हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
अर्थ
तात्यो चिसोको बजार
हिउँद सकिएसँगै चढेको गर्मीमा शीतलता थप्न विभिन्न ब्राण्डका पेयपदार्थ तथा आइसक्रिमसँगै तिनलाई चिस्याउने थरीथरीका रेफ्रिजेरेटर, एयर कण्डिसनरलगायतका विद्युतीय उपकरण हाजिर छन्। डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट
डम्बरकृष्ण श्रेष्ठ

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

किरण पाण्डे

विश्वव्यापी जलवायु परिवर्तनले बर्सेनि चढ्दो गर्मीमा जनजीवनलाई चिसो पार्ने विद्युतीय उपकरण र पेयपदार्थको बजार पनि बढ्दो छ। गर्मी बढेसँगै उपभोक्ता आकर्षित गर्न विशेष अफरका साथ बजारमा विभिन्न ब्राण्ड र स्वादका पेयपदार्थ, तिनलाई चिस्याउने विभिन्न रङ, डिजाइन र ब्राण्डका रेफ्रिजेरेटर अर्थात् फ्रिजहरूको व्यापार पनि क्रमशः बढ्दैछ।

शहरिया नेपालीहरू एकपछि अर्को प्रविधि र उपकरणसँगै विदेशी स्वादका पेयपदार्थहरूमा अभ्यस्त हुन थालेका छन्। वैदेशिक रोजगारी र अध्ययनका लागि विदेशिएर फर्केकाहरूको सङ्ख्या बढ्दै जाँदा त्यसको प्रभाव स्वतः नेपाली समाजमा पर्दैछ। पश्चिमा विश्वसँगको हेलमेलले पनि पेयपदार्थको सेवन र फ्रिजको प्रयोगमा व्यापकता ल्याएको पाइन्छ। अन्तर्राष्ट्रिय ब्राण्डका नयाँ उत्पादनहरू भित्रिने क्रमसँगै शहरिया उपभोक्तामा बढेको खरीद क्षमता र मध्यम वर्गको सङ्ख्यात्मक वृद्धिले शहरी क्षेत्रमा पेयपदार्थ, आइसक्रिमसँगै फ्रिज, डिप फ्रिज, एयर कण्डिसनर र विद्युतीय पंखाहरूको प्रयोग बढेको हो। देशभरका साना-ठूला शहर-बजारहरूमा खुलेका किराना पसलहरूमा समेत पाइने कोल्ड ड्रिङ्स, जूसहरू र घरघरमै प्रवेश पाउन थालेका विभिन्न ब्राण्डका फ्रिजले गर्मीबाट राहत दिलाएका छन्। एयर कण्डिसनर र पंखाहरूको प्रयोगले मौसमको तापक्रमलाई घटाउने मात्रै होइन, गर्मीयाममा ४५ डिग्रीसम्म पुग्ने तराईको जनजीवनमा यस्ता उपकरण अपरिहार्य हुनथालेका छन्।

जनजीवनमा जरा गाड्दै
पेयपदार्थ उत्पादक कम्पनीहरू व्यापार बढाउन जाडोयाम सकिन नपाउँदै मनै लोभ्याउने योजना लिएर बजारमा छाउँछन्। सानोतिनो जमघटमा अतिथिहरूको स्वागत गर्दा होस् या तिर्खा मेट्न, फ्रिजमा राखिएका विभिन्न ब्राण्डका पेयपदार्थ र जूसहरू शहरिया जीवनशैलीमा यिनले मज्जैले जरा गाडेका छन्। कोक, पेप्सी जस्ता अन्तर्राष्ट्रिय ब्राण्ड र तिनका उत्पादनलाई युवा पुस्ताले फेशन र दिनचर्यामा छुटाउनै नहुने वस्तुका रूपमा लिन थालेको छ। गर्मीबाट राहत पाउन र कामको थकान मेट्न पनि यस्ता पेयपदार्थ नभई नहुने मनोभावना पाल्ने जमात बढ्दो छ।

चिसो भनेकै कोकाकोला भन्दै बजारमा छाएको कोकले उपभोक्ताका लागि जाडोयाम सकिनासाथ दैनिक रु.१ लाख नगद पुरस्कारको योजना ल्यायो। कोकसँगै स्प्राइट र फेण्टा उत्पादक बोटलर्स नेपालले स्थानीय हल्का पेयबजारको ठूलो हिस्सा 'गटेको छ। नेपाली बजारको ५० प्रतिशत हिस्सा 'गटेको कोकजस्तै पेप्सी समूहको उपभोक्ता तान्ने योजना पनि कम छैन। दिल माग्छ मोर भन्दै युवाहरूको ध्यान खिच्न सफल पेप्सीसँगै यसका सह-उत्पादनहरू माउण्टेन डिउ, मिरिण्डा, सेभेन अप, एभरेष्ट सोडा पनि बजारमा छन्। डरभन्दा अघि जित छ भन्दै निडरहरूको पेयपदार्थका रूपमा आफूलाई चिनाउने गरेको माउण्टेन डिउले उपभोक्तालाई साहसिलो खेल र्‍याफ्िटङको आनन्द दिने योजना ल्याएको छ। पेप्सी उत्पादक पेप्सी को नेपाल (वरुण वेभरेज)का प्रमुख कार्यकारी अधिकृत सुरञ्जन डे माउण्टेन डिउ पिएर पुरस्कृत २०० ग्राहकलाई त्रिशूलीमा र्‍याफ्िटङमा लैजान लागिएको बताउँछन्। पेप्सी कोले भर्खरै बजारमा ल्याएको पेट बोतल स्लाइस निक्कै रुचाइएको मानिन्छ। आँपको राजा मानिने अल्फान्सोको स्वाद पाइने स्लाइससँगै डाइट पेप्सीका क्यानहरू समेत ल्याएको सुरञ्जन बताउँछन्। पेयपदार्थको बजारमा पेप्सीकोका उत्पादनले ४० प्रतिशत हिस्सा 'गटेको उनको दाबी छ।

गर्मीमा शीतलता थप्ने र प्यास मेटाउने भएकाले कोक, पेप्सी समूहका आधा दर्जन पेयपदार्थसँगै रियो, फ्रुटी, अपी, रियल जस्ता जूसहरूको व्यापार पनि बढ्दो छ। चौधरी ग्रुपको रियो ब्राण्डका जूसहरूका ब्राण्ड म्यानेजर मधु बस्याल केही वर्षयता जाडोमा पनि जूसको व्यापार नघटेको बताउँछन्। ज्यादा चल्ने आँपको जुसमा आफूहरूको रियो ब्राण्डले बजारको ५० प्रतिशत हिस्सा 'गटेको दाबी गर्दै बस्याल भन्छन्, “वाइवाइ जहाँ पुग्छ रियोलाई पनि त्यहाँसम्म पुर्‍याउने योजना छ।” रियोका जूसहरू पाइनापल, लिच्ची र मिक्स फुडमा समेत उपलब्ध छन्।

विदेशी ब्राण्ड र ठूला उद्योगहरूद्वारा उत्पादित जूसको भीडमा घरेलु उत्पादनका जूस र पेयपदार्थहरू समेत देखिन्छन्। समुदायमै बनेर ब्राण्डका रूपमा स्थापित बेलबाट बनेको मार्मेलोस जूस अहिले गाउँ, शहर, बजारका घरदेखि ठूला रेस्टुरेण्ट, होटलसम्म पुगेको छ। यो जूस बजारमा ल्याउने अल्टरनेटिभ हर्वल प्रडक्ट प्रालिका महाप्रबन्धक गोविन्द घिमिरे उत्पादन हुन थालेको सात वर्ष नबित्दै वार्षिक ८० हजार बोतल खपत भएको बताउँछन्। मार्मेलोस एक भाग बराबर चार भाग पानी थपेर जूस बनाउन सकिने भएकाले पार्टी र भोजमा बढी खपत भएको उनको भनाइ छ।

गर्मीसँगै दूध, दही, पनिर, चीज, आइसक्रिमको व्यापार पनि ह्वात्तै बढेको छ। भोजभतेर तथा वैवाहिक कार्यक्रममा अन्य पेयपदार्थ र परिकारसँगै आइसक्रिमको चलन उत्तिकै बढे पनि मागअनुसार पुर्‍याउन नसकिएको नेपाल दुग्ध विकास संस्थान, योजना तथा जनशक्ति विभागका प्रबन्धक सियारामप्रसाद सिंह बताउँछन्। २००७ सालमा दुग्धशालाको नामले उत्पादन शुरु गरेको सो उद्योगका सबै दुग्ध पदार्थको माग बर्सेनि १५-२० प्रतिशत बढ्दो छ।

१५ वर्षदेखि एनडीज ब्राण्डमा दैनिक २० थरीका आइसक्रिम १२०० लिटर बिक्री गर्दै आएको नेपाल डेरीका निर्देशक अरनिको राजभण्डारी हाल देशभर २०० डिलरमार्फत व्यापार गरिरहेको बताउँछन्। भन्छन्, “बच्चादेखि पाकाहरूसम्मको प्रिय बनेको नेपाली आइसक्रिमले विदेशीहरूलाई समेत लोभ्याएको छ।” उनका भनाइमा फागुन अन्तिमदेखि दशैंसम्म आइसक्रिमको व्यापार चल्छ। भेनिला, स्टवेरी, चकलेट, वटर स्कच, पाइनापल, केशर, अलैँची, पास्तालगायतका दर्जनौँ स्वादमा उपलब्ध आइसक्रिम खुद्रा मूल्य रु.२५ देखि रु.१९०० सम्मको कोन, कप र प्लाष्टिकका जारमा उपलब्ध छन्।

विश्वका १५० देशमा आफ्नो उत्पादन पुर्‍याउन सफल वास्किन रविन्स आइसक्रिमका नेपाली बिक्रेता रवि राजकर्णिकार ३१ वटा स्वादमा उपलब्ध हुने यो आइसक्रिमको प्रत्येक दिन फरक स्वाद चाख्न पाइने भएकाले नियमित ग्राहक धेरै रहेको बताउँछन्। दश वर्षदेखि यो ब्राण्ड बेचिरहेका कर्णिकार भन्छन्, “शहरिया जीवनमा त आइसक्रिम अपरिहार्य नै बनेको छ।”

बजार जमाउँदै फ्रिज
पेयपदार्थसँगै फलफूल र अन्य परिकारहरू हप्तौँसम्म सुरक्षित र ताजा राख्न सकिने फ्रिजको प्रयोग पछिल्लो दशकमा शहरी क्षेत्रसँगै नगरोन्मुख क्षेत्रमा समेत बढ्दो छ। हिम इलेक्ट्रोनिक्सका महाप्रबन्धक प्रभाकर एस. थापा स्वस्थ खानाप्रति बढेको सचेतनताले विद्युत् पुगेका पर्यटकीय क्षेत्र नाम्चे, जोमसोम, लुक्लाजस्ता चिसो ठाउँमा समेत फ्रिजको माग बढेको बताउँछन्। उनी भन्छन्, “बदलिँदो जीवनशैली र सामाजिक संरचनाले पनि फ्रिजलाई आधारभूत आवश्यकता बनाउन थालेको छ।”

व्यस्त शहरी जीवनमा बढेको एकल र सानो परिवारका कारण पनि फ्रिज अब अत्यावश्यक वस्तुमा परिणत हुनथालेको छ। सानो-ठूलो परिवार होस् वा डेरामा बस्ने विद्यार्थी या खुद्रापसलदेखि ठूला रेस्टुरेण्ट र होटल चलाउने व्यवसायी, सबैको जीवनलाई सहज बनाएको छ फ्रिजले। बित्रे्कताहरूका अनुसार, अहिले परिवारको पहिलो प्राथमिकतामा टिभी, दोस्रोमा फ्रिज र तेस्रो वाशिङ मेशिन वा माइक्रोवेभ पर्दछ। नेपाली बजारमा चार वर्षअघिसम्म वार्षिक २५ हजार खपत हुने फ्रिजको बिक्री अहिले ५० हजार नाघेको छ। व्यवसायीहरूका अनुसार फ्रिजको ३० प्रतिशत बजार काठमाडौँ र ७० प्रतिशत काठमाडौँ बाहिर छ। बर्षेनी करिब २० प्रतिशतले बढ्दो फ्रिजको कारोबार वार्षिक झ्ण्डै रु.८० करोडको छ। रु.१० हजारदेखि डेढ लाख मूल्यसम्मका फ्रिज नेपाली बजारमा पाइन्छन्।

अहिले बजारमा उपलब्ध एलजी, सामसुङ, वर्लपुल, हिटाची, गोदरेज, तोसिबा, हायर, यासुडा, स्यान्यो लगायत करिब दुई दर्जन फ्रिजका ब्राण्डमध्ये धेरैले बजार विस्तारका लागि उपहार योजना ल्याएका छन्। नेपाली ब्राण्डको सीजी फ्रिज पनि भर्खरै बजारमा आएको छ। कोरियन, जापानी, जर्मन, भारतीय, चिनियालगायतका प्रविधिबाट निर्मित यी फ्रिजहरू ७०-८० लिटरदेखि बेकरी, आइसक्रिम, औषधिलाई सुरक्षित राख्न १५०० लिटरसम्मका छन्। आकर्षक रङ र डिजाइनका फ्रिजमा एउटा ढोका, दुईवटा ढोका र दुवैतिरबाट तान्न मिल्ने पनि छन्।

एलजीले प्रिमियम ग्राहक लक्षित आकर्षक डिजाइन, भोल्टेज स्टेब्लाइजर नचाहिने, बिजुली बचत गर्ने, खानाको गुणस्तरमा ह्रास आउन नदिने लगायत विशेष प्रविधिका ५० भन्दा बढी मोडलका फ्रिजहरू बजारमा ल्याएको छ। एलजीको नेपालस्थित आधिकारिक बिक्रेता गोल्डस्टार नेपालका वरिष्ठ महाप्रबन्धक अशोक खन्नाका अनुसार, अन्तर्राष्ट्रिय ब्राण्ड, गुणस्तर, राम्रो बनावटसँगै चारैतिरबाट बराबर हावा दिने डोर कुलिङ सिस्टमका कारण पनि उपभोक्ताले रुचाएका छन्। कुल बजारको ३२ प्रतिशत हिस्सा एलजीकै रहेको खन्नाको दाबी छ। एलजीको बिक्रेता चौधरी ग्रुपको आफ्नै उत्पादन सीजीका ब्राण्ड म्यानेजर रमेश सापकोटा भन्छन्, “यसले पनि सीजी टिभीले जस्तै बजार पाउनेमा विश्वस्त छौं।” उनका अनुसार देशभर ३०० डिलर र ३२ सर्भिस सेण्टरमार्फत एलजी र सीजीको बिक्री तथा मर्मत हँुदै आएको छ।

फ्रिजतर्फ सामसुङ ब्राण्ड पनि चल्तीको हो। देशभर १६० डिलरमार्फत बिक्री हुँदै आएको सामसुङको नेपालस्थित आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्सका बजार प्रबन्धक विनय त्रिपाठी आफ्नो ब्राण्डले ४० प्रतिशत हिस्सा 'गटेको बताउँछन्। उनी भन्छन्, “मूल्य, उच्च गुणस्तरका सामान तथा सहज मर्मत र राम्रो सेवा यसको कारण हो।” महाप्रबन्धक प्रभाकर थापा पनि उच्चस्तरीय प्रविधिले सामसुङलाई अब्बल बनाएको बताउँछन्। उनका भनाइमा विद्युत् नभएको अवस्थामा तातोपन सोस्ने फेयरचेञ्ज लिक्विडको कुल प्याक, सबै ठाउँमा बराबरी चिसो पुग्ने डाइमण्ड कट लाइनर, बाहिरी वातावरणलाई भित्रीभन्दा अलग्गै राख्ने इन्सुलेसन प्रविधि तथा न्यून विद्युत् खपत हुने फाइबस्टार रेटिङसँगै स्टेपलाइजर विना चल्ने क्षमताले उपभोक्ताले बढी फाइदा पाउनेछन्।

नेपालका लागि स्यान्यो र यासुडा रेफ्रिजेरेटरको आधिकारिक बिक्रेता त्रिवेणी नेपालका महाप्रबन्धक अनिल गोयन्का उपभोक्ताले मूल्यसँगै गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउँछन्। देशभरका १७५ डिलरमार्फत एक वर्षअघि स्यान्यो र यासुडा फ्रिजको कारोबार थालेका गोयन्काका अनुसार यासुडामा जमेको बरफ १५ घण्टासम्म चिसै रहन्छ।

विगत एक दशकयता हायर र गोदरेज ब्राण्डका फ्रिज ४५ डिलरमार्फत बिक्री गर्दै आएको इसिता टे्रडिङका निर्देशक अमन अग्रवाल सीमित बजारमा धेरै ब्राण्डले प्रतिस्पर्धा बढाएको बताउँछन्। कुल बजारको १५ प्रतिशत हिस्सा हायरले 'गटेको बताउने अग्रवाल बजारको १३ प्रतिशत हिस्सा गोदरेजको रहेको र सिङ्गल डोरमा समेत विद्युत् कम खपत हुने फाइबस्टार रेटिङ भएकाले बर्सेनि बिक्रीदर बढेको बताउँछन्।

नेपालमा १६ वर्षदेखि छुट्टै बजार बनाउँदै आएको भारत र ब्राजिलमा निर्मित अमेरिकी ब्राण्ड वर्लपुल रेफ्रिजेरेटरको क्षमता हेरी रु.१४ हजारदेखि रु.६५ हजारसम्म पर्छ। यी फ्रिजहरूमा लोडशेडिङमा लामो समयसम्म सामान्य कुलिङ भइरहने, अटो सिक्स्थ सेन्सजस्ता अत्याधुनिक सुविधा रहेको बिक्रेताको दाबी छ। अष्ट्रेलिया, युरोप र अमेरिकाका ६९ देशमा बिक्री हुँदै आएको वर्लपुलको नेपाल वितरक भने नविन डिष्टिब्युटर्स रहेको छ। वर्लपुलका बजार प्रवर्तक थम्सन नेपालका महाप्रबन्धक जयदेव चक्रवर्ती विश्व बजारको २२ प्रतिशत हिस्सा 'गटेको र नेपालमा समेत निक्कै रुचाइएको बताउँछन्।

त्यसैगरी, गर्मीमा शीतलता दिने एयरकण्डिसनर (एसी) को शहरिया जीवनशैलीमा प्रवेश तीब्र छ। सामसुङ, अक्स, पानासोनिक, यासुडा, ग्रे, म्याक्यु, हिलटेक, योर्क लगायतका रु.२५ हजारदेखि रु.२ लाखसम्म पर्ने एकदर्जन ब्राण्डका एसीहरू नेपाली बजारमा उपलब्ध छन्। सामसुङ, अक्स ब्राण्डका एसी बेच्दै आएको हिम इलेक्ट्रोनिक्सका महाप्रबन्धक थापा लोडशेडिङका कारण यसको व्यापार प्रभावित बनेको बताउँछन्। त्रिवेणी नेपालले पनि विगत १५ वर्षदेखि पानासोनिक र यासुडा ब्राण्डका ०.७५ टनदेखि ५ टन सम्मको एसी बेच्दै आएको छ। एसीको व्यापार भने नेपालमा विगत पाँच वर्षदेखि बढेको त्रिवेणीका अनिल गोयन्का बताउँछन्। उनी भन्छन्, “मैले प्रयोग गरेको पानासोनिकको एसी १८ वर्षदेखि निरन्तर चलिरहेको छ, बिग्रेमा मर्मत पनि सस्तोमा हुन्छ।” चौधरी ग्रुपले समेत सीजी ब्राण्डको एसी विगत एक वर्षदेखि बेच्दै आएको छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क