|
|
||||||||
|
रिपोर्ट
'बच्चा चोर' भन्दै मान्छे मार्दै'
बच्चा चोरको आरोपमा राज्यको उपस्थिति न्यून भएको मध्यतराईमा व्याप्त सुरक्षाविहीनताले बढाएको त्रासकै बीच स्थानीयबासीहरू आफ्नो सुरक्षाको जोहो गर्न व्यक्तिहत्यामा 'र्लिएका छन्। उपेन्द्रभगत नागवंशी को रिपोर्ट
उपेन्द्रभगत नागवंशी
• १३ वैशाख, धनुषा दुहबीमा बेचन मण्डलका ७ वर्षीय भतिज अमितलाई चोरेर लैजान लागेको अवस्थामा स्थानीयबासीको पिटाइबाट एक भारतीय महिलाको मृत्यु भयो। • १० वैशाख, जनकपुर-१६, कपिलेश्वरमा बच्चा चोरेको आरोपमा स्थानीयबासीको पिटाइबाट एक पुरुषको मृत्यु भयो, जसको शव स्थानीय चौधरी पोखरीमा फेला परेको थियो। एक दिनअघि मात्रै रत्नसागरमा भीख मागेर गुजारा गर्दै आएकी भारत, राजस्थानकी मानसिक रूपमा विक्षिप्त महिलालाई यसैगरी मारिएको थियो। ९ वैशाखमै महोत्तरी, खुट्टापिपराडीमा पनि गाउँलेकोेकुटपिटबाट बच्चा चोरेर भागेका एक पुरुष र महिलाको मृत्यु भयो।
मध्यतराईस्िथत धनुषाको गोदारदेखि ढल्केबरसम्म पूर्व-पश्चिम राजमार्गसँग जोडिएका गाउँहरूमा राज्यको उपस्िथति कमजोर हँुदा स्थानीयबासीलाई रातमा मात्र होइन दिनमा पनि चैन हुनछाडेको छ। के साँझ्, के बिहान, के दिउँसो; बच्चा चोर्न गाउँ पस्नेको लर्को लागेको उनीहरूको ठम्याइ छ। कतिबेला कसका घरबाट बच्चा चोरी हुने हो भन्ने भयले मनमा घर गरेको छ। ती क्षेत्रमा अहिले दिनहुँजसो बच्चा चोरीका घटना हुने गरेको तिनको दाबी छ। बालबालिका चोरी र अपहरणको त्रास बढेपछि स्थानीयबासीले त्यसको आरोपमा चार महिला र तीन पुरुषको हत्या तथा २० जनालाई घाइते बनाएका छन्। बच्चाचोरीको आरोपमा समातिएकाहरूलाई प्रहरीले चित्तबुझदो कारबाही नगरेको आक्रोशमा स्थानीयबासीहरूले यसरी आफैं सजाय दिन थालेका हुन्। यसबाट कतिपय निर्दोष व्यक्ति समेत कुटिएका र मारिएका छन्। २० चैतयता धनुषामा बालबालिका अपहरणको आरोपमा प्रहरीले १० महिलासहित १६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार तीमध्ये अधिकांश भारतको असाम, बङ्गाल र बिहारका छन्। कतिपयले लाटोको जस्तो व्यवहार गरेकाले अनुसन्धानमा कठिनाई भएको धनुषाका प्रहरी उपरीक्षक यादवराज खनालले बताए। प्रहरी कार्यालयमा अहिलेसम्म बच्चा चोरीसम्बन्धी लिखित उजुरी नपरेको र पक्राउ परेकाहरू पनि मानसिक सन्तुलन ठीक नभए जस्ता देखिएकाले बच्चा चोर्ने नियत नै हो भनेर विश्वास गर्न गाह्रो भएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रामकृष्ण कार्की बताउँछन्। यता गाउँलेहरू चाहिँ प्रहरीले बच्चा चोर्नेलाई कारबाही गरेन भनेर आफैं सजाय गर्न अघिसरेका छन्।
एक सातापछि २८ चैतमा भरतपुर-२, छघरिया टोलमा रामसुनैर महरा र सुरेश महराका चार र पाँच वर्षीया छोरीहरू क्रमशः उषाकुमारी र मनिषाकुमारीलाई घर नजिकै इनारमा लुगा धोइरहेका बेला एक महिलाले चकलेट दिएर अपहरण गर्ने प्रयास गरिन्। बोक्सी... बोक्सी... भन्दै भागेका बालिकाको हल्ला सुनेपछि गाउँलेले ती महिलालाई पक्रेर प्रहरीमा बुझ्ाएको मनिषाका हजुरबा बुधन महरा बताउँछन्। तर ती महिलाको मानसिक सन्तुलन ठीक नभएको भनेर प्रहरीले छाडेपछि गाउँले आक्रोशित भए। त्यसपछि २९ चैत राति धनुषा पथराही टोलका राजु विकका छोरालाई अपहरण गर्न लाग्दा पक्राउ परेकी महिलालाई गाउँलेले कुटेर जिउँदै जलाए। क-कसले जलाए भनेर कोही बताउँदैन। बच्चाकी आमा सरिता भन्छिन्, “एक्कासी त्यो महिला आएर बच्चा उठाएर भागी। बच्चा रोएको सुनेर म कराउँदै लखेट्न थालेँ। पछि गाउँले आएर उसलाई पक्रे।” पथराहीको घटनापछि प्रहरी प्रशासन र मानवअधिकारवादीहरू सक्रिय भएपनि अरू चार जनाको हत्या भएको छ। बच्चा चोरेको आरोपमा गाउँलेले मगन्ते, मानसिक सन्तुलन ठीक नभएका मात्र होइन गाउँमा आउने नयाँ मानिसलाई पनि जथाभावी कुटपिट गर्ने र ज्यान लिने क्रम बढेको छ। २ वैशाखमा धनुषाधाम, श्रीरामपुर टोलमा राति ११ बजे बच्चा चोरेको आरोपमा एक पुरुषलाई गाउँलेले रगताम्य हुने गरी कुटपिट गरे। ढल्केबर प्रहरीले ती व्यक्तिलाई पछि पागल र बोल्न नजान्ने भनेर छाड्यो। ५ वैशाखमा गोदार गाविसमा राति ११ बजेतिर बच्चा चोर्न आएको भनिएका सङ्गम झ्ासँग चकलेट भेटिएपछि उनलाई मट्टीतेल खन्याएर डढाउन लाग्दा राजमार्ग गस्तीका सशस्त्र प्रहरीले जोगाएका थिए। उनलाई जोगाउन प्रहरीले चार राउण्ड हवाई फायर गर्नुपरेको थियो।
महोत्तरी, गौशालाको सूर्ती विकास चोकमा बालिका चोरेको आरोपमा कुटपिट गरिरहेको बेला ९ वैशाखमा गौशाला प्रहरीले तीन जनालाईप्रक्राउगर्यो। राति १० बजे भएको सो घटनामा सन्तना नामकी २२ वर्षीया महिला, भूरे यादव र अर्का एक व्यक्तिलाई बच्चा चोरेको आरोपमा गाउँलेले कुटपिट गरी घाइते बनाएका थिए। ९ वैशाखमै जनकपुर-३, देमानपोखरी नजिकका विजय दासका साढेदुई वर्षका छोरा सञ्जयलाई अपहरण गर्न आएका दुई जनालाई कुटपिट गर्दै स्थानीयबासीले प्रहरीमा बुझ्ाए। कसले रोक्ने विपत्ति?
१० वैशाखमा रामेछाप सदरमुकाम मन्थली नजिकै श्रीनाथडाँडाको वनमा लागेको डढेलो निभाउन गएका १३ सैनिकको जलेर मृत्यु भयो। डढेलो सरकारी अस्पताल नजिकसम्म आइपुगेपछि नियन्त्रणमा खटिएका सैनिकहरू त्यसको चपेटामा परे। सेनापति स्पष्टीकरण प्रकरणले सिर्जना गरेको विवादका कारण राष्ट्रिय सम्पत्ति जोगाउन गएका यी बहादुर सैनिकहरूको मृत्युमा नेपाली समाजले संवेदन हुने मौका नै पाएन। १२ वैशाखमा गुल्मीको हस्तीचौर-३ को जङ्गलमा लागेको डढेलो निभाउन गएका पाँच सर्वसाधारण पनि जलेर मरे। १३ वैशाखसम्म नेपालका ४२० स्थानमा लागेको डढेलोबाट १ लाख ५० हजार हेक्टर वनक्षेत्र नष्ट भएको छ। वन मन्त्रालयका अनुसार, यसबाट रु.१२ करोडभन्दा बढीको नोक्सान भएको छ, थुप्रै व्यक्ति घाइते भएका छन्। डढेलोले काठमाडौंको शिवपुरी र ललितपुरको फुल्चोकी वनसमेत जोगिएका छैनन्। डढेलोबाट निस्केको धूवाँले सूर्यको प्रकाश छेकिएको र त्यसले वायुमण्डलमा एटमोस्िफयरिक ब्राउन क्लाउडको मात्रा अस्वाभाविक रूपमा बढेको मौसमविद्हरू बताउँछन्। विज्ञहरूका अनुसार, मौसम परिवर्तनले बढाएको सुक्खापन र भरपर्दो सरकारी नियन्त्रण संयन्त्र नहँुदा डढेलोले सङ्कटको रुप लिँदै गएको छ। राजधानी काठमाडौँमा आगलागी नियन्त्रण गर्न स्थापना भएका जुद्ध बारुणयन्त्रका विभन्न इकाइ आफैँ बिरामी अवस्थामा छन्। शहरभित्रका सानातिना आगलागी नियन्त्रण गर्न समेत तिनलाई हम्मेहम्मे पर्छ। “दैनिक ३-४ वटा आगलागीको घटना आउँछ” ललितपुर बारुणयन्त्र कार्यालयका कर्मचारी रोहित श्रेष्ठ भन्छन्, “वनमा लागेको डढेलो टुलुटुलु हेरेर बस्नुको विकल्प छैन।” सबै सरकारी दमकल वनको डढेलो निभाउन सक्ने अवस्थाको नभएको श्रेष्ठ बताउँछन्। यो अवस्थाले शहरमा आगो लागिहाले पनि बारुणयन्त्रबाट नियन्त्रण भइहाल्ला भन्न सकिने अवस्था छैन। काठमाडौंको बारुणयन्त्रको हालत उस्तै छ, २९ जना फायरम्यान हुनुपर्नेमा ८ जना मात्रै कार्यरत छन्। “काठमाडौंका जङ्गलमा आगलागी भइरहेको छ, दमकल लिएर निभाउन जान सकिन्नँ” फायरम्यान वासुदेव हेमगजवु भन्छन्, “दैनिक पाँच वटासम्म आगलागीका घटना हुन्छन्, त्यसलाई नियन्त्रण गर्ने क्षमता नै छैन।” काठमाडौं जुद्ध बारुणयन्त्रका सुपरीटेण्डेन्ट धर्मलाल श्रेष्ठ थप्छन्, “घरको आगलागी त नियन्त्रण गर्न कठिन छ, शिवपुरी जङ्गलमा लागेको आगो निभाउने त सोच्न पनि सकिएको छैन।” यो वर्ष शताब्दीकै ठूलो डढेलो लागेको बताउँछन् वन मन्त्रालयका प्रवक्ता प्रेमनारायण कँडेल। उनी भन्छन्, “मन्त्रालयले जनचेतना जगाउँदै डढेलो नियन्त्रण गर्न सबै स्रोत र साधन परिचालन गर्ने निर्णय भएको छ। प्रकृतिसँगै मानवीय कारणले पनि डढेलो फैलिएकाले नियन्त्रणका लागि राष्ट्रिय तहमा छुट्टै संयन्त्रको खाँचो महसूस भएको छ।” गृह मन्त्रालयको दैवी प्रकोप उद्धार समितिमा पर्याप्त स्रोतसाधन नहुँदा समयमै उद्धारकार्य हुन नसकेको र धेरै क्षति भएको मन्त्रालयका प्रवक्ता नवीन घिमिरे बताउँछन्। कतिपयले नियतवश डढेलो लगाउने गरेको भएपनि अहिलेसम्म त्यो अभियोगमा कोही पक्राउ परेका छैनन्। घिमिरे भन्छन्, “अहिले उद्धारमा मात्र ध्यान दिएका छौं।” गोविन्द लुइँटेल प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |