हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
खोज
बालबालिका चूपचाप बेचिँदैछन्
रोग, भोक र अभावग्रस्त कोशी बाढीपीडितलाई पैसाको लोभ देखाएर दलालहरूले तिनका बालबालिकालाई भारतका विभिन्न भागमा पुर्‍याई बेचिरहेका छन्। सोमनाथ बास्तोला को रिपोर्ट
सोमनाथ बास्तोला

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

मुन्ना सदा
कोशी कटानपछि उजाड बनेका सुनसरीका कतिपय गाउँवस्तीमा व्याप्त गरिबीको फाइदा उठाउन यतिबेला मानव तस्करहरूको लस्कर लागेको छ। गाउँका दलालको सहयोगमा बालबालिकालाई तस्करहरूले भारतका विभिन्न शहरमा बेच्दै आएका छन्। बालबालिका बिक्रीको धन्दामा संलग्न गाउँका दलालहरू खुलेआम यो काम गर्दै हिँडिरहेका छन्।

प्रमोद राम
कोशी कटानपछिको सङ्कटबाट पार पाउन रोजगारीको नाममा भारतको पञ्जाव पुर्‍याइएका सुनसरी, श्रीपुर-३ का ११ वर्षीय फुलेश्वर सदा र उनका नौ वर्षका भाइ हरिहर अहिले लुधियानाको एउटा घरमा बँधुवा मजदुर बनेका छन्। आफ्ना कलिला छोराहरूले दैनिक १६ घण्टासम्म काम गर्नुपरेको खबरले आमा अरुलियादेवी चिन्तित छिन्। हिमाल सँग उनले भनिन्, “महिनाको एक हजार भारु दिने भन्दै लगेका छोरालाई कुटेर काम लगाउँछ भन्छन्, तिनको उद्धार गरिदिनु पर्‍यो।”

रामवृष सदा
गएको २१ भदौमा बाबु भुक्ति सदाको झ्ाडापखालाबाट मृत्यु भएपछि यी दुई दाजुभाइ पैसा कमाउन गाउँकै दलु सदासँग पञ्जाव गएका थिए। दैनिक १६ घण्टा काम नगरे उनीहरूलाई यातना दिइने गरेको पञ्जावबाट एकमहिनाअघि फर्किएका सोही गाउँका उमेश सदा बताउँछन्। यी दुई बालकलाई भारतीय एजेण्टकहाँ बुझ्ाएको दलुले भारु दुई हजारको कमिसनमा यो काम गर ेको हिमाल सँग स्वीकारेका छन्।

रामसेवक सदा,
तस्करीमा संलग्न भारतीयहरूले बाढी प्रभावित श्रीपुर र हरिपुर गाविसका करिब २३ बालबालिकालाई स्थानीय दलालमार्फत भारतका विभिन्न शहरमा घरेलु कामदार, बँधुवा मजदुरका रूपमा बिक्री गरेको हिमाल को लामो खोजपछि पत्ता लागेको छ। केटाकेटीलाई फकाइफुल्याई भारत लैजानेहरूको सक्रियता बढेपछि शिविरका अभिभावकलाई घरैपिच्छे गएर सचेत गराइएको सुनसरी लौकहीस्िथत कोशीपीडित खुनियाधार शिविर व्यवस्थापन समितिका अध्यक्ष जलाउद्दीन अन्सारी बताउँछन्।

बेचिने लहर
मुन्ना सदा।
बाढीपछि बनाइएका जीर्ण टहरामा जीवन गुजारा गर्दै आएका बालबालिका बढी बेचिएका छन्। विभिन्न प्रलोभन देखाई लगिएका अधिकांश बालबालिकालाई पञ्जाव र काश्मिर पुर्‍याइएको छ। सयकडा १५ रुपैयाँको दरले काढेको ऋण तिरिदिने भन्दै भारत, सुपौलका छुतरु सदाले श्रीपुर-३ का सुखीचन्द सदाका छोरा बुलबुल भनिने मनोज (१४)लाई पञ्जावमा लगेका थिए। बुलबुलले एक महिनाअघि टेलिफोनमा बाबुसँग रुँदै भने अनुसार छुतरुले उनलाई भारु १० हजारमा बेचेका छन्।

दलु सदा।
श्रीपुर-४ को राष्ट्रि्रय निमाविमा कक्षा ४ मा पढिरहेका सुशील सदालाई भारतको वीरपुर, राधापुरका मोहमद अख्तरले राम्रो कामको लोभ देखाएर गत असोजमा पञ्जाव पुर्‍याए। बाबु विलक्षण सदाका अनुसार सुशीललाई त्यहाँको एक कागज उद्योगमा भारु ८ हजारमा बिक्री गरेको गाउँ फर्कनेहरूले बताएका छन्। तीन महिनाअघि रुँदै फोन गरेको छोराको त्यसपछि कुनै खबर नआएको उनी बताउँछन्।

सोही विद्यालयमा कक्षा २ मा पढ्ने श्रीपुर-३ का ११ वर्षीय रामवृष सदालाई पनि असोजमै पञ्जाव पुर्‍याइयो। बाबु कोशिलका अनुसार मासिक रु.६०० बुझ्ाउने शर्तमा छोरालाई हरिपुरका तेजन सदाले लगेका हुन्। हरियाणाको गाईगोठमा दैनिक १६ घण्टा काम गर्नुपर्ने कुरा सुनाउँदै छोराले फागुन दोस्रो साता फोन गरेको बाबु बताउँछन्। तेजनले नै लगेका लखीचन्द सदाका कक्षा २ मा पढ्ने १० वर्षीय छोरा रुपेश कात्तिकदेखि बेपत्ता छन्। तेजनको चार महिनाअघि मृत्यु भइसकेको छ।

राष्ट्रिय निमाविमै कक्षा ५ मा पढ्ने १४ वर्षीय इन्द्रजित सदा र कक्षा ३ मा पढ्ने उनका १२ वर्षीय भाइ सञ्जयलाई गत असोजमा उही दलु सदाले पञ्जाव लगेर प्रतिव्यक्ति भारु १ हजार कमिसन लिई तेल मिलमा बेचेका थिए। इन्द्रजित र सञ्जयलाई पञ्जाव लगेका दलुले एक बालक लगेबापत चार सय कमिसन लिएको स्वीकारेका छन्। बाबु राम सदा छोराहरूको कुनै खबर नभएको बताउँछन्। दलुले सोही समयमा लगेका स्थानीय विशेश्वर सदाका कक्षा ३ मा पढ्ने १३ वर्षीय छोरा मुन्ना र श्रीपुर-३ कै सोभितलालका १४ वर्षीय छोरा रामसेवक सदाको पनि अत्तोपत्तो छैन। श्रीपुरकै अर्का बालक निरजलाई पनि दलु सदाले पञ्जावमा बेचेका छन्।

श्रीपुरकी स्वास्थ्य स्वयम्सेविका झ्वरीदेवी रामको कक्षा ४ मा अध्ययनरत १४ वर्षीय छोरा प्रमोदलाई दलुकै गिरोहले गत असोजमा काश्मिर पुर्‍यायो। झ्वरीदेवीका अनुसार छोरालाई काश्मिर लैजाने भनी आएको एक भारतीय समूहले उसको कमाइको अग्रिम भुक्तानी भन्दै रु.५ हजार दिएको थियो।

मुक्त्ति सदाको परिवार ।
श्रीपुर-३ कै साजन सदाले दुई कक्षामा पढ्ने आफ्नो १० वर्षीय छोरा लटाइलाई पुसमा लिएर गएका भारतको सुपौल, कर्जाइनका ठेकेदार नारायण सदाले शुरुमा भनेको रु.७ हजार नदिएकाले सोधखोज गर्न सुपौल पुगेपछि मात्र छोरो बेचिएको थाहा पाए। नारायणले भारु ९ हजारमा लटाइलाई बिक्री गरेको र कसैलाई यो कुरा भने परिवार नै सखाप पारिदिने चेतावनी दिएपछि साजन चूपचाप फर्किएका थिए।

सुनसरीको हरिपुर-२, पुरानो हाटटोलका १४ वर्षीय पिन्टु यादवलाई भान्जेदाइ पर्ने पप्पु यादवले भारु १५ सयमा पञ्जावको लुधियाना पुर्‍याए। भाञ्जाले लगेको ठाउँ राम्रै होला भन्ने पिन्टुका बाबु राजकुमार भन्छन्, “छोराको खबर थाहा नपाउँदा मन पोलिरहन्छ।” पिन्टुलाई काममा लगाएर कमिसन लिई फर्केका पप्पु एकमहिनादेखि गाउँमै छन्। पिन्टु घर फर्केका छैनन्। सोही टोलका १४ वर्षीय अरविन्दकुमार रायलाई मामा पर्ने सुपौलका अमोदकुमार रायले ३ असोजमा पञ्जाव पुर्‍याए। पत्नी बबिताको झ्ाडापखालाबाट मृत्युपछि घरमा गरिबी बढेको र जेठी छोरीको विवाह गर्दा रु.५० हजार ऋण लागेकोले पैसा कमाउने आशमा छोरो पञ्जाव पठाएको अरबिन्दका बाबु गौरीशङ्कर बताउँछन्।

सुनसरीको लौकहीस्िथत खुनियाधार शिविरका बालबालिका पनि पञ्जाव र काश्मिर पुर्‍याइएका छन्। शिविरकी फुदनीदेवी यादवका १२ वर्षीय छोरा विनेश र १४ वर्षीय छोरा उमेशलाई प्रितम यादवले एक महिनाअघि पञ्जाव पठाएका थिए। छोराहरूलाई पञ्जाव लैजानुअघि बारम्बार आउने प्रितम हिजोआज देखिन छाडेको आमा फुदनीदेवी बताउँछिन्।

शिविरकै अब्दुल सलामका ६ कक्षामा अध्ययनरत १३ वर्षीय छोरा मोहमद फाहरूख मन्सुरीलाई चार महिनाअघि आफन्तले काममा लगाइदिने भन्दै काश्मिरको एउटा मोटरसाइकल ग्यारेजमा पुर्‍याएका थिए। बाबु अब्दुलका अनुसार छोराले ग्यारेजमा दैनिक १४ घण्टा काम गर्नु परेको छ।

बहाना अनेक
फुदनीदेवीको परिवार ।
सुनसरीका अधिकारकर्मी वीरेन्द्र साहको भनाइमा कोशी तटबन्ध फुट्नुअघि पनि केही नेपाली दलालहरूले सीमावर्ती गाउँबाट बालबालिकालाई पञ्जाव, काश्मिर र मुम्बईमा बिक्री गर्ने गरेका थिए। झ्ट्ट हेर्दा दलालहरूले काममा लगाइदिए जस्तो देखिए पनि उनीहरूलाई निश्चित रकममा बेचिएको हुन्छ। एक वर्षअघि अधिकारकर्मी साहको नेतृत्वमा सुनसरीबाट भारतको मेरठ र मुजफ्फरपुरमा लगी भारु दुई हजारका दरले बेचिएका चार बालकलाई घर फर्काइएको थियो। ती बालबालिका बेच्ने सुनसरी, भवानीपुरका जोगिन्दरकुमार ऋषिदेव अहिले जेलमा छन्। बालबालिका बिक्रीको घटनाप्रति सरकारले खासै चासो नदेखाएको अधिकारकर्मी भेषराज पोखरेल बताउँछन्। जोगिन्दरकुमार बाहेक अन्य तस्कर र एजेण्ट पक्राउ पर्न नसक्नुले पनि यसको पुष्टि गर्छ।

भारतीय तस्करहरूले पैसाको लोभ देखाउँदै बालबालिकाका आफन्त तथा गाउँका टाठाबाठालाई दलाल बनाएका छन्। श्रीपुर-३ का दलु सदाले प्रति बालबालिका भारु एक हजार कमिसनको लोभमा सात महिनाअघि आफ्ना भाइ उमेशसँगै एकैपटक सात जना बालबालिकालाई पञ्जाव लगेका थिए। भाइ समेत लैजाने भनेपछि अन्य अभिभावकले शङ्कै नगरी दलुको साथमा छोराछोरी पठाए। दलुले अन्य बालबालिकालाई कमिसन लिएर बिक्री गरे पनि भाइलाई आफूसँगै गाउँ फर्काए।

पञ्जाव पुर्‍याइएका बालबालिकालाई गाईगोठ, खेत, विभिन्न कृषि फर्म, इँटाभट्टाहरूमा दैनिक १६ घण्टासम्म लगातार काममा लगाइएको अधिकारकर्मी साह बताउँछन्। बालबालिकालाई छुटाउन एक वर्षअघि भारतका विभिन्न क्षेत्र पुगेका साहले उनीहरू भनेजति काम नगरे निर्मम यातना दिने र कैयौं दिनसम्म खाना समेत नदिई कोठाभित्र थुनिएको अवस्थामा भेटिएको बताए।

तैं चूप मै चूप
मानव बेचबिखन तथा सारपसार (नियन्त्रण) ऐन २०६४ मा शोषण गर्ने उद्देश्यले प्रलोभनमा पारी, झ्ुक्याई, अपहरण गरी, नाजुक स्िथतिको फाइदा लिई, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्नेवा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिएमा मानव बेचबिखन तथा सारपसारअन्तर्गतको अपराध हुने उल्लेख छ।

बालबालिकाको खुलमखुल्ला बेचबिखन तथा सारपसार भइरहँदा समेत कानून कार्यान्वयन गर्ने निकाय तैँ चूप मै चूप छन्। यस क्षेत्रबाट बच्चाहरू बेचिएको बारे स्थानीय प्रशासनले खासै चासो देखाएको छैन। जिल्ला बालकल्याण समिति सुनसरीकी जानकी राठीले बालबालिका बेचिएको बारे थाहा नभएको बताइन्। अभिभावकले ढाँट्ने गरेकाले पत्ता लगाउन पनि कठिन हुने बताउँदै उनले तत्काल अध्ययन टोली पठाउने बताइन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र ढकाल बालबालिका बिक्री भएको वा तस्करले लगेको बारे कुनै उजुरी नपरेको बताउँछन्। उनी भन्छन्, “उजुरीका आधारमा मात्र काम गर्ने हो, कतैबाट उजुरी नआई हामी केही गर्न सक्दैनौं।”

सुविधाविहीन बालबालिकाका लागि कार्यरत उप्का नेपालका इनरुवा फिल्ड संयोजक भेषराज पोखरेल बाढी प्रभावित र उच्च जोखिमयुक्त क्षेत्रमा विशेष टोली खटाएर बालबालिकालाई बेचिनबाट जोगाउन सकिने बताउँछन्। सरकारी स्तरबाट आवश्यक पहल भएमा बेचिएका बालबालिका फर्काउन समेत सकिने उनको विश्वास छ।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क