हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
साहित्य
'तपाईंको देशमा'
युवराज नयाँघरे

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

बिलाश राई
कुदिरहेको रेलमा तीनजना नेपाली छौं।

रेलभरि मान्छे छन् थरीथरीका― एशियाली, अफ्रिकी, युरोपेली अनेक हुलिया बोकेका। होमराज आचार्य, डा. भट्टराई र म आमनेसामने छौं। हाम्रा आँखाजुधाइ कम भए पनि कुरा साटासाट भइरहेछन्। भर्खरै धोएर ल्याएजस्तो टिलिक्क सफा छ, रेड लाइनको रेल।

भारतीयहरू थुपै्र छन्। त्योभन्दा बढी छन् हिस्पानिकहरू― होचा, कालो कपालका, ठ्याम्मै नेपाली अनुहारका। अझ् बढी छन् अफ्रिकन कालाहरू। निकै होहल्ला छ ती बसेको सिटमा। शुक्रबारको दिन― निकै भीडभाड छ। फेरि रातको बेला।
अमेरिकामा शुक्रबारको काम सकेर दुईदिने छुट्टी मनाउन निस्किहाल्ने जीवनशैली रहेछ। शनिबार र आइतबार जमेर मस्ती गर्ने अनि सोमबारदेखि फेरि घँुडा धस्ने प्रचलन सबैका निम्ति संस्कार भएको पाएँ मैले।

वाशिङ्टन डीसीबाट मेरिल्याण्ड गइरहेथ्यौं हामी। अश्वेतहरूको भीडभाड बढ्ता छ मेरिल्याण्डमा। यसको प्रमाण रेलको भन्दा चर्को अश्वेतहरूको होहल्लाबाट पाइन्थ्यो मज्जैले।

“म त आउने साता नेपाल जाँदैछु, डाक्टर साब कहिले फर्कने?”
फारागट नर्थको भीडमा रेल रोकिँदा मैले सोधेँ।
“तपाईंको देशमा आउन त पर्ने हो! पहाडमा अलिकति खेतबारी छ। खोई, त्यता पनि मावादीले झ्ण्डा गाडेका छन् रे! हेरौं, यो अपार्टमेन्टको मोर्गेज तिरिसकेपछि मुक्ति पाइन्थ्यो कि!”
भट्टराईको अनुहारमा उज्यालो र बोलीमा उमङ्ग थिएन।

रेल कुदेजस्तै लागेको छैन मलाई। नहल्ली बादलमा सुलुलु गइरहेको आनन्दीमा रमाएको छु। एक-दुई मिनेटको फरकमा हरेक स्टेशनमा रोकिने सूचना प्रसारण हुन्छ, रोकिन्छअनि टिङ्लिङ्ङ घन्टी बज्दै ढोका लागेको जानकारी सुनिन्छ।
भित्तामा अडेसिएका होमराजका आँखा लोलाएका छन्। मेरो र भट्टराईको कुरा तिनी कति सुनिरहेका छन्? घरी-घरी ख्याल आउँछ― तिनका परेली ढप्किएका मात्र हुन्, कान खुल्लै छन्।

“तपाईंको लेखन त सेलायो नि?”
मेट्रो सेन्टर पुगेपछि मैले खसखस पोखें।
“तपाईंको देशमा लेखेर कसले के लछारपाटो लगाएका छन् र! मैले त्यतिका किताब लेखेँ; न विश्वविद्यालयले सम्झ्ना गर्‍यो, न एकेडेमीमै प्राज्ञ हुन पाइयो। रातोदिनको कचिङ्गलले भनेजस्तो लेख्नै सकिएन त्यो बेला। अहिले डीसी घुम्दा वर्षमा एउटा कविता लेख्छु, प्रसन्न हुन्छ मन!”

डाक्टर साबले नेताजस्तो आक्रोश पोखे।
वाशिङ्टन डीसीलाई मुख्य फेरो मारेर ग्रीन, ब्लु, रेड, यल्लो, अरेन्ज पाँचरङे रेल कुद्छन्। ती सबै लाइनमा भिन्न-भिन्न भूमि र परिवेशका यात्रु हुन्छन्।

“कत्तिको रमाइरहनुभाछ त डाक्टर साब?”
म सोध्छु, वर्षौंदेखि अमेरिकी नागरिक हुनुभएका भट्टराईलाई।
“तपाईंको देशमा मानिस दुखी मात्र छन्। बोल्नेहरूको जमात बढेको बढेकै छ, काम चैं शून्य छ।”
डाक्टरभित्र आगो छ, बोलीले त्यसको साक्ष्य जनाइरहेको छ।

म कुदिरहेको मेट्रोको चारैतिर हेरिरहेको छु। कसैले कसैलाई नछोई बसेका छन्। उभिनेहरू पनि आफैँमा निमग्न। धेरै जसो त पुस्तकमै घोत्लिरहेका। मोटा न मोटा किताबले मुख छोपेर निदाउनेहरू छन् झ्न् बढी।

मेरो छेवैमा एउटा अग्ले अश्वेत र रसियाली अनुहारकी किशोरी मच्ची-मच्ची गफ गरिरहेका छन्। गणितका सूत्रजस्ता लाग्ने किरिङमिरिङ अक्षरमा जोतिएर बोल्छन्, थाक्छन् र ठ चुस्छन्। बेला-बेलामा हाम्रा कुरामा पनि ध्यान दिन्छे किशोरी।
अमेरिकी झ्ण्डाका स-साना कलात्मक स्टिकर छन् ठाउँ-ठाउँमा। अनि त्यसकै तल्लो हारमा सबैले देखिने गरी लेखिएको छ― नो स्मोकिङ, नो इटिङ अर ड्रिङ्किङ, नो एनिमल्स्, नो अडियो, नो लिटर अर स्पिटिङ, नो डेन्जरस् अर फ्लेमेबल आइटम्स्।

हावामा बत्तिएजस्तो रेलको आवाज छ, पानी उम्लँदाको स्वाँ152152 जस्तो!
“डाक्टर साब, रोग लागेपछि त उपचार गर्न गाह्रो पो रहेछ है अमेरिकामा?”
अघिल्लो महिना रुघाखोकी र ज्वरोले थला परेको एउटा साथीले जिरापानी खाँदै नेपालकै डाक्टरसँग सम्पर्क गरी खती खाएको सम्झ्ेर सोधेँ मैले।

“तपाईंको देशमा पैसा भई-भई मर्नेहरू कति छन् कति! नेपालमा मान्छेको शरीर परीक्षण गर्ने भाँडो मात्र हुन्छ। सास राख्न होइन, थुतिमाग्न अस्पताल जान्छन् मान्छेहरू!”

भट्टराई उग्रै रिसाएका रहेछन्। सात समुद्रपारि आउँदा पनि मत्थर भएनछ रिस।
चाइनाटाउन पुगेपछि रेलमा अलिक बढी जापानी, फिलिपिनी, कोरियाली र चिनियाँमूलका मान्छेको सङ्ख्या थपियो। एउटी पातलो जामा लगाएकी युवतीले गलामा बुद्धैबुद्ध अङ्कित माला लगाएकी देखियो। त्यसै-त्यसै रमायो मन!
उसका हातमा एउटा कलात्मक काठे माला थियो। त्यसलाई ऊ घरी-घरी ठमा पुर्‍याउँदै, छातीतिर हुर्‍याउँथी। त्योतिर रसियाली युवतीसँग शास्त्रार्थ गरिरहेको काले पनि बाङ्गिएर हेर्थ्यो।
“तपाईं सुखी कति प्रतिशत हुनुहुन्छ?”
मेरो प्रश्न यथावत् छ।

“तपाईंको देशमा मान्छे सुखी छैनन्, खुशी छन्। यहाँ म सुखी धेरै, खुशी कम छु। अमेरिकाले सबैलाई सुख दिन्छ, खुशी पार्न नसके नि!”
भट्टराईले सत्य बोले कि भन्ने लाग्दैछ मलाई।

मेट्रो घरी सुरुङभित्र पस्छ। घरी खुल्ला मैदानमा बेतोडले वेगिन्छ।
न्युयोर्क एभेन्यु पुगेपछि ठूलो हुल पस्यो हामी बसेको कक्षमा। निकै बहस गरिरहेको थियो त्यो समूह। आचार्यले बताए, “यिनीहरू फूटबलबारे कुरा गर्दैछन्!”

