हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
खोज
घरमै डिग्री
पैसा तिर्ने हो भने देशको सबैभन्दा विश्वासिलो मानिएको त्रिभुवन विश्वविद्यालयबाटै घर बसी बसी राम्रो अंकमा असली डिग्री हात पार्न सकिन्छ। सुनिल न्यौपाने को खोज
सुनिल न्यौपाने

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

नक्कली परीक्षार्थीलाई कारबाही गरिएको सूचना।
यही ८ वैशाखमा डोल्पाका विष्णुप्रसाद न्यौपानेको नाउँबाट काठमाडौंको त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) मा नेपाली विषयको स्नातकोत्तर तहको परीक्षा फारम बुझाइएको छ। तर उनी जाँच दिन राजधानी आउँदैनन्, न डोल्पामै वा कतै वरपर गएर दिन्छन्। उनको नाउँमा परीक्षा दिने अर्कै व्यक्ति काठमाडौंमा परीक्षाको तयारीमा जुटेका छन्। उनी घरै बसी-बसी गतिलो अङ्कसहित परीक्षामा उत्तीर्ण हुनेछन्। यसको चाँजोपाँजो मिलिसकेको छ। उनको नाममा भरिएको परीक्षा फारमको प्रवेशपत्र नक्कली परीक्षार्थीको नाममा निस्कने गरी त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा बुझाइएको छ (हेर्नुस् परीक्षा फारम)।
हिजोआज मौलाएको त्रिभुवन विश्वविद्यालयमा नक्कली परीक्षार्थीलाई जाँच दिन लगाएर सक्कली प्रमाणपत्र पाइने धन्दाको यो एउटा उदाहरण मात्रै हो। नक्कली प्रमाणपत्रको मामिलामा बद्नाम भारतको बिहारलाई उछिन्ने गरी चलिरहेको नक्कली तवरबाट सक्कली प्रमाणपत्रकै व्यापार हुने यो धन्दामा त्रिवि पनिकाका केही कर्मचारी, स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारी र कतिपय विद्यार्थी सङ्गठनका नेतासमेत संलग्न भेटिएका छन्। माथि उल्लेख भएको परीक्षा फर्म एक विद्यार्थी नेतामार्फत पनिकाका कर्मचारीले दर्ता गरिदिएका हुन्। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सह-नियन्त्रक अमन श्रेष्ठ भन्छन्, “कर्मचारीले राम्रोसँग नहेर्ने र विद्यार्थी सङ्गठनको अनावश्यक हस्तक्षेपका कारण परीक्षा मर्यादित हुनसकेको छैन।”

विष्णुप्रसाद न्यौपानेको नाउँमा अर्कै व्यक्तिले काठमाडौंबाट नेपाली विषयको स्नातकोत्तर तहको परीक्षा दिन पनिकामा दर्ता गराएको परीक्षा फारम।
निश्चित रकम लिएर अर्काको परीक्षा दिने पेशेवर परीक्षार्थीहरू प्रवीणता प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्मको जाँच दिन्छन्। प्रवीणता प्रमाणपत्र तह र स्नातक तहको प्रति विषय रु.५ हजारदेखि रु.७ हजारसम्म लिएर जाँच दिनेहरू स्नातकोत्तर तहको भने प्रति विषय रु.७ हजारभन्दा माथिकै रकम लिन्छन्। स्नातकोत्तर तहको शोधपत्र (थेसिस) रु.१५ हजारमा तयार पारिन्छ। थोरै मेहनत गर्ने हो भने राजधानीका क्याम्पसहरू नजिक यस्ता पेशेवरहरूको गिरोह नै क्रियाशील भेटिन्छन्।

स्नातकोत्तर तहको अङ्ग्रेजी विषयको परीक्षा दिने व्यक्ति खोज्दै २८ चैतमा त्रिवि कीर्तिपुर परिसर पुगेको यो संवाददातासँग त्यहींका पूर्व विद्यार्थी विपिन थापाले रु.२५ हजार मागे। “तपाईंलाई अलिक धेरै नम्बर चाहिए त्रिवि टप गरेको साथीबाट दिलाइदिन्छौं, त्यसको अलि बढी लाग्छ। हैन, पास मात्रै हुने भए यसमै कुरा मिलाऊँ”, थापाको आग्रह थियो। उनले आफ्नो समूहमा पाँच जना भएको र सक्कली परीक्षार्थीको जातसँग मिल्दोजुल्दो बाहुन-क्षेत्री-जनजाति जुनसुकै अनुहारको व्यक्तिबाट पनि परीक्षा दिलाइदिने आश्वासन दिए (उनीसँग भएको कुराकानीको लामो रेकर्ड हिमाल मा सुरक्षित छ)। कीर्तिपुर स्ववियुका एक पूर्व पदाधिकारी कीर्तिपुरमा मात्रै अङ्ग्रेजी, गणित जस्ता विषयको परीक्षा दिने नक्कली परीक्षार्थी सय जना जति भएको बताउँछन्। पढ्दै गरेका विद्यार्थीदेखि पढाउने शिक्षकसम्म यो काममा संलग्न छन्।

नक्कली परीक्षाको खेल
एउटाको परीक्षा अर्कोले दिने तीन तरिका छन्― पहिलो, परीक्षा फारम भर्दा नै माथिल्लो भागमा सक्कली परीक्षार्थीको र तल्लो प्रवेशपत्रको भागमा नक्कली परीक्षार्थीको फोटो टाँसेर फारम भर्ने। जस्तो कि माथि प्रकाशित फारममा यो देख्न पाइन्छ। पनिकाकै कर्मचारीको मिलेमतोमा भरिने यस्तो फारमका आधारमा नक्कली परीक्षार्थीकै नाममा प्रवेशपत्र निस्कन्छ। सबै परीक्षा नक्कली परीक्षार्थीले दिने अवस्थामा यो तरिका अपनाइन्छ।

विष्णुप्रसाद न्यौपानेको नाउँमा अर्कै व्यक्तिले काठमाडौंबाट नेपाली विषयको स्नातकोत्तर तहको परीक्षा दिन पनिकामा दर्ता गराएको परीक्षा फारम।
दोस्रो, प्रवेशपत्र आइसकेपछि त्यसमा फोटो परिवर्तन गर्ने। प्रायः एउटा मात्रै विषयको परीक्षा दिन अपनाइने यो तरिकामा प्रवेशपत्र हराएको बहाना गरिन्छ र जाँच दिने व्यक्तिको फोटो टाँसेर नयाँ प्रवेशपत्र बनाइन्छ। कतिले प्रवेशपत्रमा टाँसिएको फोटो उक्काएर नक्कली परीक्षार्थीको फोटो टाँस्ने गरेको पनि भेटिएको छ (हेर्नुस् प्रवेशपत्रहरू)। नक्कली परीक्षार्थी रोक्न त्रिविले प्रवेशपत्रमा होलोग्राम टाँस्न थालेपनि त्यो प्रभावकारी भएको छैन। प्रवेशपत्रबाट सक्कली परीक्षार्थीको फोटोसँगै होलोग्राम समेत उक्काएर नक्कली परीक्षार्थीको फोटोमा टाँसिने गरेकोले नक्कली परीक्षार्थी रोक्न कठिन भएको सह-नियन्त्रक श्रेष्ठ बताउँछन्। कतिले त नक्कली होलोग्राम बनाएर पनि यस्तो काम गरेका छन्।

तेस्रो तरिका हो, उत्तरपुस्ितका बाहिर ल्याउने। सक्कली परीक्षार्थी परीक्षा हलमै बसेर लेखिरहेको बहाना गर्छ, तर गार्डको मिलेमतोमा उत्तरपुस्ितका बाहिर ल्याइन्छ र पैसा लिएर जाँच दिने व्यक्तिले लेखेको उत्तरपुस्ितका परीक्षा हलमा पुर्‍याएर साटिन्छ। कीर्तिपुर स्ववियुका पूर्व सभापति विजय राई परीक्षामा गार्ड बसेका कर्मचारीलाई मिलाएर गरिने यो धन्दामा कतिपय शिक्षकहरू नै लागेको बताउँछन्।

देशभरकै टाउकोदुखाइ
पैसा लिएर अर्काको परीक्षा दिने धन्दा काठमाडौंमा मात्रै सीमित छैन, मुलुकभर व्याप्त छ। ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा यस वर्ष आइकम प्रथम वर्षको परीक्षा नक्कली परीक्षार्थीमार्फत दिलाएको भेटिएपछि त्रिविले दीपा पौडेल (सि.नं. २९७१), सत्यनारायण मण्डल (सि.नं. ४९२२), अजिना राई (सि.नं. ४९७०), अन्दिरा अङ्वा (सि.नं. ४९७१), अम्विरा कार्की (सि.नं. ४९७८) र विमल भुजेल (सि.नं. ५०१३) पाँच जनालाई सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० अनुसार चार वर्षसम्म त्रिविका कुनै परीक्षामा सामेल हुन नपाउने कारबाही गरेको छ।

