|
|
||||||||
|
अन्तिम पाना
'... भ्याकुरलाई जस्तै लखेट्नै पर्छ'
प्रधानमन्त्री पुष्पकमल दाहाल, २४ चैतका दिन खुल्लामञ्चमा यसरी प्रस्तुत भएः
म नर्वे र फिनल्याण्डमा जनताको काममा व्यस्त रहँदा संसद्भित्रका केही साथीहरूले मा'वादीलाई सरकारमा ल्याउनु गल्ती गरियो भनेको सुन्दा मलाई बडो अनौठो लाग्यो। मा'वादीलाई सरकारमा के तिनले ल्याएका हुन्? हामीलाई त नेपाली जनताले सरकारमा ल्याएका हुन्। नेपाली जनताको योभन्दा ठूलो अपमान के हुनसक्छ? संविधानसभाको निर्वाचनबाट जनताले दिएको फैसलामाथि योभन्दा ठूलो अवरोध र बेइमानी के हुनसक्छ? अरू केही हुनसक्दैन। तिनको बाउको बिर्ता हो नेपाल राज्य? सरकार बनाउने ठेक्का तिनीहरूले लिएका हुन्? के उनीहरू सरकार बनाउने ठेकेदार हुन्? कुनै-कुनै नेताहरूले सेना समायोजन हुनै सक्दैन भनिरहेका छन्। उनीहरुलाई कसले दियो सेना समायोजन नगर्ने अधिकार? गिरिजाबाबुले हस्ताक्षर गरेको बृहत् शान्ति सम्झ्ौतामा सेना समायोजन र व्यवस्थापनको कुरा उल्लेख छ। जसले लामो समयसम्म राजतन्त्र र प्रजातन्त्रको कुरा गरे उनीहरूको व्यवहार सधैँ तानाशाही र निरङ्कुशतावादी भयो तर लोकतन्त्रवादी कहिल्यै भएन। अहिले सेना समायोजनको विरोध गर्नु भनेको शान्ति सम्झ्ौता र अन्तरिम संविधानको विरोध गर्नु हो। सेना समायोजनको विरोध गर्नु लोकतन्त्रको खिल्ली उडाउने, नेपालमा फेरि विध्वंस मच्चाउने र तानाशाही शासन गर्ने षड्यन्त्रको हिस्सा हो। सेना समायोजन र पुनस्र्थापनाको विरोध गर्ने लोकतन्त्रवादी, जनतन्त्रवादी र राष्ट्रवादी हुनसक्दैन। त्यो अपराधी र हत्यारा मात्रै हुन सक्छ। सेना समायोजनको विरोध गर्नेहरूलाई चिनिराख्नोस्। समायोजन र पुनस्र्थापनामा भाँडभैलो मच्चाउनेलाई भ्याकुरलाई जस्तै लखेट्नै पर्छ। सरकारमा गएर मैले के बुझे भने त्यस्ता बद्मासहरू थोरै छन्। थोरै भएपनि उनीहरू पुराना नेपालका हर्ताकर्ता रहेछन्। भन्दा लोकतन्त्र भन्ने भित्रभित्र शान्ति हुन नदिने, संविधान लेखिन नदिने। अहिले संविधान निर्माणमा केन्द्रित हुने बेला छ। मा'वादीको नेतृत्वमा संविधान लेखियो भने त्यो सामन्त, जमिन्दार, दलाल नोकरशाहहरूको लागि हुँदैन। मजदुर, किसान र राष्ट्रवादी शक्तिको लागि हुन्छ। यो बुझ्ेका प्रतिक्रान्तिकारीहरूले संविधान बन्न नदिन सेना समायोजनको विरोध र संविधानसभामा अवरोध गरिरहेका छन्। मा'वादीको नेतृत्वमा संविधान बन्यो भने जनताको आकर्षण मा'वादीप्रति बढ्छ र मा'वादीले शासन चलाउँछ भन्ने प्रतिक्रियावादीहरूलाई डर छ। त्यसैले जसरी हुन्छ भाँजो हाल्ने, बखेडा झ्िक्ने, निहुँ खोज्ने गरिरहेका छन्। ज्ञानेन्द्रदेखि उनको अघिपछि हिँड्नेहरूले पनि पहिला जस्तै गर्न खोजेका छन्। तर हामी त्यसो हुन दिँदैनौं। दोस्रो विश्वयुद्धको बेलामा नर्वेका राजाले जनताको पक्षमा लागेर जर्मन विरुद्ध लडेका रहेछन्। हामीकहाँका राजा त कुलङ्गार परे। नर्वेको जस्तै भए त जनताले पनि अर्कै ढङ्गले सोच्थे होलान्। मा'वादी सरकार बनेपछि चमत्कारै नभए पनि अन्तर्राष्ट्रिय समुदाय र जनताले परिवर्तनको अनुभूति गरेका छन्। विस्तारै विस्तारै चमत्कारतर्फ (सरकार) अगाडि बढ्दैछ। तर तपाईंहरूलाई पनि थाहा होला यो सरकारले परिवर्तनलाई सम्बोधन गर्न खोज्यो, राहत दिन खोज्यो वा विभिन्न क्षेत्रमा जनतालाई मद्दत गर्न खोज्यो भने प्रतिक्रान्तिकारीहरूको कित्तामा ठूलो खैलाबैला मच्चिने गरेको छ। सरकारले विद्युत् उत्पादनमा राहत दिने, युवा रोजगार कार्यक्रम र बाटोघाटो निर्माणको लागि सहयोग गरिरहेको छ। प्रतिक्रान्तिकारीहरूलाई यो सरकारले केही गरेन भन्दा पनि केही गर्यो भन्ने चिन्ता छ। यी मुट्ठीभर फटाहा, हत्यारा, भ्रष्टहरू इतिहासका निर्माता होइनन्। हामी सचेत भएनौं भने यिनले इतिहास उल्ट्याउने छन्। अहिले सबै जनपक्षीय संविधान र शान्तिको पक्षमा छन्। ९५ प्रतिशत सेना प्रहरीहरू पनि मा'वादीकै नेतृत्वमा संविधान लेखियोस् र शान्ति आ'स् भन्ने पक्षमा छन्। यदि उनीहरूले विथोल्ने प्रयास गरे भने ज्ञानेन्द्रको भन्दा फरक हालत हुने छैन भन्ने कुरा पक्का छ। सबैलाई मिलाएर लैजानुपर्ने भएकाले मैले धेरै गाली गर्न त मिल्दैन। गाली गरेको पनि होइन साथीहरूको तर्कको खण्डन मात्रै गरेको हुँ। म आक्रामक भएँ भने अलि अर्र्कै हुन्छु। म यहाँ रक्षात्मक नै बोलिरहेको छु। (प्रस्तुत आलेख प्रम दाहालको भाषण टेपबाट उद्धृत गरिएको अंश हो। -सं) प्रतिक्रिया लेख्नुस्
समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द
प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य
पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं । तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला । |
| हाम्रो बारे | सम्पर्क |