हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
आवरण
रेउलीको उठीबास
“भक्तबहादुर खोई त?” “ऊ छुट्टिएर बसेको छ।” “माइली छोरी नि, लालकला?” “ऊ त मरि अरे...” द्वन्द्वले बरबाद पारेको बाजुराको एक परिवारबारे मोहन मैनाली को रिपोर्ट

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

पाण्डुसेन, बाजुरा/चैत २०६५

२०६१ जेठ। चिन्तामा डुबेकी रेउली।
पश्चिमको पोरख्या लेकको सिलो जङ्गलभित्र केही दिन पहिले परेको हिउँ अलि बाक्लै जमेको थियो। पूर्व नुरीको रूखबिनाको घमाइलो लेकमा चाहिँ रातिको पातलो हिउँ पग्लिइसक्न लागेको थियो।

रेउली दमाईको झ्ुप्रो यी दुईतिरको हिउँको बीचमा थियो, मार्तडीबाट कोल्टी जाने रालो, मूलबाटोको दाहिने किनारमा। माटोले लिपेको घरको भित्ता भत्किएको थियो। उधि्रएको छानाबाट बगेको पानीले पर्खालमा ठाडो धर्साे पारेको थियो।

घरका तीनवटै झयालढोकामा ताला झ्ुण्डिएका थिए। रेउली घरमा थिइनन्। घर देख्दै थाहा हुन्थ्यो, यहाँ कोही थिएन।
रेउलीको घर अगाडि बिहान सबेरै ८-१० जना मानिस जम्मा भएका थिए। हिजो राति हावाहुण्डरी चल्दा पोलमा टाँगिएका बिजुलीका दुईवटा तार झ्ण्डै जुधेका थिए। ती मानिसहरू तिनै खुकुलिएका तार कसरी कस्ने भनेर छलफल गर्दैथिए।
हामीलाई बिजुलीको होइन रेउलीको चासो थियो। चासो त ती मानिसहरूलाई पनि रहेछ। रेउली खोई? भनेर सोध्ने बित्तिकै बिजुलीको कुरा एकातिर पन्छाएर उछिनपाछिन गरेर जवाफ दिए।

- एक्ली छ। कहिलेकाहीँ मात्र यहाँ बस्छे। हिजो बिहान त यहीँ थिई। आज गाउँतिरै बसिछ क्यार!
- हैन। हिजै मार्तडी गई। मार्तडी नै बसेकी होली।
- जहाँ खानको सुविस्ता हुन्छ उहीँ त जान्छ मान्छे। मार्तडीमा अलि सुविस्ता होला, त्यसैले उहीँ गई।
- उसको जेठो छोरो अलि गतिलो छैन। उसलाई हेर्दैन। सासू-बुहारी पनि मिल्दैनन्।
- उसको पनि बानी नराम्रो छ। घरपरिवारसँग मिल्दिनँ। दुःखसुखमा मद्दत गर्ने हामी छिमेकी हौँ। हामीसँग पनि झ्गडा गर्छे।
- पहिले त राम्रै थिई। श्रीमान बितेपछि अलि बरालिएकी छे। (दिमाग) खुस्के जस्तो भएकी छ।

हो, रेउली पहिले त्यस्ती थिइनन्। २०५९ साल कात्तिक १२ गतेको एउटा घटनाले उनलाई त्यस्तो बनायो। त्यस घटनाका बारेमा हिमाल खबरपत्रिकाको १-१५ मङ्सिर २०५९ को अङ्कमा यस्तो लेखिएको थियोः
बाजुराको सदरमुकाम मार्तडीबाट निकै माथि ढमकने गाउँ जानेे उकालोमा, माथिबाट तल र्झ्दै गरेको ११/१२ वर्षको हँसिलो केटोले भारी बिसाएर सोध्यो, “स्याउ खाने हो सर?” उसले १० वटा स्याउको दाम २६ रुपैयाँ बतायो। “पच्चीस दिन्छौँ” भन्दा हाँसेर भन्यो, “हुँदैन सर! यो स्याउ बेचेर जुत्ता किन्नुपर्नेछ।”

२०५९ कात्तिक । लोग्नेको लासतिर जाँदै रेउली -सबै भन्दा दाहिने) ।
उसको हँसाइ र योजना सुनेपछि ३० रुपैयाँ दिएर स्याउ खाँदै हामी उकालो लाग्यौँ। यो ११ कात्तिकको कुरा हो।
दुई दिनपछि; कोल्टीबाट फर्केर अङ्गपानी जानेक्रममा हामी पाण्डुसेनको उकालो चढ्दै थियौँ। दोबाटोमा अलमलिएपछि हामी उभियौँ। एकैछिनपछि एक जना हँसिलो केटो माथिबाट आइपुग्यो। “ऊ त्यही त हो अङ्गपानी” उसले हामीलाई बाटो देखाइदियो। उसको बोली सुनेपछि थाहा भयो ऊ त्यही स्याउ बेच्ने केटा रहेछ। चिन्नेबित्तिकै हामीले उसलाई सोध्यौँ, “जुत्ता किन्यौ त?” “अहँ, पैसा पुगेन। मार्तडीबाट नून किनेर ल्याएको छु। गाउँमा नून बेच्छु। त्यसपछि चाहिँ पक्का किन्छु सर।” “भात कहाँ खायौ त?” भन्दा उसले खल्तीबाट चामल निकालेर भन्यो, “अलिकति चामल खाएँ सर! भात खान घरै पुग्छु।”
ऊ आफ्नो घर जान रालो लाग्यो। हामी अङ्गपानी जान तेर्सो लाग्यौँ। अलिपर पुगेपछि हाम्रा भरियाले भने, “विचराको घरमा त्यस्तो छ। के खाला र भात?”

त्यो केटा रामलाल दमाईको छोरा रहेछ जसको सास डेढ घण्टाअघि मात्र गएको थियो। बाटैमा पर्ने उनको घरमा हामी पुग्दा उनको लाश घरबाट निकालिँदै थियो। डाँको छोडेर रोइरहेकी उनकी २०/२२ वर्षकी छोरी लालकलालाई अर्की महिलाले समातेकी थिइन्। रामलालकी जहान रेउली र आठ वर्षकी छोरी आँगनमा बसेर रोइरहेका थिए। त्यहाँ एकत्रित छिमेकीहरूका आँखा पनि टल्पलटल्पल थिए।

रामलाललाई ३० घण्टा जतिअघि टाउकोमा गोली लागेको थियो। गोली ठोक्नेले उनलाई ठाउँको ठाउँ मरेको ठानेका हुनसक्छन्, तर धुकधुकी बाँकी हुनाले गाउँलेले घटनास्थल अङ्गपानीबाट आधा घण्टा तलको उनको घर पुर्‍याएका थिए।
त्यसदिन रामलाल भैंसी किन्न भनेर छिमेकी गाउँ हिँडेका थिए। उनको खल्तीमा सात हजार रुपैयाँ थियो। भैंसी मिलाइदिने मान्छे र उनका ६ जना साथीसँगै उनी पनि राति तास खेल्न बसे। बिहानपख मार्तडीबाट गएको सेना र प्रहरीको गस्तीले भटमास भुटेझ्ैँ गोलीले भुट्दा अरू ६ जनासँगै उनी पनि मरेका थिए।... ... ...
समय बित्दै गयो। रेउलीले हारगुहार मागेपछि नेपाल बाल सङ्गठनले उनकी एउटी छोरी र एउटा छोरालाई धनगढीमा राखेर पढ्ने व्यवस्था मिलाइदियो।

छोरा भक्तबहादुरले स्कूल छाडे। पैसा कमाउनका लागि पहिलो पटक घरबाट निस्केर भारत पुगे। भारु १५ सय कमाए। त्यस पैसाले आमालाई साडी, पटुका, चोलो र पछ्यौरा अनि दिदीलाई साडी, ब्लाउज, पटुका, मजेत्रो र जुत्ता ल्याइदिए।
उनी आमालाई निकै माया गर्थे।

तैपनि रेउलीलाई सुख थिएन। पहिल्यै बिहे भइसकेकी जेठी छोरी आफ्नै घरधन्दामा व्यस्त थिइन्। बाबुका बारेमा सम्झ्नै उति फुर्सद थिएन। केही पहिले बिहे भएकी माइली छोरी लालकलाले पनि बाबुलाई बिर्सेजस्तो थियो। भक्तबहादुरका लागि आफ्ना बाबु मारिएको चिन्ताभन्दा परिवार कसरी पाल्ने भन्ने चिन्ता ठूलो थियो। अरू दुईजना स-साना छोराछोरीले त बाबुलाई बिर्सिइसकेका थिए।

रेउलीको बासै उठ्यो।
तर रेउली रातदिन लोग्नेलाई सम्झ्न्थिन्। “मन त कठै कहाँ छ कहाँ? मारेर त्यहाँ पुर्‍याइदिने कोही छैन। रोउँ भने फुल्याउन आउने कोही छैन”, उनी भन्थिन्।
रेउलीले छोरा भक्तबहादुरलाई बिहे गर्न लगाइन्। उनको नाति जन्मियो।
... ... ...
“भक्तबहादुर खोई त?” रेउलीको घर अगाडिको भीडलाई सोधेँ।
“ऊ छुट्टिएर बसेको छ। मार्तडीमै बसेर लुगा सिउँछ।”
“माइली छोरी नि, लालकला?”
“ऊ त मरि अरे। लोग्नेले बम्बै लगेको थियो। छतबाट खसेर मरि अरे। देख्न त देखेको होइन हामी कसैले। अरूले भनेको सुनेको।”
“कान्छी छोरी र कान्छो छोरा त पढ्दै होलान्, हैन?”
“होइन, बालमन्दिरले फर्काइदियो दुवै जनालाई। कान्छी छोरी त पोइल गई।”
धेरै ठाउँमा पोइल गई भन्ने शब्दलाई नराम्रो मानिन्छ। तर यहाँ पोइल जानु भनेको सम्मानजनक बिहे गर्नु हो।
“सानै थिई त। कहाँ गई?”
“सानै त थिई तर दिदी मरेपछि भिनाजुलाई दिए।”
“अनि कान्छो छोरा?”
“उसैलाई पढाउनका लागि त रेउली मार्तडी बस्छे। छोरो स्कूल पढ्छ। ऊ कालुराम पाण्डेको बोर्डिङमा सकी नसकी भाँडा माझछे, लुगा धुन्छे।”
रामलालले घर पछाडि रोपेका स्याउका बोटमा फूल फुल्ने बेला भएको थियो। अबका केही दिनमा यिनमा ढकमक्क फूल फुल्ने छन् र विस्तारै डाली नुहाउने गरी फल्ने छन्। तर, यता उनले बनाएको घर र उनकी जहान रेउली भने ढल्न लागेका थिए।
हामीले भेटेको केही समयपछि सरकारले रेउलीलाई क्षतिपूर्तिस्वरुप एक लाख रुपैयाँ दियो। तर मान्छे मारेर परिवारलाई पुर्‍याएको क्षति पैसाले के पूर्ति हुँदो हो? “मन त कठै कहाँ छ कहाँ?” भनेर रुने रेउलीलाई त्यो पैसाले फुल्याउन सक्ला र!

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क