|
|
||||||||
|
रिपोर्ट
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा
ए-लेवलका नेपाली विद्यार्थीहरुले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याएपछि अभिभावक र विद्यार्थीहरूको यसप्रतिको आकर्षण झन् बढ्दो छ। डम्बरकृष्ण श्रेष्ठ को रिपोर्ट
डम्बरकृष्ण श्रेष्ठ
२२ वर्षअघि बूढानीलकण्ठ स्कूलले १२ जना विद्यार्थीबाट नेपालमा शुरु गरेको ए लेवलको पढाइ अहिले तीन दर्जन कलेजमा शुरु भएको छ। कलेज थपिने क्रमसँगै बर्सेनि पाँच हजार विद्यार्थी बढिरहेका छन्। नेपालमा अहिले बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयको जेनेरल सर्टिफिकेट अफ एजुकेसन (जीसीई) कार्यक्रम अन्तर्गत सञ्चालित ए लेवल को आकर्षण बढ्दो छ। एकताका घरानियाँका छोराछोरीको पहुँच मानिने क्याम्ब्रिजको पढाइमा अहिले मध्यमवर्गको आकर्षण ह्वात्तै बढेको छ। विशेषगरी विदेश गई अन्तर्राष्ट्रिय मापदण्डको पढाइ चाहनेहरू यसतर्फ आकर्षित छन्। राजधानी बाहिरका पोखरा र विराटनगरमा समेत ए लेवल कलेज खुलेपछि उपत्यका बाहिरका विद्यार्थीले पनि आफ्नै गाउँ ठाउँमा बसेर अन्तर्राष्ट्रियस्तरको डिग्री लिन पाएका छन्। विश्वका १८० देशमा पढाइने यो शिक्षामा ७० भन्दा बढी विषयको अध्ययन हुन्छ। नेपालमा मानविकी, व्यवस्थापन र विज्ञान सङ्कायका दुई दर्जन विषय उपलब्ध भएकाले विद्यार्थीले रोजेर तीनवटै सङ्कायका विषय अध्ययन गर्न सक्छन्। थोरै विद्यार्थी, राम्रो पढाइ गत वर्षदेखि ए लेवलको अध्यापन शुरु गरेको ललितपुरको जेम्स स्कूलमा हाल ५१ जना विद्यार्थी अध्ययनरत छन्। नयाँ शैक्षिक सत्रका लागि साइन्स र नन्साइन्स कक्षामा ३०/३० गरी ६० कोटामा ५० जनाको भर्ना आवेदन परिसकेको विद्यालयका प्रशासक राजेन्द्र घिसिङ बताउँछन्। उनी भन्छन्, “विद्यार्थी सङ्ख्या कम हुने भएकाले ए लेवलको पढाइ तुलनात्मक रूपमा राम्रो हुने र अनुसन्धानमा पनि सहयोग पुर्याउँछ।”
नेपालमा नोबेल एकेडेमी, लिटिल एन्जल्स, काठमाडौँ एकेडेमी, लुम्बिनी इन्टरनेशनल, चेल्सी इन्टरनेशनल, 'रियन्ट कलेज अफ साइन्स एण्ड म्यानेजमेन्ट, किङ्गस् कलेज, ए जे वाइल्ड इन्ष्टिच्युट, कसमस इन्टरनेशनल, मल्पी इन्ष्टिच्युट, जेभियर इन्टरनेशनल, थेम्स बिजिनेस, काठमाडौँ भ्यालीले ए लेवलको कक्षा चलाएका छन्। यसैगरी साइपल एकेडेमी, कृतिका एजुकेसन हेल्थ फाउन्डेसन, क्याम्पियन, माइक्रोविट इन्टरनेशनल, लिटिल स्टेप इन्टरनेशनल, जेम्स, एभिएशन, एस इन्ष्टिच्युट अफ म्यानेजमेन्ट, नेशनल क्याम्पस अफ बिजिनेस, वृहस्पति विद्या सदन, विलन्स स्कूल, मल्पी इन्टरनेशनलले पनि कक्षा चलाएका छन्। यी स्कूल/कलेजले काठमाडौँस्थित ब्रिटिस काउन्सिल र शिक्षा मन्त्रालयबाट सञ्चालन अनुमति लिएका छन्। परीक्षालगायत अध्ययन-अध्यापनको नियन्त्रण र रेखदेख ब्रिटिस काउन्सिलले नै गर्छ। यसबाहेक ए लेवल पढाइ हुने ब्रिटिश स्कूल, बूढानीलकण्ठ, रातो बङ्गला स्कूल र काठमाडौँ इन्टरनेशनल स्टडी सेन्टरले सीधै बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट अनुमति लिएका छन्। यी शिक्षण संस्थाले परीक्षालगायतका सम्पूर्ण काम क्याम्ब्रिजको परामर्श र निर्देशनमा स्वायत्त रूपमा गर्छन्। केही नाम चलेका ए लेवल स्कूल/कलेजका विद्यार्थीले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट नतिजा ल्याउन सफल भएकाले पनि यसतर्फ अभिभावक र विद्यार्थी आकर्षित भएका हुन्। ए लेवलको ९औं ब्याचमा अघि बढिरहेको रातो बङ्गला स्कूलका ६ जना विद्यार्थीले विश्वकै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् भने हरेक वर्ष शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। हाल ए वान र ए टुमा २०० विद्यार्थीले ए लेवल पढिरहेको रातो बङ्गलाका प्रिन्सिपल मिलन दीक्षित विद्यार्थी चाप बढे पनि सीमितलाई मात्र भर्ना लिइएको बताउँछिन्। अन्तर्राष्ट्रियस्तरको डिग्री र क्याम्ब्रिजको पढाइसकेपछि विदेश जान पनि सहज हुने बताउँदै दीक्षित दश जोड दुई र क्याम्पसको पढाइभन्दा फरक भएको बताउँछिन्। उनी भन्छिन्, “घोकाउनेभन्दा सोच्ने र बाहिरी क्रियाकलापमा सक्रिय रहने तथा अन्तरक्रिया र छलफलको वातावरणमा पढाइ हुन्छ।” विद्यार्थीले सानो उमेरमै आफूले चाहेको विषयमा विशेषज्ञता हासिल गर्न सक्ने र उसलाई कुनै पनि विषयको गहिराइमा पुगेर अध्ययन गर्ने अवसर ए लेवलबाट प्राप्त हुने शिक्षणसँग आवद्धहरू बताउँछन्। ए लेवलले विद्यार्थीको व्यावसायिक जीवनमा टेवा पुर्याउनुका साथै अन्तर्राष्ट्रिय रूपमा रोजगारीका अवसरमा सहयोग गर्दछ। विश्वका लाखौँ विद्यार्थीसँग एकैसाथ प्रतिस्पर्धा गर्दै उत्कृष्ट नतिजा ल्याउने अवसर समेत यसले जुटाएको छ। विदेश जाने टेको
ए लेवलको पढाइपछि विश्वका जुनसुकै कलेज वा विश्वविद्यालयमा भर्ना भएर चाहेको विषय पढ्न चाहनेका लागि यसले सहज वातावरण बनाउने गरेको जानकारहरू बताउँछन्। त्यसैगरी दश जोड दुई वा प्रवीणता प्रमाणपत्र तहको तुलनामा यसमा छात्रवृत्तिको अवसर पाउन सकिन्छ। ए लेवल पढ्नेमध्ये ६० प्रतिशतभन्दा बढी विद्यार्थीले पूर्ण वा आंशिक छात्रवृत्ति तथा आफ्नै खर्चमा विदेश गई उच्चशिक्षा अध्ययन गरेका छन्। लिटिल एञ्जल्सका कर्ण थापा भन्छन्, “यहाँ जति नै पढेर गएपनि विदेशको कलेजमा भर्ना हुन अन्य विभिन्न खालका परीक्षा दिनुपर्छ। ए लेवल पढेपछि यो झ्ञ्झ्ट नै हुन्न।” सामान्यतया कोर्सको अवधि दुई वर्षको हुन्छ, तर कुनै विद्यार्थीले एकै वर्षमा पढाइ पूरा गर्न पनि सक्छ। जेम्स स्कूलका राजेन्द्र घिसिङ भन्छन्, “चाहेको विषय छानेर पढ्ने सुविधासँगै अन्तर्राष्ट्रिय परिवेश अनुसार अध्यापन गराउँदा ज्ञानको दायरा फराकिलो हुन्छ।” ए लेवल पढाउने कलेजको बढ्दो सङ्ख्या र प्रतिस्पर्धाले विद्यार्थीलाई कलेज छनोटका साथै शुल्कलगायतका सुविधामा राहत मिलेको छ। त्यसो त ए लेवलले विद्यार्थीको सिर्जनशीलतालाई ध्यान नदिने र खाली जाँच पास गर्नेतर्फ मात्र जाने गरेको भनी यसको आलोचना पनि हुने गरेको छ। तर, ए लेवल पढाउने शिक्षण संस्थाका सञ्चालकहरू यसले विद्यार्थीको सिर्जनशीलतामा अन्य शिक्षणले भन्दा बढी ध्यान दिएको बताउँछन्। अर्कातिर, यसले नयाँ पुस्तामा विदेश जाने प्रवृत्ति बढाउने प्रतिभा पलायन (ब्रेन ड्रेन)को समस्या बढाएको गुनासो समेत हुने गरेको छ। विदेशमा उच्च शिक्षाका लागि गएका विद्यार्थीहरू नेपाल नफर्कने गरेका कतिपय उदाहरणले पनि गुनासो केही हदसम्म सही साबित भएको छ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |