नेपाली नेतृत्वको औसत उमेरलाई कसरी हेर्नुहुन्छ?
नेपाली राजनीतिमा परिपक्व मानिस देखिएनन्। समाजशास्त्र र मानवशास्त्रको हिसाबले १९ देखि ३० वर्षका युवा पुस्ताको ठूलो परिवर्तन/विद्रोह ल्याउन बढी भूमिका हुन्छ; युवा वा वृद्ध दुवै पुस्ताभित्र नपर्ने र धेरै जोशिलो/फूर्तिलो नमानिने ३० देखि ५५ वर्षको अधबैंसे उमेर बढी यथास्िथतिवादी, सम्झ्ौतावादी र अवसरवादी हुन्छ; र एक खालको परिपक्व ५५ देखि ६० वर्षको उमेर समूहमा ठीक गरौं, राम्रो गरौं, काम देखाऊँ, एउटा लाइन समाउँ र चुनौती मोलौं भन्ने भावना हुन्छ। पत्रकार महासंघको नेतृत्वको औसत उमेर ४० वर्षभन्दा तल भएकै कारण पत्रकारिता निकै जुर्मुराएको प्रस्ट हुन्छ। बार एसोसिएसनको दुई कार्यकालका पदाधिकारीले निकै तरङ्ग ल्याउनुको मुख्य कारण पनि युवाहरूको बाहुल्यलाई नै मान्न सकिन्छ।
यीबाहेक राज्यका अन्य महत्वपूर्ण अङ्ग, निकाय र संघसंस्थामा अधबैंसेहरू हावी छन्। यसले हाम्रो नेतृत्वको उमेर जनसाङ्ख्यिक दृष्टिले पनि परिवर्तन ल्याउने र दृढता देखाउने खालको होइन, मध्यमार्गी बाटो अपनाउने, चुनौती कम मोल्ने, अलिकति सम्पत्ति पनि कमाइहाल्नुपर्ने, आफ्नो मान्छेलाई अगाडि बढाउने, विदेश पनि घुम्नुपर्ने जस्तो प्रवृत्ति बोक्ने खालको रहेछ भन्ने देखाउँछ।
अरू धेरै मुलुकमा पनि त राजनीति र समाजमा यही उमेर समूहका मानिस हावी छन्। तिनले त धेरै गरेका छन् नि!
त्यस्तो होइन। भारत, मालदिभ्स र पाकिस्तानको राजनीति र समाज ५०-६० वर्ष काटेका बूढाकै नियन्त्रणमा छ। हाम्रो राजनीतिमा पनि यस्ता बूढाहरू छन्, तर कम। युवाहरू धेरै छन्, तर नेतृत्वमा छैनन्।
बी.पी. ३९ वर्षको उमेरमा प्रधानमन्त्री र मदन भण्डारी ३८ वर्षमा चामत्कारिक नेताको रूपमा स्थापित भएका थिए नि!
३५ वर्षभन्दा मुनिको उमेरमा बढी दृढता हुन्छ। बीपीले ४० वर्ष काटेेपछि सम्झ्ौता गर्न थालिहाले नि! बरु अन्तिम समयमा सम्झ्ौता गर्दिनँ भन्न थालेका थिए। बीपी र मदनले युवा अवस्थामै राजनीतिक आन्दोलन शुरु गरेकाले पनि आफूलाई पूँजीकृत गर्न सफल भएका हुन्। औसतमा नेपाली राजनीतिमा ४५ वर्ष काटेकैहरू धेरै छन्। तर इतिहासले यो मध्य उमेर समूह धेरै लाभकारी भएको देखाएको छैन। ४० वा ३५ भन्दा तल भएको भए ऊर्जाशील वा ५५-६० को आसपास भएको भए परिपक्व समूह मानिन्थ्यो।
यस्तो किन हुन्छ?
युवाले विवाह नै गरेको हुँदैन भने पाकालेे पारिवारिक दायित्व पूरा गरिसकेको हुन्छ। ५५ वर्ष नाघेपछि मान्छे आर्थिक रूपमा सुरक्षित भइसक्छ, बच्चाहरू हुर्किसक्छन्। सबै कुरामा सुरक्षित भइसकेपछि भैगो मलाई केही चाहिँदैन, केही काम गरौं भन्ने मनोभावना विकसित हुन्छ। ३५ भन्दा मुनि पनि मैले केही गर्या छैनभन्दै एउटा भूमिकामा दृढ भएर आउनै पर्छ भन्ने हुन्छ। ३५ नाघेपछि मान्छेले करिअर शुरु गर्न सक्दैन, ४०-५५ को उमेर समूह चाहिँ धेरै सम्झ्ौतापरस्त हो।
परिवार, सम्पत्ति र केटाकेटी हुन्छन्। कमाएर पुर्याउनुपर्ने र बच्चा पढाउनुपर्ने हुन्छ। नेपालमा ४०-५५ को उमेर समूहको कमाइबाटै घर चल्छ। त्यसैले यो समूह बढी सम्झ्ौतापरस्त हुन्छ। यसले पहिला आफ्नो भलाइ सोच्छ र अलिकति फाइदा हुने देखियो भने लागिहाल्छ। हाम्रो नेतृत्वमा हावी यो उमेर समूह एकातिर विरोध गर्न पनि नसक्ने, अर्कोतिर जोखिम मोल्ने साहस पनि नदेखाउने र सामाजिक प्रतिष्ठा र हैसियत कायम राखिराख्न सदैव सम्झ्ौता गरिरहने खालको छ। अधबैंसेहरू आफूलाई नोक्सान नपुगोस् भनेर अर्काको पनि धेरै हानि गर्न चाहँदैनन्। सबैसँग ठिक्क हुने, मिल्ने, धेरै आँट पनि नगर्ने, एक किसिमको करिअर स्थापित गरेर पैसा कमाउन लाग्छु भन्ने उमेर समूह हो यो।
नेतृत्वमा ४०-५५ को उमेर समूह हावी भएकै कारण नेपालको राजनीति अस्िथर भएको हो त?
नेपालको भाग्य या दुर्भाग्य जे भन्नुस्, यहाँको राजनीतिक नेतृत्वमा युवा आउन सकेका छैनन् र ५५ काटेका बूढाहरू पनि धेरै छैनन्। परिपक्व नेतृत्व नभएकै कारण नेपाली राजनीति स्िथर नभएको हो, कम्तीमा १५-२० प्रतिशत मात्रै बूढाहरू राजनीतिमा भइदिँदा स्िथरता हुनसक्थ्यो। प्रशासनिक क्षेत्रमा पनि ५० काटेर केही बुझने हुँदा नै सेवा निवृत्त भइहाल्छन्। उन्नति नहुनुको एउटा कारण त्यो पनि हो। अनुभव हासिल गरेर केही गरौं भन्ने बेलामा मान्छेले सेवाबाट निवृत्त हुनुपर्छ।
मा'वादी नेताहरूमा त निक्कै ऊर्जा देखिन्छ नि! केको परिणाम हो यो?
अहिले तुलनात्मक रूपमा एनेकपा (मा'वादी) मा तन्नेरीहरूको सङ्ख्या ज्यादा छ, तर तिनको भूमिका रचनात्मक छैन। उमेर समूहको तथ्याङ्कको आधारमा त मा'वादीको नेतृत्व पनि नेपाललाई धेरै फाइदा हुनेखालको चाहिँ छैन। प्रचण्डमा कुरा गर्ने जाँगर त छ, तर उनी जतिबेला पनि सम्झौता गर्छन्। त्यसैले प्रचण्ड पनि अधबैंसेपनबाटै कायल देखिन्छन्। आफूलाई देखाउनु पनि पर्ने, स्थापित पनि हुनुपर्ने, पैसा पनि चाहिने होला! सम्झ्ौतापरस्त चाहिँ हुनुहुँदैन भन्छु म। सबैलाई खुशी पार्ने राजनीति गर्न सकिन्न।