|
|
||||||||
|
आवरण
सम्बन्धले बनाएको पहिचान
नेपाली समाजको असल पक्ष परिवार र नातागोताबीचको सम्बन्धबाटै शहरका आफन्तको घरमा बसेर पढेका गाउँका कैयौं युवाले अलग्गै पहिचान बनाएका छन्। रामजी दाहाल को रिपोर्ट
त्यो धागो थियो, परिवार र नाता-सम्बन्धको। यो त्यो बेलाको कुरा हो जब राजधानीको शोभा केही ठूला शैक्षिक संस्थाहरूमा मात्र टिकेको थियो। टाढा-टाढाका विद्यार्थी रानीपोखरीछेउको संस्कृत विद्यालयमा पढ्न आउँथे। मौका मिले यी विद्यार्थीले तीनधारा संस्कृत छात्राबासमा त लाग्न पाउँथे। हुनेखाने आफैं गाँसबासको व्यवस्था गरेर पढ्थे। तर, दुर्गमवासी र आफैं आफ्नो व्यवस्था गर्न नसक्नेका लागि एउटै विकल्प थियो, आफन्तको घर वा डेरामा बस्ने। काङ्ग्रेस नेता अर्जुननरसिं केसी, पत्रकार युवराज घिमिरे, डाक्टर चक्रराज पाण्डे र प्रहरी नायव उपरीक्षक (डीएसपी) गीता उप्रेती यस्तै केही उदाहरण हुन्। जसले आफन्तको घरमा बसेर शिक्षा लिँदै आ-आफ्नो क्षेत्रमा स्थापित हुनसके। केसीले काठमाडौं कालधाराको फुपूको घरमा बसेर शान्ति विद्यागृहमा कक्षा ७ देखि पढे र एसएलसी पास गरे। २०२९ सालतिर चितवनबाट पढ्न काठमाडौं आएका युवराज घिमिरेले लैनचौरको मामाघरमा बसेर आइएस्सी पास गरे। एसएसली पास गरेर वि.सं. २०३९ मा राजधानी झ्रेकी गीता उप्रेतीले हाँडीगाउँको दिदीको घरमा बसेर बीएसम्म पढिन्। सिन्धुपाल्चोकबाट २०२७ सालतिर बानेश्वरमा काका ठाकुरप्रसाद पाण्डेको घरमा बसेर डा. चक्रराज पाण्डेले एसएलसी गरेका हुन्।
फुपूको घरमा बसेर पढ्दादेखि नै नेता केसीमा राजनीतिक चेतना आएको थियो। उनी शान्ति विद्यागृहमा कक्षा ९ मा पढ्दा विद्यार्थी युनियनको महासचिव थिए भने १० कक्षा पढ्दा अध्यक्ष। स्कूलको यो सक्रियताले पनि उनको राजनीतिमा बल मिलेको थियो। फुपूको घरमा बसेर पढ्ने मौका नपाएको भए? उनी भन्छन्, “विकल्पहरू हुन्थे होला, तर राजनीतिमा आउन चाहिँ दिदीको घरको बसाइले सहयोग पुर्यायो।” पारिवारिक सहयोगको भावनाले नै गीता उप्रेती डीएसपी बन्न सकेकी हुन्। दिदीको घरमा आएर पढ्ने वातावरण नभएको भए उनी आज कहाँ हुन्थिन् होला? “एसएलसीपछि छोरी हुर्की भनेर विवाहका थुप्रै प्रस्ताव आएका थिए”, उनी भन्छिन्, “त्यतिबेलै विवाह भएको भए आज गाउँमा पढाइरहेकी हुन्थें होला।” डा. पाण्डे काकाको घरमा बसेर नपढेको भए यतिबेला बिरामीको सेवामा देखिँदैनथे होला। “के हुन्थ्यो भन्न गाह्रो छ”, उनी भन्छन्, “अर्कै बाटो पो समात्थें कि?” जीवनको सङ्घर्षमा काकाको संरक्षण पहिलो खुट्किलो बनेको डा. पाण्डेको ठम्याइ छ। पत्रकार घिमिरे काठमाडौंमा स्नातक गरेर थप अध्ययनका लागि पटना गएका थिए। उतैबाट उनको पत्रकारिता यात्रा शुरु भयो। तीता-मीठा अनुभव डा. पाण्डे परिवार चलाउने सीपदेखि मिलेर काम गर्ने ज्ञान आफूले काकासँगै सिकेको बताउँछन्। डीएसपी उप्रेती दिदीको घरमा बस्दा सामान्य विवाद भए पनि ठूलो मतभेद नभएको बताउँछिन्। यी प्रतिनिधिहरूसँग तीता अनुभव कम छन्।
घरको न्यास्रो काठमाडौं आएर पढ्ने कुरामा केसी, पाण्डे र घिमिरेले भन्दा अलि बढी मेहनत गर्नुपर्यो गीता उप्रेतीले। “छोरीलाई बाहिर राखेर पढाउँदा बसाइ र सङ्गतको ठूलो चिन्ता हुन्थ्यो”, उनले भनिन्। उनको घरमा पनि त्यस्तै भयो। उनका सबैजसो साथीले गाउँमै वा नजिकै पढे। तर, काठमाडौंमा दिदीको घरमा बसेर पढ्ने गीताको हठले सबै बाधालाई जित्यो। अन्ततः उनी बागबजारको पद्मकन्या क्याम्पसमा भर्ना भइन्। उता, पत्रकार घिमिरेलाई पनि घरको स्नेह मामाघरबाटै पाउँदा कहिल्यै टाढा छु भन्ने अनुभूति भएन। “भौतिक सम्पर्क कठिन थियो, खबर बुझन चिठी पठाउनुपर्थ्यो”, उनी भन्छन्, “मेरा लागि मामाघर नै अर्को घरजस्तो थियो।”
काकाको घरमा रहँदासम्म डा. पाण्डेलाई पैसाको समस्या भएन। तर, एसएलसीपछि जब काकाको घरबाट अलग भए उनले जीवनमा एउटा नयाँ पाठ सिके। “एक रात भोकै सुत्नु पर्यो”, उनले सुनाए, “भोलिपल्ट अर्का एक आफन्तकहाँ ५० रुपैयाँ सापटी माग्न गएँ पनि, तर माग्नै सकिनँ।” काठमाडौंका साथीहरूले पाखे र गँवार भन्दै कहिलेकाहीँ केसीको बाटो छेक्थे। “तिनलाई खाजा ख्वाउनुपर्थ्यो”, उनले भने। “यस्तो बेला म गाउँबाट बिरामी आएका छन् भनेर विद्यालयका संस्थापक प्याकुरेलसँग पैसा माग्थेँ। बाबुले अप्ठेरो पर्दा उहाँलाई पैसा दिन भन्नुभएको थियो”, उनले पुराना दिन सम्झ्िए। पत्रकार घिमिरेलाई खर्चको समस्या कहिल्यै परेन। पटना पढ्न गइसकेपछि बाबु बिरामी भएको थाहा पाएर उनी काठमाडौं आए। “केही निको भएपछि म फर्कन लाग्दा बेडबाटै बुबाले खर्चको व्यवस्था के छ भनेर सोध्नुभयो”, उनले सम्झ्िए, “मलाई लाग्यो, बुबालाई आफ्नो रोगको भन्दा मेरो खर्चको चिन्ता बढी रहेछ।” उनलाई लाग्छ, परिवार र अभिभावकको यस्तै प्रेम र सम्बन्धले नेपाली समाजलाई भाग्यमानी बनाइदिएको छ। उस्तै छैन अब
नेता केसीलाई लाग्छ, आफ्नो पुस्ता मर्यादित र अनुशासित थियो, तर आजको वातावरण स्वच्छन्द हुँदैछ। उनी भन्छन्, “यस्तो प्रवृत्तिले भविष्यमा घर, समाज र राष्ट्रलाई हित गर्दैन। हाम्रो सामाजिक सम्बन्ध संस्कार, परम्परा र मान्यताले बनाएको थियो, अहिले आधुनिकताले ज्यादा आक्रमण गर्न थाल्यो। हामीले यी दुवैको सन्तुलन मिलाएर लैजानुपर्छ।” प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |