हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
ऋतुविचार
घोडा किनबेचको सिजन
ऋतुराज

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

बिलाश राई
अहिले हरियो घाँसपात मौलाएको छ। यस्तो भएपछि घाँसपातमा निर्भर रहने पशुहरू खुब रमाउँछन्। घोडा यस्तै एउटा पशु हो जो हरियो घाँसपात खान पाउँदा रमाउँछ। उसो त यसले दाना पनि खाने गर्छ। मालमत्ता र मानिसको बोझ् बोक्नुपर्छ। गाई जस्तो होइन दूध दिएर सञ्चसित बस्न पाउने। त्यसैले प्रोटिन-स्रोटिन र अन्य पौष्टिक तत्व यसलाई चाहिन्छ। त्यही भएर यसलाई दाना पनि खुवाइन्छ, यद्यपि यसको मूल खुराक त घाँसपात नै हो। जे होस्, यसले दाना र घाँस दुवै मजासित खान्छ। खाए अनुसारको काम पनि दिन्छ।

अहिले घोडा किनबेच गर्ने सिजन हो। यस्तो सिजनमा किन्नेले छानी-छानी घोडा किन्छ र बेच्नेले चाहिँदो मोल लिएर बेच्छ। घोडाको कद-काठी, नश्ल र क्षमता हेरी मोल लगाइन्छ। मौका परे एउटै घोडाको दुई-चार करोड रुपैयाँ पनि पर्न सक्छ। घोडा किनबेचको सिजन खसी-बोकाको जस्तो होइन दशैं नै कुर्नुपर्ने। यो चन्द्रमाको कला अनुसार ठेगान गरिने मुस्लिमहरूको चाड इद जस्तो घुम्दैफिर्दै वर्षको कुनै महिनामा पनि पर्न सक्छ। एकै वर्षमा दुई-चार पटक पनि पर्न सक्छ। यसपटकको सिजन अहिले परेको छ।

नेपालमा तीनथरीका घोडा पाइन्छन्। एउटा त हो अरबी घोडा। यसको जीउडाल अग्लो र ठूलो हुन्छ। खुट्टा लामा लामा हुन्छन्, जीउ चिल्लो। यसको मोल नै धेरै, खुराक नै बेग्लै, फुर्ति नै ठूलो। सवारी-तवारीमा यिनीहरूको प्रयोग हुन्छ। रेसमा दौडने घोडा पनि यही हो। जो-सुकैले यसलाई पाल्न पनि सक्तैन। पहिले राजा-महाराजाहरू पाल्थे। अहिले धनाढ्यहरू पाल्छन्। बहुधा सरकार वा सेनाले पाल्छ यस्ता घोडाहरूलाई।

अर्कोथरी हो भोटे घोडा। तिब्बत-भोटतिरबाट आएको हुनाले यसलाई त्यसो भनिएको हो। नेपालका पहाड पर्वतमा पाइने घोडाहरू यसै जातका हुन्। यसलाई पहाडे, हिमाली जे भने पनि हुन्छ। च्यान्टा पनि भन्छन् मानिसहरू यस जातका घोडालाई। धेरै अग्लो नभए पनि यो घोडा खूब फुर्तिलो हुन्छ। हिमाल पहाड जता पनि रत्तिन सक्छ।

तेस्रोथरी हो मधेशमा पाइने मधेशी घोडा। यसलाई टट्टु पनि भन्छन्। यो ग्याँचे हुन्छ, भुँडी केही फुलेको। अग्लो मान्छे यसमा चढ्दा खुट्टा दुवैतिर तर्लङ्ग झ्ुण्डिन्छन्। तर मधेशको घामपानीमा यो जस्तो अभ्यस्त र कामलाग्ने अर्को घोडा हुँदैन। सुधो, थोरै खुराकमा रमाउने, मालिकले भनेको मान्ने घोडा हो यो।

दुर्छे त पहाडे घोडा हुन्छ। राम्ररी सधाउन नसके दाना ख्वाउने मालिकलाई पनि लात्ती हान्न बेर मान्दैन। अरबी घोडाको कुरै छाडौं। त्यसलाई त राजसी पाराले स्याहारेर राख्नुपर्छ।

यी तीनैथरी घोडाहरूको किनबेच पहिले-पहिले सिंहदरबारको पटाङ्गिनीमा हुने गर्थ्यो। धेरै भएको छैन, एकपटक डडेलधुरातिरका एक जना सौदागरले ठूलो मात्रामा किनबेच गरे घोडाहरूको। उनले भारतको सोनपुरमा हुने मवेसी-मेला देखेका थिए होलान्। त्यसैबाट अभिप्रेरित भएर होला उनले ठूलो स्केलको घोडा व्यापार थालेको।

तर हिजोआज यी घोडाहरूको सङ्ख्या सिंहदरबारको पटाङ्गिनीमा नअटाउने गरी ह्वात्तै बढेको छ। अब घोडाका सौखिन सौदागरहरू पनि बढेका छन्। त्यसको हाट अब नयाँबानेश्वरतिर सरेको छ। त्यहाँ पर्खालले घेरेको सिंहदरबारभन्दा ठूलो ठाउँ छ रे! त्यहाँको पर्खाल बाहिर हरियो दुबो र पर्खालभित्र चाहिँ मनग्गे दाना छ रे!

रमाइलो हुन्छ यसपालिको किनबेचमा कुन-कुन घोडा क-कसले किन्छन् र कहाँ-कहाँबाट थैला बोकी सौदागरहरू आउँछन् भनेर हेर्न। आफू चढ्न नपाए पनि घोडाको किनबेचमा बढाबढको बोली लगाएको र दाम लगाउनेले घोडा घिच्याएर लगेको हेर्न ख्याल मज्जा आउँछ र?

मन्त्री छोरी
सुजाता मन्त्री के भइन् खोइरो खन्नेको धुइरो छ पितृ भइसकेका जीपी बाबुको। आफ्नी छोरीलाई मन्त्री बनाए, पार्टीलाई परिवारको पेवा बनाए ह्यान-त्यान भनेर उनको कुरा काटेका काट्यै छन्। परचक्रीहरूले त कुरा काट्ने नै भए, उनको आफ्नै पार्टीकाहरू समेत उनलाई धारेहात लगाइरहेछन्। आखिर अरूले नगरेको त्यस्तो के गरे बरा उनले? धन्न भन्नोस्न उप-प्रधानमन्त्री या प्रधानमन्त्री बनाएनन् मन्त्री मात्र बनाए छोरीलाई। अरूका छोरीहरू त प्रधानमन्त्री र राष्ट्रपति भएका छन्। पिताको शेषपछि भए पनि पिताजीहरूले पहिल्यै बनाएर गएका भरेङ चढेर प्रधानमन्त्री र राष्ट्रपतिको पद सम्हालेका छन्।
टाढा के जाने, भारतकै कुरा गरौं, जसको राजनीतिक संस्कृति हामीले थोकमा आयात गर्ने गरेका छौं। जवाहरलाल नेहरू बितेपछि इन्दिरा गान्धी पहिले मन्त्री र पछि प्रधानमन्त्री भइन्। तर नेहरूले आफ्नो जीवनकालमै इन्दिरा गान्धीलाई काङ्ग्रेस पार्टीको अध्यक्षको भरेङ चढाएर गएका थिए।

पाकिस्तानतर्फ नजर फिराऔं। आफ्नो देशको मात्र होइन सारा मुस्लिम विश्वमै पहिलो महिला प्रधानमन्त्री भएर रेकर्ड राख्ने बेनजीर भुट्टो जुल्फीकार अली भुट्टोकी छोरी थिइन्। जुल्फीकार को थिए त्यो त भनिरहनु नपर्ला।

अब बायाँपट्टि अर्को छिमेकीतर्फ हेरौं। अहिले बाङ्लादेशकी प्रधानमन्त्री रहेकी र पहिले पनि भइसकेकी शेख हसिना राष्ट्रपिता भनेर चिनिने पहिलो राष्ट्रपति शेख मुजीबुर रहमानकी छोरी हुन्। अब श्रीलङ्कातिर लागौं। यसभन्दा अघि राष्ट्रपति रहेकी चन्द्रिका कुमारतुङ्गाका पिता अरू नभई श्रीलङ्काका चौथो प्रधानमन्त्री सोलोमन बन्दरनायके हुन्।

दक्षिणएशिया छाडेर अलिक पर्तिर दृष्टि दिने हो भने इन्डोनेशियामा सुकार्नोपुत्री पाउँछौं जो यसअघि त्यहाँकी राष्ट्रपति थिइन्। उनका पिता सुकार्नो त्यस देशका प्रथम र शक्तिशाली राष्ट्रपति थिए।

काँढालाई तिखार्नुपर्दैन भन्ने उखानै छ। प्रधानमन्त्री या राष्ट्रपति भइसकेका पिताका पुत्रीहरू प्रधानमन्त्री या राष्ट्रपति हुनु अवश्यम्भावी छ। इतिहासले त्यही देखाएको छ। उनीहरूका सन्तान पनि एक्ली छोरी हुन्छन् जस्तै हाम्री सुजाता या इन्दिरा गान्धी। एकभन्दा बढी भए जेठो सन्तान छोरी हुन्छन् जस्तै बेनजीर या शेख हसिना।

हिन्दुस्तान, पाकिस्तान, बाङ्लादेश, श्रीलङ्का, इन्डोनेशिया सबै देशमा छोरीहरूले बाबुको पद 'गट्न हुने। हाम्रो देशमा चाहिँ पहिलेका प्रधानमन्त्रीले आफ्नी छोरीलाई जाबो मन्त्री बनाउन नहुने, बात लाग्ने। गजब छ बा! आफ्नी छोरी हुँदाहुँदै मन्त्री बनाउन अर्काकी छोरीलाई कसले खोजी हिँड्छ?

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क