|
|
||||||||
|
रिपोर्ट
पङ्गु बनाउने अर्को खेल
प्रहरीलाई मजबूत र चुस्त-दुरुस्त बनाउने काममा असहयोगी देखिएको गृह प्रशासनले सङ्ग्रौला-कार्यदलको 'गोप्य' प्रतिवेदन लागू गर्न खोजेर प्रहरी संगठनलाई झन् कमजोर बनाउँदैछ। रामेश्वर बोहरा को रिपोर्ट
रामेश्वर बोहरा
यी विभागका प्रमुखहरूको पद पहिलेका एआईजी कृष्णप्रसाद श्रेष्ठ, श्यामसिंह थापा, दीपेन्द्रबहादुर बिष्ट र रमेशकुमार श्रेष्ठलाई तत्कालीन प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङसँगै तीसवर्षे सेवाअवधिका आधारमा अवकाश दिइएको तथा रमेश चन्द ठकुरी महानिरीक्षकमा बढुवा भएकाले रिक्त भएको हो। सङ्गठनको नीति निर्माण र कार्यान्वयन तहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभागीय प्रमुखहरूको पद यति लामो समयदेखि रिक्त रहँदा कानून व्यवस्था पालना गराउने तथा जनताको जीउधन रक्षा गर्ने प्रमुख सुरक्षा अङ्ग नेपाल प्रहरीको कामकारबाही नराम्ररी प्रभावित भएको छ। प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त र मजबूत बनाएर शान्ति-सुरक्षामा कायापलट गर्ने उद्घोषका साथ पदबहाल गरेका गृहमन्त्री वामदेव गौतम नौमहिने कार्यकालमा दुई प्रहरी प्रमुख फेर्नेबाहेक सङ्गठनलाई गुन लगाउने कुनै काम नगरी सरकारबाट हटेका छन्। गृहमन्त्री कृष्ण सिटौलाको कार्यकाललाई प्रहरी सङ्गठनका लागि कालरात्रि ठान्ने नेपाल प्रहरीको माथिल्लो पंक्तिमा गौतमले आउनासाथ दिएको चर्को र उग्र वक्तव्यबाट पलाएको आशा मरेको छ। अघिल्लोपटक गृहमन्त्री हुँदा ठाडो निर्देशनमा प्रहरी प्रमुख हटाएकोदेखि सङ्गठन अस्तव्यस्त बनाएको भनेर आफूमाथि लागेका थुप्रै दाग मेटाउने मौकासमेत गुमाए गौतमले। जाँदाजाँदै सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख नियुक्त गर्न भ्याएको मा'वादी नेतृत्वको सिङ्गो सरकारको प्राथमिकतामा पनि प्रहरी सङ्गठनको रिक्तता पर्न सकेन। सङ्गठनको नेतृत्व सम्हालेलगत्तै प्रहरीमा आमूल सुधार गर्ने, यसलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गरी स्वायत्त सङ्गठन बनाउने र बिग्रँदो शान्ति सुरक्षा सुधार्ने उद्घोष गरेका आईजीपी रमेश चन्द ठकुरी आफ्नै विभागीय मन्त्रालय गृह प्रशासनकै असहयोगी व्यवहार तथा सङ्गठनको नीति निर्माण तहमा छाएको रिक्तताले एक्लो वृहस्पति जस्तै बन्न पुगेको प्रहरी हेडक्वार्टरका अधिकारीहरू बताउँछन्। गृहमै लथालिङ्ग बढुवा तीसवर्षे सेवाअवधि लागू गरेर र सशस्त्र प्रहरी बल एवं राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहितका अधिकृतहरूलाई अवकाश दिई नयाँ प्रमुख नियुक्तिसम्मको प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएर निर्णय गराउन भ्याएका गृहमन्त्री गौतमले आफू पदमा बहाल रहुन्जेल नेपाल प्रहरीको नेतृत्व तहमा तीन महिनादेखि रिक्त पदपूर्ति गर्ने कामलाई महत्व दिएनन्। एक उच्च प्रहरी अधिकृत भन्छन्, “प्रहरी सङ्गठनलाई मजबूत बनाउन खोज्दा गृह प्रशासनबाटै सहयोग मिल्दैन, योभन्दा ठूलो दुर्भाग्य के हुनसक्छ?” गृहसचिव गोविन्दप्रसाद कुसुम चाहिँ प्रक्रिया अघि बढाइएको दाबी गर्छन्। “सरकार नढलेको भए अहिलेसम्म केही भइसक्थ्यो, अर्को सरकार आएपछि यो विषयमा निर्णय होला।”
जनयुद्ध शुरु भएपछि ६ वर्षसम्म एक्लै मा'वादीसँग लडेको प्रहरी यतिबेला कठिन मोडबाट गुजि्ररहेको छ। सङ्क्रमणकालीन अवस्थामा शान्ति सुव्यवस्था कायम गर्ने अझ् बढी चुनौतीपूर्ण दायित्व बहन गर्नुपरेको बेला उसले तराईमा सशस्त्र समूहका हिंसात्मक गतिविधि, आम मानिसमा बढ्दो अराजकता र कानून नमान्ने मनोवृत्ति तथा सत्ताधारी दलकै नेता-कार्यकर्ताबाट भइरहेको कानून हातमा लिने प्रवृत्तिसँग पनि जुध्नुपरेको छ। सत्ताधारी दलहरूबाट सङ्गठनमाथि हुने हस्तक्षेप र दबाबले त झ्न् समस्या थपेको छ। यस्तो अवस्थामा नेतृत्व तहका प्रमुख पदहरू नै खाली रहँदा समस्या अझ्ै जटिल बन्नु स्वाभाविक हो। प्रहरी महानिरीक्षक ठकुरी तीन महिनादेखि एआईजीको पद खाली रहँदा एकतह तलका डीआईजीहरूबाट काम धान्नुपरेको बताउँछन्। रोग एउटा, उपचार अर्कै उच्च प्रहरी अधिकृतहरूका अनुसार, एआईजीमा रिक्त पदहरूको पूर्ति नहुनुको मुख्य जड सङ्ग्रौला कार्यदलकै प्रतिवेदन हो। बढुवा प्रक्रियामा उसले दिएका प्रचलित अवस्थाभन्दा फरक सुझ्ावले बढुवाको मापदण्ड के हुने भन्ने विषयमै अन्योल उत्पन्न गरेका छन्। कार्यदलका सुझ्ाव लागू गर्न खोज्दा नियमावली नै नयाँ बनाउनुपर्ने र त्यसको लागि लामो प्रक्रिया आवश्यक पर्ने हुँदा बढुवाको मुखैमा पुगेका प्रहरी कर्मचारीले सेवाबाट बाहिरिनुपर्नर्ेे अवस्था आउन सक्छ। एक प्रहरी अधिकृत भन्छन्, “प्रतिवेदन हठात् कार्यान्वयन गर्न खोजेर सङ्गठनलाई बलियो बनाउनुभन्दा तहसनहस पार्ने काम गर्न खोजिएको छ।” सेवा अवधिसम्बन्धी विवाद अव्यवस्थाको अर्को कारण हो। प्रहरी ऐन २०१२ को संशोधित नियमावली २०५० को दफा ९८-४(क) ले सेवाअवधि ३० वर्ष हुने र त्यसलाई ३५ वर्षसम्म पुर्याउन सकिने व्यवस्था गरेको छ। सरकारले विवेक प्रयोग गर्छ भन्ने मान्यताका आधारमा गरिएको यो कानूनी व्यवस्थाको दुरुपयोग गर्दै सरकारले कसैलाई ३० वर्षमै अवकाश दिने र कसैलाई ३५ वर्षसम्म पदमै राखिरहने तथा त्यसका लागि विवेक प्रयोग नगरी निहित राजनीतिक उद्देश्यले काम गर्ने गरेको देखिएको छ। पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर गुरुङले अवकाश पाउनुअघि संसदीय समितिले आयोजना गरेको कार्यक्रममा सेवाअवधिका आडमा सरकारले प्रहरी सङ्गठनलाई भकुण्डोझ्ैं खेलाएको दुःखेसो पोखेेका थिए। एक बरिष्ठ प्रहरी अधिकृत भन्छन्, “आफ्नो स्वार्थअनुकूलको सेवाअवधि लागू गरेर सङ्गठनका योग्य मान्छेलाई छिटै फाल्ने र खराब मान्छेलाई पदमा बहाल राखिराख्ने गर्नाले प्रहरी कर्मचारी आतङ्कित छ।” ठप्प संयन्त्रहरू अपराध अनुसन्धान विभागः अपराध नियन्त्रणको योजना र रणनीति बनाउने; अपराध अनुसन्धान तथा अपराध नियन्त्रणसम्बन्धी सबै काम गर्ने; राष्ट्रिय र अन्तराष्ट्रिय सङ्गठनहरूसँग समन्वय गर्ने; मानवअधिकार संरक्षण गर्ने; अनुसन्धान क्षमता विस्तारका लागि तालिमको व्यवस्था गर्ने। कार्य विभागः सुरक्षाको जिम्मेवारी हेर्ने; हुलदङ्गा नियन्त्रण तथा शान्ति सुरक्षा र अमनचयन कायम गर्न प्रहरी परिचालन गर्ने; प्रहरी इकाइहरूलाई हतियार र उपकरण उपलब्ध गराउने; दैवीप्रकोप तथा उद्धार कार्यमा खटिने; आतङ्ककारी समूहहरूको सूचना सङ्कलन गर्ने; आपराधिक गतिविधि नियन्त्रण गर्ने; राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तिहरूलाई सुरक्षा दिने; ट्राफिक व्यवस्था मिलाउने। मानव स्रोत विभागः नयाँ भर्ना छनोट गर्ने; प्रहरी कर्मचारीलाई आवश्यक पर्ने प्रशिक्षण नीति बनाई प्रशिक्षणको व्यवस्था मिलाउने; स्वदेश-विदेशका तालिम सेमिनारमा योग्य कर्मचारीको छनोट गर्ने; पाठ्यक्रम परिमार्जन गर्ने; प्रशिक्षणका समस्या पहिल्याएर समाधानको पहल गर्ने। प्रशासनः प्रहरी सङ्गठनको आन्तरिक प्रशासन सञ्चालन गर्ने; नीतिनिर्माण, योजना तर्जुमा र कार्यान्वयन गर्ने; प्रहरी कर्मचारीलाई कार्यसम्पादनको आधारमा पुरस्कृत र दण्डित गर्ने; पूर्वाधार विकासको व्यवस्थापन गर्ने; आर्थिक प्रशासन चुस्त राख्ने। महानगरीय प्रहरी आयुक्तः राजधानी काठमाडौं, ललितपुर र भक्तपुर (उपत्यका)को समग्र सुरक्षा अवस्था हेर्ने। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |