|
|
||||||||
|
रिपोर्ट
आफ्नै हात जगन्नाथ
मा'वादी नेतृत्वको सरकारले आफ्नो कार्यकालको पछिल्लो चार महिनामा रु.५ अर्ब १७ करोड रकम नियम कानून मिचेर जथाभावी वितरण गरेको छ। सन्त गाहा मगर को रिपोर्ट
सन्त गाहा मगर
लेखा समितिले अर्थ मन्त्रालयबाट वितरित रकमको विवरण माग गरेर आफ्ना सबै सदस्यहरूलाई अध्ययन गर्न भनेको थियो। मन्त्रालयले उपलब्ध गराएको विवरणमा अर्थमन्त्री तथा वरिष्ठ मा'वादी नेता डा. बाबुराम भट्टराईको ठाडो आदेशमा रकम निकासा भएको, विभिन्न शीर्षकमा बजेट नपुग भएको भन्दै ठूलो रकम रकमान्तर गरिएको, आयोजनाहरूको सम्भाव्यता अध्ययन र उपभोक्ता समिति नै गठन नगरी जथाभावी रकम निकासा गरिएको, मा'वादी प्रभुत्व भएका जिल्लामा आश्चर्यजनक रूपमा बढी रकम निकासा भएको तथा अन्य मन्त्रालयमार्फत जानुपर्ने रकमसमेत अर्थमन्त्रालयबाट सीधै जिल्लामा गएको देखिएपछि बैठकमा त्यसको प्रतिरक्षा गर्न नसकिने यथार्थ बुझ्ेरै मा'वादी विधायकहरूले बहिष्कारको बाटो रोजेको ती सदस्य बताउँछन्। यद्यपि, मा'वादी विधायकहरू चाहिँ जुन मन्त्रालयबाट गएपनि जनताकै काममा गएकाले छलफल गरिरहनु नपर्ने भन्दै हिँडेका थिए। उनीहरूको बहिष्कारले अल्पमत र बहुमत नहुने तथा सबै निर्णय सहमतिबाट गरिने लेखा समितिमा अर्थ मन्त्रालयबाट उपलब्ध रकम निकासा विवरणमा छलफल हुन पाएको छैन। अर्थमा मा'वादी मनपरी मा'वादी विधायकहरूले लेखासमिति बैठक बहिष्कार गर्नुपर्ने अवस्था आउनुमा मा'वादी नेतृत्वको सरकारले दलीय स्वार्थअनुरुप अर्थमन्त्रालयबाट एकपक्षीय ढङ्गले अर्बौं रकम आफू अनुकूल अर्थ मन्त्रालयबाट भएको निकासा प्रकरण नै हो। गएको माघदेखि वैशाखसम्मको चार महिनाको अवधिमा तात्कालीन अर्थमन्त्री डा. भट्टराईको ठाडो तोकमा अर्थबाट निकासा भएको रु.१ अर्ब १० करोड ५६ लाख तथा अन्य मन्त्रालयबाट रकमान्तर गरी अर्थमा ल्याएको रु.४ अर्ब ६ करोड ७६ लाख समेत जोड्दा हुन आउने रु.५ अर्ब १७ करोडमध्ये अधिकांश रकम निकासामा सामान्य रित समेत पुर्याइएको छैन। सम्बन्धित जिल्ला विकास समितिले माग गरेको योजना जिल्ला परिषदले पारित गरेर मन्त्रालयमा पत्राचार गरेका आधारमा मात्रै बजेट निकासा गर्नुपर्ने वैधानिक प्रावधान छ। तर, मन्त्रालयले सम्पूर्ण प्रक्रियालाई पूरै लत्याइदिएको छ। मन्त्रालय स्रोतका अनुसार, मन्त्रीको आदेशमा निकासा भएको मध्ये ४० प्रतिशत अर्थात् रु.४४ करोडभन्दा बढी रकम त जिविस परिषदबाट पारित नै नगराइएका आयोजनाहरूका लागि गएका छन्। मन्त्रालयको अभिलेखमा जिविस मागको आधारमा निकासा दिइएको उल्लेख भए पनि जिविसले पत्राचार नै नगरेका आयोजनाका लागि समेत बजेट निकासा भएको छ। त्यसबाहेक सम्भाव्यता अध्ययन नभएका र उपभोक्ता समिति गठन नभएका आयोजना समेतमा हचुवाका भरमा रकम निकासा गरिएको छ। अर्बौंको रकम निकासा गर्दा सम्बन्धित (स्थानीय विकास) मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई जानकारी दिइएको छैन। जिल्लामा सञ्चालन हुने योजना जिल्ला परिषदले पारित गरेपछि स्थानीय विकास मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगको स्वीकृति लिएर मात्रै बजेट निकासा गर्नुपर्ने हुन्छ। तर, सम्बन्धित मन्त्रालयमार्फत जिल्लामा जानुपर्ने रकम समेत अर्थ मन्त्रालयबाट सीधै निकासा गरिएको छ।