हुन पनि अमेरिकामा खेलकुद हुन थालेपछि सारा शहर नै बन्दजत्तिकै हुँदा रहेछन्। स्टोर, लिकर्स र सब-वेहरू एकाएक स्लो हुँदा रहेछन्।
ब्रेन्टउड पुगेपछि मेट्रोमा यात्रुको चाप झ्न् बढ्यो। झ्काएका आचार्य हाम्रा बातचितमा सही थाप्न र मुन्टो हल्लाउन थाले।
“धन त निकै कमाउनुभयो होला?”

मैले निकै साहसका साथ यो जिज्ञाशा राखेँ भट्टराईलाई। किनभने अमेरिकामा कमाउनेभन्दा गुमाउने ठाउँ धेरै देखेको थिएँ मैले। उनको इमान जाँच्न पनि यो खसखस राखँे।
“तपाईंको देशमा कमाउने ठाउँ नै कहाँ छ र! त्यहाँ वर्षमा कमाउने पैसा यहाँ महिनामा कमाइन्छ। तर बचत त त्यत्तिकै हो नि! कार्डमै पाइन्छ डलर अनि कार्ड घोट्ताघोट्तै गइसक्दो रहेछ। पत्तै नहुने!” डाक्टरले भनेका कुरामा बनावटी तर्क थिएन। हार न जितको नतिजामा हाँस्ने अनुहारको लाममा भट्टराई पनि उभिएको देखें मैले।
“सन्तोष कत्तिको मानिरहनु भाछ त डाक्टर साब?”

देशको विद्वान्लाई मैले सोधेको थिएँ, अमेरिकामा गुमनाम देखेर।
“तपाईंको देशमा इज्जत छ, भोक मार्ने अन्न छैन। भात पहिलो अनि प्रतिष्ठा पछिको कुरो रहेछ। सन्तोषलाई पनि यही आँखाले हेर्नुपर्ला। जे होस् ठीक छु।”
डाक्टरको बोलीमा गह्रुङ्गो चाला छँदैछ। तिनमा जतिसुकै पीडा नदेखाउने प्रचेष्टा भए पनि विस्तारै आइरहेथ्यो कुराकानीमा।
वाशिङ्टन डीसी वरिपरि मेट्रोको जालो छ। हजारौं मान्छे शहरमा पार्किङको समस्याले ग्रसित छन्। त्यसैले अपार्टमेन्टदेखि मेट्रोसम्म आफ्नै कारमा आयो, पार्किङ गर्‍योर त्यसपछि मेट्रो चढेर गयो जागिर खान।
“तपाईंको लगानी अनुसारको प्रतिफल छ त?”

बौद्धिक व्यक्तित्वले हाड घोट्नेमा उनी समेत परिचित थिए। अनि पो सोधेथेँ मैले।
“तपाईंको देशमा यस्तो वातावरण न हिजो थियो, न छ आज! मलाई डलर आइरहेकै छ। कामलाई मानेपछि बुद्धि र बल भन्नेतिर किन जाने? उहाँ पनि कापीका बिटा बोक्ने नै गर्दथेँ। बीस-उन्नाइसको मात्र फरक हो!”
अमेरिकामा श्रम र नेपालमा बौद्धिक लगानीमा डाक्टर साबको मतो नमिलेको ठानेँ मैले। हरियो डलरले थिचथाच पारेछ उनलाई।

काम वाशिङ्टनमा भए पनि आचार्य र भट्टराई मेरिल्याण्डको पुछारमा बसोबास गर्छन्।
आतङ्कको पीडाले झ्न् बढी ग्रसित छन् अमेरिकीहरू। डीसीलाई पोटोम्याक नदीले छोएको छ। नदीपारि बस्दा धेरै समस्या हँुदोरहेछ। विशेषतः टनेलको खराबीले मेट्रो रोकिए जागिर, जीवन र यात्रामा ठूलो खलल पर्ने।
“आतङ्ककारीले अमेरिकाका टनेल ताक्छन्। पोटोम्याकको टनेलमा ब्लास्ट गरिदिए सब चौपट!”, आचार्यको भनाइले यति वर बस्नुको रहस्य जानेँ मैले।

सेकेन्ड तलमाथि नगरी दगुरेको मेट्रो फेर्दै सयौं किलोमिटर टाढा पुगेर काम गर्नेहरूको भीडभाडै कति हो कति! मेट्रो चढ्ने र र्लने स्टेशनमा किनारतिर नउभिए हुलले किचिने वा बढारिने डर। मान्छेको खोलो देखिन्छ त्यहाँ।
“सधैँको यो भागदौडले के दिन्छ?”

मेट्रो टाकोमा स्टेशन पुग्दा सोधेको थिएँ मैले। अब आउने स्टेशनपछि उनको र हाम्रो बाटो फरक हुँदै थियो। त्यसैले डाक्टर भट्टराईबाट जान्न हतारिएको थिएँ म।
“तपाईंको देशमा समयको मूल्य नचिन्नेहरूको बगाल छ। दिएको समयमा नपुग्ने, बोलाएर घण्टौँ कुराउने, काममा ढिलो गए हुने आदि यावत् समय-पीडाले त्यहाँ जरो गाडेको छ। यहाँ त्यस्तो छैन। फूर्ति, जोश र समय चिन्ने मान्छेलाई अमेरिकाले अँगालै हाल्छ। मैले धेरै वर्ष समय-पीडाका जरामा जेलिएर जीवन खत्तम पारेछु।”

बूढो हड्डी अमेेेेरिकामा घोटेर तारुण्य उमेरमा नेपालमा अल्छ्याइँ खर्चेको गर्वबोध एक पटक फेरि सुनेँ मैले। भट्टराईजस्ता अरू थुप्रै सत्पात्र अमेरिकी भूमिको गाथामा भास्सिँदै-भास्सिँदै गइरहेथे। त्यै थियो यो प्रतिक्रिया।
“इज्जत पाएको अथवा गुमाएको के लाग्छ?”

आँट बटुलेर सोधेँ मैले ती गुरुवरसँग, जो लामै समय अनुशासन, आत्माभिमान, देश र जीवनबारे मूल्यमान्यताको व्याख्यानमा जुटेका थिए कुनै बेला।
“तपाईंको देशमा इज्जत भएर पो कतिञ्जेल जोगाइराख्नु? सधैँ अभाव, बन्द, राजनीति र भ्रष्टताको बीचमा आफूलाई नीतिवान बनाएर कसले राख्न सक्छ, हँ?”

आगो कले श्रीमान्ले। म प्रतिवाद गरिरहेको छैन, केवल श्रोता भएर उभिएको छु। पाताल पसेको बुद्धिजीवीको अन्तर्मन पढ्नु छ मैले।
“नेपाल नआउने?”
सिल्भरस्पि्रङमा रेल रोकिएपछि मैले सोधेँ डाक्टरलाई।
“तपाईंको देशमा पर्यटक बनेर घुम्न आउँला। अब त म अमेरिकी नागरिक!”
कुनै समय त्रिचन्द्र क्याम्पसमा कालो ब्याग र नोटबुक बोकेर पढाउन जाने हरिराज गुरुले उद्घोष गरे।
मेट्रो गइसकेथ्यो त्यसबेला उनलाई बोकेर!

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क