर्याइरहेको, एक महिना ढिलो शुरु भएको वर्षात्ले हिउँदमा खाद्य सङ्कट र भोकमरीको त्रास निम्त्याइरहेको तथा बाढीले महँगा संरचना नष्ट पारेर देशका धेरै भागलाई एकअर्काबाट अलग्याइरहेको बेला नेपालका सामु जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिने र यसको नेतृत्व गर्ने बाहेक अर्को विकल्प छैन। नेपालको अधिकांश जनसङ्ख्या मात्र होइन, हिमालयको काख र त्यसदेखि दक्षिण, पूर्व र पश्चिमका धेरै भागका करोडौं मानिस, प्राकृतिक स्रोतमा निर्भर छन्। हामी आफूलाई चाहिने खानेकुरा, इन्धन, लत्ताकपडा, निर्माण सामग्री, तेल, जडिबुटी र पानीजस्ता यावत चिज यही आफू वरिपरिको वातावरणबाटै पाउँछौं। यसबाट के स्पष्ट हुन्छ भने, यी प्राकृतिक स्रोतमा सङ्ख्यात्मक वा गुणात्मक रूपमा केही परिवर्तन आएमा मानिस, वस्तुभाउ र वन्यजन्तु सबै सङ्कटमा पर्नेछन्। जीवनयापन अझ् कठिन हुनेछ, जुन अहिले नै शुरु भइसकेको छ। पछिपछि मानिसहरू आफ्नो लागि अझ्ै बढी कठिनाई निम्त्याउँदै अहिले बसिरहेको ठाउँबाट बसाइँ सर्न सक्छन्। पैसाको अभावले मानिसहरूलाई अझ्ै बढी सङ्कटतिर धकेल्छ। पैसा खर्च गरेर समस्या टार्ने उपाय उसै पनि अधिकांश नेपालीको वशमा छैन। हाम्रो एक मात्र ग्रहको स्वास्थ्यको ख्याल गर्नेहरू जलवायु परिवर्तनको विज्ञानका बारेमा स्पष्ट हुँदै जाने क्रमसँगै यससम्बन्धी अध्ययन र बहस अगाडि बढ्दै जानेछ र बढ्नुपर्छ। जोखिममा रहेका हिमालय क्षेत्रका जनताको समस्या के छ भने हामी पर्खेर हेर्ने सोख पालेर बस्ने अवस्थामा छैनौं। हामीले आफूलाई तत्पर राख्नैपर्छ, हामी पहिल्यै क्रियाशील हुनैपर्छ। जलवायु परिवर्तनले निम्त्याउने प्राकृतिक प्रकोपप्रति प्रतिक्रिया जनाएर मात्र बस्नु हाम्रा लागि अगाडि बढ्ने विकल्प होइन। काठमाडौं सम्मेलन नेपालमा हिमालय छ, करोडौं मानिसलाई पोषित गर्ने पानीको स्रोत छ र भविष्यको बीज भण्डार हुने जैविक विविधता छ। अझ् महत्वपूर्ण त नेपालमा सबैभन्दा बढी जोखिममा रहेका मानिसहरू छन्। त्यसैले यस्ता विषयवस्तुमा सम्मेलन आयोजना गर्न, समर्थन जुटाउन र सारा विश्वलाई नै पहलकदमी लिन प्रेरित गर्न नेपालले अगुवाई गर्नु स्वाभाविक छ। नेपालले नेतृत्व लिन सक्छ र लिनुपर्छ; र नेपालले त्यसो गरेकोमा हामीले गर्व गर्नुपर्छ। यस्ता कार्यक्रममा हुने ठूलो खर्चबारे हामी सबै जानकार छौं, तर यस्तो मामिलामा हुने खर्चभन्दा त्यसबाट हुने लाभ धेरै भारी हुन्छ। सम्मेलनहरूले ठोस क्रियाकलापतर्फ डोर्याए भने हामीले पक्कै तिनलाई बृहत् उद्देश्यप्राप्तिको माध्यमको रूपमा लिन सक्छौं। विश्वव्यापी बहस जलवायु परिवर्तनको विज्ञान, तथ्यविवरण र यससँग जोडिएका कारण तथा असरका बारेमा केही अनिश्चितता छन् भन्ने कुरामा आम सहमति छ। तर यसले पर्खनु र हेर्नुपर्छ भन्दैन। बहसलाई साँच्चै नै आम मानिसमा जलवायु परिवर्तनले ल्याउन सक्ने पीडामा केन्द्रित गर्दै हामी कसरी क्रियाशील हुनसक्छौं भन्नेतर्फ लाग्नुपर्छ। जीवन निर्वाहमा चुनौती हालै भएको काठमाडौंदेखि कोपनहेगेन सम्मेलनका सहभागीहरूले नेपालका विभिन्न पर्यावरणीय क्षेत्रबाट आएका जलवायु परिवर्तनका प्रत्यक्षदर्शीहरूका कुरा सुने। जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मानिसहरूको प्रत्यक्ष अनुभवले सहभागीहरूलाई यो कुनै प्राज्ञिक छलफल वा वैज्ञानिक बहसको विषय मात्र नभएर सबैले व्यवस्थापन गर्नुपर्ने र अनुकूल बनाउँदै जानुपर्ने समस्या हो भन्ने महसूस गराएको छ। साथै सहभागीहरूले संविधानसभाका सदस्य, सगरमाथा आरोही, व्यापारी तथा स्कूलका विद्यार्थीका कुराहरू पनि सुने। यो सबैले जलवायु परिवर्तनको बहसलाई धरातलीय यथार्थमा ल्याउन मद्दत गर्यो। चुनौतीसँगै अवसर पनि समय अगाडि नै समस्याबारे अवगत भएर हामी घटनापछि प्रतिक्रिया दिने होइन कि अघि नै क्रियाशील बन्ने दिशामा अग्रसर हुन सक्छौं। थुप्रै विकसित मुलुकहरू अर्बौं खर्च गर्दै कार्बन उत्सर्जन कटौती गरेर आ-आफ्नो अर्थतन्त्रलाई सफा गर्ने काममा लागिरहेका बेला नेपालले विकासको सुरुआत नै जल, सौर्य र वायु जस्ता स्वच्छ र नवीकरणीय स्रोतमा आधारित कार्बनमुक्त अर्थतन्त्रबाट गर्नसक्ने अवसर पाएको छ। नेपालले यी स्रोतहरूलाई आफ्नो उपयोगको लागि मात्र नभएर यस क्षेत्रकै उपयोगको लागि पनि विकास गर्न सक्छ। भोलिको स्वस्थ समृद्ध संसारको लागि आवश्यक पानी र जैविक विविधताको भण्डार आफूसँगै भएको नाताले हामी यस क्षेत्रकै मानिसहरूलाई जलवायु परिवर्तनका लागि तयार पार्न विश्वव्यापी समर्थन जुटाउन सक्छौं। खनिज तेल र कोइलामा निर्भर विश्व अर्थतन्त्रलाई त्योभन्दा राम्रो बाटो पनि छ भनेर देखाउने अवसर हामीसँग छ। नेपालले नेतृत्व लिनुपर्छ नेपालले जैविक विविधता संरक्षण, सामुदायिक वन व्यवस्थापन जस्ता अन्य विषयमा विश्वलाई नेतृत्व दिइसकेको छ। हामी जलवायु परिवर्तनमा पनि नेतृत्व गर्न सक्छौं। साझ्ा सरोकारका विषयमा कसरी सञ्चारमाध्यम, सांसद्, युवा, स्कूलका विद्यार्थी, सरकारी निकाय सबैसँग मिलेर काम गर्न सकिन्छ भन्ने उदाहरण प्रदर्शन गरेर नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्छ। पछिल्लो सम्मेलनमा १४ वटा दातृसंस्थाहरूले सहयोग सम्झ्ौता गरेर यी उदाहरण कति वास्तविक हुनसक्छन् भन्ने दर्शाइसकेका छन्। काठमाडौं र यसका थुप्रै आकर्षक स्थलहरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय भेलाका लागि उपयुक्त छन्। यसका लागि अझ्ै आफ्नो क्षमता अभिवृद्धि गर्न पक्कै पनि हामीले लगानी गर्नुपर्ने ठाउँहरू पनि छन्, जस्तै― समानान्तर अनुवाद सीपको विकास। कोपनहेगेन र त्यसपछि जलवायु परिवर्तन र नेपालको गरिबी डा. गणेश गुरुङ
माथिको तथ्याङ्कले नेपालमा जलवायु परिवर्तन भइरहेको प्रस्ट गर्दछ। नेपालले पश्चिमा विकसित राष्ट्रहरूका कारणले जलवायु परिवर्तन भोग्नु परेको हो। किनभने नेपालले विश्वभरि उत्पादन हुने हरितगृह ग्याँसको ०.०२५ प्रतिशत मात्र उत्पादन गर्दछ, तर हिमाल पग्लनाले तापक्रम वृद्धिको नकारात्मक असर भने सबैभन्दा बढी नेपालले भोग्नुपर्ने अवस्था देखिएको छ। त्यसमाथि जलवायु परिवर्तनको असर नेपालका गरिब किसानले बढी भोग्नुपर्ने अवस्था देखिँदैछ। नेपालको कुल जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी घरधुरी खेतीपातीमा निर्भर छन्। जलवायु परिवर्तनले पानी पर्ने समय र अवधिमा परिवर्तन गरिदिएपछि कृषि उत्पादन कम हुने र भोकमरीको प्रकोप बढ्ने सम्भावना देखिएको छ। वर्षात्को समयमा पानी नपर्नाले नेपालीहरूको मुख्य बाली धान, मकैको उत्पादनमा प्रतिकूल प्रभाव परेको छ भने मङ्सिरदेखि चैतसम्म हुने औसत वर्षात्मा कमी आएकोले गहुँ, कोदो जस्ता हिउँदे बालीको उत्पादन कम भएको छ। तोरी खेतीमा निकै कमी आइसकेकोले तेलको उत्पादन क्रमशः घट्दै जाने अनुमान गरिएको छ। जलवायु परिवर्तनको कारण खाद्यान्न उत्पादनमा कमी आएको मात्र होइन, बालीनालीमा नयाँ प्रकारका रोग र कीटाणुहरू देखिन थालेका छन्। र, यसले पनि उत्पादनमा ह्रास ल्याउन सहयोग पुर्याएको छ। जलवायु परिवर्तनले खानेपानीको आपूर्तिमा पनि असर पार्न थालेको छ। एकातिर खाद्यान्न उत्पादनमा प्रत्यक्ष असर परिरहेको छ भने अर्कोतिर पोषण र पानीको अभावले ग्रामीण भेगका गरिब परिवारको स्वास्थ्यमा पनि प्रत्यक्ष असर पर्न थालेको छ। तापक्रम वृद्धि भइदिनाले पहिले इन्सेफलाइटिस, मलेरिया, कालाज्वर जस्ता रोग नदेखिने ठाउँमा अब देखा पर्न थालेका छन्। (समाजशास्त्री डा. गुरुङ नेपाल इन्ष्टिच्यूट अफ डेभेलपमेन्ट स्टडिजसँग आवद्ध छन्।) प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |