हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
रिपोर्ट
अबको राजनीति
छलकपटद्वारा सत्ता 'कब्जा' गर्ने रणनीति उदाङ्गिएपछि आफ्नो राजनीतिक कार्यनीतिले धक्का खानु परे पनि दीर्घकालीन रूपमा सत्ता वहिर्गमनको फाइदा उठाउन अध्यक्ष पुष्पकमल दाहाल र एनेकपा मा'वादीले पर्याप्त मन्थन एवं गृहकार्य गर्न जरुरी छ। सीके लाल को विश्लेषण
सीके लाल

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

नेपाली राजनीतिमा चमत्कार उहिलेदेखि नै हुँदै आएको हो। जङ्गबहादुर चामत्कारिक रूपमा कुँवर राणाजी भए; कास्की र लमजुङका महाराज कहलिए। चमत्कार नै मान्नुपर्छ डा. के.आई. सिंहको उदय र अस्त एवं सूर्यबहादुर थापाको सदावहार सान्दर्भिकता। त्यसैले मा'वादी अध्यक्ष पुष्पकमल दाहालको बालुवाटारबाट वहिर्गमन वा माधवकुमार नेपालको अप्रत्यासित सत्तारोहणमा अचम्म मान्नुपर्ने कुनै कारण छैन। दाहाल नेपालको सबभन्दा ठूलो राजनीतिक दलका सर्वेसर्वा हुन्; नेपाल एमालेका न अध्यक्ष हुन्, न त संसदीय दलका नेता। विगत चुनावको जित-हारलाई गौण मान्ने हो भने पनि संविधानसभाको तेस्रो दलका वरिष्ठ नेता सरकार प्रमुख हुन पुग्नु स्वाभाविक घटना पक्कै पनि होइन।

मा'वादीहरूले नेपाली राजनीतिको ताजा अस्वाभाविकतालाई सही रूपमा ठम्याउन सकेनन् भने तिनको हालत सत्र सालपछिको नेपाली काङ्ग्रेसको जस्तो हुन धेरै समय लाग्ने छैन। हो, सत्र सालको तुलनामा नेपालीहरूको जागरुकता बेपत्ता बढेको साँचो हो। तर त्यसै अनुपातमा परम्परागत शक्ति संरचनाको बाह्य सम्पर्क, आन्तरिक परिचालन क्षमता एवं प्रचार संयन्त्रको पनि विस्तार भएको छ। तुलनात्मक रूपमा मा'वादीहरूको अर्न्तराष्ट्रिय भाइचारा संस्था रिम एवं कम्पोसा छिन्नभिन्न छन्। देशभित्र मा'वादीहरूलाई झ्ण्डै झ्ण्डै एक्ल्याइएको छ। टिभीको त के कुरा, मा'वादीहरूसँग आफ्नो भन्ने एउटा राष्ट्रिय अखबार समेत छैन, तिनको मुखपत्र जनदिशा बाहेक। यस्तो विषम परिस्थितिमा अध्यक्ष दाहालले आफ्नो दललाई आवेशले भन्दा सतर्कताका साथ सञ्चालन गर्नुपर्नेछ। सशस्त्र विद्रोहताका मा'वादीका घोर विरोधी रहेकाहरू समेत अब तिनको स्खलन हेर्न चाहन्नन्, किनभने, शान्तिपूर्ण राजनीतिमा आएपछि हिजोका विद्रोहीहरू भोलिका सम्भाव्य परिवर्तनकारी शक्तिका रूपमा स्थापित भएका छन्।

हारेका खेलाडी
सत्ता राजनीतिमा कहिलेकाहीँ जुवाडे मानसिकता दर्शाउनु अपरिहार्य बन्न पुग्दछ। धर्मराज युधिष्ठिरले कौरव दरबारमा कौडामाथि आफ्नो राजपाटका साथै पत्नी समेत दाउमा लगाउन पुगेको अवस्था उनको मूर्खताका कारण उब्जिएको होइन- जुवा नखेले पनि सबथोक गुमाउनुपर्ने बाध्यात्मक परिस्थितिले गर्दा सत्यवादी पाण्डव श्रेष्ठलाई जुवाडी भएर भाग्य अजमाउनु परेको हो। अध्यक्ष दाहालको प्रधानमन्त्री पदबाट राजिनामा त्यस्तै एउटा जोखिमपूर्ण खेल थियो, त्यसमा उनले मात खानु पर्‍यो। तर एउटा बाजी पल्टिँदैमा सिद्धहस्त खेलाडीहरू विचलित हुँदैनन्। त्यसकारण दाहालको तिलमिलाहटले उनको व्यक्तिगत छविका साथै मा'वादी दलको पनि अहित नै हुन्छ। संयम उनको प्राथमिक पहिचान हुनु पर्दछ, आफ्नो दललाई जीवन्त राख्नका लागि।

प्रधानमन्त्री नेपालको सम्बोधन राष्ट्रको नाममा गरिएको भए तापनि मूलतः मा'वादीहरूप्रति लक्षित थियो। शाब्दिक रूपमा सहमतिको आह्वान गरिए पनि राष्ट्रपतिको प्रशंसा तथा नेपाली सेनाको प्रतिरक्षाजस्ता विवादास्पद कुराहरूलाई प्रमुख रूपले उठाइएको अभि-भाषण मा'वादीविरुद्ध, राजनीतिक सङ्घर्षको शंखघोष हो भन्दा फरक पर्दैन। त्यसैले दाहाल एवं उनका सहयोगीहरूका लागि आगामी दिनहरू सजिला हुने छैनन्। तर नीतिगत मुद्दा उठाएर सहजताको साथ आफ्ना विरोधीहरूलाई सरकार सुम्पेर आफ्नो राजनीतिक कद ह्वात्तै बढाएका दाहालकालागी विपरीत परिस्थितिमा समेत त्यसलाई कायम राख्नु प्रमुख चुनौती हुनेछ।

हिंसाको त के कुरा, मा'वादीहरूले अब जोर-जबर्जस्ती मात्र गर्न खोजे पनि तिनको खैरियत छैन। आतङ्कवाद विरुद्ध शून्य संयम जिरो टलरेन्सको नीति अङ्गीकार गरेको भारतीय संस्थापनका लागि मा'वादीहरूको उपयोगिता अब समाप्त भएको छ। तर शान्तिपूर्ण आन्दोलनहरूमार्फत तिनले आफ्नो आवश्यकता भने अझ्ै कायम रहेको देखाउन सक्दछन्। लोकप्रिय राजनीतिक शक्तिलाई निरन्तर अवहेलना गर्न सक्ने सामर्थ्य संसारको कुनै साम्राज्यसँग हुँदैन।

बाह्य परिस्थिति प्रतिकूल भए पनि नेपालको आन्तरिक राजनीति मा'वादीहरूको मुठ्ठीबाट फुत्किसकेको भने छैन। नेपाली काङ्ग्रेस शहरिया सम्भ्रान्तहरूको वादविवादस्थल (डिवेटिङ क्लब) मा सीमित हुन पुगेको छ। एमाले अझ्ै पनि निम्न मध्यम वर्गका पहाडिया बाहुनहरूको आक्रोश पोख्ने र आकाङ्क्षा परिपूर्ति गर्ने सार्वजनिक उपक्रम मात्र हो; सिद्धान्त, आस्था, नीति एवं नेतृत्वका आधारमा चल्ने र चलाइने राजनीतिक दल होइन। त्यसका अतिरिक्त समय समेत मा'वादीहरूको पक्षमा छ। नेकाका सभासद्हरूको औसत उमेर ५० भन्दा बढी छ। व्यवहारमा जति नै केटाकेटीपना देखाए पनि एमालेका हर्ताकर्ताहरूको औसत उमेर पनि ४५ वर्षभन्दा माथि नै छ। तर मा'वादीका सभासद्हरू अझ्ै ४० मुनिका युवाहरू छन्। सही नेतृत्व पाउन सके भने नेपालको भविष्य तिनैले डोर्‍याउने निश्चित छ। तर त्यसका लागि अध्यक्ष दाहालले अरूलाई हरुवा भन्ने पराजीत मनस्थितिबाट उम्किन सक्नुपर्दछ। राजनीतिमा सफलता असफलताको क्रम चलिरहन्छ, तर हारजित भने कहिल्यै हुँदैन। त्यसैले दाहाल स्वयंले पनि तत्काल मात खाएका भए पनि उनी राष्ट्रपति रामवरण यादवसँग हारेका भने होइनन्।

मा'वादीहरूका लागि राजनीतिको सबभन्दा उर्वरभूमि अब मधेश बन्न सक्दछ। कुनै बेला तराई-मधेशमा एकछत्र राज गर्ने नेका अझ्ै पनि बहिष्कृत अवस्थामा छ। पहाडे अग्राधिकार पार्टीको छवि भएको एमालेसँग सहकार्य गरेपछि मधेशी जनअधिकार फोरमको स्वीकार्यता सुस्तरी कम हुँदै जानेछ। तमलोपा नेतृत्वले अद्यापि सामान्य जनतासँग तादाम्य बढाउने प्रक्रियाको सुरुआत समेत गर्न सकेको छैन। मातृका यादवको समूह गोरेटो हो, मूलबाटो होइन। पूर्व पञ्चहरूका साना-मसिना दलहरूले राजनीतिक मुद्दाका आधारमा जनलहर सिर्जना गर्न सक्दैनन्। कपिलवस्तु, सप्तरी र महोत्तरी जस्ता राजनीतिको चरम अपराधीकरण भएका जिल्लाहरूमा समेत मा'वादीहरू अन्य राजनीतिक दलका तुलनामा अपेक्षाकृत सहज अवस्थामा छन्। नेपाली अर्थ-राजनीतिको मर्मस्थल मानिँदै आएको मधेशमा मा'वादीहरूले चामत्कारिक प्रभाव विस्तार गर्न सक्दछन्। र, सुरक्षा संयन्त्रमाथि नागरिक सर्वोच्चताको मुद्दाले सबभन्दा बढी समर्थन मधेशमै पाउने निश्चित छ।

छलकपटद्वारा सत्ता कब्जा गर्ने मा'वादी रणनीति उदाङ्गिएपछि दाहालको राजनीतिक कार्यनीतिले धक्का खानु परे पनि दीर्घकालीन रूपमा सत्ता वहिर्गमनको फाइदा उठाउन नेपालको सबभन्दा ठूलो दलले पर्याप्त मन्थन एवं गृहकार्य गर्न जरुरी छ। र, सरकारबाट बाहिरिएपछि दाहाल एवं उनका सहकर्मीहरू वरिपरि झ्ुम्मिएका झ्िँगाहरू स्वतः अन्त सर्ने छन्। दरबारिया वा दक्षिणपन्थी सङ्क्रमणबाट मा'वादी जोगिनेछ। त्यसैले मा'वादीहरूले अत्तालिएर विद्रोही कार्यशैलीतिर फर्किनुपर्ने कुनै कारण छैन। संसद्वादी दलहरूको खेलमा समेत मा'वादीहरू कसैभन्दा कम छैनन्।

खेल जित्ने युक्ति
मा'वादी नेतृत्वको सरकारका बारेमा नेका अध्यक्ष गिरिजाप्रसाद कोइरालाले भविष्यवाणी गरेका थिए, “पाकेको आँप आफैँ र्झ्छ।” रूखमा आँप डम्हाउन थालेपछि पाक्ने प्रतीक्षा कति आतुरताका साथ गरिन्छ भन्ने कुरा मधेशमा पले-बढेका कोइरालालाई थाहा नहुने कुरै भएन। तर स्याउ कुहिएर झ्रेको कसैले पनि चाल पाउँदैनन्। एमाले-नेतृत्वको गठजोड पाकेको आँप बन्ने हो वा कुहिएको स्याउ? अहिले नै अनुमान गर्नु अलिक हतारो हुनेछ। तर विकल्पको परिकल्पना अविश्वासको परिचायक होइन। मा'वादीहरूले आफ्ना लोकतान्त्रिक विश्वसनीयता स्थापित गर्न सकेनन् भने प्रधानमन्त्री नेपालको असफलतापछिको सरकार संयन्त्र गैरराजनीतिक पनि हुनसक्नेछ। स्वभावतः त्यस्तो प्रयोग दक्षिणपन्थी प्रवृत्तिको हुनेछ। मा'वादीहरू आफ्नै अस्तित्वका लागि समेत स्थापित राजनीतिक मूल्य एवं मान्यताहरूलाई अङ्गीकार गर्नुपर्ने बाध्यता छ।

मा'वादको सार- सामाजिक न्यायका लागि आर्थिक र राजनीतिक क्रान्ति- परित्याग नगरे पनि बिरालो सेतो होस् वा कालो, त्यसले मुसा समाते पुग्छ भन्ने गफ चुटेर चीनको साम्यवादी रुपलाई चटक्कै छोड्ने आँट देखाएका देङ सिआ' पिङका पाठहरू नेपालका मा'वादीहरूका लागि पनि उपयोगी ठहरिन सक्छ। सन् सत्तरीको दशकमा आर्थिक रुपान्तरण कार्यक्रम लागू गर्नु अगाडि देङले आफ्ना समर्थकहरूलाई भनेका थिएः (१) सबै कुरा शान्त भएर अवलोकन गर्नु, (२) आफ्नो दृष्टिकोण सुरक्षित राख्नु, (३) घटनाहरूबाट विचलित नहुनु एवं संयमित प्रतिक्रिया व्यक्त गर्नु, (५) सन्तुलित छवि प्रदर्शन गर्ने बानी बसाल्नु, (६) बोली र कर्मबीच सकभर तादाम्त्य राख्नु र, (७) नेतृत्वका लागि हानाथाप कहिल्यै नगर्नु। अध्यक्ष दाहाल महात्मा बुद्ध त के सम्राट अशोकको पदचिन्हमा समेत सजिलै हिँड्न सक्दैनन्। तर देङका सात सूत्रले एकीकृत नेकपा (मा'वादी)लाई शान्तिपूर्ण राजनीतिक शक्तिमा रुपान्तरित हुन पक्कै सघाउनेछ।

शान्ति प्रक्रियामा प्रवेश गरेका राष्ट्रहरू सामान्यतः दुई-तीन वर्षभित्र झ्नै विध्वंसक द्वन्द्वमा फस्छन् भने अन्तर्राष्ट्रिय प्रचलनलाई असत्य सावित गरिदिएका छन्, नेपालका मा'वादीहरुले। हो, सरकार चलाउन पूर्व विद्रोहीहरू अपवाद बाहेक पूर्णतः असक्षम ठहरिए। तर त्यस असफलताको दोष दाहालका सत्ता साझ्ेदार दलहरूले पनि बोक्नुपर्ने हुन्छ। नेपालमा सैनिक प्रधानताको शासनव्यवस्थाको पुनरावृत्ति हुने हो भने नेकाको नेतृत्वपंक्ति रातारात पलायन हुनेछ। एमालेले तत्काल सम्झ्ौताको कार्यनीति अङ्गीकार गर्नेछ। उद्योगी व्यवसायीहरू जयजयकार गर्ने नयाँ नारा उचाल्ने छन्। तर सामान्य नेपाली जनताका लागि पुनः सङ्घर्षमा उत्रिनु बाहेक अरू कुनै विकल्प उपलब्ध हुने छैन। सम्भाव्य त्यस्तो सङ्घर्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्नलाई मात्र भए पनि मा'वादीले आफ्नो अस्तित्व जोगाउँदै शान्तिपूर्ण राजनीतिको बाटो पहिल्याउन जरुरी छ।

संविधान कहिले बन्ने वा कसले बनाउने भन्दा पनि कस्तो बन्ने हो भन्ने प्रश्नमा मा'वादी सतर्क हुन जरुरी छ। र, त्यसपछिको निर्वाचनले प्रतिद्वन्द्वी राजनीतिक दलहरूको सही स्थान निर्धारण गर्नेछ। अध्यक्ष दाहाल अब चमत्कार पछ्याउन छाडेर सङ्गठन विस्तारमा ध्यान पुर्‍याए मात्र मा'वादी-राजनीतिले सही बाटो र उपयुक्त गति लिन सक्नेछ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क