हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
साहित्य
कम्युनिष्ट
आन्विका गिरी

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

कथा

म कम्युनिष्ट बनूँ, उसको चाहना यत्ति थियो! मैले कस्तो लुगा लाए सुहाउँछ, कस्तो कपाल काट्नुपर्छ, दाह्री राख्न हुन्छ/हुन्न, कुन स्याम्पू लगाउनुपर्छ― यस्ता कुरा कहिल्यै भनिन। उसले मलाई सारै आग्रह गरेर एउटै कुरा भनी, “तपाईं कम्युनिष्ट बन्नुस् न है!” मैले पनि कहिल्यै उसलाई म तपाईंलाई प्रेम गर्छु भनिनँ। मैले भनेको यत्ति हो, “तपाईं मलाई राम्री लाग्छ।”

मलाई एउटी महिला मा'वादीको बारेमा विस्तृत रिपोर्ट गर्नुथियो। केन्द्रबाट उसकै नाम सिफारिस गरियो र म उसलाई भेट्न खोटाङको चुइचुम्बा पुगें। ऊ त्यति राम्री थिइन― थेप्चो नाक, स-साना आँखा, ढ्याब्रे 'ठ! जिङरिङ्ग कपाल! काली हुन्थी भने डरलाग्दी हुन्थी, गोरी भएकीले तर्साउली जस्ती चाहिँ थिइन। मेरो पनि नाकनक्सा खास मिलेको त होइन, तैपनि नाक उसको भन्दा अलि उठेको थियो, आँखाहरू अलि ठूला थिए र 'ठहरू अस्वाभाविक देखिने गरी ढ्याब्रे थिएनन्। छालाको रङ पनि उसकै झ्ैँ थियो, सेतो भने हुने। म सफाचट थिएँ।

उसले पढेकी थिई, बीएसम्म! त्यसैले पनि पार्टीले उसको नाम सिफारिस गरेको होला। पहिलो भेटमा उसले दह्रो गरी हात समाई, मैले अप्ठेरो मानें। कम्युनिष्ट हात मिलाई मलाई निको लाग्दैनथ्यो!
“मार्क्सवादको बारेमा थाहा छ?” उसले मलाई आफ्नोबारे केही बताउनुअघि सोधी।
“हल्का!” मैले मुस्कुराएर जवाफ दिएँ।

ऊ पनि मुस्कुराई र दोहोर्‍याई, “हल्का!”
ऊ साधारण छापामार थिई। समूहमा अरू पनि थिए। दिनभर सुत्थे र राति राति एकठाउँबाट अर्को ठाउँ जान्थे। कहिलेकाहीँ कारबाही पनि हुन्थे, तर मलाई त्यहाँ जान निषेध थियो। ऊ जाँदा म उसले दिएका किताब पढेर बस्थें, नजाँदा उसकै कुराहरू सुन्थें। ऊ जमिन्दार बाउकी छोरी थिई। बाउले किसानहरूलाई शोषण गरेको देखेर मा'वादीमा लागेकी रे। तीन वर्षदेखि मा'वादीमा थिई र एक वर्ष अगाडि आफैं पनि बाउको सफाया गर्न गएकी थिई।

कमरेड लालसँग उसको भेट दुई वर्ष अगाडि भएको थियो। लाल कैलालीका थिए। उनीहरूबीच प्रेम थियो। “कसले राख्यो प्रस्ताव?”

“खोई थाहा भएन” मतिर हेर्दै भनी, “कमरेड लाल दुई महिनाका लागि इलाम जानुभएको थियो, पत्रमा उहाँले हाम्रो प्रेम अमर छ भनेर लेख्नुभयो।”

“त्यसरी नि प्रेम हुन्छ?”
“हुँदोरहेछ।”
लालको कार्यक्षेत्र इलाम भएकोले उनीहरूको भेट सहज थिएन। आँखाहरू भित्र धस्सिएका, हल्का दाह्रीवाल थिए लाल। ठिक्कको अग्लो शरीर, लामो नाक, गहुँगोरो वर्ण! शहरिया पोसाकमा सजाउने हो भने मोडल भन्दा कम देखिँदैनथ्यो।
म हुँदा मेरै अगाडि लाल र उसको एकपटक भेट भयो। तीन पटक हात मिलाए, एकपटक एकैछिनलाई अँगालो हाले! दुवैले एकअर्कालाई पत्र लेख्न भने। बस्, यत्ति हो। उसले खिन्न मानेको पनि देखिनँ।

म उसको शब्दमा पूँजीपति वर्गमा पर्थें। केही समयको लागि गएको हुनाले मैले ऊसँग खास वादविवाद गरिनँ। जति तर्क गरे पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन, मा' उसका लागि महान् थिए भने मेरा लागि हत्यारा मात्र।

“जुन दिन तपार्इंले वर्गका कुरा बुझनुहुनेछ, अनि यी सबै तपाईंलाई हिरो लाग्नेछन्। बुझनु भो!” उसले भनी।
“शायद!” मैले यत्ति मात्र भनें।
एउटी छापामारको प्रेम मेरा लागि स्कूप नै भयो। बन्दूक र प्रेमलाई उसले कसरी व्यवस्थित गरेकी थिई, मा'वादी जनयुद्धको बारेमा जान्न उत्सुक संसारलाई बताउन चाहन्थें।
“कमरेड लाल रोमान्टिक हुनुहुन्छ?” मैले सोधें।
“एकदमै” उसका आँखाहरू चम्किए, “म पनि रोमान्टिक छु।”
“हो र?” मेरा आँखाहरू पनि चम्किए।
“तपाईंकी प्रेमिकाले तिमी कत्ति राम्रो, तिमीबिना म बाँच्न सक्दिनँ, तिम्रो औधी माया लाग्छ भन्दा तपाईंलाई रोमान्टिक लाग्ला है?” उसले सोधी। तर मेरो जवाफ नपर्खी भनी, “हामी देश बनाउने कुरा गर्छौं, जुन दिन हाम्रो सत्ता हुन्छ हामी यो गर्ने, त्यो गर्ने योजना बनाउँछौं। त्यही हो हाम्रो रोमान्स!”
म जिल्लिएँ, ऊ हाँसी।
म मुसुक्क हाँसें।
मैले उसका आँखामा चमक छ भनेको थिएँ। “तपाईंलाई थाहा छ, मेरा आँखाहरू किन चम्किला छन्?” उसले प्रश्न गरी।
“किन?” मैले सोझ्ो मान्छे सुनिएँ।
“मेरा आँखामा अरूका सपना छन्, व्यवस्थित रूपमा अटाएका हजारौंका सपना। त्यसैले तिनमा प्रकाश छ”, उसले बोलीमा रस मिसाएर भनी। उसका आँखाहरू फेरि एकपटक टलक्क टल्किए।
“तपाईका आँखा किन रूखा छन्, थाहा छ?”
“किन?” मैले स्कूले बालकले झ्ैं सोधेँ।
“तपाईंका आँखामा आफ्ना लागि मात्र सपना छन्। छापामार केटीका बारेमा लेख्ने, चर्चित हुने, पैसा कमाउने, बिहे गर्ने, बाउ बन्ने― बस्! हैन र?” उसले मलाई बोल्ने ठाउँ दिई।
तर मैले “होइन!” भन्न सकिनँ।
म जाने तरखरमा झ्ोलामा लुगा हाल्दैथिएँ। ऊ अर्की एक छापामारसँगै कोठामै थिई। ढोकामा उसैको बटालियनका मैलो लुगा लगाएका एक छापामार देखापरे― कमरेड रेवती। उनी ढोकामा निकैबेर घोसेमुन्टो लगाएर उभिइरहे।
“के भयो कमरेड?” उसले सोधी।
“कमरेड लाल अब जिउँदो रहनुभएन”, उसले सुस्तरी भन्यो।
“के!” मेरो मुखबाट निस्कियो।
“कमरेड लालले पार्टीप्रति गद्दारी गर्नुभएको थियो?” उसले कडा स्वरमा सोधी।
“थिएन।”
“देश र जनताप्रति?”
“थिएन।”
“अनि किन मुन्टो झ्ुकाएर भन्नु भो, कमरेड लाल रहनुभएन भनेर। शिर उचालेर भन्नुहोस् न― कमरेड लाल शहीद हुनुभयो, देश र जनताको लागि बलिदान दिनुभयो”, ऊ यसरी बोली, मानौं कुनै फिल्मको संवाद बोल्दैछे। रेवती केही नबोली गए।
पार्टीले छिट्टै उसको र लालको विवाह गरिदिने कुरा थियो।
मैले जानु नै थियो। ऊ मलाई पुर्‍याउन परसम्म आई। बिदाइमा सबैले मलाई अबिर माला लगाइदिए। हामी एउटा डाँडामा उभियौं।
“म मर्दा पनि तपाईं रुनुहुन्न हो?” मैले सोधें।
“तपाईं मर्दा म रुन्छु”, उसले कटनको पाइन्टको दुवै खल्तीमा हात घुसार्दै भनी।
“हो र!” म खुसी भएँ।

“कमरेड लाल देश र जनताको लागि मर्नुभयो। मलाई उहाँप्रति गर्व छ। तर तपाईं, न कसैका लागि बाँच्नुभयो न मर्नुहुनेछ। तपाईंको जीवन बेकारमा खेर गएकोमा मलाई दुःख लाग्नेछ”, उसले पर हेर्दै भनी।
म चुप भएँ। जाने बेलामा उसले बन्दूक तेर्स्याएको एउटा पोज पनि दिई। उसको रिपोर्ट छापिएपछि मेरो चर्चा चुलियो। उसले पनि पत्रिका हेरिछ, फोन गरी र भनी, “फोटो त राम्रो लिनु भा रैछ!”

त्यसपछि उसले फोन गरिन। चाहेमा गर्न सक्थी, तर नगरेपछि मैले नै उसलाई चिठी लेखेँ। उसले कुनै एक व्यक्तिको ठेगाना दिएकी थिई, जसले केही समय लाग्ने भए पनि चिठी पुर्‍याइदिन्थे। मेरा चिठीहरूमा शहरका अपडेटहरू हुन्थे, तर उसले कुनैको जवाफ पठाइन। मैले अन्तिम पत्रमा लेखंे, “तपाईंको मप्रति केही आग्रह भए भन्नुस् है!” दोस्रो वार्ता चलिरहेको बेला उसको एउटा पत्र आयो।

“कमरेड, तपाईंका कुनै पत्रको मैले जवाफ पठाइनँ। यो पत्र पनि लेख्दिनथें, तपाईंप्रतिको मेरो आग्रहको प्रश्न नगर्नुभएको भए! मेरो एउटै आग्रह छ तपाईंसँग, कम्युनिष्ट बन्नुस् है! हामीले हाम्रो राष्ट्रलाई सामन्ति राजतन्त्रबाट र भारतीय विस्तारवाद तथा समग्र साम्राज्यवादबाट मुक्त पार्नै पर्छ। यत्ति हो, अरू मेरो कुनै आग्रह छैन”, उसले लेखेर पठाएकी यत्ति हो। चिठीको मुन्तिर, रातो सलाम पनि लेखेकी थिई।

म त्यसपछि मार्क्सवाद पढ्न थालें, लेनिन पढें, स्टालिन र मा'हरू पढें। गोर्की पढें, युवाका गीतहरू पढें। उसका शब्दहरू सम्झ्िएँ, तर लाग्यो कम्युनिष्ट बन्न सक्दिनँ। उसले फेरि फोन गरेर ढाडमा समस्या भएकाले उपचार गराउन काठमाडौं आउने कुरा सुनाई। हामीले पुतलीसडक चोकको एउटा सानो चियापसलमा भेट्यौं। ऊ अलि दुब्लाएकी थिई। नजिकका केही साथीहरूलाई भनेको थिएँ, तर ऊ फेरि पत्रिकामा आउन चाहन्नथी। भनी, “पार्टीलाई सोध्नुपर्छ।”

धेरै कुरा भएनन्। मैले “अब के होला?” भनेर सोधेँ। उसले सूचना त तपाईंहरूसँग पो हुन्छ भनेर जवाफ फर्काई। छुट्टिनेबेलामा उसले एउटा प्लाष्टिकको पोको दिई, “तपाईंको लागि, मैले काठमाडौंमा यही नै एउटा उपहार भेटें!”
मैले घर गएपछि खोलेर हेर्दा त्यसमा एकजोर गोल्डस्टार जुत्ता र एउटा सानो चिट थियो, “कमरेड, कम्युनिष्ट बन्नुस् है, देश र जनतालाई यतिबेला बलिदान गर्ने सपूत चाहिएको छ। गोल्डस्टार लाएर कम्युनिष्ट भइने होइन, हैसियत भएपछि हामी पनि छालाको जुत्ता लगाउँला तर अहिले हाम्रो हैसियत यही हो।”
मैले जुत्ता दराजमा थन्क्याएँ।

दोस्रो वार्ता भङ्ग भयो। संविधानसभामा कुरा मिलेन भनेर बाहिर प्रचार भयो, भित्र के भएको थियो थाहा भएन। केही दिनपछि साथीलाई भनें, “यार मलाई त्यो केटीसँग प्रेम भयो!”
“ऊ पनि तँलाई मन पराउँछे”, साथीले भन्यो।
“कस्तो राम्रो हुन्थ्यो!” म फुस्फुसाएँ।

“त्यो केटीले तँलाई मन पराउँछे क्या!” साथीले फेरि भन्यो।
“आइ विस्!” म बड्बडाएँ। “उसले तँलाई पक्का मन पराउँछे क्या!” साथीले मेरो तिघ्रामा प्याट्ट हान्दै भन्यो।
“तर म कम्युनिष्ट बनेकै छैन”, मैले खुइय गर्दै भनें।
साथी चुप लाग्यो।

उसले फोन गरेकी थिई, चिठीको पनि जवाफ दिएकी थिई। मैले “तपाईं मलाई राम्री लाग्छ” भनेर लेखेको थिएँ, जवाफको आशा पनि गरेको थिइनँ। मनमा कुरा गुम्स्याएर नराख्न उसैले भनेकी थिई, “हाम्रो मृत्युको ठेगान हुन्न, कतिबेला मरिने हो!”

बिदाको दिन थियो, घरमा लाइन थिएन। म लेनिनको राज्य र क्रान्ति पढ्दै थिएँ। साथी आएर ढोकामा उभियो।
“ऊ मरिछ!” उसले मसँग आँखा जुधाउने साहस गरेन। उसको शिर झ्ुकेको अनि गला अवरूद्ध थियो।
“के भएर?” मैले को ऊ सोधिनँ। मलाई थाहा थियो, मेरो ऊ त्यही एउटी थिई।
“नेपाल टेलिभिजनले भिडन्तमा भन्यो।”

“किन शिर झ्ुकाएर भनिस्, शिर उठाएर भन् न― ऊ शहीद भइछ”, मैले कडा स्वरमा भनें।
साथीको टाउको अचानक उठ्यो। मेरो कुराले उसको अनुहारमा संवेगका सप्तरङ्गी भाव भर्‍यो। ऊ अलिकति खुशी, अलिकति दुःखी, अलिकति अचम्मित भयो।

“तँ कम्युनिष्ट भइछस् यार!” उसले मेरो काँधमा धाप मार्दै भन्यो।
“शायद!” मैले यत्ति मात्रै भनें।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क