|
|
|||||||||||||||||||
|
आवरण
अन्ततः आफन्तकै छहारी
सशस्त्र द्वन्द्वका बेला मारिएका, बेपत्ता र घाइते मा'वादी, सुरक्षाकर्मी र सर्वसाधारणका छोराछोरीको हेरविचार आफन्त वा नातेदारले नै गरिरहेका छन्। सन्त गाहा मगर को रिपोर्ट
२०६१ असारमा काठमाडौंको ताहाचलबाट बेपत्ता हुनुअघि नन्दगोपाल मावादीको ललितपुर जिल्ला कार्यसमितिका सदस्य भएको उनका छिमेकी बताउँछन्। उनी मिश्रीका एकमात्र छोरा हुन्। त्यसको एक वर्षपछि उनका पतिको पनि क्यान्सरबाट देहान्त भयो। अब परिवारमा यिनै हजुरआमा र दुई नातिनी मात्र छन्। ५८ वर्षकी मिश्रीको आम्दानी धेरै छैन। अलिकति खेत छ। त्यसकै थोरै आयस्ता र धेरै मायाले परिवार चलिरहेको छ। द्वन्द्वले स्वस्तिका र नगमाको मात्र होइन, थुप्रै बालबालिकालाई बेसहारा बनाएको छ। तर, सिक्काको अर्को पाटोमा यिनलाई सहारा दिन कतै हजुरआमा, कतै फुपू, कतै मामा र अरू आफन्त सधैँ त बनेर उभिएका भेटिन्छन्।
अहिले ११ वर्षीया मोतिसरा, ६ वर्षका मेकबहादुर र चार वर्षका बहादुर हजुरआमा-हजुरबासँग बस्छन्। ६१ वर्षीय हजुरबा आमबहादुर छोरा-बुहारी नभएपछि नाति-नातिनीहरूको अनुहार हेरेर चित्त बुझ्ाउनु परेको बताउँछन्। राज्यले बेपत्ता पारेका हुन् वा मावादीले मारेका दुवैका सन्तानलाई अहिले आफन्तले हेरेका छन्। नेपाली समाजको सम्बन्ध र परिवारको शक्तिका कारण, जति ठूलो दुःखबाट गुजि्रए पनि अन्ततः यी बालबालिका एक्ला छैनन्। समाएर डोर्याउने हातहरू नाता-सम्बन्धमै भेटिएका छन्।
मावादी द्वन्द्व शुरु भएयता १५,९१६ जनाको मृत्यु भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयको अभिलेख छ। द्वन्द्वमा मारिएका प्रायः सबैका छोराछोरी कोही न कोही आफन्तकै सहारामा बसिरहेका भेटिन्छन्। सिन्धुपाल्चोक, कुभिण्डे-९, सिमपानीका मावादी कार्यकर्ता भोजप्रसाद सुवेदी उपेन्द्र १३ असोज २०६० मा मारिएका थिए। पतिको निधनपछि उनकी पत्नी तारा जेठी छोरी रञ्जनासँगै माइती बतासेमा बस्दै आएकी छन्। कान्छी छोरी सम्झ्ना ललितपुर टौखेलको आमाघर (असहाय र अशक्तका छोराछोरी पढाउने संस्था) मा आइपुगिन्। घरमूलीको निधनले परिवारलाई छिन्नभिन्न पारिदियो। सिन्धुपाल्चोकदेखि टौखेलसम्मको सम्झ्नाको यात्रामा आफन्तजन हरेक खुट्किलोमा सहयोगी बने। आमाकी फुपूकी छोरी एकता सापकोटा यिनै आफन्तमध्ये एक हुन्। एकताकै सहयोगमा सम्झ्ना आमाघर आइपुगेकी हुन्। एकता भन्छिन्, “मैले पार्टी सम्पर्कमा पुर्याइदिएकी हुँ, उनलाई त्यहाँ पठाउने व्यवस्था पार्टीले नै गरेको हो।” तर, आमा तारालाई पार्टीले आवश्यक सहयोग गरेजस्तो लाग्दैन। छोराछोरीहरू असहाय घरमा पालिन बाध्य मृतक कार्यकर्ताहरूले विश्वास गरेको पार्टीका नेताहरू भने आफ्ना छोराछोरीलाई महँगा देशी-विदेशी शैक्षिक संस्थामा पढाइरहेको विवरण मावादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्यको संयोजकत्वमा गठित छानबिन समितिले पार्टीलाई बुझ्ाएको छ। मामाघर बसेर पढिरहेकी रञ्जनाका पनि आफ्नै पीडा छन्। तर, तिनलाई कम गर्न उनका आफन्त पनि सधैँ तयार छन्। देवीडाँडाको कालिका माविमा सात कक्षामा पढ्ने रञ्जना साथीहरूले जिस्क्याएपछि एक दिन रुँदै मामाघर आइपुगिन्। भाञ्जीको यो आँसु देखेपछि मामा रमेश विद्यालय गए र शिक्षकहरूसँग कुरा गरे। त्यसयता रञ्जनालाई साथीहरूले जिस्क्याउन छाडे। पीडितहरूलाई आर्थिक र भौतिक सहयोगले मात्रै हुँदैन, माया र सद्भावको बढी खाँचो हुन्छ। त्यो आफन्तजनले मात्र पूरा गर्न सक्छन् भन्ने मान्न यी दृष्टान्त नै काफी छन्।
माइतीतिरका आफन्तको सहयोगमा छोरीहरू पढाइरहेकी ताराको मन पार्टीप्रति भने गुनासोले भरिएको छ। “मेरा आमाबुबा र भाइबुहारीले छोरी हुर्काउन पढाउन मद्दत गरे। तर, जुन पार्टीका लागि मेरा श्रीमान्ले ज्यान दिए, त्यही पार्टीले वास्ता गरेन”, उनी भन्छिन्, “मेरा श्रीमान जस्तैको बलिदानले यत्रो परिवर्तन भयो। पार्टी सत्तामा पनि पुग्यो। तर, शहीद परिवारका छोराछोरीको भविष्यप्रति पार्टीले ध्यान दिनसकेको छैन।” पार्टीले आर्थिक सहयोग गर्न नसके पनि सरकारमा पुगेका बेला जागिरसम्म मिलाइदिए हुन्थ्यो भन्ने ताराको चाहना थियो। तर, उनको यो कुरा पार्टीका ठूल्ठूला एजेण्डाका अगाडि झ्िनो सावित भयो। १५ असोज २०६० मा ललितपुर पाटनबाट बेपत्ता पारिएका राजेन्द्र मालीको परिवार यस्तै अर्को उदाहरण हो। राजेन्द्र बेपत्ता भएपछि एक वर्षकी छोरी निजलाको हेरचाहको जिम्मा आमा रुवीको काँधमा आयो। अहिले सात वर्ष पुगेकी छोरीको पढाइमा घरपरिवारले सहयोग गरेको छ। राजेन्द्र बेपत्ता भएदेखि निजलाको पढाइसम्मको यो खण्डमा मावादी पार्टी भने कतै देखिँदैन। “पार्टीले खासै सहयोग गरेको छैन तर मेरो कुनै गुनासो पनि छैन” रुवी भन्छिन्, “पार्टीलाई नै आर्थिक सङ्कट छ, के सहयोग माग्नु? युद्धमा मारिएका मावादी, सुरक्षाकर्मी र सर्वसाधारण सबैका छोराछारीको लागि सरकारले उचित ध्यान दिनुपर्ने हो।” मावादी नेतृत्वको सरकारले पहल गरेको पाँचै विकास क्षेत्रका द्वन्द्व पीडित बालबालिकाका लागि आवासीय शिक्षा कार्यक्रममा ७५० बालबालिका समेटिएका छन्। मावादी पार्टीले शहीद, बेपत्ता र घाइतेका सन्तानका लागि आवास गृह पनि खोलेको छ। काठमाडौंको कोटेश्वरस्थित सिस्ने शहीद स्मृति फाउण्डेसन ले चलाएको आवासगृहमा १६ जिल्लाका ८२ जना यस्ता बालबालिका छन्। देशभरका हजारौं पीडित बालबालिकाका अगाडि यो निकै सानो सङ्ख्या हो। सिस्ने फाउण्डेसनका अध्यक्ष हरिबहादुर गुरुङलाई पनि यस्तै लाग्छ। उनी भन्छन्, “देशभर करिब ३० हजार यस्ता बालबालिका नातेदारकै आडभरोसामा बाँचेका छन्।” पार्टी र सरकारले यस्ता सबैलाई हेर्न नसकेको पनि उनी बताउँछन्। मावादीले स्थापना गरेको शहीद प्रतिष्ठान नेपालको तथ्याङ्कमा द्वन्द्वमा मावादी पक्षका मात्रै ८ हजार ८८६ जना मारिएका र ११ सय बेपत्ता भएको उल्लेख छ। समाजशास्त्री सुरेश ढकाल मावादी पार्टी र सरकारले द्वन्द्व प्रभावित बालबालिकाको उचित हेरविचार गर्न नसके पनि आपतविपतमा सहयोग गर्ने नेपाली पारिवारिक संस्कृतिले गर्दा उनीहरूको नजिकका आफन्त अभिभावकत्व ग्रहण गर्न तयार रहेको बताउँछन्। ढकाल भन्छन्, “व्यक्तिवादी समाज रहेको पश्चिमा मुलुकमा भए अभिभावक गुमाएका बालबालिकाको स्थिति भयावह हुनेथियो।” प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
|||||||||||||||||||
| हाम्रो बारे | सम्पर्क |