त्यस्तै, मा'वादीले ४२.४७ प्रतिशत मत ल्याएको गोरखालाई रु.५ करोड ७० लाख र १३.१३ प्रतिशत मत पाएको रौतहटमा रु.३ करोड १८ लाख ६६ हजार दिइएको छ। गोरखाको जनसङ्ख्या रौतहटभन्दा २,५६,९९८ कम छ। प्रत्यक्ष निर्वाचनमा गोरखाका तीनवटै क्षेत्र मा'वादीले जितेको थियो भने रौतहटका ६ मध्ये २ मा मात्रै विजय हासिल गरेको थियो। देशका ७४ जिल्लामा यसरी निकासा गरिँदा मा'वादीले दुवै क्षेत्रमा पराजय व्यहोरेको भक्तपुरमा एक पैसा पनि निकासा गरेको छैन। ठाडो तोकादेश जिल्लाका विकास आयोजनाका लागि बजेट निकासा गर्नुअघि अनिवार्य रूपले उपभोक्ता समिति समेत गठन गर्नुपर्छ। तर, जिविस परिषदले पारित नगरेको र उपभोक्ता समितिसमेत गठन नभएको चितवन-चम्पानगरको हिमालयन माविलाई ६ वैशाखमा जिविसको पत्र आएको अभिलेख राखेर रु.१४ लाख निकासा दिइयो। बुटवल-९ स्थित आम्दा अस्पतालमा ट्याङ्की र बोरिङ्ग बनाउन रु.२० लाख निकासा गरिएको भनिएपनि अस्पताललाई उपभोक्ता समिति बनेको र रकम निकासा भएको दुवै जानकारी छैन। अस्पतालका निर्देशक विनोद पराजुली ट्याङ्की र बोरिङ्ग निर्माणका लागि रोटरी क्लबलाई मात्रै आग्रह गरिएको बताउँछन्। जिविस इलाममा ६ वटा आयोजना निर्माणका लागि अर्थ मन्त्रालयबाट २० वैशाखमा रु.६० लाख निकासा गरिएको जानकारी आएपछि अहिले बल्ल उपभोक्ता समिति बनाउने तयारी भइरहेको जिविसका एक कर्मचारी बताउँछन्। उनले हिमाल सँग भने, “यसअघि उपभोक्ता समिति नबनेका आयोजनाको रकम जिविसबाट वितरण हुँदैनथ्यो, मा'वादी दबाबमा यसपालि गर्नैपर्ने भयो।”
मा'वादी नेताको सिफारिसमा समेत मन्त्रालयबाट सीधै रकम निकासा गरिएको छ। कानूनतः व्यक्तिले गरेको सिफारिसका आधारमा निकासा गर्न नमिल्ने जानकारी गराउँदा पनि मा'वादी नेता तथा सभासद्हरूले अर्थ मन्त्रालयमा सिफारिस छाडेर गएको र त्यसै आधारमा मन्त्रीको ठाडो आदेशले निकासा गर्नुपरेको मन्त्रालयका एक अधिकारी बताउँछन्। मा'वादी सचिवालय सदस्य तथा सभासद् अमिक शेरचनको सिफारिसमा चितवनको चौबीसकोठी मालपोत कार्यालय पुनर्निर्माण र फुटपाथ निर्माण गर्न रु.१५ लाख तथा हिमालयन मावि, चम्पानगरलाई रु.१४ लाख निकासा दिइयो। मा'वादी सभासद् घनश्याम यादवको सिफारिसमा रुपन्देहीको तुरिया नदी नियन्त्रणका नाममा रु.१५ लाख निकासा गरिएको छ। जिविस पाल्पाका नायब सुब्बा टुकराज पाण्डे जिविसको भन्दा पनि मा'वादी नेताको सिफारिसका आधारमा ज्यादातर आयोजनाहरू स्वीकृत भएको बताउँछन्। पाल्पामा मा'वादी नेताले सिफारिस गरेका जोर्ते-भुल्के-चण्डीचन्ज्याङ्ग मोटरबाटो, झ्ुस्सा-ज्यामिरे-माथा जगात (आदर्श मार्ग) तथा इटियाघाट-राजापानी-करेचुली मोटरबाटाले स्वीकृति र बजेट निकासा दुवै पाइसकेका छन्। मा'वादी पार्टी र नेताका लगानीमा सञ्चालित अस्पताल लगायतका संस्थालाई समेत मनपरी ढङ्गले रकम दिइएको छ। सरकारबाट हटेकै दिन २१ वैशाखमा बसेको मन्त्रिपरिषद बैठकले मा'वादी पार्टीको लगानी र स्वामित्वमा सञ्चालित बालाजुस्थित जनमैत्री अस्पताल को भौतिक पूर्वाधार विस्तारका लागि भन्दै रु.१ करोड रकम दिने निर्णय गर्यो। मा'वादीका मन्त्रीहरू मात्रै सहभागी रहेको बैठकले एकलौटी रूपमा अस्पताललाई रकम दिने निर्णय गरेको प्रति आपत्ति जनाउँदै व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिका सभापति रामकृष्ण यादव भन्छन्, “निजी अस्पताललाई अनुदान दिने भए अरूलाई पनि दिनुपर्यो, मा'वादीको अस्पताललाई मात्रै अनुदान दिने कुरा जायज हुनै सक्दैन।” आफूनिकटका लागि रकमान्तर शान्तिका लागि जनसांस्कृतिक अभियान चलाउन भनेर भैपरी आउने साधारण प्रशासनबाट रु.१ करोड झ्िकिएको तथा भैपरी आउने विकास कार्यक्रमबाट रु.५ लाख रकमान्तर गरेर मा'वादी सचिवालय सदस्य अमिक शेरचनको व्यक्तिगत लगानी रहेको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसलाई दिइएको छ। नयाँ नेपाल निर्माण अभियान का लागि भनेर साधारण प्रशासनबाटै रु.१५ लाख ३० हजार निकालिएको छ। गाउँमा पनि मनपरी साथमा एकल सिलवाल-चितवन, मुकेश पोखरेल-भैरहवा, रोशन साँवा-इलाम, देव पचभैया-पाल्पा प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |