|
|
||||||||
|
खोज
घरमै डिग्री
पैसा तिर्ने हो भने देशको सबैभन्दा विश्वासिलो मानिएको त्रिभुवन विश्वविद्यालयबाटै घर बसी बसी राम्रो अंकमा असली डिग्री हात पार्न सकिन्छ। सुनिल न्यौपाने को खोज
सुनिल न्यौपाने
हिजोआज मौलाएको त्रिभुवन विश्वविद्यालयमा नक्कली परीक्षार्थीलाई जाँच दिन लगाएर सक्कली प्रमाणपत्र पाइने धन्दाको यो एउटा उदाहरण मात्रै हो। नक्कली प्रमाणपत्रको मामिलामा बद्नाम भारतको बिहारलाई उछिन्ने गरी चलिरहेको नक्कली तवरबाट सक्कली प्रमाणपत्रकै व्यापार हुने यो धन्दामा त्रिवि पनिकाका केही कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र कतिपय विद्यार्थी सङ्गठनका नेतासमेत संलग्न भेटिएका छन्। माथि उल्लेख भएको परीक्षा फर्म एक विद्यार्थी नेतामार्फत पनिकाका कर्मचारीले दर्ता गरिदिएका हुन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-नियन्त्रक अमन श्रेष्ठ भन्छन्, “कर्मचारीले राम्रोसँग नहेर्ने र विद्यार्थी सङ्गठनको अनावश्यक हस्तक्षेपका कारण परीक्षा मर्यादित हुनसकेको छैन।”
स्नातकोत्तर तहको अङ्ग्रेजी विषयको परीक्षा दिने व्यक्ति खोज्दै २८ चैतमा त्रिवि कीर्तिपुर परिसर पुगेको यो संवाददातासँग त्यहींका पूर्व विद्यार्थी विपिन थापाले रु.२५ हजार मागे। “तपाईंलाई अलिक धेरै नम्बर चाहिए त्रिवि टप गरेको साथीबाट दिलाइदिन्छौं, त्यसको अलि बढी लाग्छ। हैन, पास मात्रै हुने भए यसमै कुरा मिलाऊँ”, थापाको आग्रह थियो। उनले आफ्नो समूहमा पाँच जना भएको र सक्कली परीक्षार्थीको जातसँग मिल्दोजुल्दो बाहुन-क्षेत्री-जनजाति जुनसुकै अनुहारको व्यक्तिबाट पनि परीक्षा दिलाइदिने आश्वासन दिए (उनीसँग भएको कुराकानीको लामो रेकर्ड हिमाल मा सुरक्षित छ)। कीर्तिपुर स्ववियुका एक पूर्व पदाधिकारी कीर्तिपुरमा मात्रै अङ्ग्रेजी, गणित जस्ता विषयको परीक्षा दिने नक्कली परीक्षार्थी सय जना जति भएको बताउँछन्। पढ्दै गरेका विद्यार्थीदेखि पढाउने शिक्षकसम्म यो काममा संलग्न छन्। नक्कली परीक्षाको खेल
तेस्रो तरिका हो, उत्तरपुस्ितका बाहिर ल्याउने। सक्कली परीक्षार्थी परीक्षा हलमै बसेर लेखिरहेको बहाना गर्छ, तर गार्डको मिलेमतोमा उत्तरपुस्ितका बाहिर ल्याइन्छ र पैसा लिएर जाँच दिने व्यक्तिले लेखेको उत्तरपुस्ितका परीक्षा हलमा पुर्याएर साटिन्छ। कीर्तिपुर स्ववियुका पूर्व सभापति विजय राई परीक्षामा गार्ड बसेका कर्मचारीलाई मिलाएर गरिने यो धन्दामा कतिपय शिक्षकहरू नै लागेको बताउँछन्। देशभरकै टाउकोदुखाइ त्यही क्याम्पसमा २०६४ सालको एकवर्षे बीएडमा पनि तीन जना विद्यार्थीलाई नक्कली परीक्षार्थी प्रयोग गरेको भेटिएपछि चार वर्ष परीक्षामा सामेल हुन नदिने कारबाही गरेको थियो (हे. त्रिविको सूचना)। पनिकाले उनीहरूको लागि परीक्षा दिने त्यही क्याम्पसमा बीएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत् नक्कली परीक्षार्थीलाई पनि दुई वर्ष निलम्वन गर्न त्रिवि कार्यकारी परिषदमा सिफारिस गरेको छ, र यसमा निर्णय हुन बाँकी नै छ। यसअघि २०५९ सालमा पनि ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने विश्वजीत चौरसिया, रञ्जित पटेल, सुरेशप्रसाद र अमित तिवारी कारबाहीमा परेका थिए। चारवर्षे निलम्बनमा परेका चौरसिया नै अहिले वीरगञ्जमा नक्कली परीक्षार्थीको एउटा सङ्गठित गिरोह चलाउँछन्। नक्कली परीक्षार्थीमार्फत परीक्षा दिलाउने धन्दा अहिले भुसको आगोझ्ैं भित्रभित्रै फैलिएको र यो त्रिविमा मात्र सीमित नभई उच्चमाध्यमिक शिक्षा परिषदमा पनि छिरेको छ। १० जेठ २०६५ मा राममणि बहुमुखी क्याम्पस, मणिग्राममा शङ्करनगर उच्च मावि रुपन्देहीका विद्यार्थीको नाममा कक्षा ११ को लेखा विषयको परीक्षा दिइरहेका पाँच जना नक्कली परीक्षार्थी रुपन्देही, मक्रहरका लालबहादुर केसी, शङ्करनगर-१ का माधव गिरी र गोपाल न्यौपाने, शङ्करनगर-४ का युवराज भट्टराई र गोविन्द भुषाल पक्राउ परे। उनीहरूमध्ये केसी रोहित ढकालको, गिरी कमल अर्यालको, न्यौपाने गिरिराज देवकोटाको, भट्टराई कृष्णप्रसाद सापकोटाको र भुषाल सुमन क्षेत्रीको नाममा परीक्षा दिँदै थिए। वास्तविक परीक्षार्थीको प्रवेशपत्रको फोटो उक्काएर आफ्नो फोटो टाँसी परीक्षा दिइरहेका उनीहरू सुराकीका आधारमा समातिएका क्याम्पस प्रमुख खगराज शर्मा बताउँछन्। जो चोर उसकै ठूलो स्वर
नक्कली परीक्षार्थीलाई कडा कारबाही नभएकाले पनि धन्दा मौलाएको छ। त्रिविको सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार नक्कली परीक्षार्थीमार्फत परीक्षा दिलाउने विद्यार्थीलाई बढीमा चार वर्ष त्रिविमा पढ्न नपाउने गरी निलम्वन गर्ने र फौजदारी अभियोगमा कारबाही चलाउन स्थानीय प्रशासनलाई जिम्मा लगाउन सकिने व्यवस्था छ। तर अहिलेसम्म त्रिविबाट निलम्बन गर्ने बाहेक खासै कारबाही भएको छैन। १० जेठ २०६५ मा रुपन्देहीमा पक्राउ परेका पाँच जना नक्कली परीक्षार्थी २५ दिन थुनामा बसेर जिल्ला प्रशासन कार्यालयको साधारण तारेखमा रिहा भए। अझ् वीरगञ्जमा त पक्राउ परेकै दिन र त्यसको भोलिपल्टै छुटेका छन्। गएको २४ मङ्सिरमा ज्ञानेन्द्रप्रसाद दास (सि.नं. ९४८९) को नाममा बीबीएस प्रथम वर्षको परीक्षा दिएको बेला पक्राउ परेका एक नक्कली परीक्षार्थीलाई नेपाल विद्यार्थी संघका स्थानीय नेता-कार्यकर्ताले जुलुस निकालेर भोलिपल्टै छुटाएका थिए। साथमा मुकेश पोखरेल, भैरहवा सुधार घरबाटै
नक्कली परीक्षार्थी भेटिन थालेपछि त्यसलाई रोक्न क्याम्पस प्रमुखहरूकै असहयोगले पनि नसकिएको परीक्षा सह-नियन्त्रक श्रेष्ठ गुनासो गर्छन्। “परीक्षा फारम पठाउँदा फोटो हेरेर हस्ताक्षर गरेर पठाउन अनुरोध गर्दा पनि क्याम्पस प्रमुखहरूले त्यस अनुसार न गरेकाले पनि समस्या भइरहेको छ”, उनी भन्छन्। नक्कली विद्यार्थीको नाममा प्रवेशपत्रको प्रतिलिपि निकाल्ने क्रम बढेपछि त्रिविले परीक्षा फारम खोल्दा नै परीक्षा फारममा भरिएकै फोटो प्रतिलिपि निकाल्न पनि चाहिने सूचना गरेको छ, तर त्यसलाई कडाइका साथ लागू गर्न सकेको छैन। त्रिविका परीक्षा नियन्त्रक दयामान कर्माचार्यले आगामी परीक्षादेखि नक्कली परीक्षार्थी रोक्न तीन वटा कुरामा ध्यान दिने बताएका छन्― धेरै परीक्षार्थीलाई एउटै केन्द्रमा नराख्ने, प्रहरीको सहयोग अलिक बढी लिने र केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई सक्रिय बनाउने। यति गर्न सके धेरै सफल हुने परीक्षा नियन्त्रक कर्माचार्यको विश्वास छ। तर परीक्षा नियन्त्रण कार्यालय, बल्खुको ढोकाबाटै नक्कली परीक्षाको धन्दा नरोकेसम्म यो त्यति सहज छैन। प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |