हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रिपोर्ट
पैसा को साटो पीडा
परिवार र छोराछोरीको भविष्य सोचेर पैसा कमाउन विदेश गएका नेपाली घरेलु कामदार महिलाहरू उल्टो ऋणको बोझ्ा तथा रोगको पासोमा परेका छन्। सुमित्रा राई को रिपोर्ट

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

२१ महिनापछि शरीरभरि चोटैचोट लिएर नेपाल फर्केकी ललिता राईलाई चोरीको आरोपमा घर मालिकले पानी समेत खान नदिई कोठामा बाँधेर राखेको अवस्थामा नेपाली कामदारहरुले भगाएका थिए।
गएको वैशाखमा साउदी अरब गएकी सुनसरी, झ्ुम्काकी १७ वर्षीया जमुना चौधरी (नाम परिवर्तन) अहिले लोग्नेमान्छे देख्नेवित्तिकै तर्सिन्छिन्। दायाँ नाडीमा धारिलो हतियारले काटिएको चोटसहित आइपुगेकी अभिभावकविहीन जमुना कसैसँग खुलेर बोल्न सक्दिनन्। आफ्नै ठूलीआमालाई विश्वास गरेर साउदी पुगेकी उनी काम गर्न बसेको घरका मालिक र पाहुनाहरूको दुर्व्यवहार तथा यातनाले मानसिक सन्तुलन गुमाएर गएको ५ साउनमा दूतावासको सहयोगमा रित्तोहात फर्केकी हुन्।

चार छोराछोरीको उज्ज्वल भविष्यका लागि १ मङ्सिरमा साउदी पुगेकी पाँचथरकी ३० वर्षीया सरला केसी (नाम परिवर्तन) एकसरो पुरानो म्याक्सीमा १५ साउनमा नेपाल फर्किन्। दलालमार्फत भारतको बाटोहुँदै गएकी उनी विदेश जाँदा लिएको ऋण तिर्ने पैसाको साटो रोग बोकेर आएकी छन्। साउदीमा पाएको यातनाबाट उनको पाठेघर खसेको र गुप्ताङ्गबाट लगातार रगत आइरहेको छ। सरला भन्छिन्, “मालिक-मालिक्नीले भनेको नमाने खानै नदिने, दुई-दुई हप्तासम्म कोठामा थुनेर भोकै राख्ने, खान नपाएको देशबाट आएकी भन्दै कुट्ने गर्दथे।” हिमाल संवाददातासँग वैदेशिक रोजगारमा गएका महिलाहरूको हकहितमा कार्यरत पौरखी नेपालको कार्यालयमा भेट हुँदा एकोहोरो पीडा सुनाइरहेकी सरलालाई खाली हात कसरी घर जानु भन्ने डरले उत्तिकै पिरोलेको थियो।

दायाँ नाडीमा धारिलो हतियारले काटिएको चोटसहित आइपुगेकी अभिभावकविहीन जमुना चौधरी कसैसँग खुलेर बोल्न सक्दिनन्। लोग्नेमान्छे देख्नेवित्तिकै तर्सिन्छिन्।
धरानकी ३७ वर्षीया सङ्गीता गुरुङ पनि रित्तोहात फर्किएकी छन्। एजेन्ट मनु लिम्बूमार्फत भारत र पाकिस्तान हुँदै कुवेत पुगेकी गुरुङ१७ महिना बसी गएको जेठमा फर्केकी थिइन्। श्रीमान्ले दोस्रो बिहे गरेर हिँडेपछि विरक्तिएर पैसा कमाउन विदेश गएकी सङ्गीताले भेडालाई घाँस काट्नु र घरको काम गर्नुपर्दथ्यो। भन्छिन्, “काम गर्न गाह्रो भएर त्यसै फर्किएँ।”

कतिपय महिला विदेशबाट गर्भवती भएर फर्किएका छन्। गएको वैशाखमा मात्रै विदेशबाट गर्भवती अवस्थामा फर्किएका पाँच महिला आफ्नो संस्थाको सम्पर्कमा आएको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन्। वैदेशिक रोजगार विभागमा भेटिएकी धनकुटा, आहालेकी २१ वर्षीया मेनुका लिम्बू (नाम परिवर्तन) वर्ष दिनअघि साउदी गएकी थिइन्। सयकडा रु.५ ब्याजमा ३५ हजार ऋण गरेर गएकी उनी रित्तोहात पाँच महिनाकी गर्भवती भएर फर्केकी छन्। मालिकको लगातारको यौनशोषणबाट गर्भ बसेको थाहा भएपछि एकसरो लुगामा बिना तलब घरबाट निकालिएकी उनी काठमाडौंमै बसेर केही गर्ने सोचाइमा छिन्। भन्छिन्, “यस्तो अवस्थामा कसरी घर जानु?”

आठ महिनाअघि साउदी गएर अस्पतालमा कुचिकारको काम गरिरहेकी रुपन्देही, सालझ्ण्डीकी पवित्रा शर्मा (नाम परिवर्तन) लाई आफ्नै अरबी सहकर्मीले बलात्कार गरे। उनी भन्छिन्, “कुरा बाहिर आउँछ भनेर उसले मलाई कोठामै थुनेर पाउरोटी खान दिँदै राख्यो। एकदिन जबर्जस्ती बाहिर आएँ, तर उसैले झ्ूठो मुद्दा लगाएर प्रहरीमा बुझ्ाइदियो।” जेलमा तीन महिनाको गर्भवती भएको थाहा भएपछि प्रहरीले सोधखोज गरेर नेपाल फर्कन चाहेको बताएपछि तीन महिना राखेर त्यही अरबीले पाकिस्तानसम्मको हवाई टिकट काटिदियोे। नेपाल आएर उनले श्रीमानलाई थाहा नहुँदै एक सामाजिक कार्यकर्ताको सहयोगमा बुटबलको एउटा निजी क्लिनिकमा साढेसात महिनाको गर्भपतन गराउने जोखिम उठाएकी थिइन्।

आफ्नो देशका महिलालाई अधिकार नदिने खाडी मुलुकमा नेपाली महिला कामदारमाथि अत्यधिक शोषण, अत्याचार, दुर्व्यवहार हुने गरेको पौरखी नेपालकी अध्यक्ष गुरुङ बताउँछिन्। घरेलु कामदारको हक सुनिश्चित गर्ने कुनै कानून पनि नभएकोले ती देशमा कामको समयावधि र तलब निश्चित नहुने तथा महिला भएको कारण आइपर्ने यौन शोषणलगायत विभिन्न समस्या भोग्नुपर्ने हुनाले घरेलु कामदार महिलाहरू विदेशमा बढी असुरक्षित हुने गरेको संयुक्त राष्ट्रसंघीय महिला विकास कोष युनिफेमको दक्षिण एसियाली कार्यक्रम व्यवस्थापक सरु जोशी बताउँछिन्। पौरखी नेपालका अनुसार गएको वैशाखयता विदेशिएका महिलाका परिवारले उनीहरूको खोजीको माग गर्दै २१ वटा उजुरी दिएका छन्।

“डेढ महिनासम्म खानै दिएनन्। एउटा पाउरोटीको भरमा दिनभरि काम गर्नुपर्थ्यो। सानो गल्तीमा पनि जे भेटे त्यहीले कुट्थे, शरीरमा छुन खोज्थे, नमान्दा मारेर फालिदिन्छु भन्थे।”
- रामकुमारी भुजेल
आफ्नै काकाले भारतको बम्बईमा एक महिना राखेर कुवेत पुर्‍याएका रुपन्देही, मङ्गलापुर कान्छीबजारकी २१ वर्षीया रामकुमारी भुजेल (नाम परिवर्तन) २०६५ चैतमा गएर पाँच महिनापछि फर्केकीथिइन्। विदेश जाँदा लागेको ऋण तिर्न नसकेकोले समेत चिन्तित उनी मान्छेदेखि डराउने, आत्तिने, एकोहोरो रुने र कोठामा एक्लै बस्ने गर्छिन्। त्यहाँ पाएको कहालीलाग्दो यातना सुनाउँदै उनले भनिन्, “डेढ महिनासम्म खानै दिएनन्। एउटा पाउरोटीको भरमा दिनभरि काम गर्नुपर्थ्यो। सानो गल्तीमा पनि जे भेटे त्यहीले कुट्थे, शरीरमा छुन खोज्थे, नमान्दा मारेर फालिदिन्छु भन्थे।”

महिलालाई विदेश पठाउने दलालहरू प्रायः आफन्त, विश्वासिला र चिनजानका व्यक्तिहरू नै हुने गरेका छन्। २०६४ वैशाखमा बम्बईमा तीन महिना बसेर कुवेत पुगेकी सुनसरी, धरानकी २२ वर्षीया ललिता राई छिमेकी दिदीको माध्यमबाट ब्युटीपार्लरमा काम गर्न गएकी थिइन्, तर काम पाइन घरेलु कामदारको। २१ महिनापछि शरीरभरि चोटैचोट लिएर नेपाल फर्केकी उनलाई चोरीको आरोपमा घर मालिकले पानी समेत खान नदिई कोठामा बाँधेर राखेको अवस्थामा नेपाली कामदारहरूले भगाएका थिए। हाल उनी डिप्रेसन भनिने मानसिक रोगको उपचार गराइरहेकी छन्।

कतिपय महिलालाई अरूको नामको नागरिकता र पासपोर्ट बनाएर पठाएकोले पनि समस्या बढेको छ। जमुनालाई नवलपरासीकी फूलकुमारी चौधरीको पासपोर्टमा कुवेत पठाइएको थियोभने रुपन्देहीकी रामकुमारी पनि अर्काकै पासपोर्टमा गएकी हुन्। गाउँघर, शहरबजारमा यस्तो काम गर्ने गिरोहहरू नै छन्, जसलाई सरकारी संयन्त्रहरूले नियन्त्रण गर्न सकेका छैनन्। स्थानीयस्तरमा जति कडा गर्‍यो उति समस्या न्यूनीकरण हुँदै जाने कुरामा जोड दिँदै पौरखीकी अध्यक्ष गुरुङले महिलाहरूले पनि दुःख पाएपछि मात्र संघसंस्थाहरूमा सम्पर्क गर्नेभन्दा विदेश जानुपूर्व जानकारी लिनुपर्ने बताइन्। “दलालको विश्वासमा परेर झ्ूठा कागजपत्रका आधारमा गएका महिलाहरू त कानूनी सहयोग समेत पाउन नसक्ने हुनाले दोहोरो पीडा भोग्न बाध्य हुन्छन्”, उनले भनिन्।

उदासिन सरकार
“मालिक-मालिक्नीले भनेको नमाने खानै नदिने, दुई-दुई हप्तासम्म कोठामा थुनेर भोकै राख्ने, खान नपाएको देशबाट आएकी भन्दै कुट्ने गर्दथे।”
- सरला केसी
वैदेशिक रोजगार प्रवर्द्धन विभागको तथ्याङ्कअनुसार २०४२ सालदेखि करिब दुई लाख ६० हजार महिला विदेशमा कार्यरत छन्। सन् १९८८ मा कुवेतमा कानी शेर्पाले घरको छतबाट हाम फालेर आत्महत्या गरेपछि सरकारले घरेलु कामदारमा महिलाहरूलाई पठाउन प्रतिबन्ध लगाई सङ्गठित कामको क्षेत्रमा मात्र जाने अनुमति दिएको छ। सरकारी बन्देजको कारण पनि महिलाहरू लुकेर भारतको बाटोहुँदै घरेलु कामदारको रूपमा जाने हुनाले बढी जोखिममा पर्ने गरेको गुरुङ बताउँछिन्।भन्छिन्, “रोक लगाउनुको साटो स्थानीय जिल्ला र नाकाहरूमा बलियो संयन्त्र बनाए जोखिम न्यूनीकरण गर्न सकिन्छ।”

नेपाली महिलाहरू न्यून शिक्षा र चेतनास्तर तथा कमजोर सामाजिक-आर्थिक अवस्थाका कारण घरपरिवारबाट बाहिर निस्किन र रोजगार हुन सकिरहेका छैनन्। यस्तो स्थितिमा घरेलु कामदारको रूपमा विदेश जानु धेरैका लागि अन्तिम विकल्प बनेको छ। युनिफेमकी जोशी भन्छिन्, “आर्थिक अभाव, परिवारको बेवास्ता र सन्तानको भविष्यको लागि महिलाहरू जस्तो पनि जोखिम मोलेर विदेश जान तयार हुन्छन्।” वैदेशिक रोजगारीमा जाने महिलाका लागि नयाँ ऐन बने पनि कार्यान्वयन हुन नसकेको बताउँदै उनी राज्यले गाउँमा गएर महिलाहरूलाई बिना तयारी नजाऊ, संस्थागत तवरबाट जाऊ भनेर सूचना प्रवाह गर्नुपर्ने र महिला कामदार बढी भएको देशमा दूतावास खोल्नुपर्ने आवश्यकता भएको बताउँछिन्। समाजशास्त्री गणेश गुरुङको विचारमा सरकारले विदेश जान इच्छुक महिलाहरूलाई स्थानीयस्तरमा सीप विकास तालिम र ऋणको व्यवस्था गरे पनि धेरै कम महिला यस्तो अमानवीय शोषणमा पर्नेथिए।

वैदेशिक रोजगार ऐन २०६४ ले कामदारहरूको हकअधिकार संरक्षणका लागि कतिपय प्रगतिशील व्यवस्था गरेको छ। ऐनले वैदेशिक रोजगार व्यवसायीलाई विभिन्न सहुलियत र सम्मान प्रदान गर्नुका साथै कामदारको हकअधिकार संरक्षणमा व्यवसायीलाई थप उत्तरदायी बनाएको छ। कामदार विरुद्ध हुने अपराधमा सजायको वृद्धि गरेको र त्यसको कार्यान्वयनको संरचनालाई व्यावहारिक, व्यावसायिक बनाएको छ। कामदारको आपतकालीन उद्धार र व्यवसाय प्रवर्द्धनका लागि कल्याणकारी कोषको अवधारणा ल्याएको छ। तर, वैदेशिक रोजगार नियमावली २०६४ को नियम २९ को घ मा उल्लिखित वैदेशिक रोजगारमा गएका महिला कामदारका निमित्त सुरक्षित गृह स्थापना र सञ्चालन गर्ने व्यवस्था अझ्ै कार्यान्वयन भएको छैन।

विदेशबाट फर्किएका केही महिला घर जाने बाटो खर्च नभएर सहयोग माग्न बोर्डमा आउने गरेका बताउँदै वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटा पुस महिनाभित्र सुरक्षित गृह सञ्चालन गर्ने लक्ष्य राखेर सरकारले गएको २८ असारमा एउटा कार्यदल गठन गरेको बताउँछन्। तर विभागको स्वीकृति लिएर जाने महिलाहरूले मात्र यो सुविधा पाउने जानकारी दिँदै उनले भने, “महिलाहरू तालिम नलिई हतारमा जाने, भारतबाट लुकेर जाने गरेकाले बढी शोषणमा परेका छन्।” सस्तोमा विदेश जाने प्रलोभनमा परी लुकेर जानेहरूलाई नियन्त्रण गर्न नसकिने स्पष्ट गर्दै कार्यकारी निर्देशक देवकोटा जनचेतनाका कार्यक्रमहरू गाउँमा नपुगेको स्वीकार्छन्।

सोहन श्रेष्ठ
श्रीमान्ले दोस्रो बिहे गरेपछि विरक्तिएर विदेशिएकी सङ्गीता गुरुङले भेडालाई घाँस काट्नु र घरको काम गर्नुपर्दथ्यो। भन्छिन्, “काम गर्न गाह्रो भएर फर्किएँ।”
देवकोटाका अनुसार, आधिकारिक रूपमा विदेश जाने महिलाले रु.५ लाखको बीमा सुविधा, मृत्यु र अङ्गभङ्ग भएमा रु.१ लाखसम्मको सहयोग, कुनै कारणले पीडित भएमा निःशुल्क कानूनी सहयोगलगायतका सुविधा पाउनेछन्। बोर्डले वैदेशिक रोजगारीमा जान चाहने महिला-पुरुषका लागि २०६६ जेठदेखि १० घण्टे अभिमुखीकरण तालिम सञ्चालन गर्दै आएको छ, जसमा जाने देशको स्थिति, रहनसहन, संस्कृति, सामाजिक र आर्थिक अवस्था, भाषा, श्रम कानून, अध्यागमन कानून, ट्राफिक नियम, एड्स, सरुवा रोग, प्रजनन स्वास्थ्य, सुरक्षालगायतका विषयहरू सिकाइन्छ। तर सरकारले सञ्चालन गर्दै आएको अभिमुखीकरण तालिम कामदारहरू जाने देश सुहाउँदो नभएको स्पष्ट गर्दै युनिफेमकी जोशी भन्छिन्, “जुन देशमा जाने त्यहींको भाषा, कानून, कला, संस्कृतिको तालिम दिनुपर्नेमा त्यसो नगरी सबैलाई एउटै कुरा सिकाइने गरेको छ।” नेपाली महिलाहरूले विदेशमा इण्डोनेसिया, फिलिपिन्सलगायतका देशका महिलासँग काममा प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै पौरखीकी गुरुङले भाषा, संस्कृति नबुझदा महिलाहरू माथि आर्थिक, यौन, श्रमलगायतका शोषण हुने बताइन्।

१७ वर्षअघि हङकङहुँदै दक्षिण कोरिया पुगेकी कास्कीको घान्द्रुक, किम्चेकी चन्द्रा गुरुङले भाषा नजानेर ६ वर्ष ६ महिना मानसिक अस्पतालमा बिताउनु परेको थियो। कामबाट घर फर्कने बेलामा होटलमा खाना खाएर पैसा तिर्न खोज्दा थैली नभेटेर पैसा हराएकोले एकैछिनमा ल्याइदिन्छु भन्न नसकेकीले उनलाई पागल ठहर्‍याई प्रहरीको जिम्मा लगाइएको थियो। कोरियाको चुङयाङरी राष्ट्रिय मानसिक अस्पतालमा पनि कुरा बुझ्ाउन नसकेकी उनलाई चिकित्सकहरूले स्वास्थ्य परीक्षण नै नगरी मानसिक रोगको औषधि दिए। उनी भन्छिन्, “अस्पतालमा मानसिक रोगको औषधि खुवाउँदा र पागलहरूसँगै बस्दा चिच्याउन थालें, र पागल नै भएँ।” मामाको लहैलहैमा लागेर पूर्व तयारीविना कोरिया गएकीले चन्द्राको यो हालत भएको थियो।

महिलाहरूलाई शारीरिक, मानसिक, आर्थिक, यौनशोषण गरिएमा र बन्धक बनाइएमा मानसिक आघात भई सन्तुलन गुमाउन सक्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक डाक्टर प्रमोद स्याङ्वो बताउँछन्। पुरुषको तुलनामा महिलाहरूलाई दोब्बर डिप्रेसन, तनावका रोगहरू लाग्ने बताउँदै डाक्टर स्याङ्वोले यौनजन्य क्रियाकलाप, दुर्व्यवहार, यातना हँुदा पोस्ट ट्रामाटि्रक स्ट्रेस डिस्अर्डर हुने बताए। यस्ता बिरामीहरू आत्तिने, झ्स्कने, डराउने गर्दछन्। डिप्रेसन बढ्दै गएपछि अझ् कडा मानसिक समस्या साइकोसिस हुने बताउँदै उनले यस्ता बिरामीहरूमा शङ्का गर्ने, बोलिरहने, अनौठो व्यवहार गर्ने लक्षणहरू देखापर्ने बताए।

साथमा, मुकेश पोखरेल, बुटवलमा
दीननाथ बराल, पोखरामा

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क