|
|
||||||||
|
रिपोर्ट
राज्य धर्म/जाति निरपेक्ष सबैको जात नेपाली!
नयाँ संविधान निर्माण र राज्य पुनर्संरचनाको सवालमा दाङका राजनीतिक कार्यकर्ता, नागरिक अगुवा र पेशेवर तथा बुद्धिजीवीहरूको चासो र चिन्ता पनि बागलुङ र डोटीका बासिन्दाको भन्दा भिन्न थिएन। अर्थात्, संविधान बन्ला नबन्ला; संघीयताको आधार र स्वरुप के होला, जात र भाषा, तराई र पहाड, पूर्व र पश्चिम आदि आधारमा देशको पुनर्विभाजन गर्दा सामाजिक सद्भाव र राष्ट्रिय अखण्डता कमजोर पो हुने हो कि भन्ने चिन्ता नै उनीहरूको पनि पाइयो।
शिवकुमार सुवेदी, नेपाल प्राध्यापक संघः जे भइरहेको छ, त्यो आम अपेक्षाअनुरुप छ भन्ने लाग्दैन। संविधान निर्माणभन्दा राजनीतिक हानथाप र सत्ताको भागबण्डालाई प्राथमिकता दिइरहेको देखिन्छ। अब त जनअपेक्षा अनुसारको संविधान बन्ला भन्ने विश्वास पनि लाग्न छाड्यो। सुरेश थापा, राष्ट्रिय जनमोर्चाः सन्तोष मान्ने ठाउँ नै भेटिँदैन। सत्तास्वार्थमा बढी केन्द्रित भएको देख्दा जनतामा समयमै संविधान बन्ला भन्ने आश मर्न थालेको छ। दलहरूले जातीय-क्षेत्रीय मुद्दा उचालेर द्वन्द्व चर्काउने काम गरेका छन्। देशको हितमा संविधान बनाउनेभन्दा नयाँखाले द्वन्द्व निम्त्याउने र जनताबीचमा लडाइँ गराएर देशलाई विखण्डनमा लैजाने खतरा देखिनथालेको छ। सर्जन गौतम, मावादी बुद्धिजीवीः मुख्य विषयमा छलफल नै भएको छैन। निर्धारित समयमा संविधान बन्नेमा गम्भीर आशङ्का छ। डिल्लीराज धिताल, अधिवक्ताः दलहरूले आ-आफ्नै संविधान बनाएका छन्, जनताले त्यसैलाई एस/नो गरेर अनुमोदन गरिदिने हो कि आफ्नो संविधान बनाउने? जनमत सङ्कलन गर्न ४० लाख फारम बाँडिए तर, चारलाख मात्रै फिर्ता भए। जनयुद्ध कि सशस्त्र द्वन्द्व लेख्ने भन्नेमा चार दिन बहस हुन्छ, महत्वपूर्ण मुद्दा बहसमै प्रवेश गर्दैनन्। राजनीति सहमतिभन्दा विग्रहको दिशामा अग्रसर हुँदैछ। यसले त २०४७ सालको जस्तो संविधान पनि नबन्ने हो कि भन्ने आशङ्का उब्जाएको छ।
विष्णुमणि धिताल, पुनरावेदन बारः संविधान निर्माणको आधार नै तय भएको छैन। दलहरूले लोकतान्त्रिक मूल्य-मान्यता बिर्सेर आफू अनुकूल संविधान निर्माण गर्ने कुरा गरिरहेका छन्। संघीयता जनआन्दोलनको म्याण्डेट नै थिएन, त्यसमा दलहरू अझ्ै स्पष्ट छैनन्। संविधान बनाउन जनताले निर्धक्क आफ्ना कुरा राख्न पाउने अवस्था हुनुपर्थ्यो, त्यो हुनसकेको छैन। शान्तिसुरक्षा छैन। राम्रो मात्रै होइन हाम्रो भन्नलायक संविधान पनि बन्नुपर्यो नि! निर्मल नेपाली, राष्ट्रिय दलित सञ्जालः सेनाको व्यवस्थापन भएको छैन, विस्थापित मानिस अहिलेसम्म घर फर्कन पाएका छैनन्। सभासद्हरू सत्ताका लागि लडिरहेका छन्। यो अवस्थामा कसरी र कस्तो संविधान बन्ने हो? निमबहादुर थापा, नागरिक समाजः जनताको भावना अनुसार भएको छैन, हुने सम्भावना पनि देखिंदैन। अन्तरिमकालमा पक्ष र विपक्ष भन्ने हुँदैन तर, संविधानसभा निर्वाचनपछि संविधानको मर्मलाई कुल्चेर दलहरूले पक्ष-विपक्षको कित्ता निर्धारण गरेका छन्। यही नै संविधान निर्माणको सबैभन्दा ठूलो बाधक हो। नन्दकुमार थारू, थरुहट स्वायत्त राज्य परिषद्ः सरकार गिराउने र टिकाउने खेल मात्रै भइरहेको छ। अब त जनताले चाहेअनुसारको संविधान निर्माण होला भन्ने आश पनि लाग्न छाडिसक्यो। देवी पोख्रेल, नेकपा (एमाले)ः सहमतिको राजनीति छाडेर दलहरू पक्ष-विपक्षमा बाँडिएकाले संविधान निर्माण लथालिङ्ग हुनथालेको हो। सहमतिको आधार भङ्ग भइसकेको अवस्था छ, जटिलता झ्नै थपिएको छ। सेना समायोजन प्रक्रियामा भइरहेको ढिलाइ र शक्तिखोर भिडियो प्रकरणलगायतका घटनाले झ्न् अन्योल बढाएका छन्। मेघराज भण्डारी, नेकपा एकीकृतः हामी ठूला कुरा गर्छौं तर देशप्रति जिम्मेवार छैनौं। विद्रोहीलाई राष्ट्रिय सेनामा गाभेर देशलाई सैनिकीकरण गर्ने काम हामी स्वयम्ले गर्न खोजिरहेका छौं। कहीं नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै संविधान निर्माण प्रक्रिया एउटा जात्राजस्तै भएको छ। हुमा डिसी, विधवा महिला सरोकार मञ्चः जनताका लागि संविधान बनाउन गएका नेताहरूले त्यसलाई चाहिँ किन महत्व दिएनन्? हिमाल संविधान-यात्रा ले नेताहरूको कान खुलोस्। सभासद्हरू संविधानसभामै बाँकी जिन्दगी बिताउने सोचाइ बनाउँदै होलान्। संविधान निर्माण प्रक्रियालाई अवरुद्ध पार्ने र देशलाई अन्धकारतिर धकेल्ने छूट दलहरूलाई छैन। साजिदा सिद्दिकी, सामाजिक कार्यकर्ताः विभिन्न जाति र समुदायका अधिकार सुनिश्चित गर्न पहल गर्नुको साटो जातिका नाममा राजनीति गरिंदैछ। हामी १६औं शताब्दीमा पुग्यौं कि जस्तो लाग्न थालेको छ, त्यहाँबाट फर्कन कति गाह्रो होला? यो अवस्थामा सीमान्तकृत समुदायको मुद्दा संविधानमा कसरी समेटिएला?
मोहनलाल वली, नेपाली काङ्ग्रेसः संविधानसभाका विभिन्न समितिले आ-आफ्नो काम गरिरहेका छन्। विवाद आउँदा पनि अल्पमत र बहुमतको आधारमा निर्णय गर्न सकिने भएकाले त्यति ठूलो समस्या आउला जस्तो लाग्दैन। संविधान निर्धारित समयमा बन्ने र त्यसमा जनताका मूलभूत आकाङ्क्षा समेटिने विश्वास छ। त्यसो भए अबको बहस केमा केन्द्रित गर्नुपर्ने देख्नुहुन्छ?
मेघराज भण्डारीः हाम्रा नेताहरू अत्यन्तै अदूरदर्शी भए। जेमा पनि हतारको निर्णय गर्छन्। संघीयताको निर्णय हतारमै गरियो। संविधान पनि हतारमा नबनाइयोस्, दूरदृष्टि र परिपक्वता देखाइयोस् भन्ने जनताको चाहना हो। सौगदविर चौधरी, आदिवासी जनजाति महासंघः आजसम्म देशमा ठूलो आगो बलेको छैन, संघहरूको बाँडफाँड र सिमाङ्कन शुरु भएपछि आगो लाग्नसक्छ। जातीय सवाल दबाएर दब्दैन। कि, सबैले आफ्नो जात छाडेर नेपालीमात्रै लेखौं, तब मात्रै वास्तविक राष्ट्रिय एकता हुनेछ। होइन भने देशमा जातीय आगो सल्किसक्यो। सुशीला आचार्य, सञ्चारकर्मीः दलहरूले जनतालाई गुमराहमा राखेका छन्। आ-आफ्ना कोठामा संघीयताको मोडल बनाउने काम भइरहेको छ, जुन प्रत्युत्पादक छ। दलीय स्वार्थनिम्ति होइन, देश र जनताका लागि सही र गलत छुट्याउने आँट गर्नुपर्छ। डा. बीनबहादुर सिंह वली, सह-प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पसः दलपिच्छे लोकतन्त्रका फरकफरक परिभाषा छन्। एउटै परिभाषा नभएसम्म लोकतान्त्रिक संविधान बन्न सक्दैन। अहिले धेरै कुरामा बहस चलाउनु जरुरी छ। संघात्मक शासनको कुरा गरेपनि हामी कोही यसको सैद्धान्तिक अवधारणाबारे जानकार छैनौं। यसमा पर्याप्त बहसको खाँचो छ। दलहरूको बार्गेनिङका आधारमा मात्रै संविधान बनाइनुहँुदैन। श्रीमण न्यौपानेः जनताले चाहेको शान्ति र स्थिरता हो। संविधानसभा निर्वाचनमा राष्ट्रिय सहमतिको सरकार बनाउँछौं भन्नेहरू संसद्मा पुगेपछि हामी नै ठूलो र बहुमतप्राप्त पार्टी भन्न थाले। मुख्य कुरा, दलहरूले प्रमुख लक्ष्य के हो र हामी कता गइरहेछौं भन्ने बोध गर्नुपर्यो। रामेश्वर बोहरा प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |