|
|
|||||||||
|
खोज
बालबालिका चूपचाप बेचिँदैछन्
रोग, भोक र अभावग्रस्त कोशी बाढीपीडितलाई पैसाको लोभ देखाएर दलालहरूले तिनका बालबालिकालाई भारतका विभिन्न भागमा पुर्याई बेचिरहेका छन्। सोमनाथ बास्तोला को रिपोर्ट
सोमनाथ बास्तोला
बेचिने लहर
सोही विद्यालयमा कक्षा २ मा पढ्ने श्रीपुर-३ का ११ वर्षीय रामवृष सदालाई पनि असोजमै पञ्जाव पुर्याइयो। बाबु कोशिलका अनुसार मासिक रु.६०० बुझ्ाउने शर्तमा छोरालाई हरिपुरका तेजन सदाले लगेका हुन्। हरियाणाको गाईगोठमा दैनिक १६ घण्टा काम गर्नुपर्ने कुरा सुनाउँदै छोराले फागुन दोस्रो साता फोन गरेको बाबु बताउँछन्। तेजनले नै लगेका लखीचन्द सदाका कक्षा २ मा पढ्ने १० वर्षीय छोरा रुपेश कात्तिकदेखि बेपत्ता छन्। तेजनको चार महिनाअघि मृत्यु भइसकेको छ। राष्ट्रिय निमाविमै कक्षा ५ मा पढ्ने १४ वर्षीय इन्द्रजित सदा र कक्षा ३ मा पढ्ने उनका १२ वर्षीय भाइ सञ्जयलाई गत असोजमा उही दलु सदाले पञ्जाव लगेर प्रतिव्यक्ति भारु १ हजार कमिसन लिई तेल मिलमा बेचेका थिए। इन्द्रजित र सञ्जयलाई पञ्जाव लगेका दलुले एक बालक लगेबापत चार सय कमिसन लिएको स्वीकारेका छन्। बाबु राम सदा छोराहरूको कुनै खबर नभएको बताउँछन्। दलुले सोही समयमा लगेका स्थानीय विशेश्वर सदाका कक्षा ३ मा पढ्ने १३ वर्षीय छोरा मुन्ना र श्रीपुर-३ कै सोभितलालका १४ वर्षीय छोरा रामसेवक सदाको पनि अत्तोपत्तो छैन। श्रीपुरकै अर्का बालक निरजलाई पनि दलु सदाले पञ्जावमा बेचेका छन्। श्रीपुरकी स्वास्थ्य स्वयम्सेविका झ्वरीदेवी रामको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय छोरा प्रमोदलाई दलुकै गिरोहले गत असोजमा काश्मिर पुर्यायो। झ्वरीदेवीका अनुसार छोरालाई काश्मिर लैजाने भनी आएको एक भारतीय समूहले उसको कमाइको अग्रिम भुक्तानी भन्दै रु.५ हजार दिएको थियो।
सुनसरीको हरिपुर-२, पुरानो हाटटोलका १४ वर्षीय पिन्टु यादवलाई भान्जेदाइ पर्ने पप्पु यादवले भारु १५ सयमा पञ्जावको लुधियाना पुर्याए। भाञ्जाले लगेको ठाउँ राम्रै होला भन्ने पिन्टुका बाबु राजकुमार भन्छन्, “छोराको खबर थाहा नपाउँदा मन पोलिरहन्छ।” पिन्टुलाई काममा लगाएर कमिसन लिई फर्केका पप्पु एकमहिनादेखि गाउँमै छन्। पिन्टु घर फर्केका छैनन्। सोही टोलका १४ वर्षीय अरविन्दकुमार रायलाई मामा पर्ने सुपौलका अमोदकुमार रायले ३ असोजमा पञ्जाव पुर्याए। पत्नी बबिताको झ्ाडापखालाबाट मृत्युपछि घरमा गरिबी बढेको र जेठी छोरीको विवाह गर्दा रु.५० हजार ऋण लागेकोले पैसा कमाउने आशमा छोरो पञ्जाव पठाएको अरबिन्दका बाबु गौरीशङ्कर बताउँछन्। सुनसरीको लौकहीस्िथत खुनियाधार शिविरका बालबालिका पनि पञ्जाव र काश्मिर पुर्याइएका छन्। शिविरकी फुदनीदेवी यादवका १२ वर्षीय छोरा विनेश र १४ वर्षीय छोरा उमेशलाई प्रितम यादवले एक महिनाअघि पञ्जाव पठाएका थिए। छोराहरूलाई पञ्जाव लैजानुअघि बारम्बार आउने प्रितम हिजोआज देखिन छाडेको आमा फुदनीदेवी बताउँछिन्। शिविरकै अब्दुल सलामका ६ कक्षामा अध्ययनरत १३ वर्षीय छोरा मोहमद फाहरूख मन्सुरीलाई चार महिनाअघि आफन्तले काममा लगाइदिने भन्दै काश्मिरको एउटा मोटरसाइकल ग्यारेजमा पुर्याएका थिए। बाबु अब्दुलका अनुसार छोराले ग्यारेजमा दैनिक १४ घण्टा काम गर्नु परेको छ। बहाना अनेक
पञ्जाव पुर्याइएका बालबालिकालाई गाईगोठ, खेत, विभिन्न कृषि फर्म, इँटाभट्टाहरूमा दैनिक १६ घण्टासम्म लगातार काममा लगाइएको अधिकारकर्मी साह बताउँछन्। बालबालिकालाई छुटाउन एक वर्षअघि भारतका विभिन्न क्षेत्र पुगेका साहले उनीहरू भनेजति काम नगरे निर्मम यातना दिने र कैयौं दिनसम्म खाना समेत नदिई कोठाभित्र थुनिएको अवस्थामा भेटिएको बताए। तैं चूप मै चूप बालबालिकाको खुलमखुल्ला बेचबिखन तथा सारपसार भइरहँदा समेत कानून कार्यान्वयन गर्ने निकाय तैँ चूप मै चूप छन्। यस क्षेत्रबाट बच्चाहरू बेचिएको बारे स्थानीय प्रशासनले खासै चासो देखाएको छैन। जिल्ला बालकल्याण समिति सुनसरीकी जानकी राठीले बालबालिका बेचिएको बारे थाहा नभएको बताइन्। अभिभावकले ढाँट्ने गरेकाले पत्ता लगाउन पनि कठिन हुने बताउँदै उनले तत्काल अध्ययन टोली पठाउने बताइन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र ढकाल बालबालिका बिक्री भएको वा तस्करले लगेको बारे कुनै उजुरी नपरेको बताउँछन्। उनी भन्छन्, “उजुरीका आधारमा मात्र काम गर्ने हो, कतैबाट उजुरी नआई हामी केही गर्न सक्दैनौं।” सुविधाविहीन बालबालिकाका लागि कार्यरत उप्का नेपालका इनरुवा फिल्ड संयोजक भेषराज पोखरेल बाढी प्रभावित र उच्च जोखिमयुक्त क्षेत्रमा विशेष टोली खटाएर बालबालिकालाई बेचिनबाट जोगाउन सकिने बताउँछन्। सरकारी स्तरबाट आवश्यक पहल भएमा बेचिएका बालबालिका फर्काउन समेत सकिने उनको विश्वास छ। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |