हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रिपोर्ट
क्रूर बन्दैछ समाज
दशक लामो मा'वादी हिंसात्मक द्वन्द्व र पछिल्लो समयमा बढेको हत्या, हिंसा र अपहरणबाट त्रस्त मध्य तथा पूर्वी तराईको समाज हल्लैको भरमा 'बच्चा चोर'को आरोपमा मान्छे जलाउनेसम्मको विक्षिप्त मनोभावनामा पुगेको छ। इटहरीबाट सोमनाथ बास्तोला को रिपोर्ट
सोमनाथ बास्तोला

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

२ जेठ २०६६ मा बच्चा अपहरणको आरोपमा स्थानीयले ढुंगा र ईटाले किच्याएर मारिएकी एक निर्दोष महिला।

नयाँ मान्छे देख्नेवित्तिकै कताबाट आउनु भो, कता जाँदै हुनुहुन्छ, के थरी हो, के गर्नुहुन्छ, यताबाट जानुस्, उताबाट नजानुस् लगायतका प्रश्न र सुझ्ावका पेटारो स्वतःस्फूर्त फुकाउँदै सहृदयता देखाउने नेपालीहरू पछिल्लो समयमा घरगाउँमा देखिने नौला व्यक्तिहरूप्रति क्रूरता प्रदर्शन गर्न थालेका छन्। कोही रोगी, मानसिक सन्तुलन गुमाएका व्यक्ति, बेवारिसेहरूप्रति कठै भन्दै देखाइने दयाभाव हराएको छ। कोही अकारण पिटिँदा जोगाउने साहसी मुटुहरू खुम्चिएको प्रतीत हुन्छ।

१०वर्षे मा'वादी हिंसाले आशङ्कामा बदलिदिएको आगन्तुकप्रति हिजो उत्सुकतापूर्ण रहने गरेको नेपाली नजरलाई आज विक्षिप्त बनाइदिएको छ- मध्य तथा पूर्वी तराईका थुप्रै जिल्लामा पछिल्ला दिनमा बच्चा अपहरणको हल्लैको भरमा गाउँघरमा पुगेका नौला मानिसहरू जलाइएका घटनाहरूले। एक होइन, दुई होइन, पछिल्लो दुई महिनाको अवधिमा १५ जनालाई हल्लैको भरमा कुटेर, जलाएर हत्या गरिएको छ।

बच्चा चोर भनेर हल्ला र शङ्काकै भरमा धनुषामा नौ, महोत्तरीमा दुई, सप्तरीमा तीन र सुनसरीमा एक जनाको हत्या भइसकेको छ। प्रहरीका अनुसार यीमध्ये १३ जना भारतीय हुन्। कुटाइ खाने र मारिनेमा पनि बङ्गाल, मद्रास र बिहारका धेरै छन्। धनुषाबाट शुरु भएको बच्चा अपहरणको हल्ला र त्यसपछिका नृशंस घटना सिरहा, सप्तरी, सुनसरी, मोरङहुँदै झ्ापासम्म पुगेको छ। यो हल्लाकै कारण पूर्वी नेपालका तराई र केही पहाडी जिल्लामा मगन्ते, मानसिक सन्तुलन ठीक नभएका र गरीबहरूलाई बाँच्न गाह्रो परेको छ।

मनोविज्ञ डा. मिनाक्षी नेपाल हल्लाकै भरमा मान्छेलाई जिउँदै जलाएर मार्न समेत पछि नपर्ने नेपाली समाज मानसिक रूपमा रोगी हुँदै गएको बताउँछिन्। उनी भन्छिन्, “विभिन्न कालखण्डका द्वन्द्व र हत्या-हिंसाले नेपाली समाजको मनोविज्ञानमा पारेको गम्भीर आघातको परिणाम हो, अपहरणको हल्लापछि तराईमा भएका नृशंस हत्याका घटना।”

क्रूरताको शृङ्खला
बच्चा अपहरणको आरोपमा स्थानीयको आक्रमणबाट बचाउन जिल्ला प्रहरी कार्यालय सुनसरीको संरक्षणमा रहेका निर्दोषहरु।
बच्चा अपहरणको आतङ्कसँगै पूर्वी तराईमा जिउँदो मान्छे जलाउनेदेखि ढुङ्गा र इँटाले किचेर मार्नेसम्मका क्रूर घटना भएका छन्। २ जेठमा सप्तरीको जोगनिया गाविस- ९ मा गाई चराइरहेका बच्चालाई छोएकै कारण अपहरणकारी भन्दै तराईमूलका एक किशोर र एक वृद्धलाई स्थानीयवासीले निर्घात पिट्दै जलाएर मारे।

२ जेठमै सुनसरीको भादगाउँ सिनुवारी गाविस-५ मा तराईवासीजस्तो देखिने अन्दाजी ३५ वर्षीया महिलालाई स्थानीयवासीले बच्चा अपहरण गर्न आएकी भन्दै आक्रमण गरे। करिब ६ सयको समूहले ती महिलालाई ढुङ्गा र इँटाले हिर्काएर मारे। घटनाका प्रत्यक्षदर्शी डिल्ली कार्की भन्छन्, “नेपालीको मनमा दया र माया भन्ने कुरा हराएछ अब!”

पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार पूर्वाञ्चलका तराई र केही पहाडी जिल्लामा बच्चा अपहरणको आरोपमा चार जनाको हत्या भएको छ भने दुईदर्जन घाइते भएका छन्। अपहरणको आरोपमा निर्दोष र निमुखा मारिने क्रम बढेपछि प्रहरीले ७५ जना निर्दोषलाई सम्भाव्य खतराबाट जोगाएर सुरक्षा दिइरहेको पूर्वाञ्चलका प्रहरी प्रमुख शारदाभक्त रञ्जितले बताए। उनी भन्छन्, “सकेसम्म प्रहरी परिचालन गरेर घटना हुन नदिने र आवश्यक परे निर्दोषलाई सुरक्षित ठाउँमा राख्ने काम गरिरहेका छौं।”

सिरहाका सञ्चारकर्मी विजय यादवको भनाइमा वैशाखको पहिलो साता धनुषाको भरतपुरमा बच्चा चोर भन्दै एक महिलालाई जिउँदै जलाउनुअघि सिरहा प्रशासनले मानव तस्करहरू सक्रिय रहेको भन्दै सर्वसाधारणको नाउँमा गरेको अपीलले परिस्थितिलाई उत्तेजित बनाउने काम गर्‍यो। पूर्वी पहाडका खोटाङ, उदयपुर, धनकुटा र संखुवासभामा समेत यो हल्ला पुगेपछि केही निर्दोषमाथि कुटपिट गर्ने क्रम शुरु भएको प्रहरी नायव महानिरीक्षक रञ्जित बताउँछन्। शुरुका दिनमा घटनाले उग्ररुप लिनुमा प्रहरीको समेत कमजोरी देखिन्छ। प्रत्यक्षदर्शीका अनुसार सप्तरीको जोगनियामा निर्दोषलाई आक्रोशित भीडले जिउँदै जलाउँदा केही प्रहरी छेउमै थिए। प्रना महानिरीक्षक रञ्जित आफ्नो नियति यसरी पोख्छन्, “दुई हजारको भीडमा १०-१२ जना प्रहरीले के गर्न सक्छन् र?”

बच्चा अपहरण गर्न ठूलो सङ्ख्यामा भारतीयहरू नेपाल पसेको कुरा साँचो नभएको प्रहरीले स्पष्ट पार्दा समेत घटना पूर्णतः रोकिएको छैन। अहिलेसम्म बच्चा हराएको उजुरी प्रहरीमा नपरेको प्रनामनि रञ्जितले बताए।

बच्चा बोकेर हिँडेको, बच्चासँग खेलेको/बोलेको वा बच्चालाई केही दिएको देख्नेबित्तिकै आक्रोशित समूहले स्पष्टीकरण दिने मौका समेत नदिई निर्घात पिट्नु र क्रूर ढंगले हत्यासम्म गर्नुले नेपालीको बिग्रँदो मानसिक अवस्थाको चित्रण गर्दछ।
डा. मिनाक्षी नेपाल, मनोविज्ञ
यद्यपि प्रहरीले बढाएको सक्रियता र कतिपय घटनामा संलग्न दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएपछि दैनिक जस्तै हुन थालेको यस्तो घटनामा अहिले कमी आएको छ। सप्तरीको घटनामा संलग्न पोर्ताहा-१ का उपेन्द्र सरदारसहित चार जना र जोगनिया घटनामा संलग्न जोगनिया- ९ का देवनारायण कामत समेत चार जनालाई पक्राउ गरी कर्तव्यज्यान मुद्दा तथा पीडित जोगाएपछि घटनामा कमी आएको छ। पहिलादेखि नै लगातार माइकिङ र सूचना दिएको भए धेरै निर्दोषलाई जोगाउन सकिने बताउँछन् सुनसरीका अधिकारकर्मी राजेन्द्र पोखरेल।

युद्धको असर
बच्चा अपहरणको हल्लासँगै तराईका हिंसाजन्य घटनालाई मनोविज्ञ तथा बुद्धिजीवीहरू अप्रत्यासित मात्र भन्न तयार छैनन्। मनोविज्ञ डा. मिनाक्षी नेपाल हल्लाकै कारण यस्तो घटना हुनुलाई नेपालीहरूको हिंसा र विध्वंसमुखी मनोविज्ञानतर्फ उन्मुख भएको सङ्केत मान्छिन्। मा'वादीको १० वर्षे हिंसात्मक युद्ध, त्यसपछि हिंसाका शृङ्खलाले मानसिक रूपमा पारेको आघात तथा त्रास, शङ्का र आतङ्कले नेपालीहरूको मनोवैज्ञानिक अवस्था चिन्ताजनक रूपमा विकृत हुँदै गएको उनको भनाइ छ। उनकै शब्दमा “द्वन्द्व, युद्ध र हिंसाका शृङ्खलाले नेपालीलाई मानसिक रोगी बनाएको छ, जसका कारण हल्लाकै भरमा आफू, आफन्त र समुदायको सुरक्षाको नाममा प्रतिकार गर्न सर्वसाधारण तयार हुन्छन्। र विद्यमान कानूनलाई समेत ख्याल नगरी जस्तोसुकै अपराध गर्न जोखिम मोल्छन्।”

लामो समय त्रासपूर्ण जीवन बिताएका तथा बीभत्स दृश्य देखेकोले मनोविज्ञानमा असर परेको मिनाक्षीको भनाइ छ। उनी भन्छिन्, “आँखा अगाडि आफन्तको घाँटी रेटिएको, गोली हानेको, झ्ुण्ड्याइएको, ढुङ्गाले किचेर दर्दनाक मारेको घटना देखेका अधिकांश नेपाली मानसिक रोगी छन्। यो त्रास नहटेसम्म हल्लाको पछि लागेर जस्तोसुकै ठूलो अपराध गर्ने खतरा हुन्छ।”

युद्धबाट भौतिक संरचनामा परेको क्षतिको आकलन गरिए पनि मनोविज्ञानमा पारेको असर कम गर्नेतर्फ ध्यान नदिँदा तराईको हिंसाले सर्वसाधारण प्रताडित बनेका छन्। जसका कारण बालबालिका जोगाउने नाममा उनीहरू जस्तोसुकै अपराध गर्न तयार भइरहेका छन्। बच्चा बोकेर हिँडेको, बच्चासँग खेलेको, बोलेको वा बच्चालाई केही दिएको देख्नेबित्तिकै आक्रोशित समूहले सफाइदिने मौका नदिई पिट्नु र निर्दोषलाई क्रूर ढङ्गले हत्या गर्नु तराईको सामान्य घटना हुन थाल्नु चिन्ताजनक छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क