|
|
||||||||
|
टिप्पणी
मा'वादी बाहुबलीय जनवाद
जनआन्दोलनअघि अनिश्चित भविष्य बोकेर भारतीय गल्लीमा भौंतारिन बाध्य मा'वादीलाई बाह्रबँुदे सहमति गरी उद्धार गर्ने दलहरूको गुनको बदला उसले बैगुनले तिरेको छ। दयालबहादुर शाही को टिप्पणी
खडेरीले पिर्ने सुकाढिक, रिंगा, ह्याङलु, सेई र जिमानामा घाँसपातको अभाव छ। त्यसैले त्यहाँका घरपालुवा जनावरले वन चर्न जानु र बाघबाट मारिनुपर्दैन। बरु जनावरहरू घाँसपात नपाएर गोठमै र बाघहरू सिकार नपाएर वनमै मर्छन्। अरू गाउँको तुलनामा बिनको अवस्था भिन्नै छ। अलि उचाइमा भएको बिनमाथिको वनक्षेत्रमा प्रशस्त घाँस पाइने र घरपालुवा जनावर चर्न जाने भएकाले बाघका सुदिन फिर्ने नै भए। यो किस्सा मावादीको पछिल्लो राजनीतिसँग ठ्याक्कै मिल्छ। सशस्त्र जनयुद्ध को गलत कार्यनीतिले तन, मन, धन र ठौरठेगान केही बाँकी नरहेका मावादीहरू साँच्चै नै बाह्रबँुदे सम्झ्ौता हुनुअघि अस्तित्व-रक्षाको सङ्कटमा थिए। रातारात कार्यनीति नबदलिँदो हो त मावादीसँग धन रहेन, जीउ रहेन कल्स्याका कुल्लीको हालत हुनुको विकल्प थिएन। कम्पोसा, र, रिम र डा. बाबुरामका कारण अनिश्चित भविष्य बोकेर भारतीय गल्लीमा भौंतारिनुपर्ने बाध्यतामा रहेको मावादी हेडक्वार्टरलाई एमाले, काङ्गे्रस, नेमकिपा र सद्भावनाले दिल्लीमा बाह्रबँुदे सहमति गरी उद्धार गरेका हुन्। तर तिनको गुनको बदला मावादीले बैगुनले तिर्यो। संविधानसभा चुनावमा जनमतको लुटपाट मच्चाएर मावादीले पोखरीमा डुबिरहेको बेला उद्धार गर्ने राजहंसको प्वाँख काट्ने मुसोको भूमिका निर्वाह गर्यो। यसरी हरुवा गोरुको जस्तो विगत बोकेको मावादीलाई शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाको कार्यनीतिले बिनको बाघ जस्तो बनाइदिएको छ। राजनीतिक दल, नागरिक समाज, राज्य र विश्व समुदायको सदासयताबाट सुरक्षित अवतरणको अनुकम्पा प्राप्त गरेको मावादीलाई शान्तिपूर्ण सङ्घर्षको कार्यक्रमले सदावहार रूपमा दिनहुँ दशैँ, तिहार, इद, लोसार र क्रिसमस जस्ता चाडहरू इर्याइदिएको छ। जनयुद्ध स्थगन गर्नुअघि मावादीको सङ्कट हैजाग्रस्त जाजरकोटकोे भन्दा चौगुणा बढी थियो। जनयुद्धकालमा भिडन्तमा मारिने सुरक्षाकर्मी र मावादीको अनुपात क्रमशः ३ः७ थियो। २०६२-६३ को जनआन्दोलनको तयारीका बेला मावादीलाई शान्तिपूर्ण आन्दोलन सफल हुनेमा रत्तिभर विश्वास थिएन। तर शान्तिपूर्ण भएकै कारण सफलता पाएको सत्यमाथि पर्दा हालेर ११ वैशाख २०६३ पछि मावादीहरू द्वितीय विश्वयुद्धको बेला मस्कोको लडाइँमा पराजित हुनुअघिका नाजीवादीहरूझ्ैं हरेक मोर्चामा नाफामा पुगेको ठम्याइमा छन्। राजनीति व्यापार होइन, जनताप्रतिको समर्पणको वास्तविकता हो भनी नबुझनु हिटलरलाई झ्ैँ प्रचण्डलाई समेत महँगो हुनेछ। मावादीहरूको पछिल्लो व्यवहारबाट लाग्छ, उनीहरू मार्क्सवाद, लेनिनवाद र मावादको खास्टो ढेर फासीवादको उपासना गर्छन्। नाजीवादीहरूले सन् १९३९ देखि १९४४ सम्मका कुनै युद्धमोर्चा हार्नु परेन। मावादीले पनि वार्ता, चुनाव, कूटनीतिलगायतका राजनीतिक युद्धहरू जित्दै आएको छ; भलै त्यो छलकपटबाट किन नहोस्। मावादीको माफी दर्शन पनि हिटलरबाटै प्रेरित देखिन्छ। हिटलरले आक्रमणको बेला कदाचित जनता, पोप, पादरी र कूटनीतिज्ञहरू परे पनि नछाड्नु भन्ने आदेश दिन्थे र भन्थे, तिनीहरूलाई सुँगुर लखेटेझ्ैँ लखेट्नू, आवश्यक परे माफ मागौंला। भ्याकुरलाई झ्ैँ लखेट्ने भन्ने दाहालको धम्की र बनावटी माफीमगाइका जरा मार्क्सवादको सदाचारबाट नभई हिटलरको फासीवादद्वारा निर्देशित अनाचारमा रोपिएका छन्। सेनापति प्रकरण मावादीका लागि भविष्यमा त्यति नै महँगो सावित हुने देखिएको छ, जति हिटलरको लागि मस्कोमाथिको आक्रमण आफ्नो पतनको आमन्त्रण बनेको थियो। बलेको आगो ताप्न गएकाहरूलाई छिचोलेर हेर्ने हो भने मावादीमा परस्पर विरोधी मान्यता राख्ने तर आफ्नो ठाउँमा इमान्दार दुई प्रकारका युवा छन्। तीमध्ये पहिलो पङ्क्ति भविष्यमा विन लादेन, भिल्लुपेल्लाई प्रभाकरण, चे ग्वेभारा, गोन्जालो जस्तै खाँटी विद्रोही बन्ने सपना बोकिरहेको छ। दोस्रो पङ्क्ति मौलिक चिन्तन, स्वतन्त्र, सशक्त र जुझ्ारु सङ्गठन तथा अपार जनसमर्थन भएको जनाधारित राजनीतिक पार्टी निर्माण गर्नमा मदन भण्डारी र विश्वेश्वरप्रसाद कोइरालाले कायम गरेको कीर्तिमान तोड्न चाहन्छ। यही परस्पर विरोधी बनोटले मावादीलाई महाभारतको जयद्रथ जस्तो बनाइदिएको छ― शरीरको आधा भाग एउटी आमाबाट र अर्को भाग अर्की आमाबाट जन्मिएको। यही जटिल बनोटका कारण मावादी लामो समयसम्म अखण्डित रहन असम्भव छ। नेतृत्व उग्र बन्न खोज्दा लोकतन्त्रवादी अलग्गिने र लोकतान्त्रिक बन्न खोज्दा उग्रवामपन्थीहरू बाहिरिने मावादीको नियति नै छ। असन्तुष्टिहरूको ज्वालाले प्रधानमन्त्रीको कुर्सी न्यानो मात्र नरही बसिनसक्नु गरी तातेर नै मावादी सिंहदरबारबाट बाहिरिएको हो। अकल्पनीय पहिरो मावादीको जन्मकुण्डलीमा लेखिएको छ। देशलाई सम्भावित अनिष्टबाट बचाउन लोकतन्त्रवादीहरूले मावादीभित्र लोकतान्त्रिक तत्वको पहिचान गरी तिनलाई उत्प्रेरित गर्नु जरुरी छ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |