|
|
||||||||
|
वहस
अधिकारको बहस
संविधान र राज्य पुनर्संरचनामा प्राकृतिक स्रोत
नया शर्मा पौडेलः प्राकृतिक स्रोत ८०-९० प्रतिशत जनताको जीविका र आर्थिक प्रगतिको आधार हो र यसको प्रयोग कसले गर्ने भन्ने कुरा राज्यपुनर्संरचनाको मूल प्रश्न हो। स्रोतको उत्पादकत्व र दिगो व्यवस्थापन अधिकारको बाँडफाँडमा भर पर्छ। अहिलेसम्म स्रोत वितरणका अनुभव, द्वन्द्व र सकारात्मक पक्ष एवं जीविकाको आधार तथा उत्पादकत्व र दिगो व्यवस्थापनमा पार्न सक्ने असरलाई विश्लेषण गरेर त्यसमाथिको अधिकार सुनिश्चित गरिनुपर्दछ।
यमुना घलेः संविधानसभाअन्तर्गत प्राकृतिक स्रोत, आर्थिक अधिकार तथा संवैधानिक निकायको संरचना निर्धारण समिति गठन हुनुले प्राकृतिक स्रोतको महत्व बढेको र बुझ्ाइमा परिपक्वता आएको देखाउँछ। भूमि, वन, जल जस्ता प्राकृतिक स्रोतको सही ढङ्गबाट व्यवस्थापन गर्न सकिए आर्थिक-सामाजिक रुपान्तरण सम्भव हुन्छ नसकिए द्वन्द्व अवश्यंभावी छ। यिनलाई आधार मानेर राज्य पुनर्संरचना गर्दा हानि नगर को सिद्धान्तलाई बढावा दिन सकिए सहअस्तित्वको भावना विकास हुन्छ।
दिलराज खनालः प्राकृतिक स्रोतमाथिको अधिकार कस्तो हुने भन्ने विषयमा धेरै छलफल हुन बाँकी छ। संविधानकै सिद्धान्त र दर्शनको टुङ्गो नलागेकोले त्यसको अन्तरवस्तुको विषयमा पनि टुङ्गो लागेको छैन र प्राकृतिक स्रोतको बाँडफाँडको कुरा पनि 'झ्ेलमा परेको छ। संसदीय सर्वोच्चतामा प्राकृतिक स्रोतमाथि जनताको अधिकार जति सुनिश्चित हुन्छ, कार्यकारिणी सर्वोच्चतामा हुनसक्दैन। विकास र वितरणका चुनौती
जगतः संविधान बनाउनेहरूका कुरा सुन्दा सीमित व्यक्तिको हातमा स्रोत रहने डर छ। प्राकृतिक स्रोतमै काम गरेका सभासद्हरूबाट पनि समुदायको मुद्दा सशक्त बन्न सकेको छैन। केन्द्र, प्रदेश, स्थानीय तह र समुदायमा पानी, वन, जमिनमा कसको कति अधिकार भन्ने स्पष्ट हुनुपर्छ।
यमुनाः नेपालका अधिकांश सभासद्मा वन, खोला जस्ता स्रोतमा भन्दा जमिनमा चासो देखिन्छ। यसलेे समुदायको सम्पत्ति आफ्नो पनि हो भन्ने भावना सभासद्मा समेत नभएको देखाउँछ। प्रायःजसो स्रोत जमिनमा आधारित हुने भएकाले जमिनको वैज्ञानिक व्यवस्थापन स्पष्ट नभएसम्म अन्य स्रोत बाँडफाँडको कुरा टुङ्गिन सक्दैन। प्राकृतिक स्रोतबारे सैद्धान्तिक हिसाबले खारिएर जति बहस हुनुपर्ने हो, हुनसकेको छैन।
अधिकार र दायित्व जगतः पानी, वन जस्ता प्राकृतिक स्रोत चाहिँ निजी नहुने भूमि मात्रै किन निजी हुने भन्नेमा पनि बहस चलाउनुपर्दछ। सभासद्हरू आ-आफ्ना समुदायका मुद्दा बोकेर आएकाले उनीहरूलाई स्रोतको विषयमा तालिम दिएर मात्रै हुँदैन पटक-पटक घच्घच्याउनुपर्दछ। सन्तोषः अधिकारसँगै दायित्वको कुरा पनि जोडिएको हुन्छ। राप्ती नदीमा बोटे समुदायलाई माछा मार्ने अधिकार दिँदा त्यहाँका गोहीको बाँच्न पाउने अधिकारको दायित्व जसले अधिकार पाएको छ, उसैको हुन्छ। यसरी अधिकार र दायित्वलाई अन्तरसम्बन्धित बनाउन सकिए सहयोगात्मक संघीयताको अर्थ हुन्छ। कमलाः जल, जमिन र जङ्गलको अधिकार संविधानमा कसरी राख्ने भन्नेबारे सम्बन्धित समिति, विज्ञ, सभासद्हरूसँग छलफल गरेर तयार पारे पनि एकरुपता हुनसकेको छैन। स्रोतमाथिको अधिकारका सम्बन्धमा सामग्री प्रशस्त जम्मा भएका छन्, तर सबै अध्ययन गर्न नभ्याएर केही कुरा पनि नसमेटिने हो कि भन्ने आशङ्का उत्तिकै छ। त्यसैले महिला, जनजाति र समुदायका उपभोक्तालाई स्रोतमाथि संवैधानिक अधिकार दिलाउनेतर्फ सम्बन्धित समितिको ध्यान जानुपर्छ। यमुनाः स्रोतमा अधिकार सुनिश्चित गरेमा महिला, जनजाति, दलित आदिको उत्पादनको हक सुनिश्चित हुनसक्छ। एकल महिलाका नाममा लालपुर्जा हुनासाथ उनीहरूमाथि हुने भेदभाव कम हुनसक्छ। त्यसैले महिलालाई विशेष परिस्थितिमा विशेष अधिकार दिनुपर्छ। दिलराजः स्रोतमा आधारित वस्तुमाथिको अधिकार सुनिश्चित हुँदैमा जनताको स्रोतमाथिकै अधिकार सुनिश्चित नहुने भएकोले यी दुईबीच अन्तरसम्बन्ध हुनुपर्छ। राज्यको अर्थनीति जस्तोसुकै भएपनि आधारभूत कुरामा राज्यले जनताको अधिकार हो, मेरो दायित्व छैन भनेर पन्छन मिल्दैन। प्रस्तुतिः रामजी दाहाल प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |