|
|
||||||||
|
रिपोर्ट
'सबैलाई समेट्ने, राष्ट्रिय एकता बलियो पार्ने'
एकअर्काको स्वतन्त्रताको कदर, वैध, जायज र न्यायपूर्ण आवाजको सम्मान, सबैथरी नागरिकको पहिचान, पहुँच र प्रभावको लागि प्रोत्साहन गर्दै संवादको माध्यमबाट मतभेद समाधान गर्ने र एकअर्काका अनुभव समान हैसियतले साटासाट गरी सिक्ने-सिकाउने जस्ता लोकतान्त्रिक मान्यताअनुरुपको प्रशासनिक संरचना र कार्यशैली निर्माण गर्नुपर्दछ।
प्रा डा मधुनिधि तिवारी
जनआन्दोलन २०६२/६३ को सफलतासँगै मुलुकले संघीय प्रणाली अवलम्बन गर्ने निधो गरेको छ। नेपालको विद्यमान नागरिक प्रशासन (निजामती सेवा) एकात्मक शासन प्रणालीलाई सुहाउँदो प्रकारबाट निर्माण भएको छ। देश संघीयतामा गएपछि स्वाभाविक रूपमै नागरिक प्रशासनलाई पनि त्यहीअनुरुप रुपान्तर गर्नुपर्ने हुन्छ। संघीय शासन प्रणालीको आधार ढाँचा, केन्द्र, राज्य र स्थानीय सरकारबीच शक्तिको बाँडफाँड आदि विषयमा राजनीतिक दल, बुद्धिजीवी र अन्य नागरिकहरूबाट आ-आफ्ना दृष्टिकोणहरू व्यक्त भएका छन्। तर, प्रशासनिक पक्षमा अहिलेसम्म खासै चर्चा हुनसकेको छैन। संघीयताको ढाँचामा सहमतिपछि मात्र प्रशासनिक स्वरुप यकिन गर्न सहज हुन्छ। तर, संघीय शासन व्यवस्थाको लागि जनदबाब पर्न गएका कारणहरू र संघीयताबाट गरिएका अपेक्षाहरूलाई दृष्टिगत गर्दा समावेशीकरण, विकेन्द्रीकरण, कार्य सम्पादन, संस्कृति र राष्ट्रिय अखण्डता एवं एकतालाई सहयोग पुर्याउने प्रशासनिक संयन्त्र नै संघीय गणतन्त्र नेपालको नागरिक प्रशासनका प्रमुख स्तम्भ हुनुपर्ने देखिन्छ। यस विषयमा यस लेखको अभिप्राय सघन छलफल होस् भन्ने हो। समावेशीकरण माथिका तथ्याङ्कहरू सङ्कलन र प्रस्तुतिमा एकरुपता नभए तापनि यिनले देशको नागरिक प्रशासनमा विभिन्न जातजातिको प्रतिनिधित्वको झ्लक अवश्य दिएका छन्। यसबाट निम्न जानकारी हासिल हुन्छः अहिलेको आरक्षण व्यवस्था भोलि बन्ने राज्य/प्रदेशहरूको सन्दर्भमा हुबहु लागू गर्न सम्भव हुने नहुने कुरा राज्यहरूको बनोटको आधारमा निर्भर गर्दछ। अतः यस सम्बन्धमा राज्यहरूको गठनपश्चात् प्रत्येक राज्यले आफ्नो जनसङ्ख्याको बनोट र अन्य परिस्िथति अनुसार निर्णय गर्नुपर्ने हुन्छ। केन्द्र र राज्य दुवैतिर सबैमा काम गर्ने साझा सेवा (यसबारे पछि विस्तृत चर्चा गरिएको छ) का कर्मचारीहरूको सम्बन्धमा केन्द्र र राज्यहरूले सामुहिक रूपमा निर्णय गर्नु पर्ने हुन्छ। नागरिक सेवा (सिभिल सर्भिस)मा सबै जातजाति, लिङ्ग, क्षेत्रको न्यायोचित प्रतिनिधित्व बढाउन आरक्षण तुरुन्त नतिजा दिने सजिलो तर विवादित नीति हो। प्रतिनिधित्वको हिसाबले आरक्षणबाट सीमान्तकृत जातजाति र महिलाहरू लाभान्वित भएको अवश्य देखिन्छ। तर वर्गीय र पारिवारिक पृष्ठभूमिको हिसाबले अहिले वर्चस्व रहेका भन्दा भिन्न मान्न नसकिनेहरूले नै बढी फाइदा लिने सम्भावना रहन्छ। यसर्थ आरक्षणको व्यवस्था गर्दा आर्थिक र सामाजिक पृष्ठभूमिलाई समेत आधार मान्ने नीति अवलम्बन गर्नु राम्रो हुन्छ। यसको लागि आरक्षण पाउनुपर्ने भनी लक्षित गरिएका समूहभित्रका मध्ये पनि मानव विकास सूचकाङ्क (एचडीआई) राष्ट्रिय औसतभन्दा कम भएकाहरूलाई मात्र आरक्षण वा आरक्षणमा प्राथमिकता पाउने हिसाबले केही अङ्कभार दिएर आरक्षणभित्र पनि थप आरक्षण प्रदान गर्नु उचित देखिन्छ। यसबाट वञ्चितिका कारण सृजना भएको समस्या समाधान हुने र आरक्षणको फाइदा पनि सही व्यक्तिहरूले पाउन सक्ने अवस्था बन्दछ। कानूनी रूपमा मात्र नभई व्यवहारमा पनि सबैलाई समान रूपमा प्रतिस्पर्धा गर्नसक्ने अवसर प्रदान गर्ने गरी सीमान्तकृत वर्गको लागि सशक्तिकरणका कार्यक्रमहरू सञ्चालन गर्नेतर्फ केन्द्र र राज्य सरकार दुवैको ध्यान जानुपर्ने हुन्छ। निश्चित समयपछि आरक्षणको आवश्यकता नपर्ने गरी लक्षित समूहको जीवनमा गुणात्मक सुधार ल्याउने आर्थिक, सामाजिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ। अर्को शब्दमा; आरक्षणलाई स्थायी उपाय नमानी निश्चित वर्षसम्म मात्र अवलम्बन गरी तत्पश्चात् त्यसको आवश्यकता नै नपर्ने अवस्था सृजना गर्ने उद्देश्य राखिनुपर्दछ। ऐतिहासिक तथा अन्य कारणहरूले गर्दा आरक्षणका हकदार जातजाति र समुदायहरूले सरकारी नोकरी (सिभिल सर्भिस) लाई पेशाको रूपमा प्राथमिकता नदिने गरेको पनि पाइन्छ। उदाहरणको लागि राई, लिम्बू, मगर, गुरुङ्ग इत्यादि जातिहरूले बेलायती सेना वा सिङ्गापुरको प्रहरी जस्ता जागिर बढी रुचाएको भेटिन्छ। सो पाउन सम्भव नभए भारतीय सेनामा भर्तीको प्रयास गर्ने प्रवृत्ति देखिन्छ। लाहुरे भएकाहरूको आर्थिक हैसियत र सामाजिक प्रतिष्ठा बढी हुने कारण ती समुदायका अधिकांश युवापिँढी विदेशतिरकै जागिरमा आकर्षित हुने कुरा सम्बन्धित व्यक्तिहरूसितको अन्तरक्रियामा सुनिने गरिन्छ। यस्तो अवस्था रहुन्जेलसम्म सिभिल सर्भिसमा आरक्षणबाट योग्य व्यक्ति आकर्षण गर्न कठिन हुन्छ। यसको लागि स्कूल, कलेजदेखि नै नागरिक सेवाप्रति आकर्षण बढाउने कार्यक्रमलाई सघन रूपले सञ्चालन गर्नुपर्दछ। विकेन्द्रीकरण प्रत्येक पटक मन्त्रिमण्डल वा मन्त्री परिवर्तन भएपश्चात् सम्बन्धित मन्त्रीले सचिवलाई स्वेच्छाले अख्तियारी पत्रमार्फत जे-जति अधिकार दिन्छन्, सोही बमोजिमको अधिकार र उत्तरदायित्वको दायराभित्र रही सचिवलगायतका प्रशासनिक कर्मचारीहरूले काम गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने कानून ल्याउन धेरै वर्ष प्रयत्न गर्नुपरेको थियो। त्यो कानून केही समय अगाडि जारी त भएको छ, तर त्यसको अक्षर र भावनाअनुसार मन्त्रीहरूले प्रशासनिक काममा हस्तक्षेप नगर्ने र सचिवहरूले पनि कानून विपरीतको हस्तक्षेपको विरोध गर्ने परिपाटी बस्न अझ्ै सकेको छैन। विगतमा विकेन्द्रीकरणप्रति गरिएका राज्यका प्रतिबद्धताहरू पूरा गरिँदै गएको भए संघीयताको पक्षमा चर्को जनदबाब सिर्जना नहुन पनि सक्थ्यो होला। संघीय पद्धतिमा जाँदा केन्द्र र राज्यहरूको अधिकार र दायित्व संविधानमा नै प्रस्ट उल्लेख गरी बाँडफाँड गरिनुपर्दछ। विगतमा स्थानीय सरकारको अधिकार र उत्तरदायित्वका बारेमा संविधानमा उल्लेख गर्ने खाँचो महसूस गरिएको थिएन। लामो समयदेखि जरो गाडेको केन्द्रीकरण गर्ने मानसिकतामा परिवर्तन नआए राज्यलाई जति धेरै अधिकार तथा उत्तरदायित्व सम्पन्न बनाएतापनि भोलिका दिनमा राज्यका राजधानीहरूमा अधिकारकेन्द्रित हुनसक्छ। अनि जनतालाई सेवा-सुविधा वितरणमा प्रत्यक्ष रूपले अग्रपंक्तिमा रही काम गर्नुपर्ने कर्मचारीहरू अहिले जस्तै वाञ्छित अधिकार र साधनस्रोतबाट वञ्चित तुल्याइन सक्छन्। यसनिम्ति राजनीतिक र प्रशासनिक दुवै क्षेत्रमा हाल प्रचलित (अधिकारविहीनहरूमाथि हैकम चलाउँदा आफू ठूलो र शक्तिशाली महसूस गर्ने) मानसिकताको सट्टा अधिकारसम्पन्न मातहतका कर्मचारीहरूको हाकिम हुँदा नै वास्तविक रूपमा ठूलो र मर्यादित होइन्छ भन्ने मानसिक विकास गर्ने प्रयासलाई अभियानकै रूपमा सञ्चालन गर्नुपर्नेछ। तल्लो निकायका कर्मचारीहरूबाट सम्पन्न हुनसक्ने कार्यहरू सम्पादन गर्न आवश्यक अधिकार तथा दायित्व पूर्ण रूपले हस्तान्तरण गर्ने कानूनी प्रावधान र त्यसलाई सही ढङ्गबाट पालना गर्ने प्रशासनिक कार्यशैली र मूल्य प्रतिस्थापन गर्नेतर्फ सबै सरोकारवालाहरू प्रयत्नशील हुनुपर्दछ। यस परिप्रेक्ष्यमा केही समय अगाडि निजामती सेवामा तहगत प्रणाली लागू गर्ने सम्बन्धमा भएका सिफारिसहरूमा उल्लिखित मन्त्रालय सेवा (क्याडर) र विकेन्द्रित कर्मचारी प्रशासनको अवधारणा भोलिका दिनहरूको लागि विशेष सान्दर्भिक हुनसक्छ। स्थानीय सरकारको हकमा पनि आ-आफ्नो स्थानीय सरकार (जनता) प्रति पूर्ण रूपले वफादार र उत्तरदायी भएको अवस्थामा मात्र वृत्ति-विकास हुने कर्मचारीतन्त्रबाट नै प्रशासनिक क्रियाकलापहरू सञ्चालन हुनुपर्दछ। केन्द्र वा राज्य सरकारप्रति वफादार हुँदा मात्र वृत्ति-विकासको अवसर पाउने कर्मचारीले स्थानीय सरकारको प्रशासनिक नेतृत्व लिने परिपाटीको अन्त्य नगरी संघीयताबाट गरिएको अपेक्षा पूरा हुनसक्दैन। कार्यसम्पादन संस्कृति प्रत्येक पदमा कार्य गर्ने कर्मचारीले सम्पादन गर्नुपर्ने काम र वहन गर्नुपर्ने उत्तरदायित्व, सो पदमा काम गर्न आवश्यक ज्ञान, सीप र व्यवहार परिभाषित गर्दै कार्य विवरण तयार पार्ने कुरा लामो समयदेखि गरियो। तर, व्यवहारमा यो काम प्रशासन सुधार आयोगहरूका प्रतिवेदन उच्च अधिकृतहरूका भाषण, लोकसेवा आयोगको प्रतियोगितात्मक परीक्षाका प्रश्न र उत्तर आदिमा मात्र सीमित रहन गयो। लोकतन्त्र पुनर्वहालीको झ्ण्डै एकदशकपश्चात् (२०५४ सालमा) कार्य विवरण तयार पार्नुपर्ने कामलाई कानूनतः अनिवार्य गरियो। दुई वर्ष अगाडिबाट कार्य विवरण तयार पार्ने प्रावधानलाई थप परिमार्जन गरियो। कानूनतः सम्बन्धित मन्त्रालयका सचिव, विभागीय प्रमुख र कार्यालय प्रमुखलाई आफ्ना मातहतका कर्मचारीहरूको कार्य विवरण तयार पारी लागू गर्न जिम्मेवार बनाइएको छ। तर, पनि कार्य विवरण तयार गर्ने काम कानूनी रीत पुर्याउनको लागि मात्र गरिने परम्परा कायम नै छ। यसैगरी कार्य सम्पादन मूल्याङ्कन व्यवहारमा वस्तुगत र पारदर्शी आधारमा गर्ने परिपाटी बस्न सकेको छैन। फलस्वरुप कर्मचारीहरूको वृत्ति-विकासबारे पूर्व अनुमान गर्न सकिने अवस्था छैन। राम्रो काम गर्ने पुरस्कृत हुने र नराम्रो काम गर्ने दण्डित हुने अवस्था सृजना भएको छैन। परिणामतः आज पनि हतोत्साहित हुने अवस्था छ। जनतालाई सेवा सुविधा पुर्याउने काम राम्ररी सम्पादन गरेर भन्दा शक्तिशाली व्यक्तिहरूलाई रिझ्ाएपछि आफ्नो उन्नति हुने अवस्थाले गर्दा कर्मचारीहरू जनमुखी नभई हाकिममुखी र शक्ति केन्द्रमुखी रहँदै आएका छन्। सीमान्तकृत जनसमुदाय यसबाट बढी प्रभावित छ। अतः संघीय प्रणालीमा सबै तहका सरकारहरूले कार्य सम्पादन संस्कृतिको स्थापना गर्नु अति आवश्यक छ। यसको लागि व्यवहारमा उतार्नुपर्ने मुख्य कार्यहरू निम्न छन्ः राष्ट्रिय अखण्डता र एकतालाई सघाउने संयन्त्र तर, वास्तवमा प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था, व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मान, कानूनी राज्यको सिद्धान्तको पालना जस्ता लोकतान्त्रिक मूल्यमान्यताको आधारमा शासन सञ्चालन गरेका संघीय मुलुकहरूले विखण्डनको पीडा भोग्नुपरेको उदाहरण भेटिँदैन। बरु बहुजाति, बहुभाषा, बहुसंस्कृति आदि कारणले उत्पन्न हुने तनाव, द्वन्द्व आदिदेखि विखण्डन हुनबाट समेत संघीयताले बचाएको छ। भारत यसको ज्वलन्त उदाहरण हो। संघीयता र लोकतन्त्र सँगसँगै अघि बढेकोले भारत जस्तो चरम विविधता भएको मुलुक विखण्डनतिर नधकेलिएको हो भन्ने धेरैको निष्कर्ष छ। लोकतान्त्रिक मूल्यमान्यतालाई मास्ने काम बराबर भइरहेका कारण पाकिस्तान टुक्रियो। लोकतान्त्रिक गुणहरू भन्दा भिन्न प्रकारको शासन प्रणाली भएका कारण सोभियत संघ र युगोस्लाभिया विखण्डित हुनुको साथै अन्तरजातीय हिंसाको चपेटामा समेत पर्नु पर्यो। अतः हामीले एकअर्काको स्वतन्त्रताको कदर, वैध, जायज र न्यायपूर्ण आवाजको सम्मान; सबैथरी नागरिकहरूको पहिचान, पहुँच र प्रभावको लागि प्रोत्साहन गर्दै संवादको माध्यमबाट मतभेद समाधान गर्ने र एकअर्काको अनुभव समान हैसियतले साटासाट गरी सिक्ने सिकाउने जस्ता लोकतान्त्रिक मान्यताअनुरुपको प्रशासनिक संरचना र कार्यशैली निर्माण गर्नुपर्दछ। यसो गर्न सक्दा संघीयताका नकारात्मक पक्षहरूमा विजय पाउन र सकारात्मक पक्षहरूलाई बढी सुदृढ गरी आपसी सहयोग, सद्भावको माध्यमबाट सबै राज्यहरूको सँगसँगै विकास सुनिश्चित गर्न सम्भव हुन्छ। यसको लागि संघीयतामा निम्न प्रशासनिक संयन्त्र आवश्यक देखिन्छः साझा सेवा केन्द्र-राज्य प्रशासन प्रमुखहरूको परिषद् राज्यका मुख्य सचिवहरू र केन्द्रको मुख्य सचिवको एउटा परिषद् बनाई सामान्यतः नियमित अन्तरालमा र आवश्यक पर्दा जुनसुकै बेला बैठक बस्ने व्यवस्था गर्नुपर्दछ। यस्ता बैठकहरू मूलतः निम्न विषयहरूमा छलफल गर्न उपयोगी हुन्छन्ः प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |