हिमालखबर.कम BETA
  
मुख्य पृष्ठ    अभिलेखालय    प्रतिक्रिया  

तपाईंको प्रतिक्रिया
ramesh karki: it was an fantastic article. U have given very nice recommandation to the government. if ....
bishnu ram basnet: desh sabaiko ho ra kunai pani chahe sena,police,wa nijamati sabai ma yogyota,chhemata ra dachhetako adharma ....
puranjan acharya: actually, congress ma Dar 6 neta ko karyakartama. this party needed person who can work ....
Shesh Kafle: Balanced and good article... ....
आवरण
दलितका अभिभावक

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

किरण पाण्डे
पदम सुन्दास ६३ वर्ष सामाजिक कार्यकर्ता
पदम सुन्दासपछि दलित मुक्ति आन्दोलनमा लागेका कतिपय आफै मोटाउने उद्यम गरिरहेका भेटिन्छन्। तर भोजपुरमा जन्मेका सुन्दास ४५ वर्षदेखि दलित समुदायको शिक्षा र चेतनाविस्तारमा निःस्वार्थ लागिरहेका छन्।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका पदम सुन्दास २०२० सालमा संखुवासभामा जागीरे हुँदा दलित भएकोले बस्ने कोठा नपाएर कार्यालयको टेबुलमै सुत्नुपरेपछि छुवाछूतविरोधी अभियानमा लागे। त्यसको एक वर्षपछि भोजपुर फर्किएर उनले सिद्धकाली मन्दिर प्रवेश आन्दोलनको अगुवाई गरे। डेढसय जना पक्राउ परेका सो घटनामा बडाहाकिम निरञ्जनभक्त श्रेष्ठले नयाँ मुलुकी ऐन अनुसार दलितलाई मन्दिर प्रवेश गर्न दिनुपर्ने अडान राखेपछि आन्दोलन सफल भयो। त्यसपछि सुन्दासले सिन्धुपाल्चोक सिपापोखरीको पानी उबाउ, गोरखाको गोरखकाली मन्दिर प्रवेश, नवलपरासीको गैंडाकोट दुध भराउ लगायत थुप्रै आन्दोलनको अगुवाई गरे।

२०२९ सालयता नेपाल राष्ट्रिय दलित जनविकास परिषद्, नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज हुँदै एकीकृत नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको नेतृत्व गरेर उनले दलित आन्दोलनलाई उचाई दिए। शिक्षा र चेतनाले मात्र दलित आन्दोलन सफल हुने ठान्ने उनले दलित साहित्य प्रतिष्ठान र रत्नमाया दलित साहित्य संरक्षण समिति गठन गरेर आफ्नै खर्चमा १८ वटा दलित सम्बन्धी पुस्तक प्रकाशन गरेका छन्। उनले नौ वर्षअघि १ लाख २ हजारको अमिना सुन्दास दलित छात्रवृति कोष स्थापना गरे। उक्त रकमबाट धरानको शारदा बालिका माविका छात्रछात्रा र एसएलसी उत्तीर्णलाई हरेक वर्ष छात्रवृति दिइने गरिएको छ। सुन्दासले यसैवर्ष तीन लाखको जागरण जेहेन्दार दलित विद्यार्थी पुरस्कार स्थापना गरेका छन्। उनले आर्थिक अभावले पठनपाठनबाट वञ्चित भएका धेरै दलित छात्रछात्रालाई आर्थिक सहयोग गरेर तिनको भविष्य निर्माणको बाटो खोलिदिएका छन्। उनी भन्छन समस्याको सत्यता पत्ता लगाउँछु र सकेको सहयोग गर्छु, दलितको पीडा सुनेर मात्र बस्न सक्दिन।

सुन्दासको सहयोगमा स्थापना भएका दलित संचारकर्मीहरुको मन्च जागरण मिडिया सेन्टर र जनउत्थान प्रतिष्ठान जस्ता संस्थाले वकालत गर्ने दलित मुद्दाले राष्ट्रिय अर्न्तराष्टिय स्तरमा चर्चा पाउने गरेकोछ। आफ्नो वर्गका निम्ति निस्वार्थ सेवा पुर्‍याएका कारण सुन्दासलाई धेरैले दलित आन्दोलनका अभिभावक र सर्वमान्य नेता मान्ने गरेकाछन्।

बाबुराम विश्वकर्मा


कर्णालीका कर्णधार

मीनरत्न बज्राचार्य
मीनबहादुर शाही ३६ वर्ष सामाजिक कार्यकर्ता
एसएलसी उत्तीर्ण भएपछि बाबुसँग जिद्दी गरेर रु.१२ हजारमा खेत बेच्न लगाई पढ्न काठमाडौं आएका मीनबहादुर शाही सायद पढेर कतै राम्रो जागीर खान राजधानी हान्निएका थिए। तर उनी अहिले विकट र पिछडिएको अञ्चल कर्णालीको उत्थानमा लागेका छन्, राजधानी र अन्तरािष्ट्रय क्षेत्रमा कर्णालीको सशक्त र स्वाभिमानी प्रतिनिधित्व गर्छन्।
भौगोलिक विकटता, राज्यको उदासीन र उपेक्षित व्यवहार तथा विद्यमान गरीबी र अभावले पछि परेको कर्णालीलाई विकास कार्यक्रम र सहायताको गलत परिभाषा तथा कार्यान्वयनले झ्नै निरिह बनाएको छ। यस्तो अवस्थामा कर्णालीबासीले आफ्नो भाग्य आफै बनाउनुपर्छ भन्दै राज्यलाई जिम्मेवार बनाउने र गैरसरकारी क्षेत्रबाट योगदान जुटाउने अभियानको नेतृत्व गरिरहेका मीनले अध्ययनका लागि राजधानी छिरेका युवालाई संगठित गरी स्थानीय मुद्दा उठाएका छन्। २०५६ सालमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डार्क) को स्थापना गरेर उनले कर्णालीलाई विर्सनै नसकिने गुन लगाएका छन्। समाजशास्त्रमा स्नातकोत्तर मीनले यसबर्ष किर्डार्कमार्फत विभिन्न दातृसंस्थाको रु.१० करोडको बजेट कर्णालीको विकासमा लगाएका छन्।

एकबर्ष अघिसम्म सडक यातायातले नछोएको अञ्चल सदरमुकाम जुम्लामा गाडी पुग्नुमा धेरथोर मीनको पनि हात छ। तत्कालीन शाही नेपाली सेनाले जिम्मा लिएको कर्णाली राजमार्ग निर्माणमा मा'वादीले अबरोध गरेपछि उनकै पहलमा फिर्ता जान लागेको विश्व बैंकको अनुदान रकम थामथुम पारेर सामुदायिक संस्थाहरुलाई परिचालन गरी ३६ किलोमिटरको जुम्ला-कालीकोट खण्ड निर्माण गरिएको हो। मा'वादी अबरोध अनि सेनाको असहयोग छिचोल्दै राजमार्गको अन्तिमखण्ड निर्माण नगरेको भए मोटरबाटो पुग्ने थिएन।

सञ्चारको पहुँच नभएको कर्णालीमा अहिले दुइटा सामुदायिक रेडियो घन्किन्छन्। चार बर्षअघि प्रशारण आरम्भ गरेको जुम्लाको रेडियो कर्णाली र २३ चैत २०६४ देखि शुरु भएको मालिका एफएम मीनकै पहलमा स्थापना भएका हुन्। सामुदायिक रेडियो प्रशारक संघ, नेपालको अध्यक्ष समेत रहेका मीन दातृसंस्थाको सहयोग जुटाएर देशका विभिन्न भागमा रेडियो स्थापना गर्ने, प्रशारण यन्त्र-उपकरण जुटाउने र रेडियोको क्षमता विस्तार गर्ने काममा पनि सक्रिय छन्। उनलाई काठमाडौं बसेर कर्णालीका नाममा डलरखेती गरेको आरोप लगाउनेहरू पनि छन्। तर कर्णालीमा दातृसंस्थाको सहयोग भित्र्याउन गर्नुपर्ने संघर्ष धेरैलाई कमै थाहा होला। मीन भन्छन्, “मुख्यकुरा स्रोत जुटाउनु हो। विकट ठाउँ, आफूले भनेजस्तो अनुगमन हुँदैन भनेर सकभर सहयोग नै गर्न चाहँदैनन्।”

आज यो ठाउँमा आइपुग्न उनले जीवनमा ठूलो सास्ती व्यहोरेका छन्। काठमाडौं पढ्न आएपछि विमारीले थलिएका बाबुको उपचार गर्दा भएभरको जेथा सकियो। स्नातक पहिलो बर्षको परीक्षाका बेला बाबुको मृत्यु भएपछि पढाइ र खानेखर्च नहुँदा कैयौं दिन पानी र चिउराको भरमा बाँच्नुपर्‍यो। गुजाराको लागि उनले साझा यातायातमा तेल भर्नेदेखि क्यासिनोमा समेत काम गरे।

मीनबहादुर शाही कर्णालीकै लागि खट्छन्, अहिले काठमाडौंमा बसोबास हुँदापनि दुइ-तीन महिनामा एकपटक कर्णालीका गाउँ पुगेकै हुन्छन्। बेलाबखत काठमाडौंबाट नीति निर्माताहरुलाई हुम्ला-डोल्पासम्म पुर्याएर कर्णालीले भोग्नुपरेको यथार्थ नियाल्न लगाउँछन्। “राज्यले कर्णालीलाई अझैं सहि आँखाले हेरेन”, उनी भन्छन्। “कर्णालीलाई कागजी प्राथमिकतामा राख्ने र समस्याग्रस्त देखाउने काममात्रै भयो, राष्ट्रिय आर्थिक विकासको मेरुदण्ड बन्नसक्छ भन्ने सोचिएन।” कर्णाली विकासका लागि छुट्टै संयन्त्र निर्माणको खाँचो औंल्याउँदै उनी त्यसकै लागि संघर्ष गरिरहने बताउँछन् ।

रामेश्वर बोहरा


वेगनासका वनबारी

सूर्यप्रसाद अधिकारी ६० वर्ष कृषक
उनी किसान हुन्, तर उनको घरमा हलो या एउटा गतिलो कोदालोसम्म छैन। बिरुवाका फेदमा मल हाल्दा बाहेक माटो कोट्याउनुपर्दैन। “दुई बूढाबूढीले सम्हाल्न सक्ने खेती छ”, नेपालका धेरै गाउँघरको समस्या श्रम-अभावबाट वरपर बाँझ्ाो पल्टिँदै गरेका खेतबारी देखाउँदै सूर्यप्रसाद अधिकारीले भने- “हाम्रो बारी कहिल्यै त्यस्तो हुँदैन।”

कास्की, वेगनासका सूर्यप्रसादको घर जङ्गलको बीचमा छ। त्यही जङ्गल नै उनको खेतबारी सबै थोक हो, माटोलाई पुनर्जन्म र दिगो कृषिप्रणाली उनका विशेषता हुन्। घरदेखि पूर्वतिरको १३ रोपनी वनबारी हेर्दा उनको चमत्कार छर्लङ्ग हुन्छ। २३ वर्षअघि किन्दा तितेपातीका बुटाले भरिएको र भलले ठाउँठाउँमा बिगारेको ढुङ्ग्यान पाखो अहिले मट्याइलो र हराभरा भएको छ।

सूर्यप्रसादको बारी कृषि जैविक विविधताको नमुना हो, जहाँ १२५ थरी उपयोगी बोटबिरुवा पाँच तहमा रोपिएका छन्। चाँप, चिलाउने, तेजपात, लप्सी, बडहर, टुनी जस्ता ठूल्ठूला रूखमुनि आँप, अम्बा, कागती, सुन्तला आदि फल्छन्। त्यसमुनि कफी र त्यसको पनि मुनि कुरिलो, भुइँकटहर, बेसार, अदुवा आदि अनि तल भुइँघाँस र जडीबुटी। “यसो गर्दा प्राकृतिक सन्तुलन हुन्छ। रोगकीरा आफैं नियन्त्रण हुन्छ। एउटा बाली बिग्रियोे भने पनि अर्कोले क्षति पूर्ति गर्छ”, उनी भन्छन्।

सूर्यप्रसादले अपनाएको खेती प्रणालीलाई पर्माकल्चर भनिन्छ। मान्छेले प्राकृतिक प्रणालीलाई राम्ररी बुझेर तिनको सदुपयोग गर्‍यो भने खेतीपातीको आधा काम प्रकृतिले नै गरिदिन्छ भन्ने यसको मान्यता हो। १० कक्षा पढेका उनी यता लाग्नुअघि कुष्ठरोग नियन्त्रण आयोजनामा जागिर खान्थे। २०४० सालतिर उनकी श्रीमती धेरै बिरामी भइन्। जागिरको पैसाले नपुगेपछि खेत बेचेर उपचार गराए। अंशमा पाएको खान पुग्ने जमिन सकिएर तीन रोपनी बारी मात्रै बाँकी रह्यो।

खेती गरेर खान पुग्ने जमिन नभए पनि माटोमा प्रेम र विश्वास थियो। २०४३ सालमा जागिर छाडेर रु.९ हजारमा १३ रोपनी पाखो किन्दा सबै हाँसेका थिए। “जागिरको नियमित आम्दानी सुकिसकेको थियो। बारीबाट खानलाउन पुग्ने उत्पादन हुने सुरै थिएन। दुई सन्तान भइसकेका थिए। कति छाक त कोदाको खोलेले गुजारा गर्नुपर्‍यो”, ती दिन सम्झ्ाँदा बूढाबूढीका आँखा रसाउँछन्।

त्यसैबेला एउटा कृषि तालिम लिने मौका पाएका सूर्यप्रसाद अधिकारीलाई आफूले गर्न खोजेको कामलाई पर्माकल्चर भन्दा रहेछन् भन्ने थाहा भयो। तीन वर्षपछि केयर नेपाल संस्थाले त्यस क्षेत्रमा भूसंरक्षणको कार्यक्रम ल्याउँदा उनले अलिअलि काम पाए। बारीमा तुलफूल पनि उब्जिन थाल्यो। पर्माकल्चरका अर्का अभियन्ता कृषिविद् गोविन्द शर्मा भन्छन्, “सूर्यजी तपस्वी हो, उहाँले एउटा खेर गएको पाखो जमिनलाई स्याहारेर उर्वर बनाउनुभएको छ।”

“पहिला तेरो लोग्ने बौलायो भन्नेहरू नै अहिले तँलाई घाँस-दाउरा गर्न सजिलो छ, सुख छ भन्छन् हैन त?”, श्रीमती सरस्वतीसँग उहिलेका दुःख बिर्साउने यस्ता धेरै कुरा छन् सूर्यप्रसादसँग। उनले फैलाएको अर्गानिक कफी खेतीले वेगनासलाई कफी गाउँको रुपमा पनि चिनाउँदैछ।

केदार शर्मा


गाउँमै दाम

गगनबहादुर सोतीमगर ३० वर्ष कृषक

गगनबहादुर सोतीमगरको मेहनत र जाँगरले १० वर्षअघिसम्म उजाड पाल्पाको कर्णाली ठानिने ज्यामिरेगाउँ अहिले हराभरा छ। करिब सय परिवारको बसोबास रहेको ज्यामिरेलाई उनले कफी खेतीको नमुना गाउँ बनाएका छन्। सात कक्षा पास गरेका गगनले यसबाट आफ्नो गाउँका बासिन्दालाई सम्पन्न बनाउँदै अरूलाई पनि कफी खेती गरेर आयआर्जन गर्न सकिन्छ भन्ने सन्देश दिएका छन्। पाल्पा कफी व्यवसायी समितिका अध्यक्ष रेवन्तबहादुर बिष्ट भन्छन्, “कसैको सहयोग बिना चुपचाप काम गरिरहेका गगन कफी खेतीका आदर्श व्यक्ति हुन्।”

गगनले बाबुको निधनसँगै परिवारको पालनपोषणको जिम्मेवारी आएपछि घरका खसी, कुखुरा, सुँगुर बेचेर व्यावसायिक कफी खेती गरेका हुन्। अहिले उनी वर्षको रु.६ लाख कमाउँछन्। बारीमा कोदो, मकै, गहत लगाएर ६ महिना खान पुग्ने अन्न पनि उत्पादन नहुने गाउँवासीहरु पनि कफी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

सदरमुकाम तानसेनबाट ५० किमी पूर्वको गाडीबाट 'र्लेर आठ घण्टा हिँडेर पुग्नुपर्ने ज्यामिरेमा उत्पादित कफी बिक्री गर्न भरियालाई बोकाएर नवलपरासीको सर्दीसम्म पुर्‍याउनु त्यति सहज थिएन, तैपनि उनी विचलित भएनन्। बरु यातायात असुविधा कम गर्न सरकारको मुख नताकी आफ्नै पहलमा सर्दीदेखि गाउँसम्म करिब २५ किमी मोटरबाटो बनाउने अभियानमा जुटेका छन्। मूल सडकसँग जोड्न सके गाउँका सबै बासिन्दाको जीवनस्तर उकासिने सोचेर उनी यो काममा लागेका हुन्।

गगनबहादुर सोतीमगरले गाउँलेहरुलाई कफी खेतीमा प्रोत्साहित गर्न आफैंले करिब रु.१० लाख सहयोग गरेका छन्। हरेक महिना कफी खेतीको निःशुल्क तालिम दिन्छन्। “काम गरे गाउँमै अवसर छन्”, पढेलेखेका युवाहरू विदेशिएकोमा चिन्ता व्यक्त गर्दै उनी भन्छन्। “हामीले प्राविधिक र व्यावसायिक शिक्षामा जोड दिएको भए ठूलो जनशक्ति विदेशिने थिएन।”
व्यावसायिक काम गर्दागर्दै सामाजिक रूपले पनि सचेत हुँदै गएका गगनले गाउँलाई स्वस्थ बनाउने कुरामा पनि ध्यान पुर्‍याउन थालेका छन्। सामान्य उपचारका लागि घण्टौं हिँड्नुपर्ने ज्यामिरेवासीलाई गाउँमै स्वास्थ्यसेवा दिन अस्पताल खोल्ने पहल पनि गरिरहेका छन् उनी। कफी उत्पादनमा नमुना गाउँ ज्यामिरेलाई ग्रामीण विकासको अध्ययन-अनुसन्धान बनाउने सोचाइ उनको छ।

देव पचभैया


समूहबाट साहस

चमेली वाईबा ३५ वर्ष सामाजिक कार्यकर्ता

चमेली वाईबा, मकवानपुरको उत्तरी गाउँ बज्रवाराहीकी साधारण महिला हुन्। २० वर्ष कटेपछि मात्र अक्षर चिन्ने भएकी उनी अहिले सामाजिक काममा व्यस्त छिन्।

हातमुख जोर्ने समस्या भएको तामाङ परिवारमा जन्मेकी चमेलीलाई स्कूल जानु बुताबाहिरको कुरा थियो। घरनजिकैको स्कूलमा गाउँका केही केटाकेटी पढ्न जान्थे, तर उनको बाल्यकाल डोकोनाम्लोमै बित्यो। १३ वर्षको उमेरमा उनको बिहे भयो, तर वर्ष दिन नपुग्दै पति गोविन्द घलान अर्की श्रीमती ल्याएर काठमाडौं गए। १० वर्ष तिरस्कार र हेलाँ सहँदै बिताएर केही इलम गर्ने सोचले नागरिकता बनाउन खोज्दा घरबाट नाता प्रमाणित समेत भएन। त्यसपछि उनी माइत फर्किन्।

माइती गाउँ बज्रवाराहीमा एक साँझा घाँस काटेर फर्किंदा आफूजस्तै महिलाहरु पढ्दै गरेको देखेपछि भोलिपल्टदेखि त्यहाँ सञ्चालित प्रौढकक्षामा जान थालिन्। कक्षामा पढाउने शिक्षकले कालोपाटीमा आफ्नो नाम लेखेर देखाइदिँदा छक्क परेकी उनलाई चमेली भन्दै पढ्न लगाउँदा चमीली भनेर पढिछन्। आफ्नो नाम सही उच्चारण गर्न उनले त्यही साँझ्ा जानेकी थिइन्। कस्तो लाग्यो अक्षर चिन्दा? निर्दोष जवाफ आयो, “लाज, डर अनि के भन्लान् जस्तो!”

पढ्न थालेपछि चमेली मकै गोड्न र घाँस काट्न जाँदा पनि किताब साथै लिएर जान थालिन्। पछि लेखपढ गर्न नजान्नेहरुका लागि प्रौढकक्षा शुरु गरिन्। सिलाइबुनाइ, बाख्रापालन, तरकारी खेती आदिको तालिम लिएर अन्य सामाजिक काममा पनि अघि बढिन्। गाउँमा पुस्तकालय खोल्ने धोको भर्खरै पूरा भएको छ। प्रौढकक्षा स्थायी रूपमै सञ्चालन गर्ने सपना चाहिँ पूरा भएको छैन, सम्बन्धित निकायहरुलाई घच्घच्याउँदै छिन्।

'म्नी डेभलपमेन्ट भन्ने संस्थाबाट महिला बचत समूहबारे सिकेपछि गाउँमा उनकै अगुवाईमा महिला सहकारी संस्था खुल्यो। त्यसले बर्खामा स्थानीयवासीहरुलाई घाँसदाउरा गर्न र विद्यार्थीहरुलाई स्कूल जान समेत बाधक बनेको तसर खोलामा झ्ाोलुङ्गे पुल बनायो। अहिले डेढ दर्जनभन्दा बढी घरमा खानेपानी पुर्‍याउने, गाउँमा कृषि सडक खन्ने पहल हुँदैछ। “समूहमा मिलेर काम गरेपछि साहस आउँदो रैछ”, उनी भन्छिन्।

अहिले चमेली वाईबालाई भ्याईनभ्याई छ। अक्षरको मद्दतबाट धेरै महिलालाई उज्यालोतिर डोर्‍याएकी उनलाई आफ्नोबारे सोच्ने फुर्सदसम्म पनि छैन। गाउँको शिक्षा, स्वास्थ्य, सहकारी, वनदेखि हरेक क्षेत्रसँग सम्बन्धित संघसंस्था र कार्यक्रममा उनकै खोजी हुन्छ। यो सफलताको श्रेय उनी समाजको साथ र विश्वासलाई दिन्छिन्। कठिन समय र प्रतिकूल मौसमको प्रहार खप्दै आएकी चमेली आफ्नै बलमा फुलेकी फूल हुन्।

अविनाशी पौडेल

 

प्रतिक्रिया लेख्नुस्

समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा चित्त बुझे वा नबुझे प्रतिक्रिया लेख्नुस् र पठाउनुस् । प्रतिक्रिया पठाउँदा कसैप्रति गालीगलौज र अश्लील शब्द प्रयोग नगर्नु होला । तपाइको प्रतिक्रिया अभिलेखालयमा पनि रहनेछ तथा सम्बन्धित समाचार, अर्न्तवार्ता, विश्लेषण र टिप्पणीमा पनि । पछिल्ला दुई प्रतिक्रिया चाहिँ मुख्य पृष्ठमा पनि रहन्छन् । प्रतिक्रियामा गालीगलौज वा अश्लील शब्द भए त्यस्तो प्रतिक्रिया मेट्न हामी वाध्य हुनेछौं ।
तपाईको प्रतिक्रिया हिमाल खबरपत्रिकामा छपाउन चाहनु हु्न्छ भने पुरा नाम र ठेगाना पनि उल्लेख गर्नु होला ।

नाम (चाहिने)

ठेगाना

ईमेल (प्रकाशन गरिने छैन) (चाहिने)

वेबसाइट


हाम्रो बारे | सम्पर्क