त्यही क्याम्पसमा २०६४ सालको एकवर्षे बीएडमा पनि तीन जना विद्यार्थीलाई नक्कली परीक्षार्थी प्रयोग गरेको भेटिएपछि चार वर्ष परीक्षामा सामेल हुन नदिने कारबाही गरेको थियो (हे. त्रिविको सूचना)। पनिकाले उनीहरूको लागि परीक्षा दिने त्यही क्याम्पसमा बीएड दोस्रो र तेस्रो वर्षमा अध्ययनरत् नक्कली परीक्षार्थीलाई पनि दुई वर्ष निलम्वन गर्न त्रिवि कार्यकारी परिषदमा सिफारिस गरेको छ, र यसमा निर्णय हुन बाँकी नै छ। यसअघि २०५९ सालमा पनि ठाकुरराम बहुमुखी क्याम्पसमा बीबीएस प्रथम वर्षको परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गर्ने विश्वजीत चौरसिया, रञ्जित पटेल, सुरेशप्रसाद र अमित तिवारी कारबाहीमा परेका थिए। चारवर्षे निलम्बनमा परेका चौरसिया नै अहिले वीरगञ्जमा नक्कली परीक्षार्थीको एउटा सङ्गठित गिरोह चलाउँछन्।

नक्कली परीक्षार्थीमार्फत परीक्षा दिलाउने धन्दा अहिले भुसको आगोझ्ैं भित्रभित्रै फैलिएको र यो त्रिविमा मात्र सीमित नभई उच्चमाध्यमिक शिक्षा परिषदमा पनि छिरेको छ। १० जेठ २०६५ मा राममणि बहुमुखी क्याम्पस, मणिग्राममा शङ्करनगर उच्च मावि रुपन्देहीका विद्यार्थीको नाममा कक्षा ११ को लेखा विषयको परीक्षा दिइरहेका पाँच जना नक्कली परीक्षार्थी रुपन्देही, मक्रहरका लालबहादुर केसी, शङ्करनगर-१ का माधव गिरी र गोपाल न्यौपाने, शङ्करनगर-४ का युवराज भट्टराई र गोविन्द भुषाल पक्राउ परे। उनीहरूमध्ये केसी रोहित ढकालको, गिरी कमल अर्यालको, न्यौपाने गिरिराज देवकोटाको, भट्टराई कृष्णप्रसाद सापकोटाको र भुषाल सुमन क्षेत्रीको नाममा परीक्षा दिँदै थिए। वास्तविक परीक्षार्थीको प्रवेशपत्रको फोटो उक्काएर आफ्नो फोटो टाँसी परीक्षा दिइरहेका उनीहरू सुराकीका आधारमा समातिएका क्याम्पस प्रमुख खगराज शर्मा बताउँछन्।

जो चोर उसकै ठूलो स्वर
सिरहाको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पसमा स्नातक तहको परीक्षामा नक्कली परीक्षार्थीले परीक्षा दिइरहँदा पनि निरीक्षक र केन्द्राध्यक्षले केही गर्न नसकेपछि त्रिविले १७ पुस २०६५ मा काठमाडौंबाट रतिष झाको नेतृत्वमा पठाएको चार सदस्यीय विशेष निरीक्षण टोलीका सदस्य समेत कुटिए। निरीक्षण टोलीका सदस्यहरूले परीक्षार्थीसँग प्रवेशपत्र माग्दा नक्कली परीक्षार्थीहरूको समूह नै जाइलागेकोले उनीहरूलाई जोगाउन प्रहरीले सुरक्षा दिएर सप्तरी पुर्‍याएको थियो। टोलीप्रमुख झा शिक्षकहरूले नै विद्यार्थीको नाममा परीक्षा दिएको हल्ला चलेपछि त्यसलाई रोक्न जाँदा ज्यान जोगाएर भाग्नुपरेको बताउँछन्। गत वर्ष वीरगञ्जमा पनि नक्कली परीक्षार्थी समातिएपछि आक्रोशित समूहले तत्कालीन क्याम्पस प्रमुख विश्वनाथप्रसाद पाललाई परीक्षा शाखाभित्रै पसेर कुटपिट गरेको थियो। यी घटनाले नक्कली परीक्षार्थीको धन्दा सङ्गठित रूपमै हुन थालेको र यो धन्दा चलाउनेहरू कमजोर नरहेको पुष्टि गर्दछन्।

नक्कली परीक्षार्थीलाई कडा कारबाही नभएकाले पनि धन्दा मौलाएको छ। त्रिविको सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार नक्कली परीक्षार्थीमार्फत परीक्षा दिलाउने विद्यार्थीलाई बढीमा चार वर्ष त्रिविमा पढ्न नपाउने गरी निलम्वन गर्ने र फौजदारी अभियोगमा कारबाही चलाउन स्थानीय प्रशासनलाई जिम्मा लगाउन सकिने व्यवस्था छ। तर अहिलेसम्म त्रिविबाट निलम्बन गर्ने बाहेक खासै कारबाही भएको छैन।

१० जेठ २०६५ मा रुपन्देहीमा पक्राउ परेका पाँच जना नक्कली परीक्षार्थी २५ दिन थुनामा बसेर जिल्ला प्रशासन कार्यालयको साधारण तारेखमा रिहा भए। अझ् वीरगञ्जमा त पक्राउ परेकै दिन र त्यसको भोलिपल्टै छुटेका छन्। गएको २४ मङ्सिरमा ज्ञानेन्द्रप्रसाद दास (सि.नं. ९४८९) को नाममा बीबीएस प्रथम वर्षको परीक्षा दिएको बेला पक्राउ परेका एक नक्कली परीक्षार्थीलाई नेपाल विद्यार्थी संघका स्थानीय नेता-कार्यकर्ताले जुलुस निकालेर भोलिपल्टै छुटाएका थिए।

साथमा मुकेश पोखरेल, भैरहवा


सुधार घरबाटै

अमन श्रेष्ठ, सह- नियन्त्रक त्रिवि परीक्षा नियन्त्रण कार्यालय
परीक्षा प्रणालीमा सुधारका लागि त्रिविले गएको १३ असोजमा मानविकी तथा सामाजिक शास्त्र अध्ययन संस्थानका डीन प्रा.डा. नवराज कँडेलको संयोजकत्वमा सात सदस्यीय परीक्षा सुधार सुझाव समिति गठन गरेको छ। त्रिविको परीक्षासम्बन्धी आर्थिक र नीतिगत सुधारका लागि सुझ्ाव दिने कार्यादेशसहित गठन गरिएको समितिले अहिलेसम्म नीतिगत सुधारका बारेमा छलफल गरेको छैन। समितिका संयोजक प्रा.डा. कँडेल नक्कली परीक्षार्थीका बारेमा त समितिको बैठकमा छलफल नै नभएको बताउँदै त्यसका लागि पहिले आर्थिक सुधारको आवश्यकता औंल्याउँछन्। “गार्डको रकम साह्रै थोरै भएका कारण अहिले परीक्षामा गार्ड बस्ने जिम्मा पियन, हेड असिष्टेन्टको भएको छ। रकम बढाएपछि शिक्षक गार्ड बस्न प्रोत्साहित होलान्, शिक्षक बसे भने यो समस्या घटाउन सजिलो हुन्छ भन्ने हामीले आशा गरेका छौं”, कँडेल भन्छन्।

नक्कली परीक्षार्थी भेटिन थालेपछि त्यसलाई रोक्न क्याम्पस प्रमुखहरूकै असहयोगले पनि नसकिएको परीक्षा सह-नियन्त्रक श्रेष्ठ गुनासो गर्छन्। “परीक्षा फारम पठाउँदा फोटो हेरेर हस्ताक्षर गरेर पठाउन अनुरोध गर्दा पनि क्याम्पस प्रमुखहरूले त्यस अनुसार न गरेकाले पनि समस्या भइरहेको छ”, उनी भन्छन्। नक्कली विद्यार्थीको नाममा प्रवेशपत्रको प्रतिलिपि निकाल्ने क्रम बढेपछि त्रिविले परीक्षा फारम खोल्दा नै परीक्षा फारममा भरिएकै फोटो प्रतिलिपि निकाल्न पनि चाहिने सूचना गरेको छ, तर त्यसलाई कडाइका साथ लागू गर्न सकेको छैन।

त्रिविका परीक्षा नियन्त्रक दयामान कर्माचार्यले आगामी परीक्षादेखि नक्कली परीक्षार्थी रोक्न तीन वटा कुरामा ध्यान दिने बताएका छन्― धेरै परीक्षार्थीलाई एउटै केन्द्रमा नराख्ने, प्रहरीको सहयोग अलिक बढी लिने र केन्द्राध्यक्ष तथा निरीक्षकहरूलाई सक्रिय बनाउने। यति गर्न सके धेरै सफल हुने परीक्षा नियन्त्रक कर्माचार्यको विश्वास छ। तर परीक्षा नियन्त्रण कार्यालय, बल्खुको ढोकाबाटै नक्कली परीक्षाको धन्दा नरोकेसम्म यो त्यति सहज छैन।

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क